किताब पढ्न हुरुक्क हुने वीणा पुनले आफू हुर्कंदै गर्दा जति अंग्रेजी साहित्य पढिन्, त्यसमा विदेशी पात्र, परिवेश र सुवास थियो। ती कथामा आफू मावली गाउँ जाँदाका हरियाली, पहाड, त्यहाँका बासिन्दाको भोगाइ, पात्र र परिवेश खोज्थिन् तर पाउँदिनथिन्। पछि थाहा पाइन्, नेपाली परिवेशको कथा त नेपालीले नै लेख्नुपर्ने रहेछ।
नेपालीको कथा नेपालीले नै विदेशी भाषामा लेख्ने हुटहुटीले हाल अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोरमा स्थायी बसोबास गरिरहेकी वीणालाई अहिले साहित्यकार बनाएको छ। अंग्रेजी भाषामा लेखिएको उनको उपन्यास ‘कान्छी’ अहिले अमेरिकी प्रकाशन संस्था ह्याचेटले प्रकाशन गरेको छ।
पछिल्लो समय नेपाल र नेपाली पृष्ठभूमिका कथाहरू अन्तर्राष्ट्रिय प्रकाशकहरूले महत्त्वका साथ प्रकाशन गर्न थालेका छन्। वीणाको उपन्यास सोही क्रमको पछिल्लो उदाहरण बन्न पुगेको छ। नेपाली अभिभावकले अंग्रेजीमा पठनपाठनलाई महत्त्व दिन थालेको झन्डै चार दशकको अवधिमा नेपालले अंग्रेजीका पाठकहरू मनग्य उत्पादन गरिसकेको छ।
अंग्रेजी बुझ्ने नयाँ पुस्ताका लागि नेपाली परिवेशका कथानक पस्किने क्रम पछिल्लो समय बढेको छ। यही कारणले सम्राट उपाध्याय, मञ्जुश्री थापा, सुष्मा जोशीका अंग्रेजी आख्यान मात्र होइन, नारायण वाग्ले र बुद्धिसागरसम्मका उपन्यास अंग्रेजीमा अनुदित समेत भएका छन्। यही सिलसिलाको पछिल्लो कडी वीणा पुनको ‘कान्छी’ उपन्यास बन्न पुगेको छ। गत सेप्टेम्बरमा वीणाको उपन्यास प्रकाशनपछि डेढ दशक लामो प्रयास सफल भएको छ।
काठमाडौंको साँखुस्थित दीपेन्द्र प्रहरी स्कुल पढ्दादेखि नै उनी अंग्रेजी उपन्यास खोजीखोजी पढ्थिन्। उनको पठन रुचि देखेर उनका शिक्षकहरूले पनि सघाउँथे। उपन्यास पढ्ने हुटहुटी यति थियो कि उनी पछि ब्रिटिस काउन्सिलको सदस्यसमेत बनिन्। यही अवधिमा उनले संसारभरिका ‘क्लासिक’ उपन्यासहरू पढिसिध्याइन्। क्लासिक उपन्यास पढ्दाको फाइदा उनलाई के भयो भने भाषा राम्रो बन्यो। उनलाई लाग्यो, म लेख्दा आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छु।
अन्य नेपाली युवालाई जस्तै उनलाई पनि अमेरिकामा पढ्न खुब रुचि थियो। त्यसैले यहाँ १२ कक्षा पास गरिसकेपछि उनी सन् २००८ मा स्टानफोर्ड विश्वविद्यालयमा कानुन विषय पढ्न भर्ना भइन्। त्यहाँ उनलाई अंग्रेजी साहित्य पढेर पात्रका मनोदशा विश्लेषण गर्न लगाइयो।
सानैदेखि उपन्यास र त्यसका पात्रहरूसँग घुलमिल गरेको काम लाग्यो। दोस्रो वर्षमा भने अंग्रेजी विभागले उपन्यास लेख्न चाहनेका लागि पाँच हजार डलर सहयोग गर्ने थाहा पाएपछि पुरानो सपनाले उनलाई झक्झक्यायो। कलेजको ‘समर’ छुट्टीमा अरू काम खोजेर दुःख गर्नुभन्दा उनलाई यही ‘ग्रान्ट’ लिएर उपन्यास लेख्नु उचित लाग्यो।
यही बेला उनी पर्वतस्थित मामाघर गइन्। त्यहाँ सामान्य शोध गरिन् र उपन्यास लेख्न बसिन्। लेख्दै जाँदा अंग्रेजी जान्नु र पढिने उपन्यास लेख्नु धेरै फरक रहेछ भन्ने बुझिन्। लेख्दै गएपछि कलेजले जे सुझायो, त्यसबाट थाहा पाइन्, उपन्यास लेख्नु सजिलो रहेनछ। पात्र र परिवेशका हरेक ससाना कुराहरूको पनि गहिरो शोधखोज र अनुसन्धान गर्नुपर्ने रहेछ। यसअघि उपन्यास लेख्न ‘रिसर्च’ गर्नुपर्छ भन्ने उनलाई थाहा थिएन।
उनी काठमाडौंमा जन्मेहुर्केकी, गाउँ त चिनेकै थिइनन्। दसैंमा वा कुनै छुट्टीमा केही दिन मावली गाउँ बसेका भरमा उपन्यासमा गाउँले परिवेशको गहिराइ आउँदैनथ्यो। जसोतसो ग्रान्टका लागि उपन्यास तयार पारेर दिइन् तर उनका प्राध्यापकहरूले धेरै मिहिनेत गर्नुपर्ने महसुस गराइदिए। ‘हाम्रो यहाँजस्तो तैंले लेखेर खान सक्दिनस् भनेर हिम्मत तोडिँदैन,’ उनले नागरिकसँग ह्वाट्सएपमा सुनाइन्, ‘के गर्न सकिन्छ भन्ने उपाय सुझाइन्छ र त्यो गर्न मिहिनेतबाहेक अरू केही काम नलाग्ने महसुस गराइन्छ।’
अहिले बजारमा आएको ‘कान्छी’को मूल कथा त्यहीबेला लेखिएको उपन्यास हो। ‘तर त्यो बेलाको कान्छी र अहिले छापिएको कान्छीबीच धेरै फरक छ,’ वीणा भन्छिन्, ‘गाउँले परिवेश उही भए पनि पात्र र कथा, तिनको मझाइ निकै धेरै छ।’
अमेरिकाबाट ‘कान्छी’को पहिलो ड्राफ्ट र छापिने लेखक बन्ने हुटहुटीले उनी नेपाल आइन्। यहाँ उनले पत्रकारिता गर्न थालिन्। पत्रकारिताले उनको लेखाइ मोह माथ्र्यो। उपन्यास प्रकाशन गर्ने बाटो पनि खुलिरहेको थिएन।
कलेजमा पढ्दा उनका प्राध्यापकहरूले भन्थे, ‘तिमी साँच्चिकै लेखक बन्ने हो भने गरिबीबाट नडराउनू। किनभने लेखेर कोही पनि धनी बनेको छैन। लेखेरै धनी हुनु दुर्लभ घटना हो। लेखक हुन पूर्णकालीन रूपमा लेख्न जरुरी छ ।’
नेपालमा फर्र्कंदा उनले स्टानफोर्डको स्नातक र यहाँको स्नातक इक्युभ्यालेन्ट गर्न पनि धेरै दुःख पाएको उनले स्मरण गरिन्। पछि उनले प्रमाणपत्र नै लिइनन्। नेपालमा रहँदा ‘हिमाल साउथ एसिया’ म्यागेजिनमा काम पनि गरिन्। लोकसेवाको परीक्षा दिने दबाब परिवारबाट बढ्दै गएपछि उनले केही कक्षा पनि लिइन्।
काठमाडौंमा पत्रकारिता गर्दाका दिन रमाइला थिए। त्यसैले उनले दुई वर्ष एक अक्षर पनि लेखिनन्। तर भित्रभित्र उनलाई अक्षरहरूले सधैं तनाव दिइरहन्थे। उनले अमेरिकामै छँदा बरु आफू गरिब नै हुने तर लेखक बन्ने लिएको कसमले दुःख दिइरह्यो। लेखक बन्ने हुटहुटीकै कारण उनले काठमाडौं पोस्ट दैनिकको जागिर छाडेकी थिइन् तर पोस्ट छाडेको ६/७ वर्ष बितिसक्दा पनि उपन्यासले अन्तिम रूप पाएन। यसैबीच २०७२ सालको भूकम्प गयो। नेपालमा अन्योलबिच उनी अमेरिकाको कर्नेल युनिभर्सिटीमा क्रिएटिभ राइटिङमा पढ्न गइन्।
अमेरिकामा सिर्जनात्मक लेखन पढ्ने, पिएचडी गर्ने र आफू पनि लेख्ने र कलेज वा युनिमा लेख्न सिकाउनेहरूको सूचीमा वीणा पनि थपिइन्। त्यसयता उनी अरूलाई पनि पढाउने र आफू पनि पढ्दै लेख्दै गरिरहेकी छन्।
सिर्जनात्मक लेखन पढाउने हुनाले नागरिकले उनलाई सोध्यो, ‘मान्छे जन्मँदै लेखक हुन्छ कि उसलाई लेख्न सिकाउन सकिन्छ ?’ वीणा भन्छिन्, ‘लेख्ने किरा चाहिँ जन्मँदै हुनुपर्छ तर समयक्रममा त्यो किरा मर्न सक्छ। त्यसलाई मर्न नदिन क्रिएटिभ राइटिङको पढाइले सहयोग गर्छ। युवावस्थामा लेख्ने हुटहुटी मर्न नदिन नै वास्तवमा यस्ता क्रिएटिभ राइटिङ पढ्नुपर्ने रहेछ ।’
उनको धारणामा लेख्न सिकिँदैन। लेख्ने प्रतिभा छ भन्ने थाहा पाएपछि प्राध्यापकहरूले आफ्ना विद्यार्थीलाई उत्साही बनाइरहनुपर्छ। युवाहरूले समयमै क्रिएटिभ राइटिङ पढे भने लेख्ने बानी नछुट्ने वीणाको धारणा छ।
उनी भन्छिन्, ‘हरेक दिन लेख्ने बानी गर्नुपर्छ। कुलतको हदसम्म लेख्ने बानी भएपछि र लेख्न अनुभवी भएपछि भोलि लेखुँला भन्ने बहाना हुँदैन र लेख्नबाट केहीले/कसैले छेक्न सक्दैन।’
पछिल्लो समय क्रिएटिभ राइटिङ पढ्नेहरूलाई विश्वविद्यालयले थोरै रकम दिन्छ। त्यही रकम लिएर विद्यार्थीहरू लेख्न बस्छन्। वीणाको धारणामा, ‘त्यो रकमले रोजीरोटीकोे संघर्ष गरिरहेकाहरूलाई ठुलो सहयोग गर्छ।’
अमेरिकामा कोभिड १९ को बन्दाबन्दीका बेलामा उनको भर्खर बिहे भएको थियो। त्यो बेला अन्त कतै काम पनि थिएन। उनले आफ्नो लेखनलाई निरन्तरता दिइरहिन्। यही बिचमा उनलाई उपन्यास तयार भयो भन्ने लागेपछि उनले १०÷१५ जना एजेन्टलाई आफ्नो उपन्यास पठाइन्। तीमध्ये एक एजेन्ट थिए, कनिष्क गुप्ता।
उनले उपन्यासको सम्भावना देखेपछि सम्पादनका लागि नेपालस्थित अमिशराज मुल्मीलाई पठाइदिए।
यसपछि किताब गत मार्चमा सम्पादन भयो र सेप्टेम्बरमा बजारमा आइहाल्यो। यो किताब लेख्न उनलाई एक दशक लागेको थियो। सम्पादककहाँ पुग्दा लगभग पूर्ण उपन्यास नै थियो। क्रिएटिभ राइटिङ पढ्दा उनले बुझेको कुराचाहिँ ठुला प्रकाशकले सिधै लेखकलाई भेट्दैनन्। उनीहरू एजेन्टमार्फत काम गर्छन्। साना प्रकाशकहरूलाई भने लेखकले सिधै सम्पर्क गर्न सक्छन्।
संसारभर नै दुई किसिमका आख्यान लेखिन्छन्। एउटा लोकप्रिय आख्यान र अर्कोचाहिँ साहित्यिक आख्यान। झुक्किएर मात्र साहित्यिक आख्यान लोकप्रिय बन्न पुग्छन्। त्यसैले साहित्यिक आख्यानका लेखकहरू लोकप्रिय हुने चाहना राख्दैनन्। त्यही हिसाबले उनीहरूलाई तालिम दिइएको हुन्छ। अहिले उनको उपन्यासको चर्चा नेपालमा भइरहेको छ भने भारतका प्रख्यात पत्रिकाहरूले समालोचना गरिरहेका छन्।यसमा उनी सन्तुष्ट छिन्।
अहिले उनी अर्को उपन्यासमाथि काम गरिरहेकी छन् तर त्यसलाई पूर्ण गर्नुभन्दा ‘कान्छी’कै माया उनलाई बढी छ। यो उपन्यास भने पहाडबाट झरेर कान्छी नामक पात्रले गरेको संघर्षको कथा हो।
छोरी हुनुको दुःख र तिनका सानाठुला दुःख र सपना उपन्यासको मूलकथा हो। माओवादी द्वन्द्वको पृष्ठभूमिमा एउटी युवतीको संघर्षलाई पाठकले रुचाउलान् भन्ने वीणाको अपेक्षा छ। ‘आफूजस्ता पाठकका लागि मैले यो लेखेकी हुँ,’ वीणा भन्छिन्, ‘नेपाली पाठकलाई नै दिमागमा राखेर लेखिएको उपन्यास भएकाले पाठकले रुचाउलान् कि?’
नेपाल मात्र होइन, संसारभर नै पठन संस्कृति घट्दै गइरहेकोमा चिन्ता छ तर उनलाई भने त्यसको चिन्ता छैन। उनी भन्छिन्, ‘हाम्रो पालामा भन्दा अहिलेका नयाँ पुस्तालाई पढ्न सजिलो छ।
दुःख कम गर्नुपर्छ। नेपालमा पहिलेको तुलनामा अंग्रेजी उपन्यास पढ्ने संस्कृति अझ बढेको छ। त्यसैले मेरो उपन्यास पनि खोज्लान् नि, होइन ?’
कुनै बेला आफू विद्यार्थी छँदा विदेशी कथामा सधैं आफ्नो गाउँघरका कथा खोज्थिन्। धेरै पछि मात्र उनले जब अरून्धती रोयको ‘गड अफ स्मल थिङ्स’ पढिन्, त्यसबेला मात्र यो त हाम्रै जस्तो कथा रहेछ भन्ने लागेको थियो। नेपालको कथा अंग्रेजीमा लेख्यो भने जसरी आफूलाई रोय पढ्दा खुसी लागेको थियो, आफ्नो उपन्यास पढ्दा उसरी नै कुनै नेपाली पाठक खुसी होला भन्ने उनको अपेक्षा छ। ‘मात्र ती पाठकसम्म कसरी पुग्ने हो भन्ने चिन्ता छ,’ उनी आफ्नो जायज चिन्ता सुनाउँछिन्।
उनले यही मेसोमा मञ्जुश्री थापा, नारायण वाग्ले र बुद्धिसागरलाई धन्यवाद दिन बिर्सिनन्। उनले भनिन्, ‘पहिलो किताब निस्किरहेको छ, यस्तोमा आफूभन्दा पहिले नै उपन्यास लेखेर चर्चामा आएका लेखकको सानो टिप्पणी लेखिदिए कति जाती हुन्थ्यो भन्ने सोचेर उहाँहरूलाई केही लेख्न अनुरोध गरें। नभन्दै छोटो समयमै उहाँहरूको टिप्पणी आइहाल्यो।’
मन परेका लेखकबाट सानो ब्लर्ब पाउँदा उनी खुसी भइन्। अर्को वर्ष नेपाल आउँदा भेटेरै धन्यवाद दिन मन छ उनलाई। नेपाल आउँदा एउटा लेखकका रूपमा पाठक जन्माउने उद्देश्यसमेत रहेको उनी बताउँछिन्।
प्रकाशित: २२ पुस २०८१ ०७:०३ सोमबार