११ माघ २०८१ शुक्रबार
image/svg+xml
कला

प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस

प्रसिद्ध निबन्धकार शंकर लामिछानेको ४९ औं स्मृति दिवस मनाइएको छ। शंकर लामिछाने प्रतिष्ठानको आयोजनामा उक्त स्मृति दिवस मनाइएको हो। बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त स्मृति दिवसमा प्रमुख अतिथि श्रेष्ठले लामिछानेको तस्वीरमा माल्यार्पण गर्दै ‘नेपाली साहित्यमा निबन्धको माध्यमले योगदान गर्ने स्व

लामिछानेलाई मूर्धन्य साहित्यकारको रूपमा आफुले बुझेको’ बताए। साथै उनले नेपाली भाषा र साहित्यका लागि प्रदेशको तर्फबाट र व्यक्तिगत पहलमा हुन सक्ने सबै सहयोगको लागि सदैव तयार भएको बताए।

प्राडा सुरेन्द्र केसीले ‘जम्मा ४८ वर्ष बाँचेका स्व।लामिछानेको नेपाली साहित्यमा गरेको योगदान हेर्दा उमेरले केहि नहुने रहेछ भन्ने निष्कर्षमा म पुगें। लामिछानेका निबन्ध लगायतका रचना साँच्चै अब्बल छन्।’ उनले स्रष्टाहरूमा आजकाल मौलाउँदै गएको प्रशंसा मात्र खोज्ने प्रवृत्ति गलत भएको बताए।

प्राडा गोविन्दमान सिंह कार्कीले शंकर लामिछानेको समग्र व्यक्तित्व र साहित्यमा उनको भूमिका, व्यक्तित्व र योगदानको चर्चा गर्दै भने, ‘नेपाली साहित्यमा हाइकु भित्र्याउने श्रेय लामिछानेलाई जान्छ। उनको पहिलो रचना विसं २००३ सालमा छापिएको थियो। लामिछाने लेखनीमा मात्र सीमित थिएनन् । सम्पादनको भूमिकामा समेत उनको योगदान छ।’

वरिष्ठ कथाकार,साहित्यिक पत्रकार किशोर पहाडीले आफू लेखनीमा लामिछानेको पदचाप पहिल्याउँदै हिंडेको बताउँदै सशरीर नभेटे पनि उनको सफाचट बनेर हिड्ने बानीको बारेमा सुनेको बताए। लामिछाने विशेषांक रुपरेखाले २०३३ सालमा निकालेको र आफूले पनि उनको बारेमा लेखेको बताए। यसको साथै विदेयले पनि विशेषांक निकालेको स्मरण गरे। उनको  लामिछानेको स्मृतिमा उतिबेला लेखिएको लेख सुनाए।

प्राडा गोपी उप्रेती, प्रतिष्ठानका संरक्षक तथा लामिछानेकी बैनी संगिता शर्मा र सविता ढुंगाना, वरिष्ठ साहित्यकार विमल भौकाजी, कवि केदार कोइराला (विराटनगर), अनेसास अष्टिन च्याप्टरका पूर्व उपाध्यक्ष किशोर विश्वकर्मा लगायत अतिथि दीर्घामा रहेका थिए।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको थियो। उनले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सबैलाई स्वागत गरेका थिए।

लामिछानेकी काकाकी छोरी एवं प्रतिष्ठानका संरक्षक संगिता शर्माले आफ्नो नाम पनि दाइ शंकर लामिछानेले राखिदिएको बताउँदै घरमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्यालहरु आउने गरेको बताइन्।

यसैगरी उनले शंकर लामिछानेले सदैव हामीलाई जहाँ पनि चिनाउने, तिमीहरू अघि बढ्नुपर्छ भनेर उत्प्रेरित गर्ने गरेको स्मरण गर्दै कार्यक्रम समापन गरिन्।

कार्यक्रममा प्रतिष्ठानले विमल भौकाजीलाई जन्मदिनको शुभकामनासहित सम्मान गरेको थियो भने प्राडा गोपी उप्रेती, किशोर विश्वकर्मा र केदार कोइरालालाई सम्मान गरेको उक्त कार्यक्रमको सञ्चालन शंकर लामिछाने प्रतिष्ठानका महासचिव साहित्यकार डा.दामोदर पुडासैनी ‘किशोर’ले गरेका थिए।

साहित्यकार प्रदिप सापकोटाका अनुसार कार्यक्रममा साहित्यकारहरू पद्यमावती सिंह, शंकर भारती, प्रदीप सापकोटा, हरिश कल्पित, कृष्ण भुषाल, रुद्र थपलिया, रमेश दाहाल, ममता कार्की, ध्रुव श्रेष्ठ, हरि न्यौपाने लगायतको उपस्तिथि रहेको थियो।  

प्रकाशित: ११ माघ २०८१ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App