१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

तुलना गरेर हेर्दा अर्काको जिन्दगी नै आहा हुन्छ!

मुक्तक

१) मुक्तक

प्रत्येक व्यक्तिलाई राम्रो गर्ने र माथि पुग्ने चाहा हुन्छ,

तुलना गरेर हेर्दा अर्काको जिन्दगी नै आहा हुन्छ।

बाहिर मुस्कान छरेर पिल्सिनेहरू कति छन् कति,

भन्छन् खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ।

२) मुक्तक

घमण्डीले आफैंलाई सर्वेसर्वा ठानेको छ,

भोलि कसको, के हुने हो, कसले पो जानेको छ।

दैनिकीले पिरोल्छ सधैं अभावमा रुमलिनेलाई त,

हरियालीमा हुर्केर पनि खाडीको धनले तानेको छ।

३) मुक्तक

आधुनिकीकरणको नामले धेरै परिवर्तन पनि नल्याओस्,

देखासिकी र ढोंग गर्दा हाम्रा संस्कार बिलाइ नजाओस्।

आफू जे जस्तो छौं, स्वीकार गरौं सहज भावले,

किनकि, नकाब उतार्न खोज्दा छाला उप्केर नआओस्।

४) मुक्तक

आत्मामै छ ईश्वर, विश्वास लिनेलाई छल्न गाह्रै हुन्छ,

जति देखाउनु लोभलालच उसलाई बदल्न गाह्रै हुन्छ।

हरेक प्राणीको निश्चित उमेर हुन्छ उत्पादनका लागि,

उमेर पुगेपछि जति डेन्टपेन्ट गरे पनि चल्न गाह्रै हुन्छ।

५) मुक्तक

मन्त्रमुग्ध बन्दछ यो मन जहाँ मधूर सङ्गीत हुन्छ,

छाउँछ नशानशामा उमङ्ग शरीर तरङ्गीत हुन्छ।

हरेक दिन केही न केही गर्छौं, दिन्छौं र लिन्छौं हामी,

कृतज्ञ भावले गरेका कर्मले वातावरण सुगन्धित हुन्छ।

६) मुक्तक

म निराश भएको बेला मिठो व्यञ्जनको अर्थ हुँदैन,

अरूको दुः खमा आँसु झार्नेको मनमा स्वार्थ हुँदैन।

प्रगति कहाँ भएको छ र स्वार्थमा लिप्त रहनेको पनि,

अलिकति परोपकारमा ध्यान दिनुहोस्, त्यो व्यर्थ हुँदैन।

७) मुक्तक

मान्छेको चारित्रिक छवि उसको अभिमानबाट देखिन्छ,

कर्मका मूल्यांकन त्याग र बलिदानबाट देखिन्छ।

लुकाउन खोज्दा खोज्दै झल्किन्छन् कति कुराहरू प्रष्टै,

त्यस्तै मनको असली रङ्ग आखा र मुस्कानबाट देखिन्छ।

८) मुक्तक

जस्तो ठाउँमा पुग्छौँ हामी त्यस्तै प्रकारको स्वभाव दिन्छौं,

सज्जनलाई गुनिलो स्वाद, दुर्जनलाई नमिठो ख्वाब दिन्छौं। 

जो बाट केही मिल्दैन उसँग केही प्राप्तिको आश नराखी,

जसले बढी ख्याल गर्छ नि उसैलाई बढी दबाब दिन्छौं।

९) मुक्तक

कसरी निदाउन सकिन्छ र चुहिने छानो भएपछि,

जोहो गरेर सामान राखेको भाँडो ओभानो भएपछि।

भाग्यमा जति छ त्यति मिल्छ भनेको ठिकै रहेछ क्यारे,

ठुलो माछा कसरी बस्छ र पोखरी नै सानो भएपछि।

१०) मुक्तक

माया त सबैले गर्छन् प्रिय तिम्रो जस्तो खास भेटिन्न,

तिमीलाई जस्तै अरूलाई भेट्दा मनमा उल्लास भेटिन्न।

भर गरेर चलाउनु र निर्वाह गर्नुमा धेरै अन्तर छ नि,

झलमल्ल बिजुली बले पनि सूर्यको झैं प्रकाश भेटिन्न।

प्रकाशित: २३ माघ २०८१ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App