३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

जे होई से होई!

उपन्यास अंश

रुखले त नढलुन्जेल उसलाई पनि छहारी नै दिने हो, जसले ढाल्नलाई फेदैमा बन्चरो हानिरहेको हुन्छ। त्यही भएर त रुख हरेकको पहिलो घर हो।

सात सालअघि बिस्नेलाई केको भूत चढेको थियो कुन्नि ? उनी पहिलो पटक घरछेउकै कटहरको बुढो रुख ढाल्न तम्सिएका थिए, जुन रुखले माई र उनको दुरी थोरै बढाइदिएको थियो। त्यो त्यही कटहरको रुख थियो, जहाँबाट बिस्ने र माईको घरको बाटो छुट्टिन्थ्यो। बगानको एउटै लाइनमा उभिएका ती दुई घरलाई छुट्याइदिने सिमाना त्यही रुखको फेदमा थियो, जुन रुख कुनै पनि समय ढल्न सक्थ्यो। कुनै पनि समय लडेर माईको घरको छप्पर भत्काइदिन सक्थ्यो। या त बिस्नेकै घरको छप्परमाथि पनि बजारिन सक्थ्यो।

ढलेको रुख कता लड्छ? त्यो कसलाई थाहा हुन्छ? होइन र?

                     -                        -                           -

माई उति बेला बल्ल सोह्र पुगेकी थिइन्। निकै राम्री देखिन्थिन्। तर दुब्ली थिइन्। छातीमा परिवारको हजार बोझ थियो, त्यही भएर।

बिस्ने उन्नाइस टेक्दै थिए। तर काम गर्न तीन पटक पन्जाब पुगेर फर्किसकेका थिए। चौथो पटक पन्जाब हिँड्नै लाग्दा हो, उनका पाइला अचानक लरखराए। कमान छाडेर हिँड्नै मन परेन। किनकि त्यही कमानमा माई बस्थिन्। र उही माईको दिलमा बिस्नेलाई बसूँ–बसूँ लाग्न थालेको थियो।

बिस्ने जातले सार्की हुन्। माई आदिवासी। उनीहरूबीचको यो सिमाना त कटहरको रुखभन्दा धेरै अग्लो थियो। तर जब बिस्नेको मन घामकिरी बनेर उड्न थाल्यो, तब त्यही सिमानामा उभिएको रुखको हाँगा झिनो लाग्न थाल्यो। अनि त उनलाई लागिरह्यो, मन मिल्नेहरूका लागि सिमाना केही होइन।

बिस्ने निकै कम बोल्थे। उनलाई जोसुकैसँग बोल्ने इच्छा हुँदैनथ्यो पनि। घरैमा पनि उनी प्रायः चुपचाप टोलाइरहन्थे। तर थोरै बोल्ने मान्छेलाई पनि कहिलेकाहीं मनको कुरा खोल्ने ठाउँ चाहिँदो रहेछ। त्यो ठाउँ अचेल उनकी माई बनेकी थिइन्।

बिस्ने माईसँग मात्र आफ्नो दुःख सुनाउन चाहन्थे। हरेक पीडा उनैसँग साट्न चाहन्थे। किनकि उनलाई लाग्थ्यो, माईसँग बोल्दा मन हल्का हुन्छ। छातीको उकुसमुकुस हराएर जान्छ। चैनको निद्रा लाग्छ। तर उनले कहिल्यै माईको अघि भन्नै सक्दैनथे, ‘तिम्लाई नदेख्दा मनमा पैह्रो गइहाल्छ। बर्खाको भेल जस्तो पीडा उर्लिएर आइहाल्छ। यो दुःखीलाई अचेल यस्तो किन हुन्छ हँ?’

तर माई पनि त उस्तै थिइन्। दिनभरि बिघामा काम गर्न जान्थिन्। हरेक दिन बाइस केजी पत्ती टिप्थिन्। तर अचेल के भएको थियो कुन्नि ? चियाको मुना चुँडाउँदा–चुँडाउँदै अचानक उनको मनभित्र तुसारो परिदिन्थ्यो। एकतमासले यादको हावा चलिदिन्थ्यो। बिजुली चम्किए जस्तो गरेर बिस्नेको अनुहार झिलिक्क आँखैमा आइदिन्थ्यो। तब उनी डराउँदै–डराउँदै घर फर्किन्थिन्। र मनमनै भन्थिन्, आज त बिहानदेखि बिस्नेलाई देखेकै छैन। बेलुकी धारामा पानी भर्न म आफैं जानेछु। र त्यसको घरतिर हेर्नेछु।

उनले पनि कहिल्यै सोध्नै सक्दिनथिन्– ‘नदेख्दा छटपटी लागिदिने। नबोल्दा बेचेनी बढिहाल्ने। यो दुःखीलाई मात्रै किन यस्तो पीडा हुन्छ हँ ?’  

               ०००

बिस्नेको पन्जाब फर्किने दिन नजिक आइसकेको थियो। तैपनि उनलाई कमान छाड्ने मनै थिएन। फर्किने दिन जति नजिकिँदै आयो, उनलाई उति गाह्रो हुन थालेको थियो। बिदाको समय नजिकियो, जब रेल चढ्ने दिन आयो, तब उनी टोलाउँदै त्यही कटहरकै फेदमा आइपुगे, जहाँ माई चुपचाप उभिरहेकी थिइन्।

माईलाई देखेपछि त बिस्ने फेरि बेहाल भइहाले। हतपत कहिल्यै नरुने उनका आँखा अचानक टिलपिलाए। तर माई ?

उनले त आवाजै निकालेर रmन पो थालिन्।

त्यही दिन हो, बिस्नेले पहिलो पटक बुझे, उनका निम्ति रोइदिने संसारमा कोही त रहेछ।

माई रोएको देखेपछि नै त हो, बिस्नेले मनमनै घोषणा गरे, भएको त हाम्रो प्रेम नै रहेछ।

त्यही प्रेमको उकुसमुकुस बोकेर यस पटक उनी पन्जाब फर्किए।

अब बिस्ने एक्लो रहेनन्।

सहरमा घुमिरहँदा होस्, गल्लीहरूमा भौंतारिरहँदा होस् वा दिनरात काम नै गरिरहँदा होस्, जहिल्यै माईको याद उनीसँगै हुन थाल्यो। जब दिनमा उनी मिहिनेतको पसिनाले निथु्रक्क भिज्थे, माईको यादकै शीतलमा पौडेर शान्त भइदिन्थे। जब रातमा ठन्डाले लुगलुग काँप्थे, माईको यादकै न्यानो ओढेर निदाइदिन्थे।

त्यसैले यस पटक उनको यादमै गर्मीका दिन बिते। यादमै ठन्डाका रात छुटे। यादमै वर्ष दिन बिते। बिस्ने फेरि घर फर्किनलाई छटपटिन थाले।

उनले फेरि घर सम्झिए। चिया कमान सम्झिए। कमान धाइरहने माई सम्झिए। अचानक उनीभित्र नयाँ उत्साह थपिँदै गए।

माईलाई के लगिदिऊँ होला नि ?

उनले जीवनमै पहिलो पटक अल्ता किने। गालामा दल्ने लालीपाउडर ल्याए। ओठका निम्ति लिपस्टिक बोके। र मनमनै सोचे, यति ल्याइदिएपछि त माईले कुरा बुझिहाल्नेछे। आखिर हाम्रो प्रेम भएकै त हो।

तर जब घर फर्किए, महिना दिनसम्म नि उनी असमञ्जसमै रहिरहे। माईलाई किन अचेल पहिले जस्तो भेट्नै सकिँदैन? किन पहिले जस्तो खुलेर उनी बोल्दै बोल्दिनन्? अघिल्लो पटक छुट्ने बेलामा कटहरको रुखमुनि झारेको त्यो आँसु के साँच्चै प्रेमकै निम्ति थियो कि केका निम्ति थियो हँ? उनलाई घरीघरी यही कुरा सोध्न मन लाग्थ्यो। तर माई छेउ परेपछि फेरि पनि उनको मुखबाट एक शब्द नि फुत्किँदैनथ्यो।

तर त्यो दिन नि आयो, जुन दिन बिस्नेको मनको बादल फाट्यो। माईको उदास जीवनमा अचानक प्रेमको झरी बेस्सरी बर्सियो।

मादरीहाटनजिक शान्ति मेला लाग्दै थियो।

त्यो साँझ माई घुम्न मेला जाने भएकी थिइन्। बिस्नेले चाहिँ किन नजाने र ? उनी पनि मेला घुम्न जाने भइहाले। त्यसै पनि शनिबारको साँझ थियो। भोलिपल्ट कमान छुट्टी थियो। त्यही भएर एक हुल केटाकेटीसँग माई र बिस्ने मेला घुम्न निस्किए।

अरू बेला बगानमा मेला लाग्दा बिस्ने जहिल्यै पन्जाबमा हुन्थे। त्यसैले माईलाई सबथोक खल्लो लाग्थ्यो। तर यो मेला माईको जीवनकै सबैभन्दा सुन्दर मेला थियो। किनकि उनका साथमा बिस्ने थिए। उनको मन यत्तिकै रोमाञ्चित बनिहाल्यो। बजिरहेको गीत सुनेर उनलाई नाचूँनाचूँ लागिरह्यो।

मादरीको शान्ति मैदानमा मान्छेको भिड थियो। चारैतिर हल्ला मात्रै सुनिन्थ्यो। केटाकेटी घुम्नमा नै व्यस्त थिए। बिस्नेले पहिलो पटक आँट गरेर माईको काननजिक टाँसिँदै सोधे, ‘साह्रै थाकियो। अलिकति हँडिया खाइदिम् होइन ?’

‘तोइ खा रे,’ उनीतिर फर्किएर माईले सुस्तरी भनिन्, ‘मान्छेहरू भको ठाउँमा कसरी खानु ? म त खान्नँ, मुरुक सरम लाग्छ।’

बिस्नेले पहिले माईको स्वीकृति मागे। त्यसपछि दोकानदारसँग हँडिया मागे। एक मग स्वाट्ट पारे। र फर्केर हेरे। उनलाई केको झोक चल्यो कुन्नि, माईको थोरै नजिक गए। आँखामा आँखा राखे र सोधे, ‘माई, म तिमार्को घरमा आको तिम्रो बाउलाई मन पर्दैन नि ?’

माईले एकटक बिस्नेको अनुहारमा हेरिन्। हेरिरहिन्। निकै बेरपछि बल्ल छातीको रहस्य खोलिन्– ‘अँ। तिमीसँग बात नमार्नू भन्छ। हामेर्को जात मिल्दैन। तिमी नेपाली। म आदिवासी, त्यै लागिन्।’

बिस्नेले रिस गर्नुपर्थ्याे कि खुसी हुनुपर्थ्याे ? त्यो उनैलाई थाहा थिएन। तर उनी त ढुक्क थिए। आखिर प्रेम त भएकै रहेछ नि ! केही क्षण चुपचाप उभिइरहे। त्यसपछि संसारको जम्मै आँट बटुलेर भनिदिए, ‘जातसात केई मान्दिनँ म। मैले गर्दा तिमीलाई यति साह्रो दुःख भइरा’को छ भने बरू भागिदिम् हामी।’

हाँ, यस्तो कुरा त माईले सोच्न पनि सक्दिनथिन्। प्रेम त जहाँ पनि जायज थियो। तर बिहे ? उनको मुटु ढुकढुक भयो। खुट्टा काँप्ला झैं भए। मुखबाट एक शब्द फुत्केन। सानो भाइ भएतिर दगुरेर गइन्। छ्याप्प अँगालो मारिन्। र रोटेपिङ देखाउँदै भनिन्, ‘यसरी उड्न सक्छस् रे तोइ ?’

भाइले डराए जस्तो गरे। र बिस्तारै भने, ‘अबुइइ, म त मर्छु रे !’

०००

रात निकै बितिसकेको थियो। केटाकेटीसँगै बिस्ने र माई घर फर्किए। बाटोमा बिस्नेले अरू केही बोल्दै बोलेनन्। माई पनि चुपचाप थिइन्। केटाकेटी मेलाकै गफ गर्न व्यस्त थिए। निकै अबेरपछि त्यही कटहरको फेद आइपुग्यो, जसले माई र बिस्नेको बाटो फेरि छुट्याइदियो।  

त्यो रात माईलाई निद्रा पर्दै परेन। सोची मात्रै रहिन्, बिस्नेबिना म बस्नै सक्दिनँ। फेरि उनीसँग भाग्न पनि त सक्दिनँ। मैले के गर्ने होला?

सोच्दासोच्दै रात कट्यो। उज्यालो खस्ने बेलामा पो उनी भुसुक्क निदाइन्।

कमानमा दोस्रो साइरन लाग्न लागेको थियो। घाम ढाडमै आइपुगिसकेको थियो। अचानक आबाको आवाज उनको कानमा गुन्जियो। माई तर्सिएर उठिन्। हतारहतार घरधन्दा गरिन्। र झोली टिपेर कमानतिर दगुरिन्।

पहिलो पटक हो, उनलाई चर्को घाम नि एकदम नरम लाग्यो।

बिस्नेसँग प्रेम नै त भएको थिएछ। यो उनका निम्ति सबैभन्दा खुसीको कुरा थियो। तर नेपाली केटासँग कसरी भाग्ने होला नि ? यो उनका निम्ति पीडाको कुरा थियो। यो प्रेमबारे दुनियाँले थाहा पाए के हुन्छ होला ? कमानमा गीत गाउनेहरू कति धेरै निस्किन्छन् होला ? अझ भागेर जाने कुरा थाहा पाए बिस्नेको समाजले के भन्छ होला नि ? चिन्ताले उनको दिमाग फनफनी घुमिरह्यो।

प्रेममा कति धेरै दुःख रहेछ, उनले पहिलो पटक बुझिन्।

माईको पूरा दिन यादमै बित्यो।

बेलुकी अलि अबेर पत्ती ओजन गरिन्। र बिस्नेको अनुहार सम्झिँदै घर फर्किइन्। तर धाराछेउ पुग्नै लाग्दा अचानक उनको शरीर काँप्न थाल्यो। किनकि त्यहाँ उही बिस्ने उभिइरहेका थिए।  

के गर्ने होला ? माईका खुट्टा गले। मुटु ढुकढुक भयो।

पहिले–पहिले पनि एकान्तमा बिस्नेलाई उनले भेटेकै हो। सँगै पानी पनि भरेकै हो। तर आज बिस्नेलाई देख्दा उनलाई किन यस्तो छटपटी भयो ? किन मुटु उफ्रिएर घाँटीमै आइपुग्ला जस्तो भयो ? उनलाई आज सोच्नै गाह्रो भयो।

त्यो कटहरको रुखछेउ कसरी पुग्ने होला ? माईका खुट्टा फत्रक्क गले। आँखा तिर्मिराउँदै गए। सीधा हेर्नै गाह्रो भयो। तैपनि बाटो त त्यही थियो। माई सुस्तरी हिँड्दै थिइन्, बिस्ने उनकै नजिक आए। र सानो स्वर निकालेर भने, ‘साँच्चिकै माया छ भने आउने आइतबार भागुम्। नभा चैं म फेरि पन्जाब गइदिन्छु।’

बिस्ने फेरि पन्जाब फर्किने, अँ ?

माईका आँखा केही क्षणलाई बन्द होला झैं भए। तैपनि उनीसँग भन्नलाई कुनै शब्द थिएन। त्यसैले चुपचाप सुनिरहिन्। बिस्नेले लामो सास ताने र अन्तिम लाइन जोडे– ‘भोलि बेलुकी मुजनई खोलामा घोङ्गी टिप्नु जुम्। अन्त अरू कुरा त्यैं बसेर गरmम्, ल ?’

माई एकदम रातो भइन्। त्यति रातो त बिस्नेले पन्जाबबाट ल्याइदिएको लिपस्टिक दल्दा नि भएको थिएन। उनले डराउँदैडराउँदै टाउको हल्लाइन्। र काँप्दै कटहरको रुख पछिल्तिर पुगेर बिलाइन्।

भोलिपल्ट निकै छिटो उठिन् माई। पानी थाप्न धारामा आइन्। ढुक्क भयो, बिस्ने आएको रहेनछ। त्यसपछि झोली टिपेर फेरि कमान हिँडिन्।

उनी एकोहोरी भएकी थिइन्। कहिले के, कहिले के सोचिरहन्थिन्। कहिले जानेको गीत मुखबाट फुत्त निस्किन खोज्थ्यो। कहिले टोलाउँदै सुसेली मारिरहन्थिन्।

बेलुकी मुजनई खोला जानु थियो। एकोहोरो भएरै आज उनले निकै धेर पत्ती टिपिन् र लाइनमा सबैभन्दा अघि उभिएर फाइनल ओजन गरिन्। त्यसपछि चुपचाप घर फर्किइन्। झोली थन्क्याइन्। एक प्याला चिया पिइन्। खेलिरहेको काकाको छोरालाई बोलाइन्। र चुपचाप मुजनई खोलातिर घोङ्गी टिप्न हिँडिन्।

खासमा घोङ्गी त बहाना मात्रै थियो, उनी बिस्नेलाई भेट्न हिँडिन्।  

काकाको छोरो सानै थियो। ऊ खोलाको बगरमा घोङ्गी टिप्न दगुरिरहेको थियो। बिस्ने कहाँ होला ? माईको ध्यान त अन्तै थियो।

घाम डुब्न लाग्दा हो, माई बल्ल खोलाछेउ पुगिन्। बिस्ने त्यहीँ उभिइरहेका रहेछन्। भाइ खोलाको डिलडिल दगुर्दै थियो। बिस्ने बिस्तारै माईकै नजिकतिर आए।

घाम डाँडामाथि पुगिसकेको थियो। खोलाको बगर एकदम सुनसान थियो। बिस्नेले त्यही खोलातिर फर्केर पिच्च थुके। र किचिक्क हाँसेर भने, ‘तिमी आइतबार बिरपाडा आउनू। म त्यैं हुन्छु ल ?’

‘तिम्रो समाजले के भन्छ ?’ माईलाई सोध्न मन परेको थियो, ‘दुनियाँले हामीलाई के भन्छ?’

तर केही बोल्नै सकिनन्।

बिस्ने बगानतिरै फर्किए। माई चुपचाप भाइको पछि–पछि हिँडिरहिन्।

कटहरको रुखछेउ पुगेकै थिइनन्, उनले अन्तिम घोषणा गरिदिइन्, ‘जान्छु म बिरपाडा। जे होई से होई।’

०००

त्यो आइतबारको बिहान थियो।

माई छिट्टै उठिन्। र बाबालाई भनिन्, ‘मेरो तनिक काम छ। एक छिन बिरपाडा गोएर आउँछु ल।’

‘केको काम ?’ बुढा केही बेर फतफताए। तर आज त्यसै पनि कमानको छुट्टी थियो। त्यसैले रोक्नै सकेनन्। माईले चुपचाप नयाँ कुर्ता लगाइन्। सानो ब्याग च्यापिन्। ब्यागमा दुई–चार ओटा लुगा खाँदिन् र हिँडिन्।

उनले सोच्नुपर्ने केही थिएन। न उनको मनमा कुनै प्रश्न थियो, न दिमागमा कुनै जवाफ थियो। उनको सोचमा केवल बिस्ने थिए। जसको नाम दोहो¥याउँदै माई चुपचाप हिँडिरहिन्।

माई घरबाट सडकमा निस्किइन्। सडकै–सडक हिँडेर रामझोडा पुगिन्। अटो चढिन्। र हिँडिन् सपनाको नयाँ बाटो। जुन बाटो भएर उनले जीवनकै नयाँ यात्रा गर्नु थियो।

त्यसपछि?

अहँ, कसैले पनि थाहै पाएनन्, बिस्ने र माई एकाएक कमानबाट लापता भए। पत्ती टिप्नेहरूले हप्ताभरि कानेखुसी गरिरहे, ‘माईको चाल त्यस्तै त लागेको थियो। यो कम्ती बोल्ने मान्छेको चैं विश्वास गर्नु नहुने रहेछ है।’

कुरा काट्नेहरूले कुरा काटिरहे। तर बिस्ने र माई त पन्जाब पुगिहाले। उतै नयाँ काम सुरु गरे।

बिस्नेका निम्ति सहर पुरानै थियो। काम पुरानै थियो। तर उनीसँग नयाँ उमङ्ग थियो। नयाँ उत्साह थियो। किनकि उनका साथमा माई थिइन्।

एउटा मात्रै हरियो डालाले पनि बूढो रुखलाई कति धेरै फरक पारिदिन्छ। एउटा मात्रै फक्रिएको फूलले पनि झोक्रिन लागेको बोटलाई कति धेरै अलग बनाइदिन्छ। माईले बिस्नेको जीवनलाई पनि उस्तै भिन्न बनाइदिएकी थिइन्। त्यसैले त उनलाई अचेल हरथोक नयाँ लागिरहेको थियो। सहर नयाँ लागिरहेको थियो। गल्ली नयाँ लागिरहेको थियो। मजदुरी गर्ने कारखाना नयाँ लागिरहेको थियो।

अरू कुरा के गर्ने ? बिस्नेलाई यसपालि आफैंसँग आफैं नयाँ लागिरहेको थियो।

तर माईलाई कहाँ सहज थियो र ? उनका निम्ति सहर सहज थिएन। उनी त खुला चिया कमानमा हुर्केकी केटी थिइन्। त्यसैले उनलाई कुचुरुक्क परेको कोठामा थुनिएर बस्न कत्ति पनि मन पर्दैनथ्यो। उनलाई खुब गाह्रो भयो। घरीघरी बिमार भइरहन्थिन्।

तैपनि तीन महिना यतिकै बित्न लागेको थियो। अचानक एक दिन माई ओछ्यान परिन्। नयाँ रोगले उनलाई बेस्सरी चाप्न थालेको थियो। कहिले पेट दुख्थ्यो, कहिले ज्वरो आउँथ्यो। त्यसैले बिस्ने आत्तिए। उनले माईलाई पहिले अस्पताल लगे। तर औषधिले खासै काम गरेन। त्यसपछि साथीहरू गुहारे। धामी खोज्न निस्किए।

सहरमा एक जना मुस्लिम पिरबाबा थिए, जो छ्यातछ्याती जोखाना हेर्थे। हरकोही भन्थे, ‘फुकेरै बिमारीलाई जाती बनाउने त पिरबाबा मात्रै हो।’

बिस्नेले त्यही पिरबाबा फेला पारे। घरमा लिएर आए। कोठामा छिरेपछि पिरबाबाले केही क्षण आँखा बन्द गरे। निकै बेर फतफताएर भने, ‘सादी से पहेले कोई भाकल रखा था क्या ?’

माईले केही क्षण सोचिन्। उनको अनुहार थोरै मलिन बन्यो। हातले कपाल छोएर थोरै लजाउँदै भनिन्, ‘जी। सादी होगा तो माकडापाडा काली मन्दिर मे बकरी बलि देने का सोचा था।’

हँ !

माईले यस्तो पनि गरेको थियो ? बिस्ने तीनछक परे। माईले उनलाई कति प्रेम गर्दी रहिछिन्, बल्ल थाहा पाए। बिस्नेले केही बेर माईको बिमार बिर्सिए। कमानबाट काम गर्न पन्जाब आएका आफ्नै साथीहरू सम्झिए। उनीहरूले भनेकै कुरा बिस्तारै दोहो¥याए, ‘सुर्ता नगर, माई। हामेर्ले अब कमान फर्किंदा पनि हुन्छ अरे, खालि हाम्रो सादी चैं समाजले मान्दैन अरे।’

घर फर्किने अँ ? माई खुसीले झन्डै रोइन्। कमान फर्किने कुरा सोचेरै दङ्ग भइन्। उनको बिमार त यत्तिकै निको हुँदै गयो। सबैले भन्न थाले, ‘माईको बिमार पनि तिनले फुकेरै ठीक गरिदिए।’ सहरमा पिरबाबाको नाम फेरि रोशन भयो।

माई ठीक भएको महिना दिनपछि हो, उनीहरू फेरि रेल चढे।

फर्केर दुम्सीपाडा नै आइपुगे।  

०००

ठ्याक्क सात वर्ष बितिसकेको थियो।  

माई छोराकी आमा भइसकेकी थिइन्। तर समाजले अहिलेसम्म उनीहरूको बिहे स्वीकार गरेकै थिएन। उनीहरूको बाटो भने केही सहज भएको थियो।

अचेल माई आफ्नो माइतघर जान्थिन्। बिस्ने पनि आफ्नो घरमा जान्थे। गाउँमा कसैको बिहे भए त्यहाँ नि पुग्थे। मरांै परे त्यहाँ पनि जान्थे। पूजा भए त्यहाँ नि पुग्थे। तर उनलाई त्यहाँ सरौ चढाउन मनाही थियो। किनकि समाजले उनीहरूलाई स्वीकार गरेको थिएन। बिहे होस् वा मरौं, कहीँ पनि जानुपरोस्, उनीहरू अलग्गै बस्थे। समाजलाई कहिल्यै बोल्ने मौकै दिँदैनथे।  

कहिलेसम्म उनीहरूले यसरी बाँच्नुपर्ने हो, त्यो न समाजलाई थाहा थियो, न बिस्नेलाई। न माईलाई नै थाहा थियो।  

त्यही भएर त हो, दिलकुमार उराँवको घरमा खुट्टी पूजा हुँदा पनि उनीहरू अलग्गै बसेका थिए।

माई नाच्नलाई अनकनिएको बुझेपछि नै हो, सकिला आफैं अघि आइन्। दुई प्याला हँडिया हालिन्। बिस्ने र माईलाई दिँदै थोरै हाँसिन् र भनिन्, ‘हेर माई, त्यसै पनि हाम्रो जिन्दगी चराकै जस्तो त छ। चराले पनि कहिले एकअर्कालाई छुट्याइराख्छ र ? बरु खाएर नाचिदिऊँ सँगै। देखाइजाला, जे होई से होई।’

बिस्नेलाई पनि त नाचिदिऊँ कि जस्तो लागेको थियो। तर उनलाई नाच्नु जस्तो गाह्रो काम अरू केही लाग्दैनथ्यो। त्यसैले उनी हाँस्दैहाँस्दै थोरै पछि सरे।

तर माई ? उनी त फुत्त अघि आइन्। र सकिला दिदीसँग कुमै जोडेर नाच्न थालिन्।  

माई कति हल्का नाच्ने रहिछिन्, कति राम्ररी नाच्ने रहिछिन्। दुनियाँले आज थाहा पाए। कमानेहरूले हँडियाको मातमा रमरम हुँदै भने, ‘यो जस्तो हल्का नाच्ने त हाम्रो बगानमा अरू कोई छैन होलाउ नि।’

बिस्ने फेरि दङ्ग भए।

सकिला दिदी आफ्नै धुनमा मस्त थिइन्। सोमारी थोरै थाकिछिन्, माईको कानमा टाँसिँदै आएर भनिन्, ‘मेरो पेट दुखेर आयो। नाच्दिनँ ल।’

यतिन्जेलसम्म त अरू पनि समूहमा छिरिसकेका थिए।

सोमारी बसेको देखेर सकिला दिदी पनि बिसाउन खोज्दै मात्रै थिइन्, माई दगुर्दै उनकै छेउमा आइन्। हात तानेर उठाइन्। र कानमा टाँसिएर भनिन्, ‘कति वर्षबाद एसरी नाच्दै छु, दिदी। म त आजु मुरूक नाचेर जान्छु। जे होई से होई।’

(पहिलो उपन्यास फातसुङको अंग्रेजी अनुवाद सङ अफ द सोयल (अनुवादः अजित बराल) का लागि भारतको प्रख्यात जेसीबी प्राइजमा सर्टलिस्टेड काविमोको यो उरमाल दोस्रो उपन्यास हो। फाइनप्रिन्टले प्रकाशन गरेको यो उपन्यासको लोकार्पण माघ ५ गते हुँदैछ।)

प्रकाशित: ३ माघ २०८१ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App