अन्ततः म भेडापालन व्यवसाय सुरु गर्ने निर्णयमा पुगेँ। अरू असंख्य जीव–जीवादिहरूभन्दा भेडापालन व्यवसाय रमाइलै होला भन्ने लाग्यो मलाई। यस्तो निर्णय मेरा निम्ति र परिवारका सदस्यहरूका निम्तिसमेत अति नै कठोर निर्णय थियो। किनभने वंशावली पल्टाउँदासमेत हाम्रो वंशावलीमा कसैले पनि योे चौरासी लाख जुनीमा कुनै पनि प्रजातिका भेडा पालेका थिएनन्। हाम्रो पुस्तामा पनि ‘भेडा पाल्दा कुनै फाइदा हुँदैन’ भन्ने निष्कर्षको बिउ पहिलेदेखि नै सुरक्षित थियो। त्यही कारण फाइदा नहुने बिउ धर्तीमा किन छरछार गर्ने भन्ने भाष्यले हामीलाई थिचिरहेको हुँदा हामी भेडा पालन व्यवसायबाट बिल्कुलै अलग थियौँ।
म भने भेडा पाल्न चाहन्थेँ। थरीथरी जात, रङ र स्वभावका समेत। ठट्टामजाक गरेको होइन पटक्कै। त्यस्तो कला आउँदैन पनि मलाई। साँच्चै पाल्न चाहन्थेँ म भेडाहरू। असंख्यौं भेडा। बगालका बगाल। भेडा पाल्दाका फाइदा–बेफाइदाका सूत्रहरू पहिलेदेखि नै पहिल्याइसकेको हुँदा पनि भेडा पालेर समृद्ध जीवनको गोरेटाहरू पहिल्याउन लालायित थिएँ म। पिता–पुर्खादिहरूले भन्थे पनि, ‘नयाँ व्यवसायमा नयाँ सम्भावनाहरू हुन्छन्।’ तसर्थ म भेडा पालेर नयाँ व्यवसायलाई प्रवर्धन गर्न चाहन्थेँ।
भेडापालन व्यवसाय अँगाल्न चाहे पनि म भेडाविज्ञ भने थिइनँ। हुन चाहिनँ कहिल्यै पनि। तर भेडाहरूलाई जुनसुकै थलो वा सडकहरूमा भेला पार्ने कला, कौशल र अनगिन्ती शिल्प भने ममा थियो, पहिलेदेखि नै। तिनै कला–कौशल सिकेका कारण र भेडाहरूलाई जहींतहीं भेला पार्दा केकस्ता फाइदा लिन सकिन्छ भन्ने विज्ञता हासिल गरेकै कारण मैले भेडा पाल्ने निर्णयसामु आफूलाई उभ्याउन पुगेको थिएँ।
- - -
‘भेडाहरूलाई कसरी पाल्ने ?’ अहँ ! मलाई ज्ञान थिएन थोपै भर। केकस्ता घाँस–पात खुवाउँदा भेडाको गर्दन मोटो हुन्छ ? कुन–कुन भिटामिन पेल्दा भेडाको रौं उन्नत र बाक्ला हुन्छन् ? के खुवाउँदा भेडाको मासु स्वादिष्ट हुन्छ? कुन चिजबिज पेल्दा भेडालाई भेडाजस्तै एकोहोरो बनाउन सकिन्छ? मसँग यस्ता प्रश्नहरूका निरूपण गर्ने कुनै साधन थिएनन्। किन–किन रहरचाहिँ औधि नै थियो भेडा पाल्ने। र, राष्ट्रलाई भेडापालनमा आत्मनिर्भर बनाउने रहर पनि थियो उत्तिकै।
मेरो यस्तो रहर राष्ट्रका निम्ति अद्वितीय योगदान साबित हुनसक्थ्यो सायद ! किनभने कसैले पनि आजसम्म भेडा पालेर राष्ट्रलाई भेडामा आत्मनिर्भर तुल्याउने प्रयत्न गरेका थिएनन्। अतः आफ्ना पछिल्तिर सके सयौँ, नसके हजारौँ र लागे त लाखौँ भेडाहरूका लस्कर लगाउने रहर मभित्र आकाशबेलीको लहराझैँ रातदिनै झाँगिँदै थियो।
म केही थान भेडाविज्ञहरूसँग सल्लाह लिन चाहन्थेँ। एकदिन केही भेडा विज्ञहरूकहाँ पुगेँ पनि। आफूलाई भेडाभन्दा बिलकुलै अलग तुल्याएर। घर नजिकै थिए एक जना भेडाविज्ञ। राष्ट्रिय–अन्तर्राष्ट्रिय ताजा मुद्दाहरू सतहमा तैरिँदा उनी ‘भ्याभ्या’ गर्न सिपालु भइसकेका थिए। उनको गेट खोलेर भित्र छिर्नेबित्तिकै ती भेडाविज्ञले भने, ‘भ्याभ्या !’ लाग्यो, भेडाहरूको संगतमा परेपछि ‘भ्या–भ्या’ गर्न मात्रै सिक्ने रहेछन् !
म अकमक्क परेँ। उनको छेउमै उभिएको थियो, एउटो जखमले भेडो। त्यो भेडाले सोध्यो, ‘तपाईं किन चुपचाप बस्नुभएको महोदय ? के तपाईंको आवाज छैन ? कि लाटो हुनुहुन्छ ?’‘के गर्नुपर्यो र मैले ?’ मैले हडबडाउँदै सोधेँ।
‘तपाईं पनि कराउनुस् न बेसरी, हामीले जस्तै आवाज निकालेर,’ त्यो भेडाले भन्यो, ‘भेडाहरूको टोलमा आउँदा ‘भ्याभ्या’ गर्न जानिएन भने के अर्थ रह्यो र ?’
‘कसरी गर्ने ? मैले अहिलेसम्म कहीं–कतै पनि भ्या–भ्या गरेर आवाज निकालेको छैन। मलाई भ्या–भ्या गर्नमा त्यति रुचि पनि लाग्दैन,’ मैले भनेँ।
‘भ्या–भ्या गरेर कराउन निकै सजिलो छ। मात्र आवाज निकाले पुग्छ। न केही तर्क गर्नुपर्छ, न कुनै विचार–विमर्श नै गर्नुपर्छ ! बस, भ्या–भ्या गरे पुग्छ। यति सजिलो काम पनि गर्न आउँदैन र तपाईंलाई ?’ त्यो भेडाले भन्यो, ‘नबुझ्नेलाई खुर्पाको बिँड भनेको यही होला। हाम्रा भेडाविज्ञज्यू पहिला पहिला भेडाहरूको समूहमा आउँदा कराउन जान्नुहुन्नथ्यो। उहाँलाई भेडाको आवाजमा कराउँदा हीनताबोध हुन्थ्यो। अचेल भने उहाँ भेडास्वरमा कराउन माहिर भइसक्नुभएको छ। उहाँको भेडास्वर यति उच्च र शक्तिशाली छ, हामीजस्ता रैथाने र परम्परागत भेडाहरूभन्दा उहाँको स्वर निकै तेजिलो लाग्छ।’
‘कसरी कराउने त भेडास्वर?’ म प्रश्नातुर भएँ।
‘यसरी कराउनोस्...।’ नैतिक ज्ञानको समृद्धशाली शिल्पभण्डार खोतलखातल गर्दैै उनले भने, ‘महोदय, तपाईंलाई थाहै होला नि, चमेराहरूका सभामा तपाईं जाँदै हुनुहुन्छ भने उल्टो झुन्डिन सिक्नुपर्छ। यो भेडाहरूको ठाउँ हो र यहाँ भेडाले जस्तै कराउन सिक्नुपर्छ।’
‘हाहा ! होहो !’ अर्धमुस्कान र हाँसो वितरण गर्दै मैले भनेँ।
भेडाहरूका समवेत् स्वर सुनिन थाले, चारैतिर। म पनि उनीहरूसँगै स्वरमा स्वर, लयमा लय, तालमा ताल, खालमा खाल र चालमा चाल मिलाएर कराउन थालेँ।
- - -
धेरै समयावधिपछि चर्काचर्की भयो देवकोटासँग। उनै तीर्थमाधवसँग। विषयवस्तु अरू थिएनन्, त्यही भेडाबारे। मैले सोधेँ, ‘महाकविज्यू, तपाईंले आफूलाई भेडा बनाउने प्रस्ताव किन ईश्वरसामु राख्नुभयो ?’
महाकवि गम्भीर देखिए। र, आफ्नो ‘भेडा’ शीर्षकको कविता सस्वर वाचन गर्न थाले। उनको कविता सुन्दै मैले आफूलाई भेडा काव्यका जिज्ञासु स्रोताका रूपमा उभ्याएँ। (पुनश्चः भेडा काव्य लेखनमा पारङ्गत ठहरिएकाहरूसँग भेट हुन्छ मेरो बेलाबखत। मलाई भेट्नेबित्तिकै उनीहरू भेडा काव्य सस्वर वाचन गर्न तम्सिन्छन्। म भने उनीहरूका भेडा काव्य सुन्ने बेला प्रायः तर्किने गर्छु।)
‘मर्दा !
मर्दा
साधुभन्दा माथि पुगूँ,
ब्राह्मणभन्दा स्वर्ग,
धर्मात्माहरूभन्दा सुखको बैकुण्ठ,
दाग एउटा ननिकालूँ
दिव्य पशुत्व मलाई प्रभूजी
जनी गर झट्ट समाऊ!
आऊ ! आऊ!
अहिल्यै भेडो बनाऊ।’
कविताको बिट मार्दै महाकविले अवर्गीकृत स्वरमा भने, ‘म मानवजनित भेडा त पहिलेदेखि नै बनिरहेको थिएँ। एक पटक ईश्वरजनित भेडा बन्न पाउँदा कस्तो हुँदो रहेछ भनेर मैले यो कविता लेखेको हुँ।’
‘के फरक पाउनुभो मानव र ईश्वरजनित भेडाबीच?’ जलवायु परिवर्तनको नकारात्मक असरका कारण समुद्र सतह उचालिएझैं मेरो जिज्ञासाको सतह पनि एकाएक उचालिन पुग्यो।
हातमा आफ्नै मार्काको चुरोट तान्दै महाकविले भने, ‘समयान्तरसँगै भेडाहरू पनि बदलिँदा रहेछन्। जुन समय मैले भेडाहरूका कथा कहेको थिएँ, अचेल ती भेडा बदलिएका छन्,’ महाकविले गम्भीरमाथि थप गम्भीर हुँदै भने, ‘तिनीहरूका खानपिन, बसोबासस्थललगायत अरू अनेक चिज बदलिए पनि प्रवृत्ति भने पटक्कै बदलिएको पाइनँ मैले। आखिर जतिसुकै शताब्दी बिते पनि भेडाहरू नबदलिँदा रहेछन्। प्रकृतिको विकास क्रममा धेरै जीवजन्तुहरू बदलिए तर भेडा भने बदलिएको देखिएन। भेडा आखिरमा भेडा नै हुँदा रहेछन्।’
‘महाकविज्यू, तपाईंले पचास–साठी वर्षअघिका भेडालाई सम्बोधन गर्दै कविता लेख्नुभयो। अहिलेका भेडालाई सम्बोधन गर्ने गरी अर्को कविता लेख्नूस् न।’ मैले महाकविको चिन्ताको राजमार्गबीच राखिएका डिभाइडरहरूलाई पन्छाउँदै भनेँ।
महाकवि सोचमग्न देखिए र भने, ‘अचेलका भेडाहरू निकै चलाख भइसकेछन्। मैले उनीहरूबारे कविता लेखेँ भने उनीहरू मलाई हुल बाँधेर लखेट्न आउँछन्। मेरा कोठाचोटा, वागबगैंचा, खेतबारी सबै उनीहरूले उजाड पारिदिन्छन्। कृपया, मलाई कर नगर्नोस्, म अचेलका ठेट्ना भेडाहरूको लखेटाइमा पर्न चाहन्नँ।’
‘के भेडा पनि ठेट्ना हुन्छन र?’ मैले अनभिज्ञता देखाएँ।
महाकविले भने, ‘किन नहुनु नि। पहिलेका भेडाहरूका जिउभरि टन्नै रौं आउँथ्यो। अचेलका भेडाहरू भने पूरै खुइले–खाइले। अचेल चरन र खर्कहरू उजाड बन्दैछन्, ती चरन र खर्कहरूलाई उजाड पार्ने यिनै ठेट्ना भेडाहरू हुन्। यी ठेट्ना भेडाहरूलाई नचराऊँ भने आफ्नो रोजीरोटी नहुने, चराऊँ भने चरनकै बेइज्जत !’
म महाकविसँग थप कुराकानी गर्न चाहन्थेँ। उनको भेडा–कविताको अन्तर्य छामेपछि भने उनीसँगको संवादको पयोलाई बिट मार्न इच्छुक देखिएँ।
देवकोटाकै समकक्षी भनौं कि के भनौं, गणेशमान सिंह तत्क्षण झुल्किए। धेरै समयपछि। एउटा वयोवृद्ध टाइपको लौरो टेक्दै उनले मेरैसामु एउटा अप्रिय घोषणा गरे, ‘काठमाण्डूका जनताहरू भेडा रहेछन् !’
यो गम्भीर टिप्पणी थियो। जनताप्रति वा भेडाप्रति? यस्तो टिप्पणी गरेर उनले भेडाको अपमान गर्न चाहेका थिए कि जनताको? वा, दुवैको? भेडाको अपमान भए पनि र जनताको अपमान भए पनि दुवै अपमानका सिकार भएका थिए। तर भेडा र जनतामध्ये कसको अपमानको प्रतिशत कति हुन्थ्यो ? यो पहिल्याउन भने मैले सकिनँ।
- - -
प्रिय वा अप्रिय दुवै लाग्न सक्ला कसैकसैलाई। तर मेरो सिधा प्रस्ताव छ, ‘अब राष्ट्रिय जनावार भेडालाई नै बनाउनुपर्छ।’
सोध्लान् कसैकसैले, ‘किन भेडालाई नै ?’
‘किनभने भेडालाई राष्ट्रिय जनावर बनाउँदा भेडातन्त्र थप दरिलो, मजबुत र समृद्ध बन्नेछ।’ मेरो तर्क छ, ‘भेडातन्त्र जति शक्तिशाली हुन्छ, हाम्रो लोकतन्त्र पनि त्यति नै शक्तिशाली हुनेछ। यदि भेडातन्त्रलाई मजबुत तुल्याउनु छ भने राष्ट्रिय जनावरका रूपमा भेडालाई नै अघि सार्नुपर्छ।’
‘गाई हाम्रो मातासमान हो।’ एकजनाको असहमति सुनियो, ‘गाई माता छँदाछँदै भेडालाई राष्ट्रिय जनावर घोषणा गर्ने? कति दुस्साहस हो यो? कहाँ गाईजस्तो सुधो जनावर, कहाँको भेडा...! यो भेडातन्त्र स्थापित गर्ने चालबाजी मात्रै हो।’
‘मैले त प्रस्ताव गरेको मात्र न हुँ...।’ मैले अलि हच्किँदै भनेँ।
‘यस्तो वाहियात् प्रस्ताव अघि सार्ने हिम्मत कसरी आयो ?’ एक जना भेडाभेडा टाइपका व्यक्तिले भने, ‘आफ्नो प्रस्ताव फिर्ता लिनूस्। यदि तपाईंले भेडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गर्नुहुन्छ भने म त्यस प्रस्तावविरुद्ध सडकमा लाखौँ भेडाहरू उतार्ने छु।’
‘मैले...,’ म अकमकिन पुगेँ।
‘के मैले?’ उनले मेरो सातो लिँदै भने।
‘अहिले सबैतिर भेडाहरूकै बाहुल्य भएका हुँदा मैले यस्तो प्रस्ताव अघि सारेको हुँ।’ मैले आफ्नो सुरक्षाकवच उघार्दै भनेँ।
‘वाहियात् कुरो। तपाईं आफ्नो प्रस्ताव फिर्ता लिनुहुन्छ कि हुन्न?’ भाषा निकै उत्तेजक र धम्कीपूर्ण थियो।
अन्ततः म आफ्नो प्रस्ताव फिर्ता लिन बाध्य भएँ।
- - -
हर्ष, गौरव र प्रेमभावसाथ म घोषणा गर्न चाहन्छु, ‘जसले जेसुकै भने पनि म भेडा पाल्न चाहन्छु। म यस्ता भेडा पाल्न चाहन्छु, जसले सिंगो भेडाजगत्को अस्तित्व र पहिचानलाई कायम राख्न सकोस्।’
भेडापालन व्यवसाय अँगाल्दा म अरू कुरामा ध्यानै दिन्नँ। केवल, एउटा कुरामा मात्रै ध्यान दिनेछु। त्यो हो, ‘म केवल भेडाको गिदी खाएर रमाउने छु। भेडाको गिदी खाएर आफ्नो गिदीलाई अझ भेडामय बनाउन चाहन्छु। अरूले भेडाको मासु मन पराउलान्, भेडाको फिला, ह्याकुला वा अरू अंगको स्वाद लिन चाहलान्। म भने भेडाको गिदी खान चाहन्छु। बिल्कुलै भेडाको गिदी !’
‘किन ? किन भेडाको गिदी नै?’ सोध्लान् कसैकसैले।
‘निकै स्वादिलो हुन्छ,’ यस्तै उत्तर दिनेछु सम्भवतः। भन्नेछु, ‘महोदय, तपाईं पनि भेडाको गिदी खाएर बुद्धिजीवि बन्नुहोस्, स्वनामधन्य बन्नुहोस्, शक्तिशाली बन्नुहोस्। बुझिहाल्नुभयो मेरो कुरा, तपाईं पनि भेडाजस्तै बन्नुहोस्।’
‘स्वादिलो त अरू जीवजन्तुको पनि गिदी हुन्छन् नि। तर अरू जीवजन्तुको गिदी खान कसैले पनि चाहँदैनन्। तिमी भने किन भेडाको गिदी नै खान चाहन्छौ?’ जनाउलान् कसैले यस्तो असन्तुष्टि पनि।
‘किनभने भेडाको गिदी खाइयो भने भेडाजस्तै हुन पाइन्छ नि त! पूरै एकोहोरो।’ म केही गम्भीर र भावुक हुनेछु, ‘भेडाको गिदी खाइयो भने कसैले ओरालो झर् भन्यो भने म आँखा चिम्लिएर ओरालो झर्नेछु। उकालो चढ् भन्यो भने म कपाल ठाडो पारेर उकालो चढ्नेछु। दायाँ खुट्टा फाट् भन्यो, दायाँ खुट्टा फार्नेछु, बायाँ फाट् भन्यो भने त्यसै गर्नेछु। उठ् भन्यो भने उठ्नेछु, बस् भन्यो भने बस्नेछु। गुन्टा कस् भन्यो भने कस्नेछु। जेजे भन्छन्, त्यहीत्यही गर्नेछु। किनभने म भेडा हुँ, जसले जता डोर्याउँछन्, म त्यतै डोरिनेछु। अहा! भेडा हुनजति रमाइलो अरू के नै पो छ र !’
साँच्चै, धरोधर्म! म अब भेडापालन व्यवसायतिर प्रवृत्त हुनेछु। म यति उन्नत जातका भेडाहरू पाल्नेछु, जसले भ्याभ्या गर्ने कला मात्रै नजानोस्। केवल ‘भ्याभ्या’सँगै अरू भाषा पनि बोल्न सकोस्।
प्रकाशित: ५ माघ २०८१ ०९:५३ शनिबार