३० चैत्र २०८१ शनिबार
image/svg+xml ९:१३ पूर्वाह्न
कला

समय, शासन र सहिद

सन्दर्भ: सहिद सप्ताह

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए

बन्दैन मुलुक दुईचार सपुत मरेर नगए

‘सहिदको सम्झनामा’ कवितामा कवि भूपी शेरचनद्वारा रचित माथिका पंक्तिले देशमा स्वतन्त्रता प्राप्तिका लागि सहादतप्राप्त सहिदको मूल्यांकन गर्दै देशका लागि जिउज्यान अर्पण गर्ने सहिदको सम्मान व्यक्त गरेको छ।

नेपालको स्वतन्त्रताका निम्ति भएका २००७ सालदेखि २०६२/६३ लगायतका विभिन्न आन्दोलनमा लामबद्ध भएर बलिदान गर्नेहरूको हामीसँग गौरवशाली इतिहास छ। निरङ्कुश शासकविरुद्ध हजारौं नेपालीले वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए। राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनवटै आन्दोलनमा नेपाली जनताले इतिहासदेखि नै निर्भयपूर्वक लडेर बलिदान गरेका छन्।

नेपाललाई स्वतन्त्र, अविभाज्य राख्न नालापानीदेखि सिन्धुलीगढीसम्मका लडाइँ चर्चित छन्। राजनीतिक रूपमा सङ्गठित भएर देशी–विदेशी अन्याय, शोषण र दमनविरुद्ध सङ्घर्ष गर्ने र बलिदान गर्ने गौरवशाली इतिहासको आरम्भ भने नेपालका प्रथम सहिद लखन थापाले नै गरेका हुन्।

प्रजातन्त्रको कुरा गर्दा जहाँनिया राणाशासनको निरङ्कुशताविरुद्ध १९९० सालमा शुक्रराज शास्त्रीको नेतृत्वमा केदारमान व्यथित, गङ्गालाल श्रेष्ठ, मुरलीधर शर्मा, आनन्दरामलगायत एक्काइस जना व्यक्ति मिली नेपाल नागरिक अधिकार समिति स्थापना गरेका थिए, जसको एकमात्र उद्देश्य नेपालमा प्रजातन्त्र स्थापना गर्नु थियो।

नेपालको स्वतन्त्रताका निमित्त भारतीय स्वतन्त्रता सङ्ग्रामका नेता महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेटघाट गरेका थिए। यही नागरिक अधिकार समितिले राणाशासनविरुद्ध १९९५ साल मंसिरमा इन्द्रचोकमा राखेको सभामा शुक्रराज शास्त्रीले नजरबन्द तोडेर भाषण गरे। त्यस सभामा गङ्गालाल श्रेष्ठले पनि जनताले अधिकारका निम्ति लड्नुपर्ने कुरा बोलेका थिए। सभामा देशको राजनीतिक, आर्थिक एवं सामाजिक अवस्थाको विश्लेषण गर्दै राणाशासनको विरोध गरिएको थियो। यसैकारण शुक्रराज शास्त्रीलाई तीनबर्से काराबासको सजाय भएको थियो।

आफ्नै सुख, स्वार्थ र पारिवारिक मोजमा लिप्त राणाहरूले जनताको हक र अधिकारबारे कहिल्यै सोचेनन्। राणाशासनको अन्याय, अत्याचार र दमनको सर्वत्र विरोध गर्न र निरङ्कुश राणाशासनको अन्त्य गरी सम्पूर्ण अधिकार जनतामा हस्तान्तरण गर्न त्यतिबेलाका युवाहरू गुप्त रूपमा एकजुट भएका थिए। समाज सुधारका प्रयत्नभन्दा अगाडि बढेर क्रान्तिको शङ्खघोष गर्ने राजनीतिक पार्टीका निम्ति सचेत युवा तथा विद्यार्थी समुदायले त्यतिबेला जोडदार ढङ्गले पहल गरेका थिए। त्यतिखेरका युवाहरू राणाविरोधी भावनाले ओतप्रोत भएका थिए।

राणाहरूको अमानवीयता र अत्याचारका कारण व्यापक असन्तुष्टि र विरोध हुन थालेको थियो। युवा विद्यार्थी आन्दोलनले सङ्गठित आन्दोलनका रूपमा नेपाल प्रजापरिषद्को स्थापना भएको देखिन्छ। १९९३ साल जेठ २२ गते धर्मभक्त माथेमाकी फुपूको झोछेँ ओमबहालस्थित घरमा टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा भेला भएर ‘नेपाल प्रजापरिषद्’ नामक राजनीतिक पार्टी स्थापना गरे, जसको एउटै उद्देश्य नेपालमा राणाशासनसाथै अन्याय, अत्याचार र दमनको अन्त्य गरी सम्पूर्ण अधिकार जनतामा स्थापित गर्नु थियो। गुप्त रूपमा स्थापित ‘नेपाल प्रजापरिषद्’को मुख्य ध्येय राणाशासनको अन्त्य गर्नु, प्रजातन्त्र र जनअधिकारको बहाल गर्नु नै हो भन्ने कुरा उक्त पार्टीको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।

प्रजापरिषद्लाई तत्कालीन राजा त्रिभुवनबाट पनि सहयोग भएको कुरा उल्लेख भएको पाइन्छ। तर प्रजापरिषद्का कार्यकर्तालाई दण्डसजाय र फाँसी दिँदासमेत राजा त्रिभुवनले कुनै प्रतिक्रिया देखाउन सकेनन्। त्यो उनको बाध्यता थियो कि थिएन ? त्यसको उठान इतिहासले कहिल्यै गर्न सकेन तर देशका प्रमुख भएका नाताले प्रतिवादको सट्टा उल्टै पन्जापत्र नै गरेका थिए। त्यो एउटा प्रतिक्रियावादी अवसरवाद रहेको प्रगतिशील पक्षधर इतिहासकारहरूले उल्लेख गरेका छन्।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा बलिदानी दिने ती महान् सहिद जो राणाशासन, पञ्चायती व्यवस्था तथा राजतन्त्रले दिएको लोभलालचमा कहिल्यै फसेनन् र डर–धाकमा कहिल्यै दबेनन्। तिनका योगदानको मूल्याङ्कन आजसम्म हुन सकेको छैन। देशका लागि ज्यानको सहादत दिन लागिपरेका ती युवाले आफ्नो निष्ठामा अडिग भई ठाडो शिर लगाएर बरु मृत्युलाई रोजे तर पछाडि हटेनन्। उनीहरूकै बलिदानबाट देश स्वतन्त्र भयो र आज हामी निर्भीकतापूर्वक बोल्न, विचार राख्न स्वतन्त्र छौं।

आजको स्वतन्त्रताका लागि पहिले आवाज उठाउने तिनै व्यक्तिमध्ये कतिले आजीवन कारवास र सर्वस्वहरणको सजाय पाए, कतिले मृत्युदण्ड पाए। निरङ्कुश राणाशासनमा जनताका छोराछोरी रैती वा प्रजाका रूपमा रहँदा तिनमा विद्रोहको भावना उब्जेको थियो भन्न सकिन्छ। उनीहरूको दृष्टिमा आम जनता हामीले जति पढे पनि खरिदार, सुब्बाभन्दा माथिको पद प्राप्त गर्न सक्दैनौं।

पाए पनि राणाशासकको निगाहमा बाँच्नुपर्छ भन्दै त्यसैले कि स्वतन्त्रता प्राप्ति कि जीवन बलिदान दिने यी दुईभन्दा अरू विकल्प छैन भनी युवाहरू भित्रीरूपमा एकजुट भई प्रजापरिषद् गठन गरी राणाविरुद्ध उभिएका थिए। त्यसै क्रममा चार सहिद अथवा शुक्रराज, धर्मभक्त, दशरथ र गंगालाल एकै ठाउँमा उभिएका थिए।

सहादत भन्ने कुरा उमेरले होइन, देशप्रतिको जिम्मेवारीले हुन्छ भन्ने कुराको उदाहरण उमेरले कान्छो भएर पनि गंगालालले आफूलाई कहिल्यै कमजोर देखाएनन् र निरङ्कुश राणाशासनका विरुद्ध विद्रोह गरेर फाँसीमै झुन्डिन तयार भए। यसरी देशलाई स्वतन्त्रता र प्रजातन्त्रको आन्दोलनमा लड्दालड्दै मृत्युवरणमा पुग्ने वा जीवन आहुति दिने व्यक्तिलाई अमर सहिद भनिन्छ भन्ने कुरालाई प्रमाणित गरेरै छाडे।

देश र नागरिक अधिकार प्राप्तिका लागि आफ्नो ज्यान बलिदानीको अर्थ बहन गर्ने शब्द ‘सहिद’ अरबी मूलबाट भारतीय साहित्य हुँदै नेपाली भाषामा भित्रिएको आगन्तुक शब्द हो। सहिदका विषयमा राजनीतिक शब्दकोश (शिवाकोटी, २०७०: १०८२) मा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षणको तथा स्वतन्त्रताको प्राप्तिका निम्ति, मानवहित र सिद्धान्तका लागि, प्रगति र विकासका लागि बलिदानी दिएर लोकहितमा लाग्ने व्यक्तिलाई सहिद भनिन्छ भनिएको छ।

कुनै पनि देशमा आमूल परिवर्तनका संवाहक बनेका सहिदको त्याग र बलिदानबाट मात्र स्वतन्त्र भएको इतिहास छ। सहिदको बलिदानबाट नै मुलुकमा परिवर्तन हुन्छ। त्यसैले सहिदलाई परिवर्तनका संवाहकका रूपमा समेत लिइने गरिन्छ। सहिद आफ्नो उद्देश्यका लागि बलिदान दिन पनि तयार रहन्छ।

१९९७ सालमा राणाशासनविरुद्ध भएका चार सहिद तथा त्यसपछिका विभिन्न आन्दोलनमा भएका सहिदको रगत र बलिदानले नै नयाँ युग प्रारम्भ भएको पाइन्छ। पञ्चायती व्यवस्था र पछि राजतन्त्रका विरुद्ध आन्दोलन गर्दा धेरै सपुतले देशका निमित्त सहादत प्राप्त गरे तर पछिल्लो समयमा राज्यले जुन र जस्ता व्यक्तिलाई सहिद घोषणा गर्‍यो, त्यसले सहिदको उचित परिभाषा विपरीत रहेको छ। जे जस्तो कारणले मृत्युवरण गरे पनि सहिदको उपमा दिएका कारण वास्तविक सहिदको अपमान भएको देखिन्छ।

देशको उद्देश्यका लागि बलिदान दिनेलाई सहिद मान्नुपर्नेमा आपसी झगडा र दंगाफसादमा मारिने समेतलाई गरेर लगभग ६ हजारभन्दा बढीलाई सहिद घोषणा गरिनुले असल सहिदप्रति अन्याय र सहिद शब्दको परिभाषामा नै विचलन वितृष्णा आएको देखिन्छ।

 उद्देश्य एकातिर हुँदाहुँदै जनताको पक्षमा बलिदान दिनुलाई सहिद मान्नुपर्नेमा अहिले दुर्घटनादेखि भिडन्तमा परेर बिनाउद्देश्य मारिएकालाई समेत सहिद घोषणा गरिनु र घोषणा गरेका जतिलाई क्षतिपूर्ति दिने कामले सहिदको बिक्री भएको र रूपैयाँ पैसामा मूल्य निर्धारण हुन जानुले सहिदप्रतिको धारणा सामान्य बन्दै गएको छ।

देशका लागि जिउज्यान दिएका अमर सहिदहरूको सम्बन्धबारे खोज्दा र लेख्दा सहिद को हुन्? किन सहिद हुन्छन्? सहिद भएर उनीहरू र उनीहरूका परिवारले के पाउँछन् ? सहिदहरूको वलिदान के हो? भन्दा साँचो अर्थमा तानाशाह, अन्याय–अत्याचार तथा निरंकुशताविरुद्ध जनताको पक्षमा उनीहरूको स्वतन्त्रता, मानव अधिकार र मुलुकको सार्वभौम स्वतन्त्र अस्तित्वका लागि अदम्य उत्साह, निःस्वार्थ भाव, त्याग, तपस्या र बलिदानका उदाहरण हुन् भनिन्छ।

नेपाल मात्र होइन, विश्वका धेरै मुलुक आन्तरिक तथा बाह्य औपनिवेशबाट मुक्त हुन तथा स्वतन्त्र अस्तित्व बचाउन, औपनिवेशिक शासन व्यवस्थाबाट मुक्ति पाउन नागरिक आन्दोलन वा विद्रोह भएको छ। निरङ्कुश शासकका कारण आफ्नै मुलुकभित्र विकसित भएको जहाँनिया, वंशीय वा सैनिक शासनलाई उल्टाउन, सत्याग्रह, निशस्त्र तथा सशस्त्र आन्दोलन भएका छन्। नेपालको राजनैतिक परिवर्तनको इतिहास पनि यस्तै वीर सपुतहरूको कथा, व्यथा र बलिदानले भरिपूर्ण छ।

हुन त केही वर्षदेखि सहिदको पहिचानको परिभाषा र व्याख्यामा प्रशस्त विकृति र विचलन आएको पाइन्छ। तापनि आखिर सहिदको मूल्य र ऐतिहासिक तथ्य र सत्य भनेको सत्य नै रहन्छ, जुन साधारणले पनि को सहिद हुन् वा होइनन् भन्ने कुरामा आआफ्नो विवेकको प्रयोगबाट छुट्याउन सक्छन् भन्ने कुरामा हामी विश्वस्त रहन्छौं।

नेपालका लागि विभिन्न समयमा स्वतन्त्रताका लागि भएका नेपालको प्रजातान्त्रिक आन्दोलनका घटनाक्रमलाई केलाउँदा जहानियाँ पारिवारिक निरङ्कुश राणाशासनमा नेपाली समाज विकासको क्रम अवरुद्ध रहेको पाइन्छ। १०४ वर्षसम्म उनीहरूको प्रत्यक्ष शासनले शिक्षा, स्वास्थ्य, यातायात, कृषि विकास र रोजगारी बढाउनका लागि अन्य विकल्पका रूपमा व्यापार र औद्योगिक विकासजस्ता कुराहरू अवरुद्ध रहेका थिए।

 राज्यको सम्पत्ति तथा कर उनीहरूकै मोजमस्ती र पारिवारिक सुखसुविधाका लागि मात्र खर्च गरिन्थ्यो। राष्ट्रको सम्पूर्ण आयस्रोत र साधन राणा परिवारको पृष्ठपोषणमा खर्च हुने गरेको ऐतिहासिक तथ्य हामी माझ छँदैछ। केवल देखावटी रूपमा मात्र केही विद्यालय तथा अस्पताल त्यो पनि आफ्नै परिवारका निम्ति स्थापना गरिएका थिए।

केही उद्योगको स्थापना विदेशी दाताहरूको सहयोगमा भएको थियो। नेपाली समाजमा जातभात, वर्ण व्यवस्था र शासकको स्वेच्छाचारी विचारमा जातीयता र साम्प्रदायिकतालाई धार्मिक मान्यताको आधारमा कानुनी संरक्षण दिइएको अवस्था थियो। निजामती प्रशासन, सैनिक र प्रहरीमा सबै ठुला पदहरू आफ्नै आफन्त तथा भाइभारदारहरूलाई बाँडिएको थियो।

ब्रिटिस साम्राज्यको औपनिवेशिक शासनमा रहेको भारत र ब्रिटेनबाहेक अन्य मित्र तथा दातृ राष्ट्रहरूसँग कूटनैतिक सम्बन्धको विस्तार भएको थिएन। अन्य औंलामा गन्न सकिने केही मुलुकहरू जस्तैः फ्रान्स, इटाली, नर्वे स्विडेनसँगको सम्बन्ध केवल विभूषणको आदानप्रदानमा मात्र सीमित भए।

भूपरिवेष्ठित र विश्व समुदायबाट उपेक्षित नेपालले विकासको गतिमा पाइलासम्म पनि चाल्न प्रयास भएन र अरू देश विकसित भइसक्दा पनि प्राकृतिक सम्पदा, कला र संस्कृतिले धनी देश नेपाल अँध्यारोमै थियो भने यहाँका नौ जवानहरू अन्य देशका सैनिक बनेर अघि बढ्दै थिए।

पहिलो र दास्रो विश्वयुद्धमा नेपाली गोर्खाली वीरहरू अरूकै लागि मैदानमा लड्दै थिए तर देशभित्र निरङ्कुश जहाँनिया शासन चलिरहेकै थियो। दोस्रो विश्वयुद्धको समाप्तिपछि धेरै देशमा स्वतन्त्रताका लागि शीतयुद्ध सुरु भइसकेको थियो, जसको फलस्वरूप भारतमा महात्मा गान्धीको नेतृत्वमा भारतीय स्वतन्त्रता संग्राम आन्दोलनको प्रारम्भ भएको थियो।

 ब्रिटिसहरूलाई भारत छोड भन्ने मूल नारासँगै भारतलाई स्वतन्त्र बनाउन सबै नागरिकलाई एकीकरण गरिएको अवस्था थियो। नेपाल स्वतन्त्र गर्न पनि युवाहरू एकजुट भइसकेका थिए। प्रवासमा बसेर नेपालको स्वतन्त्रताका लागि काम गरिरहेका त्यहाँ शुक्रराज शास्त्री, दशरथ चन्द र पछिल्लो अवस्थामा विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईजस्ता आम युवाहरू जवाहरलाल नेहरू, जयप्रकाश नारायण जस्ता जुझारु नेताहरूको सम्पर्कमा पुगेका थिए।

नेपालको स्वतन्त्रताका लागि भारतको भूमिमा आश्रय लिइरहेका नेपालीहरू प्रशस्तै थिए भने अन्य व्यक्तित्वहरू पढाइ, धार्मिक भ्रमण तथा व्यापारका निमित्त भारत पस्ने र त्यहाँको गतिविधिलाई नजिकबाट हेर्थे। जहानियाँ राणाशासनमा जागरुक एवं सचेत वर्गलाई नियन्त्रण र प्रतिबन्धमा समेत राखिन्थ्यो। पहिलो र दोस्रो विश्वयुद्धमा ठुलो संख्यामा ब्रिटिस फौजमा भर्ना गर्न राणा शासनले सहज बनाइदिएको थियो।

नेपालीलाई वीर गोरखालीका नाममा युद्धभूमिमा उतारिएको थियो। युद्धलाई वीरतापूर्वक सामना गरेर नेपालीहरू सर्वश्रेष्ठ भिक्टोरिया क्रसको मानपदवीद्वारा विभूषित भए तापनि ठुलो संख्यामा नेपालीले मृत्युवरण गर्नु, हराउनु, घाइते तथा अपाङ्ग भई घर फर्कनुपरेको अवस्था थियो।

तत्कालीन शासकले ब्रिटिस इन्डिया सरकार रिझाउने, फकाउने तथा उनीहरूबाट आफ्नो परिवार र प्रतिष्ठालाई जोगाउनेबाहेक लडाइँमा वीरगति प्राप्त गर्ने र अंगभंग भई अपाङ्ग हुनेहरूका लागि केही विशेष व्यवस्था गरेन। तर इतिहासमा अंग्रेजले गोरखालीलाई वीरभन्दा पनि महान् वीर गोरखाली भनेर चिनाउँथे र अझै गौरवगाथा गाइरहेकै छन्।

यता नेपालीहरू भने गरिबी, भोकमरी, अशिक्षित र अस्वस्थ नागरिकका हैसियतमा संसारभर चिनिएका थिए। यस्तो अवस्थामा नेपालबाट केही सचेत नागरिक भारतमा आउनेजाने गरेका र उनीहरूमा क्रुर र दमनकारी राणाशासनविरुद्ध आक्रोशको भावना भारतीय स्वतन्त्रता आन्दोलनले पनि बीजारोपण गर्दै आएको थियो। यता निरङ्कुश राणा शासनले आफ्नो पारिवारिक शासन पद्धतिलाई स्थायित्व दिन चाहन्थे र राजसंस्थामाथि पनि प्रभुत्व जमाउन भरमग्दुर प्रयासरत थिए।

नेपालको इतिहासमा यसै सन्दर्भमा १९९७ साल माघ १५ गते निरङ्कुश पारिवारिक राणाशासन विरुद्ध आवाज उठाउने, प्रजातन्त्र र मानव स्वतन्त्रताका लागि संगठनको सूत्रपात र शंखनाद गर्ने चार अमर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ नै हुन्। तिनीहरूलाई ज्यान सजाय दिई झुन्ड्याएर र गोली हानेर मारिएको थियो।

पढेलेखेका यी युवा प्रतिभाशाली, होनाहार, निडर, निस्वार्थ र त्यागी क्रान्तकारी थिए। यिनीहरू समाज परिवर्तनका अभिष्ट बोकेका, पढाइमा अब्बल, नाचगान र अभिनयमा निपुण प्रखर वक्ता थिए। यिनीहरूले विभिन्न स्थानमा दिएका भाषण तथा वैचारिक दृष्टिकोणले जनमानसमा अमिट छाप छोडेका थिए।

देशका लागि आहुति दिने युवाले स्वदेश तथा विदेशका भाषा पाठशालामा पढेका थिए। त्यतिबेला आम जनताका लागि देशमै पढ्न पाउने अवस्था थिएन। त्यसैले अलि हुनेखानेहरूका छोराछोरी कलकत्ता तथा भारतका अन्य ठाउँमा पढ्न जान्थे। प्रवासमा बसेर अध्ययन गरेका युवाहरूमा नागरिक अधिकार र प्रजातान्त्रिक जीवनका लागि भारतीय महिला तथा पुरुषहरूले देखाएको अदम्य साहस, उत्साह र त्यागले राजनीतितिर लाग्न उत्प्रेरित गरिसकेको अवस्था थियो।

स्वदेश र विदेशमा राणाशासनविरुद्धको आन्दोलन सुरु हुँदा यता राणाशासन जोगाउन राणाहरूले श्री ५ त्रिभुवनपछि केशरशमशेरकी महारानी जेठी शाहजादीलाई राजगद्दीमा लाने गरी श्री ३ महाराज चन्द्रशमशेरले राणा र शाह परिवारको वैवाहिक सम्बन्ध गराई कुटिल जुक्ति निकालेका थिए तर अंग्रेजले त्यसलाई मानेनन्।

यता प्रबुद्ध वर्गमा राणाविरोधी आक्रोशका कारणले जनसंगठनहरू तयार गर्ने प्रक्रिया सुरु भई जनचेतनाका लागि पर्चा छर्ने काम भइसकेको थियो। ९० सालको भूकम्पपछि शुक्रराज शास्त्री, केदारमान व्यथित, मुरलीधर शर्मा, आनन्दराज र गंगालाल श्रेष्ठजस्ता नवयुवकहरूले नेपाल नागरिक अधिकार समिति गठन गरेका थिए।

शुक्रराज शास्त्रीले भारतमा गई महात्मा गान्धी तथा सुवासचन्द्र बोसजस्ता महान् व्यक्तिसँग भेटघाट गरेका र भारतीय पत्रपत्रिकामा समेत नेपाली नागरिक अधिकार समिति गठन भएको कुरा प्रकाशमा आएको थियो। यसरी नै काठमाडौंको विभिन्न भजन मण्डली तथा धार्मिक प्रवचनहरूमा नागरिक जागरणका सन्देशहरू प्रचारित हुन थालेका थिए। यता स्वतन्त्रता आन्दोलनको प्रभाग विकसित हुन थालेको थियो।

शिक्षाको विकास बिनाजनतालाई सचेत र जागरुक गर्न मास्टर चिनियालालको अग्रसरत्वमा १९९३ सालमा गंगालाललगायत धेरै युवक मिलेर महावीर स्कुल स्थापना गरेर यसैको माध्यमबाट मुलुकमा विद्यमान राजनीतिक घटनाक्रमको विषयमा पनि बराबर छलफल गर्न थालिएको अवस्था थियो। धेरै सचेत नागरिक यस स्कुलमा निःस्वार्थ भावले अवैतनिक रूपमा काम गर्ने तथा गराउने गर्थे।

यसबाट उनीहरूले राजनैतिक संगठनको प्रारूपसमेत तयार गर्ने अवसर प्राप्त गरेका थिए। यस स्कुलमा चिनियामान, फत्तेबहादुर सिंह, रामेश्वर स्थापित, आनन्दमान र पछि पूर्णबहादुर एमए, पूर्णबहादुर मानव, गंगालाल, सूर्यबहादुर भारद्वाज, चन्द्रमान मास्के, चित्तधर हृदय, सिद्धिचरण श्रेष्ठजस्ता व्यक्तिसमेत संलग्न थिए।

नेपालको राजनैतिक विकासको इतिहासमा नेपालको स्वतन्त्रतासँग जोडिँदा १९९३ साल जेठ ३० गते नेपाल प्रजा परिषद्को स्थापना भएको दिनलाई ऐतिहासिक दिन र महŒवपूर्ण घटनाका रूपमा लिन सकिन्छ।

टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमाजस्ता युवा भेला भई टंकप्रसादको नेतृत्वमा राजनैतिक संस्थाको स्थापना भएको हो। यसले श्री ५ महाराजधिराजको संवैधानिक नायकत्वमा प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने र जनताका मौलिक हकअधिकार प्रदान गर्ने मूल ध्येय थियो। जुनसुकै उपायबाट भए तापनि राणाशासनको अन्त्य गर्ने प्रण लिएका थिए।

यसै संस्थामा पछि दशरथ चन्द तथा धर्मभक्त माथेमाको अगुवाइ र प्रोत्साहनमा गंगालाल श्रेष्ठ र गणेशमान सिंहजस्ता क्रान्तिकारी विचारधारा राख्ने युवकहरू पनि समावेश हुन पुगेका थिए। यसै संस्थामा आबद्ध भएका कारणले दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ राणाशासनको बर्बरतामा परेका हुन् भने शुक्रराज शास्त्रीले भारतलगायत नेपालमा राणाशासनविरुद्ध नेपाली नागरिक अधिकार समितिका माध्यमबाट भारतीय पत्रपत्रिकामा लेखरचना तथा नेपालमा प्रवचनद्वारा निरंकुश शासनको विरुद्ध आवाज उठाउन थालेका थिए। यसरी हेर्दा यी चारै जना अमर सहिदहरू नेपालको इतिहासमा अत्यन्त उच्च स्थान प्राप्त गर्ने व्यक्तित्व हुन्, जसको सहादतपछि २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

नेपालको प्रजातान्त्रिक सन्दर्भमा इतिहासलाई फर्केर हेर्दा १९९७ साल आश्विनदेखि नेपाल प्रजा परिषद्को व्यापक पर्चा छर्न सुरु भएको थियो र यसै सन्दर्भमा महावीर विद्यालयका शिक्षकहरूका साथै दशरथ चन्दलाई पकनाजोलस्थित आफ्नै सानीआमाको घरबाट र गंगालाल श्रेष्ठलाई प्याफलमा आफ्नै घरबाट पक्राउ गरेका थिए। उनी पक्राउ पर्दा घरका चाहिँदा नचाहिँदा सबै चिज, किताब र कागजपत्रहरू बरामद गरी खाली राखेको चुरोटको बट्टासमेत नछाडी लगेका थिए। उहाँको भाइले पढ्ने किताब र अभ्यास पुस्तिकाहरूसमेत लगेर पढाइमा अप्ठ्यारो पारेको कुरा उहाँका कान्छा भाइ विजयलाल श्रेष्ठले उल्लेख  गरेका छन्।

उनीहरूलाई १९९७ सालको माघमा मृत्युदण्डको सजाय दिइएको थियो। उनीहरूलगायत अन्य धेरै जना यस मुद्दामा दोषी बनाइएका थिए। तीन महिनासम्म लगातार कठोर मानसिक यातना दिएर अत्याचारको नाङ्गो नाच देखाई हृदयविदारक पीडा हुने गरी गंगालाल, दशरथ, धर्मभक्त तथा गणेशमान सिंह र अन्यलाई पक्राउ गरी थुनामा राखेर केरकार गरेका थिए।

 मृत्युदण्डका क्रममा शुक्रराजलाई टेकु पचलीको रुखमा झुन्ड्याएर मारिएको थियो भने गंगालाल र दशरथलाई शोभाभगवतीमा दुईतिर फर्काएर दुवै हात पछिल्तिर डोरीले बाँधी बाँधिएको हातको बिचबाट दुवैतर्फबाट दुई दुई सिपाहीद्वारा उचालिएको बाँसमा झुन्ड्याएर दुवै खुट्टा बाँधी पानीमा भिजाएको छालाको कोर्राले नली हाडमा हिर्काइयो।

त्यसरी हिर्काउँदा नली हाडमा बेरिएको कोर्रा एकै पल्ट तानिएको थियो। त्यसरी तान्दा नली हाडको छाला तथा मासु एकै पल्ट चोइटाका रूपमा निस्केको थियो। दशरथ चन्द, कम्पाउन्डर चन्द्रमान सैंजु र गणेशमान सिंहलाई पनि यसरी नै मरणासन्न अवस्थामा प्राण मात्र बाँकी रहने गरी कोर्रा लगाएका थिए। विशेष अदालत र जाँचबुझ समितिले काम गर्ने ठाउँ यातनागृहका रूपमा परिणत भएको थियो। चार सहिदमध्ये गंगालाल सबैभन्दा कान्छा, क्रान्तिकारी, जोसिला र निडर थिए। मरणान्त कुटपिटका बाबजुत पनि नेपाल प्रजा परिषद् संगठनको विषयमा उनले कुनै कुरा बताएनन्।

सम्पूर्ण यातनालाई उनले सही नै रहे। त्यस्तो बेलामा उनलाई दशरथ चन्दबाट ठुलो प्रेरणा र ढाडस मिल्ने गरेको थियो। गंगालाल दशरथभन्दा निकै कम उमेरका भएकाले दशरथले उनलाई मेरो भाइ भन्ने गरेका थिए। जे जति यातना पाए पनि ती सबै देश र जनतालाई प्रजातन्त्र दिलाउन हो भनी दशरथले गंगालाललाई उत्प्रेरित गरेका थिए।

मृत्युदण्डको सजाय सुनाउँदा दशरथ तथा गंगालाल एक अर्कालाई अंकमाल गरी अट्टहासपूर्ण तरिकाले प्रफुल्लित हुँदै नाचेका थिए भनिन्छ। ज्यान सजाय पाउनेहरूको नाम पढ्न सकिएपछि जन्मभरि कैद सजाय पाउनेहरूको नाम पढिँदै गर्दा दशरथ चन्दले कुर्लंदै भने, ‘कसको जन्मभरि ? जुद्धशमशेरको जन्मभरि?’ यसैबिच माफी माग्नेलाई कैदसजाय पुनर्विचार गर्ने कुरा केरकार अधिकारीहरूले व्यक्त गरेका थिए तर देशका यी होनाहार युवकले कसैसामु घुँडा टेकेनन्, स्वाभिमानले शीर उँचो पारेरै छाडे।

सुरुमा फाँसीमा झुन्डिने शुक्रराज शास्त्री हुन्। उनलाई रातको समयमा टेकुको रुखमा झुन्ड्याइएको थियो। त्यसपछि गंगालाल र दशरथलाई सेन्ट्रल जेलबाट प्याफलको बाटो हुँदै विष्णुमतीतिर लगियो। उनीहरूलाई मध्यरातमा विष्णुमतीको बगरमा हातखुट्टा बाँधेर उभ्याइयो।

यस्तो अवस्थामा पनि उनीहरू निर्भीक र उत्साही थिए। सो समयमा जनरल नरशमशेरले गंगालाललाई कुठाउँमा गोली चलाई अन्तिम पटक माफी माग्न लगाउँदा गंगालालले झन् कडा शब्दमा तिरस्कार गरे। त्यसपछि उनलाई विभिन्न ठाउँमा गोली हानियो र जीवनलीला क्रुर तवरले समाप्त पारियो। (भुवनलाल प्रधानद्वारा लिखित ‘सहिद परिचय’बाट उद्धृत) इतिहासमा यी चार सहिदको नाम सुनौलो अक्षरले लेखिएको छ। त्यसपछि २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरी एकदलीय पञ्चायत व्यवस्थाको सुरुवात गरेका थिए।

राजाको एकतन्त्रीय निरङ्कुश शासनविरुद्ध चेतनशील नागरिकहरू एकजुट भई २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनमा कति युवाले सहादत गरी पुनः प्रजातन्त्र स्थापना गरे। २०५८ सालमा बहुदलप्रेमी राजा वीरेन्द्रको वंशविनाशपछि राजा बनेका ज्ञानेन्द्रले २०५९ सालमा सत्ता हातमा लिए।

एकातिर राज्यव्यवस्थाप्रति असहमति जनाई जनयुद्धमा गएको माओवादी र अर्कातिर राजाले राज्य व्यवस्था आफ्नो हातमा लिएपछि कुण्ठित नागरिक हक र अधिकार प्राप्तिका लागि २०६२÷६३ को दोस्रो जनआन्दोलनबाट नेपाल गणतान्त्रिक मुलुकका रूपमा स्थापित हुन पुग्यो।

यसरी हेर्दा विभिन्न जनआन्दोलनलाई परिपोषण गर्दै आएर नागरिक सार्वभौमिकताका आधारमा संविधानसभाको चुनाव भई आजको राजनैतिक व्यवस्थाको संरचना निर्माण भएको छ। अझै पनि आम जनता र युवाको लामो संघर्षद्वारा प्राप्त नागरिक हकअधिकार र सार्वभौमसत्ताले स्थायित्व प्राप्त गर्न सकेको छैन। सहिदका सपना र उनीहरूको योगदानको कदर भएको छैन।

आजको अवस्थासम्म आइपुग्दा जनताद्वारा विभिन्न आन्दोलनमार्फत प्राप्त उपलब्धी संस्थागत हुन सकेको देखिन्न। व्यक्तिगत सुखस्वार्थ र दलीय भागबन्डाको मुद्दाले देश झन्झन् आक्रान्त छ। बढ्दो भ्रष्टाचारपूर्ण अवस्था र राजनीतिलाई पेसा बनाइएका कारण सहिदको सपनामाथि कुठाराघात भएको छ। राजतन्त्रको अन्त्यपछि जनताकै छोरा वा छोरी राष्ट्रपति भए पनि जनताले प्रत्यक्ष परिवर्तनको अनुभूति गर्न पाएका छैनन्।  

प्रकाशित: १२ माघ २०८१ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App