बालबालिकालाई आफ्नो काम आफै गर्न सिकाउने चेतनामूलक बालगीत ‘आफूसित आफै दङ्ग’ सार्वजनिक भएको छ । कवि रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।
बालबालिकालाई समयकाे सदुपयोग गर्ने प्रेरणा दिने उक्त गीतको शब्द तथा रचनाकार सुवेदी रहेका छन् भने दीपक शर्माले सङ्गीत भरेका छन् । यसमा नरेन्द्र वियोगीको संगीत संयोजन छ । आर्यभ डङ्गोल, पारिका श्रेष्ठ, ओश्ना छेत्रीसहित यस बालगीतमा डियरवाक सिफल स्कुलका बालबालिकाले गायन र अभिनयमा आफ्नो कला प्रस्तुत गरेका छन् । सार्वजनिक भिडियोमा समयको महत्त्व बुझ्नुपर्छ, स्वस्थ रहनुपर्छ, फुर्तिलो हुनुपर्छ भन्ने भाव रहेको छ ।
बुधबार आयोजित एक कार्यक्रमका उक्त गीतको भिडियो विमोचन गरिएको हो । कार्यक्रममा गीतकार सुवेदीले बालबालिकाहरूले गीत हेरेर, सुनेर असल बानीको विकास गरुन् भनी यो सिर्जना रचिएको बताए । यस्तै कार्यक्रमका साहित्यकार प्राज्ञ अमर न्यौपानेले सकारात्मक सन्देश दिने यस बालगीत निकै उपयोगी रहेको बताए । यस्तै उनले यस अडियो र भिडियोमा गायन, अभिनय र नृत्यको सुन्दर संयोजन रहेको पनि उल्लेख गरे ।
डियरवाक सिफल स्कुलका अध्यक्ष हितेष कार्कीले रामबाबु सुवेदीका गीत बालबालिकाका निम्ति उत्प्रेरणादायक हुने हुनाले स्कुलले अडियो भिडियो निर्माण संयोजन गरेको बताए ।
रामवावु सुवेदी अफिसियल नामक युटुब च्यानलमा ७४ भिडियो सार्वजनिक भएका छन् । ती सबै बालगीत सन्देशमूलक, शिक्षामूलक र सिकाइमूलक छन् ।
प्रकाशित: १ फाल्गुन २०८१ १४:२० बिहीबार





