१) मुक्तक
खुसी भयो अरूकै बन्धकी जस्तै,
यो जिन्दगी लाग्न छाड्यो जिन्दगी जस्तै।
शान्त फेवाझैं रहिरहने सपना थियो,
तर समयले बनाइदियो गण्डकी जस्तै।
२) मुक्तक
सगैं बसी ताराहरू गन्न मन लाछ,
तिमीसँग मनको कुरा भन्न मन लाछ।
रहर सजाउन त पाइन्छ होला नि,
साँच्चै मलाई तिम्रो मान्छे बन्न मन लाछ।
३) मुक्तक
खुसी भन्ने कुरा बोटमा नफल्दो रैछ,
राम्रो गरौ भन्ने मान्छे एक्लै पर्दो रैछ।
पैसा ठुलो कुरा हैन भनिन्छ भन्न त,
शहरमा पैसा नभई पाइला नचल्दो रैछ।
४) मुक्तक
आफन्तले त ख्याल राख्दै होलान्,
वैरीहरूका भने मुटु काप्दै होलान्।
म त दिल दुख्दा पनि हाँसि नै दिन्छु,
पीडाहरू मलाई सराप्दै होलान्।
५) मुक्तक
ज्योति छर्न मन छ नेपाली नै बनी
कर्म गर्न मन छ नेपाली नै बनी
यहीँ माटोमा हुर्के परिचय पाएँ ,
मलाई मर्न मन छ नेपाली नै बनी।
६) मुक्तक
लाग्न थाल्यो जीवन फिक्का, बस्दा मौनतामा,
तिमी आइ बस्नु मनमा, बस्नु यी आखामा।
चाहिदैन गुलाफको फूल, चाहिदैन उपहार केहि,
स्वयम् मलाई फुल्न दिनु दिलको बगैंचामा।
७) मुक्तक
बिस्तारबिस्तार बलिराछ पिरतीको दियो,
अन्जानमै याद आई मेरो गरिदिन्छन् चियो।
महोदय, बताइदिनुस् यो बाटो कहाँ पुग्छ,
आज उसको मनसम्म मलाई पुग्नु थियो।
८) मुक्तक
केमा छ र सन्तुष्टि खै खोज्दा भेटिएन,
टुटेछ कि खुसीको तार, रेट्दा रेटिएन।
हिडिरहे डुलिरहें सुख खोज्ने बहानामा,
जिन्दगीको मृग तिष्णा अझै मेटिएन।
९) मुक्तक
कसैको मन मिल्ने साथी हुन सकिएन,
र कसैले नजरमा जाति हुन सकिएन।
थााहा छ भगवान् यो मन भित्र बसेका छन्,
आफ्नै मनलाई ढाँटेर घाती हुन सकिएन।
१०) मुक्तक
यो मायाको भाषा अनि व्याकरण बुझ्नै सकिएन,
खै कसरी हुन्छ निराकरण बुझ्नै सकिएन।
छिनमै कल्पनाको वर्षात् छिनमै उदासीको हुरी,
किन बद्लियो दिलको पर्यावरण बुझ्नै सकिएन।
-पूर्णिमा प्रतिविम्ब
प्रकाशित: २६ माघ २०८१ १४:१३ शनिबार





