यौन स्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को बिहीबार काठमाडौँमा पहिलो प्रदर्शनी (प्रिमियर शो) गरिएको छ।
प्रिमियर शोमा उपस्थितले चलचित्रको विषयवस्तुको प्रशंसा गरे। शुक्रबारदेखि चलचित्र सार्वजनिक प्रदर्शन गरिने छ। यौन स्वास्थ्यका विषयमा धेरै विदेशी चलचित्र निर्माण भए पनि नेपालमा उक्त विषयमा चलचित्र निर्माण नभएकाले आफैँले निर्देशन गरेको निर्देशक दीपेन्द्र लामाले बताए।
उनले भने, 'मैले आफ्ना चलचित्रमार्फत सामाजिक विषयलाई उठान गरिरहेको हुन्छु।' उनले चलचित्रमा पुरुषमा ‘इरेक्टाइल डिस्फक्सन’ भएको देखाएका छन्। यस पात्रका लागि उनले कविको पृष्ठभूमि तयार गरेाक छन्।
चलचित्रमा कविको भूमिकामा अभिनेता दयाहाङ राई छन्। उनले आफ्नो पात्रलाई न्याय गर्न हरसम्भव प्रयास गरेको बताए। उनले भने, 'म कवि होइन र ‘इरेक्टाइल डिस्फक्सन’ को समस्यालाई महसुस गरेको छैन। त्यसैले त्यो पात्रलाई न्याय गर्न एउटा अभिनेताका रूपमा सक्दो मेहनत गरेँ।'
अभिनेत्री आँचल शर्माले यौन स्वास्थ्यका विषयमा खुलेर संवाद नहुँदा निम्तिने समस्याले परिवारलाई असर गर्ने गरेको बताइन्। 'हामीले चलचित्रमा उठान गरेको विषय परिवारले हेर्नुपर्ने र चर्चा गर्नुपर्ने हो। नेपाली समाजमा यौन समस्यालाई डाक्टरसँग पनि भन्न लजाउने स्थिति छ। समस्या व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रम चलचित्रमा प्रस्तुत छ,' उनले भनिन्।
‘एडल्ट ड्रामा’ भनिएको उक्त चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्।
प्रणय दिवसको अवसर पारेर प्रदर्शन हुने चलचित्रलाई आलोक शुक्लाले छायाङ्कन तथा निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
प्रकाशित: २ फाल्गुन २०८१ ०६:३४ शुक्रबार





