६ पुस २०८१ शनिबार
image/svg+xml
कला

इन्द्रेणी रङको सौन्दर्य

निबन्ध

आकाश र धर्तीको छातीमा मुस्कुराउँदै नाच्ने इन्द्रेणी प्रकृतिको अनौठो उपहार हो। त्यसको सातवटै रङले हामीलाई जीवनको विविधता, सामञ्जस्य र सौन्दर्यको पाठ सिकाउँछ। घाम र पानीको सौजन्य–संयोगपछि आकाशमा फैलिने त्यो रङ्गीन आभा दृश्यको नवीन आकर्षण मात्र होइन, जीवनको गहन प्रतीक पनि हो।

इन्द्रेणीको सौन्दर्य सधैं क्षणिक हुन्छ। त्यसलाई देख्न पाउने हाम्रो सौभाग्य हो। त्यसलाई समात्न सकिँदैन। त्यसमा कुनै स्थायित्व हुँदैन। इन्द्रेणीको कुनै मूर्त रूप छैन। तथापि प्राकृतिक सिर्जनाको सार अनौठो, अल्पकालीन र अविस्मरणीय हुन्छ। इन्द्रेणीले हामीलाई सम्झाउँछ– संसारमा सबै चिज चिरस्थायी हुँदैनन्। त्यसैले ती क्षणलाई सँगालेर बाँच्न सिक्नुपर्छ।

इन्द्रेणीले हामीलाई रङको गहिराइ बुझाउँछ। रातोको ऊर्जाशीलता, नीलोको शीतलता, हरियोको ताजगी। यसरी हरेक रङले जीवनको विविध आयामलाई प्रतिबिम्बित गर्छन्। यी रङ एकसाथ मिलेर मात्र पूर्ण सौन्दर्य र सन्तुलन दिन्छन्। इन्द्रेणीले सन्देश दिन्छ, विविधता नै सामूहिक सौन्दर्य हो। यो मानव जीवनमा पनि लागु हुन्छ। भाषा, संस्कृति, परम्परा र विचारधाराको विविधता नै समाजको सच्चा सौन्दर्य हो।

प्रकृतिका अन्य सौन्दर्यजस्तै इन्द्रेणीका रङहरूले पनि मान्छेको कल्पनाशक्तिलाई प्रेरित गर्छ। कविहरूले यसलाई प्रेमको प्रतीक मान्छन्। कलाकारहरूले यसलाई क्यानभासमा उतारेका छन्। बालबालिकाहरूले यसलाई परीका पखेटासँग तुलना गरेका छन्। इन्द्रेणीमाथि हरेकले आफ्नै दृष्टिकोणले उहिलेदेखि आजसम्म अनेक कथा बुनिरहेका छन्। इन्द्रेणीको अर्को पक्ष भनेको यसको सरलता हो। यो कुनै गहना वा भौतिक वस्तु होइन, यो प्रकृतिको स्वाभाविक दृश्य हो। मान्छेले यसलाई बनाउने छैन, बिगार्न सक्ने छैन। यो स्वतः उत्पन्न हुन्छ। आफैं समाप्त हुन्छ। यसले प्रकृतिको स्वायत्त र शुद्धपन झल्काउँछ।  

जब हामी इन्द्रेणीलाई नियाल्छौं, त्यसमा आकाशको रङ मात्र देखिँदैन, हामीले हाम्रो भित्रको सौन्दर्यलाई पनि महसुस गर्न थाल्छौं। जीवनमा दुःख, सुख, आँसु र हाँसोका रङहरू मिलेर मात्रै हाम्रो कथा पूरा हुन्छ। इन्द्रेणीले हामीलाई यो पाठ दिन्छ कि विपत्तिपछिको शान्तिले जीवनलाई अर्थपूर्ण बनाउँछ।

इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त र शुद्धपन झल्काउँछ ।

त्यसैले इन्द्रेणी आकाशको रङ्गीन खजाना होइन। यो हाम्रो जीवन दर्शनको अभिव्यक्ति हो। यसले हामीलाई सन्देश दिन्छ– जीवनका हरेक रङलाई सम्मान गर, सामञ्जस्य अपनाऊ र क्षणिक सौन्दर्यलाई पनि चिरस्थायी स्मृतिमा रूपान्तरण गर। वस्तुतः इन्द्रेणी रङको सौन्दर्य प्रकृतिको आकर्षण मात्र नभएर, जीवनको शाश्वत पाठ पनि हो। विविध रहस्य, सामञ्जस्य र सौन्दर्यको सङ्गम यसको विशेषता हो। सिमसिमे पानीका साना थोपाहरू आकाशबाट भुइँतिर झर्ने क्रममा अनन्त सपनाहरू बोकेर सप्तरङ्गी सौन्दर्यमा बौरिन्छन्। ती थोपाहरूले पृथ्वीलाई चुम्ने बित्तिकै प्रकृतिको छातीभरि हरियालीको स्पर्श र माटोको मोहक सुगन्ध फैलिन्छ। पानीका यी कणले मनभित्र गाढा भावनाका तरङ्ग तैरिन्छन्। अचानक आकाशमा इन्द्रेणी देखिन्छ– सात रङहरूको सम्मोहक शृङ्खला। त्यसले मनलाई अव्यक्त आनन्दको यात्रामा सम्भवतः आकाश–गंगातिर लैजान्छ।

इन्द्रेणी कुनै साधारण दृश्य होइन। यो प्रकृतिको कला हो, जसले जलकण र सूर्यको किरणलाई प्रयोग गरी आकृतिहरू कोर्छ। पानीका साना थोपाहरूले सूर्यको प्रकाशलाई भिन्न–भिन्न कोणबाट परावर्तन गरी इन्द्रेणी रङको सौन्दर्य प्रस्तुत गर्छन्। यो सौन्दर्य केवल भौतिक विज्ञानको नियममा सीमित छैन। यो सौन्दर्यले हृदयको कुनाकाप्चामा निदाइरहेका सपनाहरू जागृत गराउँछ। सिमसिमे पानीले हामीलाई स्थिरताको शिक्षा दिन्छ। ती साना थोपाहरू एकसाथ मिलेर नदी बग्छन्, समुद्र बन्छन्। इन्द्रेणीले हामीलाई विविधतामा एकताको पाठ पढाउँछ। सात रङहरूले आकाशलाई मात्र होइन, हाम्रो जीवनलाई पनि रङ्गीन बनाउन प्रेरणा दिन्छ।

पानीका थोपाहरूले भिजाएका पातहरू, धर्तीले ओढेको हरियो गहना र आकाशमा फैलिएको इन्द्रेणीले मानव अस्तित्वलाई एउटा गीतजस्तो बनाउँछ। सानो–छोटो कुराले पनि जीवनलाई कति अर्थपूर्ण बनाउन सक्छ भन्ने ज्ञान प्रकृतिका यी विविध चमत्कारहरूले सिकाउँछन्। सिमसिमे पानी र इन्द्रेणीले सन्देश दिन्छ–जीवनमा सानो दुःखको छाल पछाडि विशाल आनन्दको संसार छ। जब आँसुका थोपाहरूमा आशाको किरण पर्छ, तब हाम्रो मनमा पनि इन्द्रेणीको रङ फक्रिन्छ। प्रकृतिको यो सौन्दर्य हाम्रो जीवनको अपरिहार्य प्रेरणा हो।

जीवनका गल्लीहरू सधैं सपाट र सीधा हुँदैनन्। कतै काँडाको बुट्यानले गोडा घोच्छ, कतै अध्यारोले मन थिच्छ। तर, यिनै कठिनाइका छालहरूले जीवनको सही सार तत्व बुझ्न सिकाउँछन्। आँसुका थोपा हरेक मनुष्यको कथा हुन्। जब कुनै सपना टुट्छ, कुनै अभिलाषा अधुरो रहन्छ, तब आँखाबाट चुहिएका ती थोपा पीडाको बोझ मात्र होइन, जीवनलाई नवीन दृष्टिकोणले हेर्न सिकाउने स्रोत पनि हुन्छन्।

आँसुमा अदृश्य शक्ति हुन्छ। जब ती थोपामा आशाको किरण पर्छ, तब हाम्रो मनको आकाशमा इन्द्रेणीका रङहरू फक्रन्छन्। इन्द्रेणी, जुन प्रकृतिको अनुपम चमत्कार हो, हाम्रो जीवनको प्रतीक बन्न सक्छ। जस्तै वर्षापछि निस्किने सूर्यको रश्मीले प्रकृतिमा इन्द्रेणी उतार्छ, त्यस्तै जीवनको दुःखपछि आउने खुसीले हाम्रो मनोभूमिमा आनन्दको इन्द्रेणी सजाउँछ।

यदि जीवन निरन्तर आनन्दको प्रवाह मात्र हुँदो हो त हामी त्यसको मूल्य कहिल्यै बुझ्दैनथ्यौं। आँसुका थोपाले हामीलाई आफूभित्रको कमजोरी र आत्मविश्वासको पुनर्जागरण गर्न सिकाउँछन्। यही आँसुको प्रतीकात्मक शक्ति नै हो, जसले हाम्रो जीवनमा हामीलाई नयाँ अध्यायतिर अग्रसर हुन उत्प्रेरित गर्छ।

प्रकृतिको सौन्दर्य पनि यसैको सन्देश हो। भारी वर्षाले किचिलिघान पृथ्वीलाई सूर्यको प्रेमिल झिल्कोले हरियाली दिन्छ। त्यही हरियालीले हाम्रो मनमा खुसीको मिठास भर्छ। यस्तै जीवनका साना दुःखपछि आउने खुसीको विशाल संसार हाम्रो यात्रा हो। दुःखको क्षण हामीलाई आत्मविश्लेषणको अवसर दिन्छ। जब हामी ती क्षणलाई सहने साहस राख्छौं, तब मात्र हामीले जीवनको साँचो आनन्द महसुस गर्न सक्छौं।

यसैले जीवनमा आँसुका थोपाहरूलाई पनि सकारात्मक हेराइले हेर्नुपर्छ। तिनमा लुकेको आशाको किरण पहिचान गर्न सक्नुपर्छ। जीवनको यो इन्द्रेणी सौन्दर्य, प्रकृतिको यो चमत्कार र मनको यो प्रेरणा नै हाम्रो यात्राको वास्तविक सार हो। दुःखका छालहरू पछाडि विशाल आनन्दको महासागर लुकेको हुन्छ। त्यसलाई पाउन हामीले विश्वास र धैर्यको डुङ्गामा जोखिमकै भएपनि यात्रा गर्नुपर्छ।

देउराली वा भन्ज्याङको चौतारीमा एकछिन बिसाएर अगाडिको यात्रालाई नियाल्दा, प्राकृतिक काव्यले मनलाई आफ्नो वशमा पार्छ। तल लहरै फैलिएको हरियो पहाडी तरेली, माथि गर्वले उभिएका सेताम्य हिमालका चुलीहरू र ती सबैलाई आलिङ्गन गर्ने बादलका सजीव आकृतिहरू। यस्तो लाग्छ, यो दृश्य कुनै कुशल चित्रकारले क्यानभासमा बडो मेहनतले रचना गरेको बहुमूल्य सिर्जना हो। अचानक परिरहेको हल्का बर्सातसँगै सूर्यको किरणले जब इन्द्रेणीलाई बिसाउन निम्ता दिन्छ। प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर रङहरूको थालीमा चौरासी व्यञ्जनको खानेकुरा पस्किएजस्तो लाग्छ। त्यही चौरासी व्यञ्जन वास्तवमा इन्द्रेणी रङको शाश्वत सौन्दर्य हो। त्यो क्षण पदयात्रीहरूलाई कुनै स्वर्गीय अनुभूतिभन्दा कम हुँदैन। आकाशमा खेलिरहेका रङहरूको त्यो नृत्य, धर्तीको हरियालीमा परावर्तित भएर झन् मोहक बन्दै जान्छ।

एकछिनको विश्राम, थकान बिसाउने बहाना मात्र रहँदैन। बरु मनभरि आनन्द र आश्चर्यको सङ्गम भएको क्षण बन्छ। भन्ज्याङबाट देखेको दृश्य, आँखाले देख्ने सौन्दर्य हुँदैन। यो आत्माले महसुस गर्ने दिव्य अनुभूति भइदिन्छ। यहाँ हावा, पानी, घाम र बादलले आफ्नो तालमा सँगै गाइरहेको सङ्गीतले यात्रालाई अझ गहिरो अर्थ प्रदान गर्छ। यो इन्द्रेणी रङ सम्झनामा, मनले यात्राको सबै थकान बिर्सेर प्रकृतिको नाटकको हिस्सा भएको अनुभूति गरिरह्यो। यहाँ बिताएका ती क्षणहरू अमूल्य रहिरहने छन्। कुनै दिन स्मृति–अभिलेखमा तिनले अचम्मको अनुभूति सम्प्रेषण गर्ने छ। र, पाठकहरूले त्यसलाई उत्सुकतापूर्वक चाख र चासो लिएर मनले पढ्ने छन्। किनभने सौन्दर्यको दर्शन संसारका सुन्दर पक्षहरूको खोज, अनुभव र तिनको अर्थको व्याख्यामा आधारित हुन्छ। यो दर्शनले सुन्दरता बाहिरी स्वरूपमा नभई भावनात्मक, बौद्धिक र आध्यात्मिक तहमा पनि हुने मान्यता राख्छ।

सुन्दरता सन्तुलन र समरूपतामा निर्भर रहन्छ। यो सन्देशले जीवनमा सन्तुलित र सकारात्मक दृष्टिकोण अपनाउन प्रेरित गर्छ। सौन्दर्यले मानवलाई क्षणिक सुखद अनुभवभन्दा पर, अस्तित्वको गहिरो अर्थ बुझ्न प्रेरित गर्छ। सुन्दरता कलाको, साहित्यको र जीवनको नवीनतम सिर्जनामा प्रेरणा स्रोत बन्न सक्छ। प्राकृतिक सौन्दर्यले मनलाई शान्त बनाउने र सन्तोषको अनुभूति गराउने सन्देश दिन्छ। यो दर्शनले हरेक क्षणको सुन्दरताको मूल्याङ्कन गर्न र जीवनलाई पूर्ण रूपमा बाँच्न प्रोत्साहित गर्छ। यसैले सौन्दर्यको दर्शनबाट मानवलाई भौतिक र आत्मिक जीवनको उच्चतम स्वरूपलाई आत्मसात् गर्न सिकाउँछ।

सूर्यको किरण पानीका थोपामा परेपछि इन्द्रेणी देखापर्छ। घामको किरण र पानीका थोपामा विविध परावर्तन प्रक्रिया हुन्छ। पानीका थोपाले प्रकाशलाई टुर्क्यााएर यसका विभिन्न तरङ्गअनुसारका सात रङहरू छुट्याउँछन्। यी रङहरू क्रमशः रातो, सुन्तला, पहेँलो, हरियो, निलो गाढा निलो हल्का र बैजनी हुन्।

यसरी इन्द्रेणीमा सात रङहरूको क्रम प्राकृतिक रूपले सन्तुलित हुन्छ। यसले आँखालाई सहज र रमणीय महसुस गराउँछ। इन्द्रेणी दुर्लभ रूपमा देखिने प्राकृतिक घटना भएकाले सबैलाई यो विशेष र मनमोहक लाग्छ। प्रकृतिमा बिस्तारै परिवर्तन हुने रङहरूको मिश्रणले मानिसमा आनन्द र शान्तिको अनुभव गराउँछ। रङहरूले मनोवैज्ञानिक रूपमा सकारात्मक प्रभाव पार्छन्, जसले हाम्रो ध्यान सजिलै तान्छ। यसकारण इन्द्रेणी वैज्ञानिक दृष्टिले रोचक मात्र नभई सौन्दर्य र सकारात्मक भावनाका लागि प्रेरणादायक पनि हुन्छ।

यसप्रकार इन्द्रेणीको सम्मोहन प्राकृतिक सौन्दर्यको अनौठो आकर्षण हो। इन्द्रेणीले मानिसलाई आनन्दित र आश्चर्यचकित बनाउँछ। सात रङको शृङ्खलाले मानिसको मनमा एकप्रकारको रहस्यमय भावना जगाउँछ।इन्द्रेणी रङ प्राकृतिक विज्ञानका दृष्टिले प्रकाशको रङको प्रक्षेपणको प्रभावको परिणाम हो। यसले वैज्ञानिक रहस्यमात्र नभई मानवीय भावनालाई पनि छोएको हुन्छ। संस्कृति, साहित्य र लोककथामा इन्द्रेणीलाई सौन्दर्य, आशा र कल्पनाशीलताको प्रतीक मानिन्छ। यसको अलौकिक र अस्थायी रूपले मानिसलाई क्षणभरका लागि सबै चिन्ताबाट टाढा लगेर प्रकृतिको अद्वितीय कलाको अनुभूति गराउँछ। इन्द्रेणीको यो सम्मोहनले प्रकृतिप्रति हाम्रो माया र सम्मान झन् प्रगाढ बनाउँछ।

प्रकाशित: ६ पुस २०८१ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App