२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १६:३८ अपराह्न
कला

एक साता ‘नाट्यमान्डु’

रङ्गमञ्च

विलियम सेक्सपियरले भनेका छन्- ‘दुनियाँ एउटा रङ्गमञ्च हो, अनि हामी सबै यस रङ्गमञ्चका कठपुतली हौं।’

दुनियाँ रङ्गमञ्च पक्कै होला। तर हामी कठपुतलिया हौं कि होइनौं त्यसको चर्चा पछि गरौंला। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस वर्ष भारतको ‘नेसनल स्कुल अफ ड्रामा (एनएसडी) सँग सहकार्य गर्दै नेपालमा साताव्यापी नाट्य महोत्सव आयोजनासँगै माघ २३ बाट राजधानी एक साताका लागि रङ्गमञ्च बन्ने भएको छ। ‘नेपाल-भारत रङ्ग महोत्सव’ नाम दिइएको यो नाट्य महोत्सवसँगै काठमाडौं ‘नाट्यमान्डु’ बन्नेछ।  

माघ २३ देखि ३० गतेसम्म चल्ने यस महोत्सवमा नेपालका तीन र भारतका तीन गरी ६ नाटक मञ्चन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले बताइन्।

‘नेपाल–भारत रङ महोत्सव आयोजना गर्न लागेको यहाँहरूलाई जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गौरव र खुसीको अनुभूति भएको छ, ‘प्रतिष्ठानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भनिन्, ‘यो महोत्सवले नेपाल र भारतबिचको सम्बन्धलाई समृद्ध बनाउने हामीले विश्वास लिएका छौं।’

महोत्सवले दुई देशका साझा सम्पदा, सिर्जनशीलता र कलाको गहिरो भाषालाई जोड्ने आशा तथा विश्वास शर्माले व्यक्त गरिन्।

भारतको नाट्य प्रज्ञा प्रतिष्ठान मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रूपमा आयोजना गर्ने भारत रङ्ग महोत्सव यस वर्ष फेब्रुअरी १ देखि हुँदैछ। सन् १९९९ बाट सुरु भएको महोत्सवमा यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदीलगायत एनएसडीबाट प्रशिक्षित नेपाली रङ्गकर्मीलगायत अन्य रङ्गकर्मीहरूले धेरै पटक सहभागिता जनाइसकेका छन्। भारतमा जारी महोत्सवमा नौ देशका दुई सयभन्दा बढी नाटक प्रदर्शन हुनेछन्। नेपालसँगै यस पटक यो महोत्सव श्रीलंकाको राजधानी कोलम्बोमा पनि आयोजना हुँदै गरेको शर्माले जानकारी दिइन्।

 

यस महोत्सवका लागि नेपालबाट पहिले नै दुई वटा नाटक छानिएका उनले बताइन्। दिया मास्केको ‘कथा कस्तुरी’ र नम्रता केसीको ‘जून’, रहेको शर्माले जानकारी दिइन्। ‘यससँगै हामीले उत्पादन गरेको नाटक ‘गच्छामी’ (निर्देशक ः सुनिल पोखरेल, सहनिर्देशक वीरेन्द्र हमाल) लाई महोत्सवमा देखाइनेछ,’ शर्माले भनिन्, ‘राजधानी एक साता ‘नाट्यमय’ हुनेछ।’

यस कार्यक्रममा भारतको संस्कृति मन्त्रालयका प्रतिनिधिहरू, एनएसडीका उपाध्यक्ष, निर्देशकलगायत प्रतिनिधिहरू र भारतीय पत्रकारको सहभागिता हुने जानकारी शर्माले दिइन्। ‘यो उनीहरूकै महोत्सव हो तर हामीले आयोजना गर्दैछौं,’ उनले भनिन्, ‘यसको नाम पनि हामीले ‘नेपाल–भारत रङ्ग महोत्सव’ राखेका छौं।’

सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर, जमलमा निःशुल्क मञ्चन हुने नाटकमा धेरै सहभागी हुने शर्माको विश्वास छ।

महोत्सवको पहिलो दिन माघ २३ गते साँझ पाँच बजे सिके लालद्वारा लिखित तथा सुनिल पोखरेलद्वारा निर्देशित नाटक ‘गच्छामी’ प्रदर्शन हुनेछ भने माघ २४ गते नयनराज पाण्डेद्वारा लिखित नाटक ‘कथा कस्तुरी’ प्रदर्शन हुनेछ। यसमा निर्देशक दिया मास्के रहेकी छिन्। माघ २५ र २६ गते दुई दिन खाली रहने र त्यसपछि माघ २७ गते साँझ पाँच बजे नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछ। जसका लेखक संयोग गुरागाईं, निर्देशक नम्रता केसी रहेकी छन्। यसै गरी माघ २८ बाट तीन दिन भारतीय नाटक प्रदर्शन हुनेछन्।

माघ २८ गते साँझ पाँच बजे नाटक ‘माई री में का से कहुं’ प्रदर्शन हुनेछ। जसका लेखक विजयदन देथा र निर्देशक श्री अजयकुमार रहेका छन् भने माघ २९ माघ साँझ पाँच बजे भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ, जसका लेखक मथिलेश्वर र निर्देशक राजेश सिंह रहेका छन्। नाटकको अन्तिम दिन ३० माघ, साँझ पाँच बजे ‘ताज महलका टेन्डर’ देखाइनेछ, जसका लेखक अजय शुक्ल र निर्देशक चितरञ्जन त्रिपाठी रहेका छन्।

‘नाटक सम्बन्धको मजबुत सेतु हो’

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले नाटक दुई देशलाई जोड्ने मजबुत सेतु भएको बताउँछिन्। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सङ्गीत तथा नाट्य विधाको संरक्षण, संवर्धन, प्रवर्धन एवं सर्वाङ्गीण विकास गर्न लागिपरेको उनले बताइन्। रङ्गमञ्च सधैं समाजलाई प्रतिबिम्बित गर्ने, भावना झल्काउने र परिवर्तनको प्रेरणा दिने सशक्त माध्यम बनेको उनी बताउँछिन्।

‘यस महोत्सवमा सहभागी भएका नेपाल र भारतका उल्लेखनीय नाटकका माध्यमबाट केवल प्रस्तुति मात्र होइन, एक अर्काका परम्परा, मूल्य र कथाको साझा संवाद गराउनुका साथै दुई छिमेकीको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनेछ भन्ने हामीले विश्वास लिएका छौं,’ शर्मा भन्छिन्। नेपाली कलाकारले पनि भारतमा गएर नाटक प्रदर्शन गर्न लागेको उनले बताइन्।

शर्माले आफ्नो कार्यकालमा धेरै कुरा गर्ने चाहना भए पनि स्रोतसाधनको कमीका कारण सबै पूरा हुन नसकेको बताइन्। ‘सङ्गीत तथा नाट्य विधामा अध्ययन एवं अनुसन्धान गर्न, गराउन तथा सम्बन्धित क्षेत्रका विद्वान् तथा प्रतिभाहरूको सम्मान र कदर गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान स्थापना भएको हो,’ उनले भनिन्, ‘प्रतिष्ठानका उद्देश्यहरू व्यापक भए तापनि सीमित स्रोतसाधन मात्र भएकाले तोकिएका काम सोचेअनुरूप गर्न प्रतिष्ठानले कठिनाइ भोग्दै आएको छ।’

विधागत हिसाबले नाटक एकदमै खर्चिलो भएकाले हरेक वर्ष नाटक महोत्सव गर्ने चाहना बजेट अभावका कारण पूरा गर्न नसकेको उनले सुनाइन्।

प्रतिष्ठानको मुख्य काम सङ्गीत तथा नाट्य विधालाई विश्वसमक्ष परिचित गराउने, सङ्गीत तथा नाट्यसम्बन्धी पुस्तकालय, सङ्ग्र्रहालय निर्माण गर्ने, नाट्यशाला आदि स्थापना गर्ने कुरा जानकारी भए पनि त्यो सोचे जति अगाडि बढ्न नसकेको उनले बताइन्।

‘यति हुँदाहँुदै पनि सङ्गीत तथा नाट्य विधामा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, कार्यशाला, सम्मेलन, महोत्सव, प्रतियोगिता, प्रशिक्षण आदि आयोजना तथा सञ्चालन गर्ने अभियानमा लागेका छौं,’ उनले भनिन्, ‘त्यसैगरी नेपालका विभिन्न जातजाति तथा समुदायका मौलिक लोकगीत, लोकनृत्य, लोकबाजा, लोकधुन तथा लोक सङ्गीतको अध्ययन, अनुसन्धान, संवर्धन र संरक्षण गर्ने जमर्को पनि गरेका छौं।’

के हो एनएसडी?

नेसनल स्कुल अफ ड्रामा (एनएसडी) भारतको प्रमुख नाट्य विद्यालय हो। यसको स्थापना १९५९ मा दिल्लीमा गरिएको थियो। यस संस्थाले अभिनय, निर्देशन, नाटक लेखन, रङ्गमञ्चका प्रविधिहरू र नाट्य शास्त्रको अध्ययन गर्ने अवसर प्रदान गर्छ। यसको उद्देश्य नाटक र रङ्गमञ्चका कलाहरूको विकास र संवर्धन गर्नु हो।

यसमा अध्ययन गर्नका लागि प्रवेश परीक्षा हुन्छ। जसमा विभिन्न प्रकारका परीक्षणहरू समावेश हुन्छन्, जस्तै अभिनय क्षमता, शारीरिक व्यायाम र सिर्जनात्मक क्षमता जाँच्ने कार्यहरू। यहाँको पाठ्यक्रम सामान्यतः तीन वर्षको अवधिको हुन्छ र यसले विद्यार्थीलाई व्यावसायिक रङ्गमञ्चको कलाकार र प्रशिक्षकका रूपमा तयार गर्छ।

यस संस्थाले ठुलो संख्यामा प्रसिद्ध रङ्गमञ्च कलाकारहरूलाई जन्म दिएको छ, जसले भारतीय रङ्गमञ्चमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। भारतका चर्चित कलाकार इरफान खान, नसिरुद्धिन शाह, ओमपुरी, शवाना आजमी, मनोज बाजपेयी, आशुतोष राणा लगायतका कलाकार एनएसडीका उत्पादन हुन्।

यसको प्रमुख उद्देश्य नाटक र रङ्गमञ्च कलामार्फत समाज र संस्कृतिको संवेदनशीलता र समृद्धि ल्याउनु हो। यस संस्थामा नेपालबाट सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदीलगायतले पढ्ने अवसर पाएका छन् ।

प्रकाशित: १९ माघ २०८१ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App