कर्णाली प्रदेशमा कार्यरत चौथो तहका कर्मचारीहरू आन्दोलित भएका छन् । चौथो तहका कर्मचारीको वृत्ति विकास, सेवा सर्त तथा सुविधा सम्बन्धमा स्थानीय तहमा आवश्यक परिपत्र गर्नका लागि कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएका हुन् ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा ८ को उपदफा ७ मा व्यवस्था गरिएको समायोजन ऐन बमोजिम स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको वृत्ति विकास गरिनुपर्ने उल्लेख छ । तर, समायोजन ऐन बमोजिम स्थानीय तहमा समायोजन भएका सहायक चौथो तहका कर्मचारीलाई सेवा अवधि पाँच वर्ष पुगेको मितिदेखि ज्येष्ठता कायम हुने र सेवा सुविधा निर्णय मितिबाट हुने गरी पाचौं तहमा कायम गर्नका लागि स्थानीय तहलाई परिपत्र गर्न मुख्यमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गरिएको जनाइएको छ ।
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ कर्णाली प्रदेश सभाबाट पारित भई कार्यान्वयनको चरणमा रहेको छ ।उक्त ऐनको दफा ८ को उप दफा ७ मा समायोजन ऐन बमोजिम स्थानीय तहमा सहायक स्तर चौथो तहमा समायोजन भएका कर्मचारीलाई यो ऐन प्रारम्भ हुँदाको बखत सहायक स्तर चौथो तहका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हाँसिल गरेको र पाँच वर्ष सेवा अवधि पुगेको भए, एक पटकको लागि अख्तियारवालाले सहायक स्तर पाँचौँ तह कायम गरिदिने उल्लेख छ । ऐन प्रारम्भ हुन अघि आयोगले सम्बन्धित सेवा समूह वा उप समूहको पाँचौँ तहमा बढुवाका लागि छुट्टाएको पद संख्या स्वतः खारेज हुनेछ भनी उल्लेख छ ।
स्थानीय तहको सेवा कार्यान्वयनमा प्रदेश सरकारले ध्यान नदिँदा चौथो तहका कर्मचारीले स्थानीय तहमा स्तर वृद्धि तथा सेवा सुविधाका लागि परिपत्र गरिदिनका लागि मुख्यमन्त्री कार्यालयमा लिखित रुपमै ध्यानाकर्षण गरेका हुन् ।
प्रकाशित: १० माघ २०८१ १७:२७ बिहीबार