एक हप्तासम्म देशभर अविरल वर्षा भयो। पूर्वी तराईका केही जिल्लामा कोशी पस्यो। सुदुर पश्चिमका अधिकांश पहाडी जिल्ला सदरमुकामहरू बाढी पहिरोको उच्च जोखिममा परे। कर्णाली, सेती जस्ता ठूला नदीको कटानना परे जिल्ला सदरमुकाम दुनै, दार्चुला र खलंगा। रेडियो, टिभी, पत्रिकामा समाचार छ्याप्छ्याप्ती भयो। कहालीलाग्दो दृश्य देखियो। सुनियो। पढियो।
स्कुल, अस्पताल, सरकारी कार्यालय पनि पहिरोको चपेटामा परे। कति त नदीको भेलमा पौडी खेल्दै बिलाए।
गृहमन्त्री र प्रतिपक्ष दलका उच्च नेताहरू हेलिकप्टर चढेर प्रभावित क्षेत्रमा अनुगमन गर्न गए। सबैलाई हिमालको काखमा बसेका पश्चिमी पहाडहरूले मन्त्रमुग्ध तुल्याए। प्राकृतिक सौर्न्दर्यमा चुर्लुम्म नेताहरूले पीडितलाई दिनुपर्ने राहतका गुलिया आश्वासन समेत पो झन्डै भुलेका।
ओढार खुला चौरमा गाँस, वास, कपासविहीन पीडितहरू त्रासमा बाँचेका थिए। उनीहरू आकाशमा उडिरहेको हेलिकप्टरले ल्याउने राहतको आशामा थिए।
धन्न मन्त्री हुने भाग्य रहेछ। नत्र त यस्तो मनोरम ठाउँको दृश्यावलोकन गर्ने सुअवसर कहाँ पाउनु र!
मन्त्रीले गर्व गर्दै जुँगामा ताउ लगाए। अब तुरुन्तै अध्यन टोली राहत लिएर आउने बताएर राजधानी फर्किए।
मन्त्रीले पाँच सदस्यीय छानबिन टोली गठन गरे। टोलीले तुरुन्तै प्रतिवेदन पेश गर्नुपर्ने र त्यही अनुरुप राहत वितरण गर्ने निर्देशन दिए।
टोलीले अध्ययन, अनुगमन, छलफलमा निम्न निष्कर्ष सहितको प्रतिवेदन पेश गर्याे।
- धेरैजसोको वासस्थान नभएकाले तुरुन्तै वैकल्पिक वासस्थानको व्यवस्थापन गर्नुपर्ने,
- पाल खानेकुरा र लत्ताकपडा उपलब्ध गराउनुपर्ने,
- बाटो बनाउने
प्रतिवेदन पेश भएको भोलिपल्टै कार्यान्वयन गर्न निर्देशन आयो। निर्देशन अनुसार सबै आवश्यक सामान लिएर प्रभावित क्षेत्रतिर उड्यो हेलिकप्टर।
अकस्मात आकाशमा हेलिकप्टर देखेर गाउँले छक्क परे। गाउँको खुला ठाउँमा हेलिकप्टर बस्यो। धमाधम राहतको सामान झार्याे। कौतुहल बोकेर जम्मा भएका सबै गाउँले मुखामुख गर्न थाले।
किनभने असारमा भएको बाढी पीडितको अनुगमन गरेर गएको टोली राहत लिएर मंसिरमा आइपुगेको थियो।
-मन्दिरा मधुश्री
प्रकाशित: ११ माघ २०८१ १०:०५ शुक्रबार