२० पुस २०८२ आइतबार
image/svg+xml
कला

‘कुडा कर्नालीका’ काे छैटौँ संस्करण सोमबारदेखि

कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नालीका’ काे छैटौँ संस्करण सोमबारदेखि सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । यस वर्षको छैटौँ  संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलको आँगनमा हुनेछ।

आयोजक संस्थाका अनुसार तीन दिनसम्म चल्ने उत्सवमा कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाइने छ । यो पटकको उत्सवमा १३ वटा सेसन रहने छन् भने तीन जनाले पैकेलोमार्फत आफ्ना संघर्ष–कथा सुनाउने छन् ।

कर्णाली उत्सवका संयोजक कमलराज लम्सालका अनुसार पहिलो दिन उद्घाटन सत्रमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका बारेमा बोल्नेछन् भने संघीय सवाईका विषयमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्ना भनाइहरू राख्नेछन्। यस्तै ‘मान्ठ र मइडो’ शीर्षकमा राजनीतिक चिन्तक आहुतिले विद्धत प्रवचन दिनेछन् ।

पहिलो दिनको सत्र ‘के पढ्यौँ,के पढायौँ’ शीर्षकको हुनेछ । यसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु मानन्धर बज्राचार्य र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्ना भनाइहरू राख्नेछन् ।

यस्तै ‘स्वाइनी स्वर’ (कर्णालीमा महिला आन्दोलन) शीर्षकमा हुने सत्रमा नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेत, जुम्लाकी पत्रकार दिलमाया शाही र कालिकोटकी अभियन्ता पुना कामी सहभागी हुनेछिन् । ‘खस कुडा, खास कुडा ः किस्सा तन्नेरीका’ सत्रमा कलाकार इब्सल संज्याल र नवराज भण्डारीले भाग लिनेछन् भने बैकिनी बोल्लिछन् (नारी नेतृत्व) मा कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ, नेपाल सरकारका सजि राधिका अर्याल र दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष रीता शाही वक्ताका रुपमा उपस्थित हुनेछन् ।

दोस्रो दिन ‘स्याउको सह’ सत्रमा कर्णाली प्रदेशसभा सदस्य टेकराज पछाईँ, कृषि प्रसार अधिकृत धनबहादुर कठायत, व्यवसायी प्रवल शाही र कृषक नारायणी चौलागाई उपस्थिति हुनेछन् । यस्तै ‘आश लाग्दो अर्थतन्त्र’का विषयमा गोल्ड स्टारका कार्यकारी निर्देशक विदुषी राणा र सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले आफ्ना भनाइहरू राख्ने कार्यक्रम तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

‘छोरीको छहारी’ शीर्षकमा हुने सत्रमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जु पाण्डे र बालरोग विशेषज्ञ डा. नवराज केसी वक्ताका रुपमा सहभागी हुनेछन् भने ‘टेको संघीयताको’ शीर्षकमा हुने बहसमा सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुन, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका उपप्रमुख इश्वरीकुमारी शर्मा र दैलेखको गुराँस गाउँपालिकाका वडाध्यक्ष दीपेन्द्र वली सहभागी हुनेछन् ।

सोही दिन ‘कर्णालीमा मधेस’ शीर्षकमा पनि बहस हुनेछ । यो बहसमा मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. वीनयकुमार दास, बराहताल गाउँपालिकाको नेपाल राष्ट्रिय प्रावि विद्यालयका प्रधानाध्यापक श्रवणकुमार शर्मा र नेपाल नाई संघ सुर्खेतका अध्यक्ष अर्जुन ठाकुर सहभागी हुनेछन् ।

अन्तिम दिन ‘खलंगा: शक्तिको सदरमुकाम’ शीर्षकमा हुने बहसमा कर्णाली प्रदेशका दुई जना पूर्व मुख्यमन्त्रीले सहभागिता जनाउनेछन् । पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही र राजकुमार शर्माले यसमा बहस गर्नेछन् भने ‘राजनीति ः रहर–लहड’ शीर्षकमा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई, रेखा शर्मा, शिशिर नाल र नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले सहभागिता जनाउने छन् भने ‘मनउँदो कर्णाली, मैदानउँदो कर्नाली’ शीर्षकको सत्रमा धावक हरिबहादुर रोकाय, नायिका स्वस्तिमा खड्का र क्रिकेटर ज्ञानेन्द्र मल्लले सहभागिता जनाउने छन् । आयोजकका अनुसार रङ्गकर्मी गोविन्द सुनार, रक्तदाता प्रवाशकुमार शाक्य र सहकारी अभियन्ता दीपा रानाले पैकेलोमार्फत आफ्ना संघर्ष कथा सुनाउने छन् ।

संयोजक लम्सालका अनुसार परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूप कर्णाली उत्सव हो ।  ‘यसका माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको थालनी गरेका छौँ,’ उनले भने, ‘यो बहसले कर्णाली चिन्न र चिनाउन मद्दत गरिरहेको छ ।’

प्रकाशित: ४ फाल्गुन २०८१ १७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App