२१ पुस २०८१ आइतबार
image/svg+xml
कला

बाल्यकालको जाडो र बाख्राको चपाइ

निबन्ध

चिसो छचल्किएको हिउँदे जाडोको बिहानी। ओसिलो तुसारोले ढाकिएको चौरमा बाख्रा चरिरहेका हुन्थे। कुनै बाख्रा मुख चलाएर खानेकुरा चपाएर आरामले उग्राएर बसिरहेका हुन्थे। हामी सानै थियौँ। जाडोको चिसोले हड्डी नै काम्ने। हातखुट्टा कठ्याङ्ग्रिएर लठ्ठ परेजस्तै हुन्थ्यो। घरबाहिर निस्कँदा मुटु नै काम्ने।

ठूलाबडाहरू भन्थे, ‘केटाकेटीको जाडो बाख्राले खान्छ।’ हामी त्यो कुरामा पक्कै विश्वास गर्थ्याैं। बाख्रा हेर्दा त्यसरी मुख चलाएर चपाइरहेका हुन्थे कि हाम्रो जाडो नै तिनले खाइरहेका छन् कि जस्तो लाग्थ्यो। सायद, त्यसैले नै हामीलाई जाडो धेरै लाग्ने लाग्दैनथ्यो कि जस्तो लाग्छ आज सम्झिँदा।

हामी सानै भएकाले हामीलाई थाहा थिएन कि बाख्रा घाँस चपाइरहेका हुन्थे। हामीलाई त्यतिबेला त्यति थाहा थिएन कि जाडो किन लाग्छ? हामीलाई त्यतिबेला त्यति थाहा थिएन कि विज्ञानले यस्ता कुराहरूको जवाफ दिन्छ। हामीलाई त्यतिबेला त्यति थाहा थिएन कि हाम्रो बालमन कति निर्दोष हुन्छ?

‘केटाकेटीको जाडो बाख्राले खान्छ,’ यो भनाइ हाम्रो बाल्यकालको एउटा अविस्मरणीय क्षण थियो। हामी साना छँदा हाम्रा बुबाआमा मात्र होइन हजुरबाहजुरआमाहरूले समेत यस्तै भनेर हामीलाई फकाउँथे। जाडोको चिसो छल्न, न्यानो लुगा लगाउन नमानेका हामीलाई यो भनाइले कतिपय बेला डर पनि लगाउँथ्यो। तर, यस भनाइको पछाडि लुकेको अर्थ र भावना बुझ्न हामी त्यतिबेला सानै थियौँ।

बाल्यकालमा हामीलाई जाडो निकै कष्टकर लाग्थ्यो। न्यानो लुगा लगाउन मन लाग्दैनथ्यो। हामीलाई बाहिर खेल्न, दौडधूप गर्न बढी मन हुन्थ्यो। तर, हाम्रा अभिभावकहरू हाम्रो स्वास्थ्यको चिन्ताले सधैँ सचेत रहन्थे। हामीलाई न्यानो राख्न उनीहरूले विभिन्न उपाय अपनाउँथे। हामीलाई न्यानो लुगा लगाउन लगाउँथे, न्यानो घाममा बस्न लगाउँथे, तातो खानेकुरा खुवाउँथे। तर, हामी भोकै खेल्न दौडिन्थ्यौँ। खानु, पढ्नु–लेख्नुभन्दा खेल्नुको मज्जा अर्कै हुन्थ्यो त्यो बेला। जाडोबाट बच्न चाहँदैनथ्यौँ। त्यसैले  हाम्रा अभिभावकहरूले हामीलाई डर देखाउँथे।

हिजोआजको व्यस्त जीवनशैलीमा हामी यस्ता भनाइहरूबाट टाढा हुँदै गएका छौँ। हामी आधुनिक जीवनशैलीमा रमाउँछौँ। तर, कहिलेकाहीँ हामीले हाम्रो परम्परागत मूल्यमान्यता बिर्सनु हुँदैन। हाम्रा पुर्खाले हामीलाई दिएका यस्ता शिक्षा र उपदेशहरू अमूल्य छन्।

‘केटाकेटीको जाडो बाख्राले खान्छ।’ यो भनाइ एउटा सामाजिक र सांस्कृतिक सम्पदा हो। बूढ्यौली मान्यता पनि हो। यसले हाम्रो बाल्यकाललाई झल्काउँछ। यसले हाम्रा अभिभावकहरूको माया र स्नेहलाई प्रकट गर्छ। त्यसैले हामीले यस्ता भनाइहरूलाई सधैँ सम्झना राख्नुपर्छ।

यो बाल्यकालको एउटा अविस्मरणीय क्षण हो। यस भनाइको पछाडि लुकेको अर्थ र भावना बुझ्दा हामी हाम्रा पुर्खाहरूको ज्ञान र बुद्धिप्रति कृतज्ञ हुन्छौँ। यस भनाइले हामीलाई हाम्रो स्वास्थ्यको ख्याल राख्न सिकाउँछ। हाम्रा अभिभावकहरूको मायालाई सधैँ सम्झाउँछ।

वास्तवमा बाल्यकाल यौटा एक सुनौलो सपना पनि हो। हामी हाम्रा अभिभावकहरूको चाहना अनुसार हिँड्न सक्यौँ भने, ज्ञानी बन्न, आज्ञाकारी हुन जान्यौँ भने निश्चय पनि हामीले धेरै सफलता हासिल गर्न सक्छौँ। किनभने बालबालिका भनेका कुमालेले भाँडाकुँडा बनाउन तयार पारी राखेको माटोका डल्ला हौँ। त्यसमा जे बनाउन मन लाग्यो त्यही बनाउन सकिन्छ।

बाल्यकाल, जीवनको त्यो चरण हो, जुन कहिल्यै फर्केर आउँदैन। ती दिनहरू सम्झँदा मनमा एउटा अनुपम उत्साह जाग्छ, जसले अहिलेको व्यस्त र तनावपूर्ण जीवनलाई केही समयका लागि शान्त बनाउँछ। खालि खुट्टा दौडिनु, नदी किनारामा बालुवा खेल्नु र झरीमा भिज्दै रमाउनु– यी सबै यादले बालापनको सरल र सौम्य जीवनलाई जिउँदो पारिदिन्छ।

बाल्यकालमा हामी कुनै बन्धनका जालमा फस्दैनथ्यौँ। जीवनका ससाना खुसीहरूमा रमाउँथ्यौँ। जस्तै, नजिकको बारीमा जाउँदो टिपेर खाँदा कुनै भय हुन्नथ्यो, बरु त्यसले हामीलाई थप आनन्द दिन्थ्यो। लुगा मैलो भयो कि छैन भन्ने चिन्ता कहिल्यै गर्दैनथ्यौँ। कहिलेकाहीँ त कट्टु नभएर पनि कुनै गुनासो थिएन। त्यो समयको मासुमियत यस्तो थियो, जसलाई शब्दमा व्यक्त गर्न कठिन छ।

बाल्यकालमा हामीलाई सबैले माया गर्थे। काखमा राखेर म्वाइँ खानु, आफ्ना भागका मीठा परिकारहरू हामीलाई खुवाउनु, अनि हरेक कुरामा हामीलाई अगाडि राख्नु त्यो समयको अनमोल पक्ष थियो। संसार हाम्रो लागि एउटा सुरक्षित बगैंचा थियो, जहाँ हाम्रा गल्तीहरूलाई हाँसीहाँसी माफ गरिन्थ्यो।

समयसँगै हामी ठूला भयौँ। जिम्मेवारीका भाह्री बोकेर जीवनको कठोर यथार्थसँग जुध्न बाध्य भयौँ। अब ती दिनहरू सपना जस्तै लाग्छन्। जीवनमा संघर्ष गर्ने क्रममा त्यो निर्दोषताले हामीलाई छाडेर गइसकेको छ। बालापनमा कुनै चिन्ता थिएन, तर अहिले हरेक दिन एउटा नयाँ चिन्ताको कथा बोकेको हुन्छ।

बाल्यकालका ती दिनहरू अब  सम्झनाका लागि मात्र हुन्। ती दिनहरूमा सिकेको सरलता, इमान्दारिता र निर्दोषपन आज पनि हाम्रो जीवनमा मार्गदर्शक हुन सक्छ। बाल्यकालले सन्देश दिन्छ– ‘जीवनका ससाना खुसीहरूलाई पनि महत्त्व दिनुपर्छ। ती दिनहरूले जीवनको वास्तविक खुसी के हो भन्ने सम्झाउँछन्।’

त्यसैले बाल्यकालीन ती दिनहरू बेलाबखत हाम्रो स्मृतिमा झल्याँस्स आउँछन्। तिनले हामीलाई पुुनः एकछिन बालापनतिर डो¥याएर लैजान्छन्। व्यतीत दिनको दुःखमा पनि हामी खुसी हुन्छौँ। ती सदनका अमूल्य सम्झना सधैँ मनमा जोगाएर राख्नुपर्छ।

हुन त ती दिनहरूलाई बिर्सिन सकिँदैन। ती यादहरूले जीवनलाई सहज र सुखद बनाउन मद्दत गर्छ। बाल्यकाल जीवनको एउटा हिस्सा मात्र होइन, यो जीवनको आधारभूत पाठशाला हो, जहाँ हामीले सरल र सहज जीवन बाँच्ने कला सिक्यौँ।

प्रकाशित: १९ पुस २०८१ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App