२१ पुस २०८२ सोमबार
image/svg+xml
कला

प्रेम, जीवन र परिवार

प्रणय

‘तुम अगर साथ देने का...’ गीत सन् १९६७ मा रिलिज भएको हिन्दी फिल्म ‘हमराज’को हो। यसमा विमी, मुमताज राजकुमार, सुनिल दत्त, बलराज साहनी लगायतले अभिनय गरेका थिए। यसकी मुख्य नायिका विमी थिइन्। फिल्म सुपरहिट भएको थियो भनिन्छ। पुराना नेपाली तथा हिन्दी गीत प्रायः सुन्ने गर्छु। रुचि पनि छ। यो फिल्म रिलिज हुँदा मैले थाहा पाउने अवस्था थिएन। पछि यसको गीतकै कारण यो फिल्म हेरेको छु। हरेक गीत ओम्दा र प्रेमिल छन्। भावयुक्त छन्।

फेब्रुअरी १४ अर्थात् सन्त भ्यालेन्टाइन्सको स्मरण गर्दै ‘प्रेम दिवस’ मनाउने युवायुवती तथा युगल जोडीको उत्साहलाई नियालेको छु। त्यसपछि हमराजकी नायिका विमीलाई सम्झन्छु, झसङ्ङ हुन्छु। जेलाई ‘प्रेम’ भनिन्छ वा प्रेम बुझिएको छ, त्यो प्रेम नभएर आकर्षण हो। प्रेम भाव हो। यसलाई शब्दको पारिभाषिक बन्धनमा राख्नु हुँदैन। प्रेममा अपेक्षा हुँदैन। प्रेममा लिइँदैन, दिइन्छ। प्रेममा समर्पण र निष्ठा हुन्छ। जहाँ अपेक्षा राखिन्छ, त्यहाँ प्रेम हुँदैन। भिन्न लिङ्गबिच मात्र प्रेम हुन्छ भन्ने हुँदैन। प्रेमको विशाल वृक्षको छायामा पशुपंक्षी, वृक्ष, जड चेतन सबै अटाउँछन्। प्रेममै जीवनको निर्माण हुन्छ। सृष्टि थामिन्छ। क्रम भंग हुँदैन।

प्रेम भनेर जे जसरी बुझिन्छ त्यो प्रेम होइन, मात्र आकर्षण हो। जुनसुकै बेला त्यसको अन्त्य हुने सम्भावना हुन्छ। मेरो विषय नभए पनि, इतिहास, दर्शन, आध्यात्मिकता, साहित्य तथा जीवनी पढ्न रुचाउँछु मिलेसम्म। हिन्दी ‘हमराज’ फिल्मको उल्लिखित गीतलगायत अन्य गीत जब सुन्छु, उक्त फिल्ममा मुख्य नायिकाको भूमिका निर्वाह गरेकी विमीको विघटित परिवार, त्यसबाट प्रभावित जीवन कुन हदसम्म असहज र जटिल बन्छ भन्ने लाग्छ। प्रेम दिवसमा उनको जीवनको अन्तिम कालखण्डको जीवन स्मरणीय र पठनीय छ भन्ने लागेको पनि छ। विघटित परिवारको असरबाट कसरी जीवन प्रभावित हुन्छ भन्ने शिक्षा पनि दह्रोसँग दिएको छ।

सन् १९४३ को जनवरीमा जलन्धराको शिख परिवारमा उनको जन्म भएको थियो। मातापिता दुवै शिक्षक थिए। उनीहरूको सरल र सात्विक जीवनशैली थियो। सादा जीवनशैली रुचाउने उनीहरूको तडकभडक, साजशृङ्गारमा रुचि थिएन भन्ने भनाइ छ। ‘विमी’को रुचि भने फरक थियो। यिनको असली नाम ‘विमलेस स्वधावन्त’ थियो। सोफिया कलेजबाट मनोविज्ञान विषयमा पढाइ पूरा गर्छिन्। त्यसपछि ‘अलइन्डिया रेडियो’मा काम गर्न थाल्छिन्। त्यसपछि उनको कलकत्ताको प्रतिष्ठित व्यापारी घरानाको छोरासँग भेट हुन्छ। प्रेम हुन्छ। बाबुआमाको सहमतिबिना विवाह गर्छिन्। विवाहविरुद्ध रहेका बाबुआमाले सम्बन्ध तोड्छन्।

पतिको घरमा राम्रो थियो। प्रतिष्ठित व्यापारिक घराना भएकाले पार्टी भइराख्थ्यो। त्यसै सिलसिलामा फिल्म क्षेत्रसँग सम्बद्धहरूसँग पनि भेट हुनु स्वाभाविक थियो। दुई सन्तानकी आमा ‘विमी’लाई बिएस चोपडाले आफ्नो फिल्म ‘हमराज’मा लिन्छन् नायिकाका लागि। परिवार त्यसविरुद्ध थियो। पतिको साथ पाएपछि फिल्म लाइनमा प्रवेश गर्छिन् तर घरबाट उनीहरूलाई भिन्न गराइन्छ। फिल्म ‘हमराज’ले भने सफलता चुम्छ। फिल्म निर्माता तथा निर्देशक उनीकहाँ लाइन लाग्छन्। विमीको अभिनय कलाले भन्दा पनि राजकुमार, सुनिल दत्त, मुमताजजस्ता सिद्धहस्त कलाकारको कारण ‘हमराज’ सुपरहिट भएको थियो भन्ने लाग्छ। किनकि दुई सन्तानकी आमा विमीको फिल्म क्षेत्रमा पहिलो प्रवेश थियो।

आबरु, नानक नाम जहाँ है, पतंगा, गुड्डी, कही वार कही पार कहानी हक सबकी, वेचन प्रेमी गंगाराम, क्रोधीलगायत हमराजपछि अभिनय गरेका फिल्म थिए। तर फिल्मले हमराजजस्तो सफलता पाउन सकेन। पछि विएस चोपडाले पनि उनलाई फिल्ममा लिन इच्छा गरेनन्। कामको अभाव हुन्छ। बिस्तारै आर्थिक संकट हुन थाल्छ। पतिसँग मनमुटाव हुन थाल्छ। पति अलग हुन्छन्, आफ्नो परिवार कहाँ फर्कन्छन्। सन् १९६७ मा रिलिज भएको ‘हमराज’ले शिखरमा पुर्‍याएको विमीको क्यारियर एकाएक शून्यमा झर्छ। त्यसपछि उनी जसको संगतमा पुग्छिन्। उसबाट उनको दुरूपयोग हुन्छ। सम्पत्तिका साथै कलकत्तामा रहेको विमी टेकसटायल कम्पनी पनि धरायसी बन्छ। आर्थिक अभाव, तनावलगायत विभिन्न कारणले शरीर जीर्ण बन्छ। मदिरा सेवनमा लत बस्छ। कलेजो खराब हुन्छ।

नानावती हस्पिटल बम्बईको जनरल वार्डमा उपचारका लागि भर्ना भएको उनले २२ अगस्ट १९७७ मा अन्तिम सास फेर्छिन्। त्यस बेला उनको उमेर ३४ वर्ष मात्र थियो। वेवारिस अवस्थामा रहेको उनको शव बुझ्न कोही आउला भनेर अस्पतालले प्रतीक्षा गर्छ, पर्खन्छ तर कोही आफन्त, साथीसँगी, फिल्म जगत्को सहकर्मी कोही पनि आउँदैनन्। अन्त्यमा उनको संगतमा रहेका जोलीले चिया बेच्नेको ठेलागाडामा राखेर श्वमशान घाट पुर्‍याई अन्त्येष्टि हुन्छ एक वेवारिसका रूपमा। ‘हमराज’को प्रेमिल गीतमा अभिनय गरेको उनको जीवनले गीतको भावसँग थोरै अंशमा पनि अनुभूति गर्न पाएन।

मजबुत र संगठित परिवारको दह्रो ओत भएको भए यो उनको अवस्था पक्कै पनि हुने थिएन भन्ने लाग्छ। यसका पुष्टि वैदिककालीन अपलाको जीवनले पनि गर्छ। अपला प्रसिद्ध ऋषित अत्रि अनसूयाकी छोरी थिइन्। अपला ऋग्वेदको आठौं मण्डलको एकानब्बेऔं सुक्तकी रचयिता हुन् (डा. वीणा पौड्याल, वेदपुराणका केही रत्नहरू, साझा प्रकाशन, पहिलो संस्करण, २०६२)। ऋगवेदको आठौं मण्डलको ९१ औं सुक्तमा सात मन्त्र थपेर, यिनी मन्त्रद्रष्टा वेदवेत्ताका रूपमा पनि स्थापित छन्। यिनलाई सुनेका र पढेका वेद शास्त्र आदि सबै कण्ठ हुने भएका कारण यिनको अर्को नाम श्रुत्री थियो।

विवाहपूर्व नै अपलालाई कुष्ठरोग भएको हुन्छ। त्यसको उपचार गरेर निको भएको पनि थियो। अत्री ऋषिको गुरुकुलमा अध्ययनका लागि आएकामध्ये कृशाश्व पनि थिए। कृशाश्व र अपलाबिच प्रेम हुन्छ। विवाह हुन्छ। विवाह गरेको तीन वर्षसम्म गृहस्त सुखपूर्वक राम्रोसँग चलिराखेको थियो। दूरभाग्य, अपालाको पुरानो कुष्ठरोग देखापर्‍यो। शरीरभर दाग देखिन थाल्यो। त्यसपछि उनीहरूको वैवाहिक जीवनमा खटपट हुन्छ।

अपला माइत फर्किन्छन्। इन्द्रको आराधाना, अर्चना तथा उपासना गर्छिन्। रोगको निदानका लागि सोमरस पिलाउँछिन्। सोमलताको रस चढाउँदा चढाउँँदै गरिएको अर्चनाबाट इन्द्र प्रसन्न हुन्छन्। कुष्ठरोग निको हुने वरदान दिन्छन्। त्यसपछि अपला दिव्य सुन्दरी अप्सरा बन्छिन्। शास्त्र चिन्तन गरेर जीवन बिताउने अठोट गर्छिन्। उता कृशाश्वले आफूबाट अन्याय भएको ठान्छन्। अत्रीको आश्रममा गएर ऋषिसँग माफी माग्छन्। अत्रीले पनि  क्षमा दिन्छन्।

रोगबाट मुक्त भएकी अपला ब्रह्मवादिनी ऋषिका बन्छिन्। स्मरणीय छ कि ब्राह्मण कुलकी उनको विवाह क्षत्रीय कुलका कृशाश्वसँग अन्तरजातीय विवाह भएको थियो। अपला त्यसरी वेदवेत्ता मन्त्रद्रष्टा ऋषिकाका रूपमा स्थापित हुनुमा बाबु अत्री र आमा अनुसुयाको दह्रो साथ थियो। त्यसैले जीवनमा परिवारको भूमिका ठुलो हुन्छ।

प्रेम मौलाउन पनि दह्रो पारिवारिक ओत आवश्यक हुन्छ। तर अहिले पारिवारिक संगठन विघटित बन्दै गइराखेको छ। बालगायक सचिन परियारले माया, मोह, प्रेम के हो ? चालै पाउन सकेनन्। निश्चल र अबोध बालापन कस्तो हुन्छ चालै नपाई १३ वर्षको उमेरमै धर्ती छोडे। त्यसैले प्रेमिल वातावरण भएको संगठित परिवार आवश्यक छ भन्ने सामाजिक अनुभूति यस वर्षको प्रेम दिवसले गराउन सक्यो भने निश्चय पनि प्रेम दिवस सार्थक हुनेछ।

प्रकाशित: ३ फाल्गुन २०८१ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App