१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

हनुमानढोका परिसरमा ‘ह्विली’ प्रस्ताव

वैभव

हनुमान ढोका (नेपालभाषामा हनुमानध्वाखा) काठमाडौंका मल्ल राजाहरूले बनाएको राजकीय वासस्थानका रूपमा प्रसिद्ध छ। नेवारीमा हनुमान ढोका परिसरलाई लाउकु पनि भनिन्छ। म यो परिसर अक्सर साइकलमा आफ्नो जन्म घर क्वाबहाल/ठमेल (थँबही) तथा बुढानीलकण्ठ (भुइजःसि) जाने गर्छु।

मेरो साइकल मार्ग हालको वासस्थान सिभिल होम, ठेँचोबाट खेतको आली (साइकले भाषामा सिंगल ट्रयाक), कच्ची सडक, पिच बाटो हुँदै साम्पाङ चोक निस्कन्छु। अनि नक्खिपोतबाट चक्रपथलाई छिचोल्दै ज्यावलाखेलको चिडियाखाना, पचली भैरव जैसीदेवल, हनुमानढोका हुँदै ठमेल पुग्छु।

यो बाटोमा कतै कतैबाहेक धेरै चार पाङ्ग्रे गाडी नचल्ने भएकाले साइकलका लागि सुरक्षित मार्ग हो। साथै बाटोमा स्थानीय जनसमुदाय तथा अनेक देशका पर्यटकहरूको दृश्य देखिने भएकाले रमाइलो लाग्छ। पटकपटक अझ भनूँ हजारौं पटक यो बाटोबाट हनुमान ढोका परिसरमा देखेको दृश्यलाई वर्णन गर्न मन लाग्यो। अन्ततः यो परिसर अति नै ऐतिहासिक थलो हो र नेपाली पाठकलाई एकजना रैथाने साइकल यात्रीका तर्फबाट देखेको दृश्य पस्कनु सान्दर्भिक नै लागेर यो लेखनी लेख्दैछु।

काष्ठमण्डप: म जैसीदेवल, चिकंमुगलतिरबाट आउँदा हनुमान ढोकापरिसरको प्रवेशको पहिलो दृश्यका रूपमा काष्ठमण्डप (नेपाल भाषामा मरुसत्तल) देखिन्छ। एकछिन त्यहाँ रोकिएर काष्ठमण्डपलाई तलदेखि माथिसम्म हेर्छु। त्यतिकैमा एक हुल १२–१५ वर्ष उमेरका केटाहरूले मलाई घेर्छन् र ‘हेलो नमस्ते’ भन्छन्। म विदेशी नै हो भन्ने परेछ क्यारे। अनि एउटाले ‘ह्वाट इज योर नेम ?’ भनेर सोध्छ। साइकल चलाउने सबै विदेशी नै ठान्छन् केटाहरू। मैले उत्तरमा ‘ए केटा हो, म नेपाली हुँ’ भनेपछि ङिच्च हाँसेर अर्को प्रश्न तेस्र्याइहाल्छन्, ‘दाइ, यो साइकल कति परेको हो?’ अनि अर्को केटोले एक दुई गर्दै गेयर कति हो भनेर गन्न थाल्छ। तेस्रो केटोले ‘वा ! यो त डबल सस्पेन्सन’ भन्दै औंला मुखमा राखेर अचम्म मान्छ। चौथो केटोलाई इङ्गित गर्दै थिएँ। ‘काष्ठमण्डप हेर्न पनि शान्तिसँग दिएनन् यी केटाहरूले’ मनमा गुनगुनाउँदै अर्कै छेउतिर लागेँ।

यहाँबाट मरुसत्तलको पूर्ण आकृति प्रस्टै देखिन्छ। तीन छाने विशाल भवन मरुसत्तल भन्ने नामले प्रसिद्ध छ। काष्ठमण्डप यसको अर्को नाउँ हो। यही भवनले गर्दा नेपालको राजधानीको नाउँ काठमाडौं रहेको हो।

नेपाली वास्तुकलाको इतिहासमा यस भवनको विशिष्ट स्थान छ। यस भवनको भुइँतलामा गोरखनाथको मूर्ति छ। मरुसत्तलको सम्बन्धमा अनेकन् कथा सुनिन्छन्। तीमध्ये एउटा रमाइलो कथा यहाँ राखेको छु–

सत्रौं शताब्दीका राजा लक्ष्मी नरसिंह मल्लको पालामा मछिन्द्रनाथको लगन जात्राको दिन मानिसको रूप लिएर कल्पवक्ष जात्रा हेर्न आइरहेका थिए। मछिन्द्रनाथका एक पुजारीले ती कल्पवक्षलाई चिनेछन् र समातेछन्।

एउटा सिंगो रुखले एउटा सत्तल बनाइदिने प्रतिज्ञा नगरुन्जेल पुजारीले कल्पवृक्षलाई छोडेनछन्। यसको चार दिनपछि कल्पवक्षले एउटा सालको रुख पठाइदिए। पुजारीले राजासँग अनुमति मागी त्यस रुखलाई काटेर काठमाडौंमा एउटा सत्तल बनाई मरुसत्तल भन्ने नाम राखे। एउटै रुखको काठबाट बनेको हुनाले यस सत्तललाई काष्ठमण्डप अर्थात् काठको माडु भन्ने चलन चल्यो।

कुमारी घर: साइकल दोर्‍याउँदै कुमारी घरअगाडि पुगेँ। गद्दी बैठकनजिक पश्चिम–दक्षिण कुनामा कुमारी घर छ। वंशावलीअनुसार काठमाडौंका अन्तिम मल्ल राजा जयप्रकाशले १८१३ सालको फागुनमा जग हाली लगत्तै आउने भदौसम्ममा सम्पूर्ण चोकको निर्माण कार्य सकिएको थियो। उति बेला काम गराइको तीव्रता बुझ्न सकिन्छ यो तथ्यबाट। २०७२ सालको भूकम्पबाट भत्किएका केही मन्दिर अझै पनि जिर्णोद्धार भएका छैनन् हनुमान ढोका परिसरमा।

बज्राचार्य गुरुहरूको रीतिथितिअनुसार सबै पूजाविधि सम्पन्न गरी कुमारीलाई ल्याएर सङ्कल्पसाथ स्थापित गरे। त्यस दिन देशका सारा कनफट्टा योगीलाई बोलाई कुमारी चोकमुनि राखी भोज खुवाइएको कुरा वंशावलीमा उल्लेख गरिएको छ। त्यसको भोलिपल्ट द्वादशीको दिन स्वयम्भू, पशुपति आदिबाट निमन्त्रित देवदेवताहरूलाई आआफ्नो खटमा राखी धुमधामसँग जात्रा गरी फिर्ता पठाइयो।

यसरी तीन रात चार दिनसम्म देशभर ठुलो उत्सव मनाइएको थियो। काठमाडौंलाई देवदेवीले रक्षा गरेको भूमि र ऋषि महर्षिको तपोभूमि मानिन्छ। त्यही कारणले श्रद्धास्वरूप पुज्ने संस्कृति निरन्तर विद्यमान छ उपत्यकामा। उदाहरणका लागि शिवरात्रीमा भारतबाट आएका ऋषिमुनिहरूलाई सम्मान दिएर भोजन र भत्ता बाँड्ने चलन अझै छ। भाषणको अन्त्यमा पशुपतिनाथले कल्याण गरून् भन्ने पनि गरिन्छ।

सडकबाट देखिने कुमारी घरको अग्र भाग विशेष रूपले अलङ्कृत छ। यसको दोस्रो तलाको बीचमा ठुलो आँखीझ्याल छ। त्यसको दायाँबायाँ साना साना आँखीझ्याल छन्। त्यसभन्दा पर दुवैतिर गोलाकार सुन्दर आँखीझ्याल छन्। पखेटा फिँजाएर नाचिरहेका मुजुर आकारमा ती आँखीझ्याल बनेका छन्। त्यसभन्दा अझ पर अरू दुइटा गोलाकार आँखीझ्याल छन्। तिनमा चाहिँ सातघोडे रथमा चढिरहेका सूर्यको मृति अङ्कित छ।

 सातघोडे रथमा चढेर सूर्य आकाशमा घुमिरहन्छ भन्ने लोक धारणाअनुसार सो आँखीझ्याल बनेको छ। सुरक्षाका दृष्टिले अग्र पहिलो र दोस्रो तलामा बनेका कुनै पनि झ्याल खोल्न हुने खालका छैनन्। प्राचीन शैलीमा बनेका सबैजसो नेपाली घरमा सुरक्षाका लागि यही तरिका अपनाइएको पाइन्छ।

तेस्रो तलाको मध्य भागमा तीनवटा खोल्न मिल्ने खालका झ्याल छन्। तीमध्ये बीचको झ्यालचाहिँ सुवर्णनिर्मित हुनाले विशेष आकर्षक देखिन्छ। यी झ्याल बार्दलीजस्तै अलिकति बाहिर निकालिएका छन्। यस्तो झ्याललाई गाझ्याल भन्ने चलन छ। सुवर्णनिर्मित झ्यालको दायाँबायाँ कमलासना देवीका मूर्ति राखिएका छन्।

गाझ्यालसँग दायाँबायाँ खोल्न मिल्ने चाक्ला दुई झ्याल छन्। त्यसभन्दा पर दायाँबायाँ अरू तीन तीनवटा झ्याल छन्। दायाँपट्टि थपिएको जस्तो देखिने अलग रहेको भागमा माथिल्लो तलामा स्वस्तिक चिह्न अंकित आँखीझ्याल छ। काठमाडौं खाल्डोको काष्ठकलाको उत्कृष्ट नमुनाका रूपमा यो कुमारी घरलाई लिन सकिन्छ।

एकाग्र भई कुमारी घरका आकर्षक झ्याललाई नियाल्दै गर्दा अचानक एकजना व्यक्तिले मेरो मनको एकाग्रता तोड्दै ‘ए दिनेश’ भनेर बोलाए। छिमेकी रहेछन्। ‘के गरिराखेको ? यो कुमारी घर/बहाल हेरिराखेको ? कति ऐतिहासिक र कलात्मक छ नि !’

उत्तर फर्काएँ। ‘तिमी त साइकल चढेर कता कता पुगिरहेको हुन्छ्यौ। मलाई त ईष्र्या नै लाग्छ। हामी अलिकति हिँड्दा पनि खुइय भइन्छ,’ छिमेकीले थप्दै भने। छिमेकीको कुरो सुन्दा उत्साहित भएँ। हामी गफिँदै उत्तरतिर लाग्यौं अनि छुट्टियौं।

गद्दीबैठक: १९६५ सालमा राजा पृथ्वीवीरविक्रम शाहको राज्यकालमा चन्द्रशमशेरको प्रबन्धमा गद्दीबैठक बन्यो। सो भवन बेलायततिर त्यस बेला चलेको ‘नेओं–क्लासिकल’ नामक शैलीमा तयार गरिएको छ। यो भवन कुमारी घरको ठिक उत्तरमा अवस्थित छ। इन्द्रजात्राको दिन राष्ट्रप्रमुख तथा अरू विशिष्ट स्वदेशी–विदेशी पाहुना यहाँबाट रथ यात्राको अवलोकन गर्छन्।

ठुलो घण्टा: अलि अगाडि एउटा ठुलो घण्टामा मेरो नजर अडियो। शिवपार्वतीको मन्दिरनजिकै पछिल्तिर। अभिलेखअनुसार १८५४ सालमा देवीलाई प्रशन्न पार्न र भूतप्रेत, पिशाच, डाकडाकिनीहरूलाई भगाउन राजा रणबहादुर शाहले यो घण्टा चढाएका रहेछन्।

श्वेत भैरव: ठुलो घण्टाको पूर्वपट्टि सडकपारि श्वेत भैरवको विशाल प्रतिमा छ भन्ने धेरैले पत्तो पाउँदैनन्। साइकलमा जाँदा त झनै याद हुन्न। मेरो साइकल त्यही प्रतिमाअगाडि रोकियो किनभने मलाई थाहा छ कि ठुलो आँखीझ्यालभित्र यो प्रतिमा छ भनेर।

यो प्रतिमा वर्षको एकपल्ट इन्द्रजात्राको दिन मात्र देख्न पाइन्छ। सो मूर्तिमा जाँड (थ्वँ) खान घुइँचो लाग्छ। मैले भिडका कारण थ्वँ खान कहिल्यै आँट गरिनँ। यो मूर्ति रणबहादुर शाहले १८५२ साल भदौमा स्थापना गरेका रहेछन्। यो कुरो यस मूर्तिको गलानेर स्वर्ण पटमा कुँदिएको रहेछ।

म हनुमानको मूर्तितिर सोझिएँ। दरबार पस्ने मूल द्वारको दायाँपट्टि हनुमानको ठुलो मूर्ति छ। यिनै हनुमानको नामले यस राजदरबारको नाम रहन गएको रहेछ। राजा प्रताप मल्लले हनुमानको यो मूर्ति स्थापना गरेका रहेछन्। मल्ल राजाहरू आफूलाई रामचन्द्रका वंशज भन्दा रहेछन्। त्यसकारण उनीहरू हनुमानप्रति विशेष श्रद्धाभाव राख्दा रहेछन्।

अगाडि बढ्दै जाँदा एक हुल स्कुले विद्यार्थी पनि हनुमान मूर्तिनजिकै आइपुगे। मलाई देख्नासाथ ‘ह्विली दाइ’ भन्न थाले। ह्विली भनेको पछाडिको एक चक्का मात्र टेकाएर चलाउने हो। मैले झट्ट सम्झेँ, मेरो एक जना साथी ह्विली गर्दा पछाडिबाट बज्रिएर बल्लबल्ल ढाड भाँचिनबाट बचेको थियो। केटाहरूको प्रताव नसुनेजस्तै गरेर आफ्नो बाटो लागेँ।

तलेजु मन्दिर: हनुमानको मूर्तिबाट उत्तरतिर साइकल गुडाउँदै जाँदा तलेजु मन्दिरको उत्तर ढोकामा पुगियो। तलेजु मन्दिर भव्य र कलात्मक छ। १६२० साल माघमा राजा महेन्द्र मल्लले यस मन्दिरको निर्माण गराएका रहेछन्। अरू साधारण मन्दिरभन्दा निकै ठुलो हुनाले थ्यासफूहरूमा यस मन्दिरलाई तव देवर (ठुलो देवल) भन्ने संज्ञा दिइएको छ। नेपाली वास्तुकलाको इतिहासमा यस मन्दिरको महत्त्वपूर्ण स्थान छ। तलेजु देवीसँग सम्बद्ध प्रचलित लोककथा यसप्रकार छ–

मिथिलाका राजाहरू तलेजु देवीका भक्त थिए। एक दिन त्यहाँका राजा हर्रासहदेवलाई सपनामा दिलीका बादशाहले त्यस राज्यमा हमला गर्नेछ भन्ने कुराको संकेत मिल्यो। सपनामा आएर तलेजु देवीले राजालाई ‘मलाई अब यहाँ नराख। उनीहरूले यहाँ आई उपद्रव गर्लान्।

नेपाल उपत्यकामा भक्तपुर भन्ने सुरक्षित ठाउँ छ। मलाई त्यहीं लगेर राख’ भन्ने आज्ञा दिइन्। देवीको यो स्वप्नवचन शिरोपर गरे। राजाले भोलिपल्ट बिहान सबेरै उठी तलेजुको प्रतिमा बोकी सपरिवार नेपाल उपत्यकातिर लागे। देवीको प्रभावले उनले नेपाल उपत्यकाका राजालाई सजिलैसँग जिते। त्यसपछि उनले भक्तपुरमा तलेजु देवीको स्थापना गरी सहरलाई राजधानी बनाएर राजकाज चलाए। त्यस बेलादेखि नेपाल उपत्यकामा हर्रासहदेवका वंशजहरूको राज चल्यो।

काठमाडौंको तलेजुको मन्दिर भक्तपुरको तलेजु मन्दिरको प्रतिनिधित्व गर्नेगरी बनाइएको हो, तापनि कलाका दृष्टिले काठमाडौंको तलेजु मन्दिर विशेष र भव्य छ।

१८८७ सालमा लिइएको देवलहरूको नापीमा यस मन्दिरको उचाइ ८१ हात लेखिएको छ। वाह्य तह पेटीमाथि बनेको तीनछाने मन्दिर हो यो। मन्दिरको टुप्पामा पाँचवटा सुनका गजुर छन्। मन्दिरभित्र सर्वसाधारणलाई दसैंको नवमीको दिनमा प्रवेश गराइन्छ। म आफैं पनि यो मन्दिरमा दुई पटक गएको छु।

यतिकैमा एक हुल कालो सारीमा रातो बोर्डर (नेपालभाषामा हाकु पतासि), पछ्यौरा (नेपालभाषामा गा), भोटो (नेपालभाषामा मिसालं), रंगीन कपडाको जुत्ता (नेपालभाषामा कापः लाकां) लगाएका युवतीहरू मखनबाट आइरहेका देखिए।

नजिकै पुग्दा गलामा टलक्क टल्केको पोतेको माला, केशमा सुनौलो धातुको फूल (नेपालभाषामा पलेस्वां तिसा), हातमा रातो चुरासमेत देख्दा अति नै सुन्दर देखिए। खाटी नेवार देखिने भेषभूषामा ती युवतीहरू असाध्यै राम्रा देखिएका थिए।

म एकछिन मन्त्रमुग्ध भएर तिनीहरूलाई हेरिरहेँ। गललल्ल हाँस्दै रमाएर कुरा गर्दा तिनीहरू अझ सुन्दर देखिन्थे। त्यतिकैमा एकजनाले भनेको सुनियो– ‘सिंगापुर होइन, जापान होइन, यो त काठमाडौं हो।’ फेरि सबै जना बेसरी हाँसे। देख्दादेख्दै तिनीहरू मरुतिर लागे, म कालभैरवतिर।

कालभैरव: ती युवतीको हुल आँखाबाट ओझेल परेपछि मैले आफैंलाई कालभैरवको छेउमा पाएँ। चाहे साइकलमा होस् वा हिँडेर, कालभैरवको विशाल मूर्ति नदेख्न असम्भवप्रायः छ। यो मूर्तिसँग सम्बन्धित रोचक लोककथा भाषा वंशावलीमा उल्लेख छ।

 राजा प्रताप मल्लले हनुमान ढोका दरबारको भण्डारखालमा बनाएको पोखरीमा पानी राख्न बुढानीलकण्ठदेखि नहर बताउँदै ल्याउँदा रानी वन भन्ने ठाउँतिर जमिनमुनि कालभैरवको यो मूति भेट्टाएका थिए। यस मूर्तिको भव्य रूप देखेर राजा प्रताप मल्लले त्यहाँबाट परिश्रमपूर्वक उठाएर ल्याउन लगाई दरबारअगाडि राख्न लगाए। यसको सत्यता भने पुष्टि भएको छैन।

यो मूर्ति करिव नौ हात अग्लो रहेछ। भैरवको मूर्तिअगाडि साइकलको स्याडलमा बसेर घोरिँदै माथिदेखि तलसम्म हेरिरहेँ। यसको दायाँ बायाँ दुइटा ठुल्ठुला सिंहका प्रतिमा छन्। उत्तानो परेर सुतिरहेको बेतालको शरीरमा कुल्चेर कालभैरवको भयङ्कर मूर्ति उभिइरहेको छ। उनले घुँडासम्म आउने मुण्डमाला लगाएका छन्।

कान, नाडी र पाउमा समेत सर्पको आभूषण छ। उनका ६ वटा हात छन्। माथिल्ला दुई हातमा खड्ग र ढाल छन्। बिचका दुई हातमा एउटाले कपाल लिएको छ, अर्को चाहिँ बिन्दु मुद्रामा छ। तलका दुई हातमा एउटाले त्रिशूल र अर्काले तीनवटा नरमुण्ड झुन्ड्याइरहेको छ। संयोगवश त्यहाँका वज्राचार्य पुजारी पनि चिनेकै रहेछन्। साइकलमा आउनुभएको ? भनेर सोधे। मैले पनि इसाराले हो भन्दै टाउको हल्लाएँ। प्रसाद लिएर जानुस् भन्दै फूलअक्षता दिए।

महेन्द्रेश्वर मन्दिर: फर्केर साइकल मक्खन (मखं) तिर मोडिन लाग्दा बायाँतिर महेन्द्रेश्वर महादेवको मन्दिर छ। १६१६ साल फागुनमा राजा महेन्द्र मल्लले यो मन्दिर बनाउन लगाएका रहेछन्। यसैले यस देवलको नाम महेन्द्रेश्वर मन्दिर रहेको रहेछ।

देवपत्तनमा रहेको पशुपतिनाथ मन्दिरमा वर्षादको समयमा बाढी आउँदा जान गाह्रो हुने भएकाले दिन प्रतिदिन पशुपतिनाथको दर्शन पाइयोस् भन्ने कामनाले उनले सो मन्दिर स्थापना गरेका रहेछन्। पशुपतिको मन्दिरमा जस्तै यस मन्दिरको सामुन्ने शिवजीको वाहन साँढेको प्रस्तर मूर्ति छ।

प्रकाशित: ३० चैत्र २०८१ ०९:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App