२४ चैत्र २०८१ आइतबार
image/svg+xml १४:४१ अपराह्न
राजनीति

राजावादी प्रदर्शन पुरातन सोचको उपज, सफल हुँदैन: डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजावादी प्रदर्शनलाई पुरातनवादी शक्तिको असफल प्रयास भएको बताएका छन्। उनले यस्ता गतिविधिलाई महत्व नदिन र सरकारले कानुनी कारबाही गर्नुपर्ने धारणा राखेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै डा. भट्टराईले भने, “अहिलेसम्मका चुनावमा राजावादीको हिस्सा तीन-चार प्रतिशतभन्दा बढी छैन। हालैको प्रदर्शनमा देखिएको उदण्डता उन्नत चेतनाको संकेत होइन। यो आन्दोलनको तरिका पनि होइन। जनताको असन्तुष्टिको दुरुपयोग गरेर पछाडि फर्कने दाउ हेरेका छन्, तर यो सफल हुँदैन, आवश्यकता पनि छैन, सम्भव पनि छैन।”

उनले पूर्वराजा ज्ञानेन्द्रलाई साधारण नागरिकको हैसियतमा बस्न ठीक हुने तर राजाको दाबी गर्नु ठगीधन्दा भएको टिप्पणी गरे।

“ज्ञानेन्द्रले आउँछु भन्न पाउँछन्, तर संविधानविपरीत अपारदर्शी हर्कत गर्नुहुँदैन। उनका समर्थकले मच्चाएको वितण्डा अपराध हो। राज्यले छानबिन गरी कारबाही गर्नुपर्छ,” उनले भने। उनले यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले विधिपूर्वक बयान लिई कानुनको दायरामा ल्याउनुपर्ने सुझाए।

डा. भट्टराईले समाजमा तीन प्रवृत्ति हुने उल्लेख गर्दै भने, “अग्रगामी शक्ति थोरै हुन्छ, जसले समाजलाई अगाडि डोर्‍याउँछ। पुरातनवादी शक्ति पनि थोरै हुन्छ, जसले हिजोलाई गुणगान गर्छ। बीचमा यथार्थवादी ठूलो समूह हुन्छ, जसले जता लैजान्छ त्यतै लाग्छ। राजावादी पुरातन शक्ति हो, जसको योग सिद्धिसक्यो। प्रमुख कुरा अग्रगामी शक्तिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुशासन र समृद्धितिर डोर्‍याउनु हो। असन्तुष्टिको समाधान पछाडि फर्कनु होइन, भोक लाग्यो भन्दै विष खानु ठीक होइन।”

प्रकाशित: २० चैत्र २०८१ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App