१७ पुस २०८१ बुधबार
image/svg+xml
कला

पानीको अलङ्कार डुबुल्कीचरा

तस्बिर कथा

डुबुल्कीचरा अहिले ललितपुरको धापाखेलस्थित नागदहमा केही दिनदेखि रमाइरहेका छन्। यो हाँसको बच्चाजस्तो देखिने सानो आकारको जलचर हो, जुन लगभग २३ देखि २९ सेन्टिमिटर लामो हुन्छ र वजन दुई सयदेखि तीन सय ग्राम हुन्छ। यसको प्रमुख विशेषता भनेको पानीमुनि चपलता र लचकतासाथ डुबुल्की मार्नु र साना साना माछालाई समाएर आफ्नो आहार बनाउनु हो। यसले प्रायः माछा, पानीमा बस्ने किरा र जल–वनस्पति खान्छ।

 यसले आफ्नो आहार पानीमुनि डुबुल्की मारेर र केही समयसम्म पानीमुनि रहेर प्राप्त गर्छ। डुबुल्कीचरा अत्यन्त चपल र कुशल डुबुल्कीमार हो। यो पानी मुनि लामो समयसम्म रहन सक्छ र राम्रो तरिकाले पौडन सक्छ। यो शान्त ताल, पोखरी, नदीकिनार आदि स्थानमा बस्छ।

डुबुल्कीचरा प्रायः मध्यएसिया, युरोपलगायत अन्य जाडो बढी हुने देशबाट स्थानान्तरित पन्छीका रूपमा आउँछ र गर्मी सुरु भएसँगै फर्किन्छ। यद्यपि यो केही हदसम्म स्थानीय रहन पनि सक्छ र प्रजनन पनि गर्छ। नेपालमा पनि यो स्थानान्तरित पन्छी मानिन्छ। जहाँ तातो र शान्त जलाशयमा प्रर्याप्त भोजन र आवास मिल्ने वातावरण पाउँछ, यो शीतकालीन बसोबासका लागि त्यहीं बसाइँसराइ गर्छ।

  

प्रजनन मौसममा डुबुल्कीचराले विशेष रङ परिवर्तन गर्छ र यसको गालामा केही रङका चिह्नहरू पनि आउँछन्। त्यतिबेला यसले आक्रामक गतिविधि पनि देखाउँछ। प्रायः कम आवाज निकाल्ने यो पन्छी प्रजनन समयमा चिच्याउँछ वा ठुलो र धेरै आवाज पनि निकाल्छ। यसले पानीको सतहमा गुँड बनाउँछ र अन्डा कोरल्छ।

  

यस्ता चरा काठमाडौंलगायत देशका अन्य जिल्लामा देख्न पाउनु भनेको त्यहाँको जैविक विविधता आजसम्म पनि जीवित नै छ भन्ने प्रमाण हो। नदीनाला, तालतलाउ, वनजङ्गल आदि प्राकृतिक स्थल संरक्षण गर्न सके जैविक विविधता संकटमा पर्दैन। 

चोरी–सिकारी, तस्करी, वनजङ्गल फँडानी, तालतलाउमा लुगा धुने, प्रकृतिमाथि अतिक्रमण गर्ने हो भने जैविक विविधता संकटमा पर्छ। यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ। 

प्रकाशित: १३ पुस २०८१ १०:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App