१० चैत्र २०८२ मंगलबार
image/svg+xml
कला

राजनीति अमर्यादित खेल कहाँ हो र साथी,यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ!

मुक्तक

१) मुक्तक

उचाल्ने र पछार्ने विषयमा छलफल हुन्छ,

कसैलाई दाग लागे शुद्धि गर्ने पहल हुन्छ।

राजनीति अमर्यादित खेल कहाँ हो र साथी,

यहाँ त पार्टीभित्र नै पवित्र गंगाजल हुन्छ।

२) मुक्तक

धेरैको मुखमा चपाउँदै गरेको पानै देख्छु,

राजनैतिक सागरमा मिलन र दोभानै देख्छु।

देश डुब्यो डुबाए भनेर जत्ति कराए पनि,

खै म त जसलाई हेर्‍याे उसलाई ओभानै देख्छु।

३) मुक्तक

न उसलाई लाज छ, न सरम छ,

न आन्तरिक तागत छ, न दम छ।

व्यर्थै अरूलाई होच्याएर बोल्छ उ,

जसको आफ्नै आत्मविश्वास कम छ।

४) मुक्तक

भोजन नहुनेले खालान् भोज्य वस्तु सडाउन मिल्दैन,

सामाजिक वैमनस्य सकेसम्म कसै बढाउन मिल्दैन।

आफ्नो हुक्काको चिलिममा कोइला भएन भनेर हजुर,

सपनामा पनि दुखी छिमेकीको झुप्रो डढाउन मिल्दैन।

५) मुक्तक

जनअधिकारमाथि डोजर गुडाउने,

मित्रता र सहिष्णुताको डोरी चुँडाउने।

अब यस्तो हरकत छोड्नुपर्‍याे हजुर,

नैतिकता र मर्यादाको धज्जी उडाउने।

६) मुक्तक

प्रसाद मानेर अभक्ष वस्तु खाँदै खाइँदैन,

कागजको फूलमा अत्तर छरेर लाइँदैन।

मन्दिरभित्र जाँदा मनै झुकाउनुपर्छ मित्र,

मात्र शिर झुकाउँदैमा वरदान पाइँदैन।

७) मुक्तक

प्रेम, मोह र प्रणय बिचको चासो हो,

सौन्दर्य र आकर्षणको पासो हो।

प्रेम दिमागको उपज होइन साथी,

यो त स्वार्थरहित दिलको नासो हो।

८) मुक्तक

कुनै बन्द छन् कुनै ढोका खुलेका छन्,

कुनैबाट आफ्नालाई भित्र हुलेका छन्।

क्या मस्ती छ, जनआवाज पुग्दैन त्यहाँ,

कुनै निदाएका छन् कुनै झुलेका छन्।

९) मुक्तक

सौम्य छ, धेरै नचाहिंदा कुरा काट्दैन,

अरूको प्रगति देखेर र्‍याल चाट्दैन।

तव न रचयिता भनेर चिनिन्छ उ।

मनमा नानाथरीको लठारो बाट्दैन।

१०) मुक्तक

गोधूलिको रमणीय कथा लेख्न सक्दैन मान्छे,

अन्धकारको दुष्प्रभाव छेक्न सक्दैन मान्छे।

झमक्क साँझ पर्दा नपर्दै मुख छोपेर सुत्यो भने,

आकाशमा चम्किने तारा पनि देख्न सक्दैन मान्छे।

(तीर्थराज अधिकारी ‘मुक्तकमणि’ का मुक्तकसंग्रह ‘सारवत’मा सङ्गृहीत।) 

प्रकाशित: १७ पुस २०८१ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App