वैदेशिक रोजगारीबाट चिटिक्क परी फर्किएका लाहुरेको शरीरबाट आएको परफ्युमको मगमग बास्ना र हातमा पैसै पैसाले भरिएको सुटकेसले विगत करिब १५ वर्ष अघि जीवनमा केही गर्नुपर्छ भन्दै गाउँबाट पाँच सय रूपैयाँ लिएर काठमाडौं आएका एक युवालाई बिदेसिन लाभान्वित गराउँछ।
‘बास्नै बास्नाले भरिएर चिटिक्क परेको एउटा लाहुरे विदेशबाट आएको थियो,’ त्यतिबेला काठमाडौंका घरघरमा पत्रिका पुर्याउने नुवाकोट लिखु, चौघडाका रामचन्द्र अगस्ती भन्छन्, ‘भर्खर विदेशबाट फर्केका ती लाहुरेले गाउँका सबैलाई भेला पारेर काठमाडौ मा सपिङ गराइरहेका थिए। मेरो नजर त्यतैतिर मात्रै थियो। मलाई लाग्दै थियो, पैसा भयो भने सबै आफ्ना हुने रहेछन्। म पनि बिदेसिन्छु।’ उक्त लाहुरेलाई देखेर विदेश जाने भूत चढेको उनले बताए।
गाउँबाट सहर छिरेका अगस्तीले घरघरमा पत्रिका पुर्याउने कामसँगै काठमाडौंस्थित बालाजु चोकमा पत्रिका पसल राखेका थिए। पत्रिका पसलमा सधैं आउने एक ग्राहकले कोरिया भाषा सिकेर कोरिया जान सल्लाह दिएको उनी सम्झन्छन्, ‘उहाँ मेरो सधैंको ग्राहकसँगै कोरिया भाषा पढाउनुहुन्थ्यो। मलाई पनि कोरिया भाषा पढ्न उहाँकै घरमा बोलाउनुभयो। कोरिया भाषा पढाएबापत अरूसँग पैसा लिनुहुन्थ्यो। मसँग कहिल्यै पैसा लिनुभएन।’
उनले भने, ‘दिनमा पसल चलाएर बिहान साइकलमा पत्रिका घरघरमा पुर्याउँदै गर्दा बाटोमा चिटजस्तो बनाएको कागज झिकेर कोरियाली भाषा कण्ठ गर्दै हिँड्थेँ। म बस्ने एउटा सानो कोठा थियो। त्यो कोठाको भित्ता कोरियाली भाषाले पोतिएको थियो। एकै पटकमा कोरिया जाने मेरो सपना पूरा भयो।’ घरको एक्लो छोरो भए पनि बुढा बाआमा र ६ दिदीबहिनीको जिम्मेवारी उनको काँधमा थियो।
उनको कोरिया जाने सपना पूरा भएसँगै त्यहाँ आम्दानी पनि राम्रै हुन्थ्यो। मेहनती र लगनशील अगस्ती कोरियामा धेरै समय रम्न सकेनन्। सन् २०११ मा कोरिया पुगेका उनी त्यहाँ १८/२० घण्टा काम गर्नुभन्दा देशमै दुःख गरे सुन फलाउन सकिन्छ भन्दै फर्किए।
कोरियामा इमानदारीपूर्वक गर्ने काम र मेहनतलाई नेपालमा केही गर्ने जोसले तीन वर्षपछि नेपाल फर्कायो। ‘साँढे गोरुलाई टन्न खुवाएर जोताएजस्तै कोरियामा हामीलाई पनि सबै सेवासुविधा दिएर काम लगाउने गर्थे। त्यहाँ कामअनुसारको आम्दानी राम्रै थियो। करिब चार लाख रूपैयाँको मासिक पारिश्रमिक थियो। परिवारबाट टाढा रहेर काम गर्न पनि सकिएन। त्यहीमाथि २०७२ सालको भूकम्पले परिवारको बिचल्ली भइरहेको थियो। केही गर्छु भन्ने सोचले नेपाल फर्किएँ,’ उनले नागरिकसँग भने।
भूकम्पपछि नेपाल फर्किएका अगस्तीले काठमाडौंमा परिवारलाई बस्ने घर किनेसँगै स्टेसनरी पसल थापेको उनी सुनाउँछन्। ‘भाडामा बस्दै आएका परिवारका लागि कोरियाबाट फर्किएर काठमाडौंमा घर किनेँ। आफूलाई व्यस्त राख्नका लागि स्टेसनरी पसल पनि थापेँ। तर, गाउँमा बाँझो भएका जग्गाजमिनले दिनरात मन पोल्थ्यो। बाँझो जमिनलाई हराभरा बनाउने सोचले काठमाडौंको घरसँगै १७ लाखमा पसल पनि बेचेँ,’ परिवार लिएर गाउँ फर्केका अगस्तीले भने, ‘गाउँमा गएर कृषि गर्न थालेँ। त्यही कृषिले आज मलाई सुख दिएको छ।’
कोरियाबाट फर्केर गाउँ छिरेका अगस्तीले अहिले नुवाकोटको रैथाने उत्पादनलाई दरबारमार्गको पछाडि अर्थात् ‘याक एन्ड यति’ होटल जाने भित्री सडककिनारमा कुभिन्डो ब्रान्डिङ गर्दैछन्। नुवाकोटदेखि ल्याएका कुभिन्डोहरू एक छिनमा सकिन्छन्। अनि फेरि कुभिन्डो लिन जान्छन् नुवाकोटतिरै।
दरबारमार्गमा साप्ताहिक रूपमा लाग्ने रैथाने बालीको हाटबजारमा आफ्नो व्यवसाय सुरु गर्नुभन्दा पहिले रैथाने कृषि उत्पादनको संरक्षण, प्रवद्र्धन र बजारीकरण तथा प्रचारप्रसारमा लागेका तिलक ढकालसँग कुभिन्डोबारे उनले कुरा राखे। काठमाडौंवासीलाई गाउँगाउँका रैथाने बालीहरूको स्वाद पस्किरहेका ढकाललाई पनि उनको कुरा चित्त बुझेको थियो।
गाउँमा खेर जाने कुभिन्डो संकलन गरी बजारमा ल्याएर त्यसको महत्त्व औंल्याउँदै उनी अहिले त्यसैको व्यवसायमा व्यस्त छन्। गाउँमा खेर जाने कुभिन्डो बेचेरै व्यवसाय गर्न सकिने उनले बताए। ‘नेपालमा कुभिन्डोलाई कुफलका रूपमा लिइन्छ। यसलाई नेपालीले राम्रोसँग चिनेका छैनन्। यसको पहिचान भएरै भारतमा धेरै बिक्रीवितरण हुने गर्छ। त्यसैले मैले पनि यसलाई बजारसम्म ल्याएर आम्दानीको स्रोत बनाउँदै आएको छु,’ उनले नागरिकसँग भने, ‘एकताका मेरो खेतबारी सबै कुभिन्डोले भरिएको थियो। त्यसलाई मैले रोपेसँगै मलजल गरेको पनि थिइनँ। कुभिन्डोलाई देखेर म अध्ययन अनुसन्धानमा लागेँ।’
कुभिन्डोमाथिको उनको अध्ययनको निष्कर्ष उत्कृष्ट निस्कियो। कुभिन्डोलाई अध्ययन अनुसन्धान गर्दा औषधीय गुण हुने, स्वास्थ्यका लागि फाइदाजनक हुने थाहा पाएरै बेच्न थालेको उनले बताए।
उनका अनुसार त्यति मात्रै नभई बोक्रा ताछी भित्री भाग निकालेसँगै रिङजस्तो बनाई काटेर सुकाएपछि मासुको स्वाद आउने र आलुजस्तै जुनसुकै तरकारीमा मिसाउन मिल्छ। माससँग मिसाएर मस्यौरा, खल्पी (पुरानो अचार), भारतमा चर्चित रहेको कुभिन्डोको मिठाई चिनीको चास्नीमा मिसाएर मुरब्बा, पेडा भन्ने मिठाई र जुस पनि बनाएर खान सकिने उनले बताए।
खासमा गाईवस्तुमा बाँझोपन हुँदा कुभिन्डो खुवाउने गरिन्छ। यो खुवाएमा पाठेघर सफा हुने र पशुवस्तुको गर्भाधान हुने मान्यता छ। तर उनले मानिसका लागि प्रयोगमा ल्याए कुभिन्डो। मानिसले कुभिन्डोलाई औषधीका रूपमा प्रयोग गर्न सक्ने बताउँछन् उनी। ‘कुभिन्डोमा ९५ प्रतिशत पानी हुने, औषधीय गुण हुने भएकाले स्वास्थ्यका लागि उपयुक्त हुन्छ। योसँगै जन्डिस लागेको बिरामी, पत्थरी भएका बिरामीलाई यसले एकदमै राम्रो गर्छ,’ उनले भने।
गाउँघरमा मतलब नगर्ने कुभिन्डो सहरवासीका लागि रोग न्यूनीकरण हुन्छ भन्दै किन्न आउने गरेका उनी सुनाउँछन्। ‘सुरुमा गाउँबाट कुभिन्डोलाई काठमाडौं लगेर बेच्छु भन्दा घरमा बुबा पनि यो त पागल भएछ। यो कुभिन्डो काठमाडौंमा कसले किन्छ र ? भन्नुहुन्थ्यो। घरका मान्छे सबै रिसाएका थिए। अहिले दरबारमार्गमा कुभिन्डो बेच्न घरकै मान्छेलाई राखेको छु। गाउँबाट म कुभिन्डो ल्याइदिन्छु,’ गाउँमा गाईवस्तुले खाइरहेको कुभिन्डोलाई काठमाडौं ल्याएर बेचिरहेका अगस्तीले नागरिकसँग भने।
दरबारमार्गमा २० वटा कुभिन्डो बेचेर सुरु गरेका उनी आज पनि कुभिन्डो बेच्न कुनै गाह्रो नभएको बताउँछन्। काठमाडौंमा कुभिन्डो ल्याएर बेचेको दिन उनी सम्झन्छन्, ‘त्यो दिन झमझम पानी परिरहेको थियो। बजार ल्याउन कुभिन्डो टिप्न थालेँ।
घरमा सबै परिवार रिसाएका थिए। संसार जित्न सकिन्छ तर परिवारलाई जित्न नसकिने रहेछ। कुभिन्डो छिपेर बुबालाई समाउन दिँदासमेत समात्न मान्नुभएन। कुभिन्डो जसोतसो दरबारमार्गमा पुर्याएँ। पहिलो दिन २० वटा कुभिन्डो ल्याएको थिएँ। आधा घण्टा नहुँदै सबै बिक्री भयो।’
प्रतिकिलो सय रुपियाँमा बेचेर घर फर्किएका अगस्तीलाई देखेर परिवारका सदस्य चकित भए। त्यसरी उनले प्रत्येक शनिबार दरबारमार्गमा कुुभिन्डोको भारी बिसाउँथे। कुभिन्डो बेचेको तेस्रो हप्ताको शनिबारसम्म त व्यक्तिगत रूपमा उनीसँग कुभिन्डोको माग मोबाइल फोनमा आउने गरेको बताए।
नेपाल फर्केर कृषिमा बिताएका करिब १० वर्ष समयावधिले उनलाई धेरै कुरा सिकाएको छ। कर्मशील युवाले कृषि पेसा छाड्ने हो भने भोलि भोकमरीको अवस्था आउँछ भन्ने बुझेका उनले आफ्नो जन्मथलोमा बाँझो बसेका ६ रोपनी जग्गालाई ब्युँझाएका छन्। अगस्तीले व्यवसायी रूपले ती जग्गामा बाख्रा, मौरी, केरा, आलुको खेतीसँगै धान, मकै, गहुँलगायत अन्य अन्न पनि उब्जाउने गरेका छन्। उनले गाउँघरमा यत्तिकै खेर जाने कुभिन्डोसँगै केराको बुंगो, गाउँघरमा पाइने रैथाने कृषि वस्तु बजारसम्म पुर्याएर बेच्ने गरेका छन्।
कुभिन्डोसँगै केराको बुंगोलाई उनले दरबारमार्गमा बेच्ने गरेका छन्। यसलाई अचारका रूपमा प्रयोग गर्न सकिने उनले बताए। प्रत्येक शनिबार दरबारमार्गस्थित रैथाने हाटबजारमा आफूले बेच्न राखेका सामानबारे जानकारी दिँदै सामान बेच्नमा उनी व्यस्त रहने बताउँछन्।
अहिले भने अगस्तीले कुभिन्डो खेती नै गर्ने सोचमा पुगी कुभिन्डोलाई संरक्षण गर्न बिउ संरक्षणका लागि निवेदन पनि दिएको बताउँछन्। ‘बिउ संरक्षण समितिमा नुवाकोटको कुभिन्डो भनेर संरक्षण गरेको छु। घरमा पनि केही कुभिन्डो बिउका लागि राखेको छु,’ उनले भने। उनका अनुसार गाउँगाउँमा सिंहदरबार छ भन्छन्, तर गाउँमा भ्रष्टाचार मात्रै हुन्छ। सरकारी कर्मचारी घाम तापेरै दिन बिताउँछन्। भएका युवा सबै विदेश पलायन। जसले जे सुकै गरे पनि खाने भनेकै किसानले चुहाएको पसिनाको अन्न हो।
‘किसानलाई माया गर्नुपर्छ। किसान भनेको अन्नदाता हो। बाँच्नका लागि जसले पनि कृषिबाट उब्जिएको अन्न नै खानुपर्छ,’ उनले भने, ‘बाँच्ने मुख्य आधार नै कृषि र कृषिबाट उत्पादित वस्तु हो।’
हरेक वर्ष कोरियाबाटै पाँच हजारभन्दा बढी कामदार फर्केका हुन्छन्। ती सबै युवा उद्यमी हुन्। केही वर्ष कोरियामा काम सिक र यहाँको सिपसँगै पुँजी लिएर आफ्नै देश फर्केर विकास गर्नुपर्छ भन्ने कोरियाको मान्यता हो। कोरियामा कामको सम्मान हुन्छ। तर, नेपालका कसको सम्पत्ति कति छ भन्ने मात्रै हुन्छ। त्यसरी फर्केर आएका युवालाई नेपाल सरकारले केही महत्त्व नदिने अगस्तीको गुनासो छ। ‘कोरियाले काम सिकाएर पठाएको हुन्छ। यहाँको सिप र पुँजी लिएर तेरै देशमा काम गर् भनेर पठाएको हुन्छ। कोरिया अन्य देशजस्तो होइन, पिआर दिएर राख्ने। अरू देशले युवाको १८ देखि ४५ वर्षसम्मको उमेर लुटेको हुन्छ। परिवारको खुसीसँगै परिश्रम लुटेको हुन्छ। नेपालको मन, धन र जन सबै लुटेको छ,’ उनले भने। तर, त्यस्ता युवालाई नेपाल सरकारले उद्योगधन्दामा लगाउन नसक्ने उनको पीडा छ।
किसान भएर फलाउने र आफैं बेच्ने भएकाले मासिक ५०–६० हजार रूपैयाँ कमाउने अगस्ती बताउँछन्। ‘कृषिमा युवालाई जोड्न राज्यले नै सहयोग गर्नुपर्छ। किसानले फलाउने किसानले नै बेच्ने हो। त्यसो हुँदा किसान मर्कामा पर्दैनन्,’ उनले भने,‘ घरको जमिन बाँझो राखेर विदेश जाने संस्कृति बनेका बेला युवाहरू नेपालकै माटोमा तरकारी फलाएमा विदेशमा हुने आम्दानी यहाँ नै हुन्छ।’ आफू विदेश गए पनि छोराछोरीले भने देशमै केही गरून् भन्ने उनको चाहना छ। ‘दश हातका नंग्रा खियाएर छोराछोरीलाई राम्रैसँग पढाएको छु। उनीहरूलाई हुर्काउन, पढाउन र हृष्टपुष्ट बनाउन कति गाह्रो हुन्छ। त्यसरी बलियो बनाएका छोराछोरीलाई अर्काको देशमा श्रम बेच्न पठाउनुपर्छ। शरीरको बल अर्काको देशमा खर्च गर्नुभन्दा आफ्नै देशमा खर्चाउनु राम्रो हो,’ नागरिकसँग अगस्तीले भने।
तीन वर्ष कोरिया बसेर आएका अगस्ती यति बेला मकै छोडाएर बाँकी रहेको सुकेको खोयाको सुप बनाउनतिर लागेका छन्। यसको सुप जाडो महिनामा धेरै प्रयोग भएको उनले कोरियाको बसाइमा देखेका थिए। ‘कोरिएमा जाडो महिनामा मकैको खोयालाई उमालेर यावत मसला प्रयोग गरी सुप बनाएर खाने चलन छ,’ उनले भने, ‘कोरियामा मकैको खोया फाइदाजनक छ भने यहाँ पनि त्यसको प्रयोग किन नगर्ने ? त्यसबारे पनि विज्ञहरूसँग भेटेर अनुसन्धान गरिरहेको छु। त्यसको राम्रै नतिजा आएपछि चाँडै प्रक्रिया अगाडि बढाउँछु।’
कोरिया रिटर्न ५० जना मध्ये उत्कृष्ट काम गरेको भनेर ‘माइग्रेट’ संस्थाले उनलाई छनोट समेत गरेको छ। वैदेशिक रोजगारीका लागि विभिन्न देशको सपना बोकेर युवाहरू बाहिरिइरहँदा कोरियाबाट फर्केका अगस्ती भने नेपालकै खोरियामा रमाइरहेका छन्।
प्रकाशित: २७ पुस २०८१ १०:४१ शनिबार