२१ पुस २०८१ आइतबार
image/svg+xml
कला

थारू समुदायको सभ्यता र जातीय सद्भावको आख्यान ‘बुह्रान’

पुस्तक

विविध साहित्यिक विधामा अनवरत कलम चलाउँदै आएका साहित्यकार महानन्द ढकाल नेपाली साहित्यमा उदाएका एक देदीप्यमान नक्षत्र हुन्। बुह्रान उनकाे प्रथम उपन्यास हो। उनको यस कृति प्रथम उपन्यास भए तापनि यहाँ सङ्गृहीत कथा, ढाँचा, प्रस्तुति आदि मूल विषयहरूमा सिकारु अवस्थाको प्रतिच्छाया नभई विषयविज्ञत्वको प्रतिबिम्ब भेटिन्छ।

यो कृति एक सर्वोत्कृष्ट आख्यान हो, जसले समग्रतामा औपन्यासिक रूपधारण गरी त्रिवेणीमा कथालाई विभाजन गर्दछ। ती त्रिवेणीअन्तर्गत सपना, सङ्घर्ष र स्वाभिमान छन्। तत्तत् तीन विषयहरू थारू सभ्यता, संस्कृति, भाषा, आञ्चलिकता इत्यादि विषयसित सम्बन्धित छन्। तीनओटा अभिन्न अर्थका शीर्षक रहे तापनि प्रत्येक कथा वा कथाका मोडहरूमा निः सृत तीन विषयको स्पर्श हुन्छ।

बुह्रान शब्दले कैलाली, कञ्चनपुर र बर्दिया क्षेत्रलाई जनाउँदछ। यहाँका कथाहरू पनि त्यस क्षेत्रसँग सम्बन्धित छन्। दाङ क्षेत्रमा निरन्तर मालिकको मातहतमा परी स्वाधीनता गुमाएका थारू जाति स्वच्छन्दता प्राप्ति, गाँस, बास, कपासका लागि बुह्रान झरेको कथावस्तु यस आख्यानले समेटेको छ। आफ्नो सपना पूरा गर्न बुह्रान झरेका थारू समुदायका मानिसहरू सङ्घर्षलाई प्राथमिक विषय बनाउँदा पनि अरूभन्दा पछाडि पर्नुपरेको दुःखद् स्थितिको वर्णन यहाँ भेटिन्छ।

माइला थारू, सोमलाल जस्ता पात्रहरूले आफ्नो हक र हितका खातिर अक्षुण्ण रूपमा सङघर्ष गरेको तर आशातीत सोचाइ निराशामा परिणत भएको हुँदा ती अन्यायमा परेका पात्रहरूको सुस्केरा तथा उदासीनताको लवज यस आख्यानले बताउँछ। यस विषयलाई हेर्दा निचोडमा पुग्न सकिन्छ, यो कृति साहित्यिक फाँटमा मात्र होइन, वास्तविक सीमान्तकृत थारू वर्गको सुस्केराको प्रस्फुटन पनि हो।

पार्वती यस उपन्यासका एक तारा हुन्, जसले अरू थारू समुदायमा सहकार्य र सामञ्जस्यको हातलाई अघि सारे। पार्वती पहाडी समुदायकी छोरी हुन्। पहाडीबाटै थारूहरू मूलतः शोषित हुन्थे।

यस प्रसङ्गमा सबै थारू पहाडीबाट शोषित नहुने विषयको उत्थान गर्दै दृष्टान्तको रूपमा पार्वतीलाई यस किताबमा लेखकले उद्घाटन गरेका थिए। यस्ता अन्य धेरै पहाडी पनि थिए जसले थारू समुदायका मानिसहरूलाई सामञ्जस्यमूलक व्यवहार गर्थे र आधारभूत आपूर्तिमा सहारा दिन्थे। कसैको मातहतमा नरहेर स्वाधीनताको नमुना दिने, आफ्नो हक, आधिपत्यको लागि लड्ने, मानवीय धर्म वा चरित्र नछाडी परोपकारमा सधैं अग्रसर हुने, अन्धविश्वासलाई मूलोच्छेदन गरेर सामाजिक सहकार्यका पाठ सिकाउने पार्वती यस कृतिका एक प्रगतिवादी पात्र हुन्। यही प्रगतिशील आदर्शका पात्र पार्वतीले फगत पुस्तकका पात्र मात्र नभई हामी पाठकको नैतिकता एवं सामाजिक संविद् वृद्धि गर्न पनि अहम् भूमिका निर्वाह गरेकी छिन्।

सङ्घर्ष खण्डमा पार्वती, सोमलाल जस्ता पात्रहरूले गरेको सङ्घर्ष मुख्य रूपमा देखिएको छ। ती पात्रहरूको सङ्घर्ष र आशातीत सफलताको बदलामा प्राप्त भएको असफलता देख्दा को पाठकको आँखा रसाउँदैन होला। हरेक असफलताको चुनौतीले निराशाको गर्तभित्र बाँधिदा निस्किने निःसृत सुस्केराले मेरो मन अत्यन्त छियाछिया भएको थियो। करुण रस र रौद्र रसका तादात्म्यले भरिएको यस पुस्तकमा साहसी वीराङ्गना पार्वतीको आँटले वीर रस पनि उत्तिकै आर्विभावन हुन्छ। क्षणक्षणमा शृङ्गार रसको झल्को पनि उत्तिकै पाइन्छ। सङ्घर्ष र स्वाभिमान खण्डमा नियत- नियति, आशा-निराशा, सफलता-असफलता, विचरण-विवरण आदि मुख्य रूपमा भेट्न सक्छौँ। त्यसै गरी आफ्नो स्वाभिमानका लागि लडिरहनुपर्ने मुख्य सन्देश बोकेर स्वाभिमान खण्ड मुखरित छ।

यसरी सारांशमा सपना खण्डमा थारू समुदायको बुह्रानमा झरेपछिको सपना, सङ्घर्ष खण्डमा पहाडी र थारू समुदायको द्विपक्षीय सङ्घर्ष र स्वाभिमान खण्डमा आफ्नो स्वाभिमानका लागि गरिएको परिश्रम र मिहिनेत मुखरित छ। तर सबै पक्षमा अवरोध, बाधा अड्चन उत्तिकै छ जसले पात्र मात्र नभई पाठकलाई पनि सोही कल्पनामा दोहोर्‍याई रोदन भाव प्रकट गर्दछ।

यो कृति थारू संस्कृति तथा सभ्यताको शोधकार्यका निम्ति अति उपयुक्त छ। यहाँ प्रयोग भएका भाषाको सहजता, रस र अलङ्कारको तादात्म्यले कृति थप खास बनाउँदछ। यो कृति भाषाशैलीको हिसाबले म सबैलाई सिफारिस गर्दछु। विशेष रूपमा सम्बन्धित संस्कृति, इतिहास र सभ्यतामा रुचि राख्ने व्यक्तिहरूलाई सिफारिस गर्दछु। यो कृति ज्ञानको हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ र सिङ्गो नेपालको विशेषतालाई यसले समेटेको छ।

निष्कर्षको रूपमा भन्नुपर्दा यहाँ आञ्चलिकता, सहनशीलता, जातीय सहकार्य, सद्भाव आदि प्रमुख सारको रूपमा मुखरित छन् र विषयवस्तुहरूको मर्मस्पर्शी घटना शब्दशिल्पी किसिममा उद्घाटित छन्।

शृङ्गार रसमा बढी कविता रच्न इच्छुक व्यक्ति म यस कृतिको अध्ययनपछि वीर र करुण रसमा कविता सिर्जना गर्न अभिप्रेरणा मिल्यो। वास्तवमा नै यो कृति साहित्यको भूमरीमा मात्र सीमित नभई यथार्थपरक जीवनसँग पनि जोडिएको छ। थारू समुदायलाई एक माध्यम लिई सीमान्तकृत वर्गले भोग्नुपरेका पीडहरू यस आख्यानले दर्साएको छ।

अमू शाक्य, कक्षाः १०, माछापुच्छ्रे डियरवाक सिफल स्कुल।

प्रकाशित: १९ पुस २०८१ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App