१ चैत्र २०८१ शुक्रबार
image/svg+xml ११:४३ पूर्वाह्न
कला

पहाडी सौन्दर्यको मनोरम छटा

निबन्ध

हाम्रा हिमाल र पहाड प्रकृतिको काखमा सजिएका रत्नजस्ता लाग्छन्। यसको मनोरम छटा शब्दमा बयान गर्न सकिँदैन। सेता हिमशैल सान, मानसाथ गौरवले धपक्क प्रज्वलित। हरियाली डाँडाकाँडाका मालाले सजाइएजस्तै अनन्त सिलसिला। नदी र तालतलैयाहरूले सधैं सिञ्चित हाम्रा यिनै धरा–धामहरू ! खोलानालाको कलकल, झरनाको मधुर धुन, चराका चिरीबिरी, चिसो हावा, संगीतमय वातावरण। तथापि शान्त, एकान्त, चुपचाप सन्नाटाले व्याप्त  प्राकृतिक सेरोफेरो।

यिनैमा देखिन्छ निश्चल सौन्दर्यका मायालु मुस्कान। यिनैमा भेटिन्छन् यात्राका मिठासहरू। यिनै रमणीय दृश्यहरूले मनलाई प्रफुल्लित बनाउँछन्। यिनै पखेराहरूले उत्साह उमारिदिन्छन्। यिनैले ऊर्जाशील पार्न मद्दत गर्छन्। यिनै उचाइ छोइरहेका हाम्रा हिमाल र पहाडहरू। त्यहाँ स्वप्निल सौन्दर्यका स्पन्दनले मनलाई स्पर्श गर्न तमतयार भइरहेका हुन्छन्।

पहाडको सुन्दरता मौसमअनुसार फेरिन्छ। वसन्त ऋतुमा प्रकृति जागा बन्छ। रुखहरूले पालुवा फेर्छन्। नयाँ मुना, मुजुरा र पातहरूले ढाकिन्छन् र फूलहरू फुल्छन्। गर्मीयाममा हरियाली डाँडाकाँडा बादलले छोपिन्छन् र मनमोहक दृश्य देखिन्छ। शरद् ऋतुमा आकाश गाढा निलो हुन्छ। सफा मौसमले वनजंगल सुनौला देखिन्छन्। जाडोमा हिउँ पर्छ र पहाडी तरेलीहरू सेताम्मे हुन्छन्।

पहाडमा बस्ने मानिसहरू निकै मेहनती र मिलनसार हुन्छन्। उनीहरूले प्रकृतिसँग मिलेर जीवनयापन गर्छन्। पहाडको माटोमा फल्ने अन्नबाली स्वादिष्ट र पौष्टिक हुन्छन्। पहाडी भेगमा उत्पादित फलफूल, तरकारी र दुधदही पनि निकै स्वादिष्ट हुन्छन्।

पहाडमा घुम्न जाँदा प्राकृतिक सौन्दर्यको आनन्द लिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा पनि सहभागी हुन सकिन्छ। पहाडी बस्तीमा पुग्दा त्यहाँको रहनसहन, भेषभूषा र कलासंस्कृतिबारे जान्ने, बुझ्ने अवसर मिल्छ।

पहाड मानव जीवनका लागि अत्यन्तै उपयोगी छ। यसले हामीलाई हिमालको स्वच्छ हावा, मूलको शुद्धपानी र ताजा खानेकुरा दिन्छ। पहाडले हामीलाई स्वच्छ मनोरञ्जन दिन्छ। पहाडी वातावरणले शारीरिक र मानसिक रूपमा स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ। त्यसैले पहाडको संरक्षण गर्नुपर्छ। यसको सुन्दरतालाई सधैंका लागि जोगाइ राख्नुपर्छ।

वास्तवमा पहाड प्रकृतिको अनुपम उपहार हो। यसको मनोरम छटाले हामीलाई जीवनप्रतिको प्रेरणा जागृत गरिदिन्छ। त्यसैले हामीले पहाडलाई माया गर्नु, मन पराउनु र पहाड चढेर यात्राको आनन्द लिनु स्वाभाविक हो। त्यहाँ भेटिन्छन्– अलिकति दीर्घायुका प्राणपखेरुहरू। उल्लासमय क्षणका प्राकृतिक सौन्दर्यहरू।

पहाडको शान्ति र सन्देशको यात्रा, जीवनको रमाइलो र शान्तिको साक्षी बन्छ। नेपाली पहाड, जसको कायासँगै प्राकृतिक सौन्दर्यको बहारभित्र लुकेको छ। हरेक घामको किरण, हिउँको लाज र माटाको सुगन्धमा आफूलाई एक अपरिमित समृद्धि अनुभव गराउँछ। यसमा सामेल भई आत्मसात हुनु भनेको दीर्घ जीवनको प्राप्तिसमेत हो।

यस पर्वतीय संसारमा हावा र पानीको झङ्कारले थकित मनलाई विश्रामको आभास दिन्छ। एकछिन बिसाएर खुइया गरी चारैतिरका दृश्य नियाल्दै लामो श्वास फेरेपछि स्वतः जिउमा नयाँ ऊर्जा थपिन्छ। त्यसपछि कस्तै कठोरको उकालो पनि सजिलै चढिन्छ। ओरालो छिनभरमै झरिन्छ। यसरी चढिँदा र झरिँदाका अनुभूति जीवनका प्रेरणादायी क्षण बन्छन्।

पहाडी सौन्दर्य भनेको घुम्ती, हरियाली र हिमालको अनौठो दृश्य संयोजित विशाल क्यानभासको प्राकृतिक मिठास हो। जीवनका भावनात्मक गहिराइमा बसिरहेको शान्तिको अस्मिता पनि हो। जीवनको स्पन्दन र खुसीको भाव सञ्चार गराउने माध्यम पनि हो। त्यसले प्रत्येक जीवनलाई सुचारु हुन शक्ति दिन्छ।

पहाडको पाटोमा अविरल बगिरहेको श्वेताम्बर झरना, बिहानको प्रथम कलिलो किरणमा घामले चुमेको सुनौलो धरती, शीतले भिजेको जमिन। त्यसपछि क्रमशः आएको नवजीवनको उमङ्ग। यी सबै अनुपम प्राकृतिक वैभव हुन्। प्रकृतिका नियमित कर्म हुन्। यिनलाई हामीले बिथोल्नुहुँदैन। बरु यही सिलसिलामा समाहित हुनुपर्छ।

बिस्तारै घरका धुरीबाट निस्किएको धुवाँ र कामको मेलोमेसोमा लागिरहेको गाउँले जीवन एउटा जीवन्त क्यानभास हो। जहाँ जीवनका सुन्दर रङहरू पोतिएका हुन्छन्। त्यहाँ इमानदार जनजीवनका भोगाइहरू दुःखका पीडामा पनि हाँसिरहेका मनहरू भेटिन्छन्। मित्रवत् बोली र व्यवहारले आगन्तुक सबैको मनलाई छोइरहेको देखिन्छ।

तिनै ग्रामीण जीवनशैलीमा बाँच्ने तमाम गाउँलेहरूले वन जोगाएर पहिरो–प्रकोपको प्रताडना रोकेका छन्। आफ्नै लय र लाइनमा खोला बग्न दिएर घरबारीमा बाढी आउन छेकेका छन्। अनेक जातका तुलफूल रोपेर स्वाद र सुगन्धको मिठास चाख्न पाएका छन्। त्यहाँ कुनै प्रदूषणको प्रहार छैन। कुनै रोगबिमारको सम्भावना छैन। झारफुकमै विश्वास छ।

 देवीदेउराली, सिमेभुमेलाई पाती चढाएर आत्मबल बढाउँछन्। सबै आफन्त सँगै मिलेर बसेका छन्। एउटाको खुसीमा सबै रमाउँछन्। एउटाको पीडामा सबै दुःखी हुन्छन्। यी सबै पहाडको हर्ष र उल्लासका प्रतीक हुन्। यी सबै ग्रामीण जीवनका मौलिक पक्ष हुन्।

यहाँका नदी, खोलाखहरे, झरना र तालतलैया पानीका धारा होइनन्, जीवनका नायक हुन्, जो दिनरातको अविरल प्रवाहमा आफ्नो अस्तित्व प्रकट गर्दै हामीलाई सन्देश दिन्छन्– ‘हामी एकअर्कामा बाँधिएका छौं, सँगै बढ्दै जान्छौं। कसैले रोक्ने, छेक्ने कोसिस नगर। हामी सबै मिलेर बग्नुपर्छ। मिलेर बाँच्नुपर्छ। हामीलाई रोके, अवरोध गरे कुनै न कुनै दिन आपतको घडी आइपर्ला, होस गर। वातावरण शोकमा परिणत होला, ख्याल गर।’

धेरै यात्रा गर्नेहरूले भन्न सक्छन्, पहाडको हावा, त्यसको शान्ति र यसको ताजापन जस्तै जीवनका साँचा क्षण यसैगरी व्यतीत हुँदै जान्छन्। पर्वतारोही, पदयात्री वा प्रकृतिप्रेमीका लागि उच्चतम शिखरमा पुग्दा देखिने दृश्य भनेको त्यो दृश्य मात्र होइन र हुँदैन। एकछिन हेर्नुको आनन्द र देखेर पाउनुको सन्तुष्टि मात्रैमा सीमित हुँदैन। त्यसले दिने प्रेरणा र पार्ने प्रभाव सधैं अनुकरणीय र दीर्घकालीन हुन्छ। त्यो आत्मासँगै बाँच्ने एक अनुभव हुन्छ। प्रकृतिको एकदमै नजिक पुग्ने अवसर हुन्छ।

चाँदीझैं झल्किरहने हिमाल। बिस्तारै हराउने, फेरि देखिने बादल। पहाडी तरेलीका एकपछि अर्को क्षितिजका मनोरम दृश्यले आत्मालाई सन्तुष्टि र आनन्दको अनुभूति दिन्छन्। त्यहाँ भावनाका वेग हुइँकिन्छ। त्यहाँ सिर्जनाका विषय जन्मिन्छन्। त्यहाँ जीवनका कठिन सङ्घर्षहरू पनि सजिलै पचाउने क्षमता हुन्छ।

हिमाल र पहाडी बस्तीहरू साक्षात् प्रकृतिका हिस्साजस्ता लाग्छन्। घरहरू ढुङ्गा, माटो, काठबाट बनेका भए पनि त्यहाँको सौन्दर्य सनातन हो। क्रमशः आधुनिकता र परम्पराको अद्वितीय मिलनको उपमा पनि हो। यहाँका मानिसको चहलपहल, जीवनको रफ्तार र एक अर्कासँगको सम्बन्धले त्यो स्थानलाई जीवन्त बनाउँछ। मानवीय मनको हार्दिकता त्यहाँ प्रकट भइरहेको हुन्छ।

उनीहरू आफ्नो हरेक क्रियाकलापमा प्रकृतिका भागीदार भएको महसुस गर्छन्। जब एकजनाले समृद्ध जीवनको सपना देख्छ, अर्कोले त्यही सपना आफ्नो काँधमा बोकेको हुन्छ। भत्काउने, बिगार्ने वा ध्वस्त संरचनाको कल्पना हुँदैन। सधैं उही जीवनशैली तर परम्परागत अस्तित्वलाई जोगाएर राखेका छन्। प्रकृतिजस्तै संस्कार, संस्कृति सबै बाँचेर, बचाएर सुरक्षित छन्।

यसो भन्दै जाँदा, पहाड केवल एक शारीरिक स्थल होइन, त्यो एक मानसिक शान्ति र दार्शनिक सौन्दर्यको अनुभूति पनि हो। यसको हरियाली, हिमाली शिखर र चाँदीको माला बनाउने काँचो वायुले शान्तिपूर्ण आस्था र आन्तरिक शक्ति निर्माण गरिरहेको हुन्छ।

पानी, माटो र हावाले बगाउने जीवन, यो कुनै परिकल्पनामा अलिखित नपढिएको वास्तविकता हो। यहाँको सौन्दर्य मनको गहिराइमा बस्दै त्यसले नयाँ तरिका र सोचको प्रेरणा दिन्छ। पहाडी सौन्दर्य आँखाले हेर्ने कुरा मात्रै पनि होइन। यो हृदयले महसुस गर्ने र आत्मासँग मौन संवाद गर्ने पृथक् ढङ्गले जिउने कुरा हो। जसरी पहाडले आफ्नो पखेरालाई अन्न फलाएर, फूलको माया र बरफको आलिङ्गनमा जीवन स्पन्दित गर्छ। त्यस्तै हामी पनि हाम्रो जीवनको हरेक क्षणलाई साँचो प्रेम र समझदारीमा जिउन सिक्छौं।

यसैले पहाडी सौन्दर्य केवल पृथ्वीको एक अङ्ग मात्र होइन। यो विचार र संवेदनाको संसारको एउटा ठुलो भाग हो। यसले हामीलाई प्रेम, शान्ति र जीवनको असली अर्थ सिकाउँछ। शान्ति र सङ्घर्षसँगै पहाड बाँच्छ। त्यहाँ प्रत्येक दृश्यले जीवनको गहिराइ र क्षणिक सौन्दर्यलाई उजागर गर्छ। यही पहाडी सौन्दर्यको वास्तविकता हो। पहाडी सौन्दर्यको विशेषता यही हो।

यो सौन्दर्य प्राकृतिक रमणीयतामा मात्र सीमित हुँदैन। बरु यसले मानव जीवनका सम्पूर्ण अनुभवलाई समेटेको हुन्छ। नमैलिएको, नधमिलिएको स्वच्छ, सफा स्निग्ध पहाडी सौन्दर्य भनेको एक अनमोल खजाना हो। यो प्रकृतिको अँगालोमा लुटपुटिनेहरूलाई मात्र थाहा हुन्छ। यसको वास्तविकता बुझ्न हामीले आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउन सक्नुपर्छ। पहाडी सौन्दर्यको मनोरम छटाको महत्त्व र यसको संरक्षणको आवश्यकतालाई पनि हामीले ध्यान दिनुपर्छ। प्रकृतिप्रेमी हुनु वा प्रकृतिलाई मन पराउनु मात्रले पुग्दैन। प्रकृतिलाई माया गर्न सक्नुपर्छ। प्रकृतिलाई बचाएर राख्न सिक्नुपर्छ।

प्रकाशित: १९ माघ २०८१ ०६:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App