१० माघ २०८१ बिहीबार
image/svg+xml
कला

नाटक

लघुकथा

१) नाटक

सुट टाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे! तारे होटलको सभाहल क्षणभरमै भरियो।

मजदुरका हक अधिकारका कुरा भए। मजदुरीहरूलाई माथि ल्याउने कुरा भयो। अधिकार बाँडने कुरा भए।

पहुँच बढाउने बिचारबाँडीयो। कार्यपत्र प्रस्तुत भयो।

टिप्पणीकारले टिप्पणी गरे। दर्शकले ताली पड्काए। कसैले मोटा कसैले दुब्ला खाम बुझे। सबै प्रफुल्ल देखिए। कार्यक्रम सकियो। खानपान सुरू भयो। फिला र कवाफ मज्जाले चपाए। विदेशी ब्रान्डीको खोलो बग्यो।

डोरीमा झुन्डिएर सोही होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोक तिर्खाले प्याकप्याकपरेका उनले घुटुक्क थुक निल्दै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, “ऊ हेर त, यहाँ त हाम्रै दिवस पो मनाइएको रहेछ!”

२) सोच

गौलोचनले एउटा चिटिक्क परेको आश्रम बनाए। उनले आफ्नै विद्वान बाआमाको नाममा आफ्नै जमिन र लगानीमा आश्रम तयार पारेका थिए।

आज आश्रमको उद्घाटनको दिन हो। समारोहमा साहित्यकार लगायत स्थानीयको भव्य उपस्थिति भयो।

कार्यक्रम सकिनेबित्तिकै केही जोगी, साधुसन्त र वृद्धवृद्धाहरू आश्रममा प्रवेश गरे।

गौलोचनले सोधे, “तपाईहरू यहाँ किन आउनुभयो?”

उनीहरूमध्ये एक वृद्धले भने, “यहाँ आश्रम खोलेको थाहा पाएर यहाँ  बस्न पाइन्छ कि भनेर आएको!”

लगत्तै अर्का एक साधुले पनि आफ्ना कुरा राखे, “साधुका लागि आश्रम बनेको होला भनेर हामी पनि यहीँ बस्न आएका !”

गौलोचनले दुई हात जोड्दै उनीहरूलाई सम्झाए, “माफ गर्नुहोस् यो साधुसन्त र वृद्धवृद्धाहरूलाई राख्न बनाइएको आश्रम होइन यो त साहित्यको अध्ययन अनुसन्धान गर्ने, विचार विमर्श गर्ने थलो हो!”

३) धर्म

रगतको खोलो बगेको थियो! लास यत्रतत्र लडेका थिए!

कोही टाउको छुट्टीएका शरीरका गिँड सकिनसकी घिच्याउँदै थिए। कोही हातमा छिनालिएको टाउको लिएर यताउति गर्दै थिए।

पैतालले टेकेको ठाउँमा रगतका डाम बसेका थिए! मानिसको भिड पन्छाई नसक्नुको थियो। धेरै मानिस लाइनबद्ध थिए भने कोई यताउती चोरबाटो खोज्दै थिए।

“आज शनिवारको दिन भएर होला कस्तो भिड रहेछ! हाम्रो पालो कहिले आउने होला, कि बाहिर बाहिर घुरेर फर्कौं कि कसो?“ विनोदले अत्यासीँदै आफ्नो श्रीमतीसँग भने।

श्रीमतीले जवाफ दिइन, “अब आइसकेपछि हतारिएर हुन्छ त, लाइन विस्तारै सर्दैछ पालो त कुर्नै पर्यो नि ! मन्दिर आउँदैमा त्यत्तिकै हुछ धर्म?“

यति नै बेला मन्दिरमा बोका सेरिएको दृष्य देखियो, चित्कार सुनियो।

सायद यस्तो काटमारको भयावह दृष्य पहिलो पटक देखेको भएर होला एकजना विदेशी पर्यटकले विनोदलाई नेपाली लवजमै जिज्ञासा राखे, “ओ माई गाड! खे गरेको एस्ठो? खिन ठेसरी गोटलाई काटेको होला?

“मन्दिरमा यसरी वली दिएपछि राम्रो हुन्छ, धर्म गरेको धर्म!“ विनोदले उसलाई बुझाउन खोज्यो।

पर्यटक अचम्भित भयो, “ओ माई गाड! नेपालीले ढर्म गर्डा त यस्ठो, पाप गार्यो भने कास्ठो होला?“

४) जिन्दावाद

“हाम्रो बस्तीमा ज्यानमारा छिर्यो है! अब हामी एकजुट भएनौ भने सकिन्छौँ!” सबैले सुन्ने गरी परेवाले भन्यो।

उसका कुरामा कसैले चासो दिएन। भोलिपल्ट जुरेलीले सबैका सामु भन्यो, “हिजो परेवा दाइले भनेकोकुरा साँच्चै पो रहेछ। हाम्रो दुस्मनले यहाँ डेरा जमाई सकेको रहेछ, अब के गर्ने?” उसको कुरा पनि सुन्ने कोही भएनन्। सबै आआफ्नै तालमा लागे।

सुन्दर बगैँचाको कपुरको अग्लो रूखमा बाजले अतिक्रमण गरीसकेको थियो।

पोथी बाज ओथारो बसेकी थिइ। चल्ला पनि कोरली। ऊ बच्चा रूँगेर बस्थी भाले बाज परिवारको भोक मेटाउन बगैँचाका अबोध पन्छीहरूको शिकार गरेर गुँडमा पुर्‍याउँथ्यो। कहिले परेवा, कहिले भँगेरा कहिले, काग त कहिले जुरेली छाकैपिच्छे फरक स्वादमा उनीहरूका आहारा बन्थे। बिस्तारै बगैँचा सुनसान बन्यो।

हिजोसम्म रङ्गीचङ्गी फूलहरूले सिङ्गारिएको बगैँचामा चराचुरूङ्गीको चिरबिर आवाजले मिठो सङ्गीत छर्दथ्यो। बगैँचामा सानो लोखर्केको फार्फार–फुर्फुर हेरिरहूँ जस्तो लाग्थ्यो। आज उनीहरूको अस्तित्व समाप्त हुन लागेको थियो। स्वतन्त्रता गुमेको थियो।

पीडित सबैले बैठक गरे। “हामीले समयमै बुद्धि नपुर्याउदा सन्तान गुमायौँ। अब सबै मिलेर वैरीविरूद्ध जाइलाग्नुपर्छ! तपाईहरू सबैले हामीलाई साथ दिनुहोस्!” कागले सुझायो।सहमति जुट्यो।

भोलिपल्ट सबै एकजुट भए। एकैपटक  शक्ति प्रदर्शन गरे। कसैले शत्रुको गुँड भत्काए। कसैले समूहमा दुस्मनलाई लखेटे। दुस्मनको प्रतिकार कमजोर भयो। उनीहरूको केही सिप लागेन र जङ्गल तिरै भागे।

बगैँचामा खुशियाली फर्कियो।

संयुक्त आवाज घन्कियो, “हाम्रो एकता जिन्दावाद!”

५) भुसप्रसाद

“स्रष्टा महोदय तपाईहरूले कुनै सम्बोधन नगरी सिधै आफ्नो रचना वाचन गर्नुहोला! हामी यसो भन्न विवश छौँ! यहाँ आफ्नो रचना सुनाउन झण्डै एक सय स्रष्टाको नाम आइसकेको छ!” उद्घोषक पटकपटक घोक्रो सुक्ने गरी चिच्याउँदै थिए।

साहित्यिक सम्मेलनमा सहभागीहरू आफ्नो रचना सुनाउन पाइने हो कि नपाइने हो भन्ने चिन्तामा थिए।

विडम्बना, स्रष्टा आफ्नो पालो आएपछि मन्चमा पुग्नेबित्तिकै यो कुरा भुलिहाल्थे र पट्यारलाग्दो लामो सम्बोधनपछि रचना वाचन गर्थे।

फेरि उद्घोषक चिच्याउँथे, “आदरणीय साहित्यकार महोदय सम्बोधनबिना नै आफ्नो रचना सुनाउनुहोला! अन्यथा हामीले समय अभावका कारण अन्य स्रष्टाको नाम कटाउनुपर्ने हुन्छ, कृपया हाम्रो बाध्यतालाई बुझिदिनुहोला!”

मेरो छेवैमा बसेका स्रष्टाको पालो आयो। उनी मन्चमा पुगेर सम्बोधनमा नै झन्डै पाँचसात मिनेट समय खर्चिएपछि आफ्नो रचना वाचन गर्न थाले।

अघि उनी आफैँ मलाई भन्दै थिए, “उद्घोषकको अनुरोध नटेर्ने कस्ता भुस वाहियात स्रष्टा होलान्!”

प्रकाशित: १० माघ २०८१ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App