३ पुस २०८१ बुधबार
image/svg+xml
कला

संस्कृति देखाउँदै संस्कृतिमै रमाउँदै

महाेत्सवमा मग्न भक्तपुर

कोही धागो रङ्गाउँदै, कोही कपडा बुन्दै। कोही ढिकी कुट्दै त कोही चिउरा निफन्दै। कतै कफी पाक्दै त कतै ऐला बन्दै। कतै बक्सिङको डुङ्डुङ् त कतै कतै ची मुसी ची। आधुनिकता र प्राचीनताको संगम ‘भव्य भक्तपुर’ शुक्रबारदेखि सुरु भएको महोत्सवमा यस्तै–यस्तै तर फरकफरक स्वादका दृश्यावलोकन गर्न सकिन्छ।

यसै त जात्रा र संस्कृतिले भरिपूर्ण भक्तपुर सहर सधैं जीवन्त छ। त्यसमाथि पाँचदिने महोत्सवले सहरलाई ‘चार चाँद’ बनाउने काम गरेको छ। जात्रा त्यति बेला जीवन्त हुन्छ, जब सर्वसाधारण यसमा मग्न रहन्छन्। भक्तपुर नगरपालिकाले आयोजना गरेको यो महोत्सव नियाल्दा प्रत्येक सर्वसाधारण आयोजकजस्तै देखिन्छन्।

सर्वसाधारणले महोत्सवलाई भित्री मनबाट अँगाल्दा यो झनै जीवन्त देखिएको छ। ‘यो हाम्रो उत्सव हो, हाम्रो नगरको उत्सव हो,’ सानो व्यासीका रामगोपाल सुवालले भने, ‘संस्कृतिमा रमाउँदै संस्कृति देखाउन पाउँदा निकै खुसी मिलेको छ।’

उनले भनेजस्तै सिंगो नगर संस्कृतिमा रमाउँदै संस्कृति देखाउँदै छ। सांस्कृतिक कार्यक्रमअन्तर्गत २३ विभिन्न विधाका नाचमा ६३ समूह छन्। भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठन्डौंमा नाचगानको रौनक छ।

६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गर्दा सिंगो नगर संगीतमा झुम्यो। त्यस्तै ४७ वटा बाँसुरी बाजा समूहको सुसेलीले सहर तरंगित छ। बाजा सुन्ने मात्र हैन, भक्तपुरको मुलाछे र वाकुपति नारायण परिसरमा परम्परागत बाजाहरूको नौ विभिन्न किसिमका खिंहरू, लाला खिं, धा, नाय खिं, को खिं, ढोलक, तबला, धिमाय, पछिमा, मादल आदि प्रदर्शनीले आगन्तुकको मन लोभ्याएको छ।

प्रसन्नशील महाविहारमा कुमारी दर्शन नियाल्नेदेखि भक्तपुरका पाँचवटा महाविहारमा दीपंकर बुद्धको प्रदर्शनीले सर्वसाधारणको मन खिचेको छ। सामाजिक र धार्मिक सद्भावको नमुना सहर भक्तपुरले भक्तपुर इनाचोस्थित मुनिविहारमा बुद्ध अस्तु र बौद्ध दर्शन प्रदर्शनीको व्यवस्था गरेको छ। त्यस्तै भक्तपुरको प्रसिद्ध नवदुर्गाको ‘द्यो ब्वेकेग’ र दर्शनको व्यवस्था नवदुर्गा द्योछे अगाडि गःछेमा गरिएको छ। हिन्दु र बौद्ध देवीदेवताको यो अभूतपूर्व संगम विरलै देख्न पाइन्छ।

सांस्कृतिक नगरी भक्तपुरलाई ‘जात्रापुर’ भनेर पनि चिनिन्छ। हरेक १५ दिन र महिना दिनमा मनाइने यहाँका सांस्कृतिक पर्व, दाफाभजन, परम्परागत नाचगानले यो सहर वर्षभरि नै जात्रामय देखिन्छ। पुस २ गतेसम्म चल्ने पाँच दिने बृहत् भक्तपुर महोत्सवमा वर्षभरिमा निकालिने जात्रा नियाल्न पाइन्छ। प्राचीन सहरका गलीहरू परिक्रमा गर्दै जात्रा नियाल्दा सिंगो एक वर्ष घुमेको महसुस हुनेछ।

भक्तपुरको कला, संस्कृति, जीवनशैली र स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ सुरु यो महोत्सवमा नगरमा देखाइँदै आएको गाईजात्रा, बिस्केटजात्रालगायत जात्राको नमुना झलक देखाउने व्यवस्था मिलाइएको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए।

भक्तपुरमा वर्षका विभिन्न तिथिमितिमा मनाइँदै आएका बिस्केट, गाईजात्रा, गथामुग चन्हे, हलिमली, गुँलाधर्म, चासु पुन्हीः, योमरीलगायतका दर्जनौं पर्व महोत्सवमा हेर्न पाइने उनी बताउँछन्। ‘जात्रा संस्कृति यो नगरको ढुकढुकी हो’, उनले भने, ‘शताब्दीऔंदेखि चल्दै आएको ढुकढुकीको नमुना यो महोत्सवमा देखिएको छ।’

उदाहरणको लागि भर्खरै भक्तपुरमा हलिमली अर्थात् सकिमना पर्व मनाइयो। ठुलो एकादशीको ५ दिनपछिको पूर्णिमाको दिन यो पर्व मनाइन्छ। त्यस अवसरमा यहाँका चर्चित मठमन्दिरअगाडि भुटेको अन्नले बनाएको कलाकृति निकै आकर्षक देखिन्छ।

आकाशमा चन्द्रमा चम्किरहेको समयमा धर्तीमा देखिएको अन्नको उज्यालाले किसानका मन फुरुङ हुन्छ। यो पर्व हेर्न अर्को वर्ष कुर्नु पथ्र्यो। तर महोत्सवमा त्यो हेर्न पाइने छ।

त्यस्तै भक्तपुरमा मनाइने अर्को महत्त्वपूर्ण पर्व गाईजात्रा हो। महोत्सवका अवसरमा गःहितीमा गाईजात्रा पनि निकालिने छ। यहाँ गाईजात्रासँगै अन्य महत्त्वपूर्ण पर्वहरूको पनि नमुना देखाइने नगरपालिकाले जानकारी दिएको छ। यहाँ पुलुकिसी, ताहामचा, भैल खः, गाठामग र योसिंद्योको नमुना प्रदर्शनी आकर्षक देखिएको छ।

त्यस्तै भक्तपुरको प्रशन्नशील, क्वाठण्डौंमा जीवित देवी कुमारीको प्रदर्शनीले धेरैको मन तानेको छ। झौरबहि, कुथुबहिमा दीपंकर बुद्धको प्रदर्शनी गरिने छ। कमलविनायकमा त पुखुलगायतका पोखरीमा दीपावली गरिने छ।

मुनिविहारमा बुद्ध अस्तु तथा बौद्ध दर्शनसम्बन्धी प्रदर्शनी गरिने नगरपालिकाले जनाएको छ। नगरका विभिन्न ११ स्थानमा स्थानीय नेवार समुदायको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारमध्ये मचाबु ब्यंकेगु, मचा चिपं थिकेगु, न्यदा बुदी, प्यदा बुदी, ईहि, कयता पूजा, बाह्रा, बिहा, जंकोलगायतका संस्कारको नमुना प्रदर्शनी गरिएको छ।

त्यस्तै नगरका विभिन्न स्थानमा परम्परागत सिप र कलासँग सम्बन्धित चिउरा कुट्ने, जाँड बनाउने, रक्सी बनाउने, धान कुट्ने, कपडा बुन्नेलगायतका परम्परागत विधिहरूको जीवन्त प्रदर्शनी निकै आकर्षक देखिन्छ।

भक्तपुरको साकोलान र इचाडोलमा परम्परागत तरिकाबाट तोरीको तेल उत्पादन गर्ने चिकं सः प्रयोगको जीवन्त प्रदर्शनीले धेरैको मन लोभ्याएको छ। भक्तपुरको मौलिक उत्पादन जुजु धौको महोत्सव लालाछे, स्वंग लोह (इनाचो) र जेलामा गरिएको छ। सर्वसाधारण दहीको स्वादमा रमाएका छन्।

व्यासी, भोलाछ, वातिकुथि र लाकोलाछेमा नेवार समुदायका परम्परागत खेलहरू निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ। मोबाइलको लतमा परेका बालबालिकाले ची मुसी चीदेखि खल्याङखुट्टी खेलेको देख्दा निकै रमाइलो लाग्छ।

यहाँ नेवारी समुदायका परम्परागत खेलहरू कसिमला पाय्, घचा, अमुकासा, हेकंडला, धुचोलेचा, काना काना पिचा, घ्वाईं कासा, खिप कासा, लोह, दायां खौदायां, वंवा थ्वों वा, कैंची, ची मुसी ची, ह्वांग्रा खोपि, छु भौ कासा, हपालु, ताता मगचा, चिकासा, मण्डली क्येंकेगु, पाय म्हेतेगु, रुमाल कासा, च्याम्पति चाहिकेगु, बासको खोस्ताको फिरफिरे, भुतिमा ब्वेकेगुलगायतको जीवन्त प्रदर्शनीले धेरैलाई आनन्दित बनाएको छ। लोप हुँदै गएका यस्ता खेलको जगेर्नामा नगरपालिकाले लामो समयदेखि काम गरिरहेको छ।

परम्परागत खेलको संरक्षण गर्दै आएको नगरले आधुनिक खेलमा पनि पछि परेको छैन। उसले आधुनिकतर्फ खो–खो, कबड्डी, किक बक्सिङ, तेक्वान्डो, कराँते, उसु, भलिबल, जिम्नास्टिकलगायतका खेलहरूको प्रदर्शनी गरेर नयाँ पुस्ताको पनि मन जितेको छ।

त्यस्तै महोत्सवको पहिलो दिन शुक्रबार गुँलाधर्म आरम्भको झलक निकै आकर्षक देखियो। यो पर्वमा एक महिनासम्म बौद्ध सम्प्रदायका भक्तजनहरू बौद्ध धर्ममा आधारित गुँलाबाजा तथा सिङ बाजा बजाई बिहार, स्तुप तथा नगर परिक्रमा गर्छन्। हिन्दु समुदायको पनि सहभागिता रहने यो पर्व धार्मिक सद्भावको अनुपम नमुना हो।

यी बाहेक तः दिन अर्थात् अक्षय तृतीयाको चार दिनपछि गरिने भक्तपुरका किसान समुदायको दिवाली पूजाको झलक नियाल्ने अवसर पनि महोत्सवमा मिल्ने छ। चासु पुन्हीः अर्थात् बुद्ध जयन्तीको रूपमा बुद्धको प्रतिमा नगर परिक्रमा गराउने जात्राको झलक नियाल्ने अवसर यो मेलामा पाइने छ।

संस्कृतिप्रति आस्था भएका भक्तपुरवासीका कारण यहाँको जात्रा जीवन्त रहेको संस्कृतविद् प्राध्यापक डा. पुरुषोत्तम लोचन श्रेष्ठ सुनाउँछन्। भक्तपुरको समग्र जीवन जात्रामय भएको उनले बताए। ‘यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा निकालिन्छ’, उनले भने, ‘हाँसो र आँसुको संगम बनेको छ भक्तपुरको जात्रा।’

भक्तपुर सांस्कृतिक राजधानी पनि हो। लिच्छवी र मल्लकालमा राजनीति र प्रशासनमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै गयो। तर यो सहर संस्कृति जोगाउन भने सफल भएको छ।

यहाँका जात्रासँग विभिन्न किंबदन्ती र मिथक जोडिएको संस्कृतविद् तेजेश्वर बाबु गोंग सुनाउँछन्। ‘कतै कथा जोडिएका छन्, कतै इतिहास’, उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिएको छ।’

उनी यात्रामय जीवन, जात्रामय जीवन भन्न रुचाउँछन्। ‘संस्कृतको यात्राबाट जात्रा शब्दको उत्पत्ति भयो’, उनी सुनाउँछन्, ‘त्यसैले यात्रामय जीवन, जात्रामय जीवन।’ जात्राबिना जीवन चल्न नसक्ने उनको बुझाइ छ। महोत्सवभरि नगरका विभिन्न टोलमा विविध कार्यक्रम गरिने छ। लायकु, क्वाठण्डौं दत्तात्रय, टौमढीलगायत स्थानमा प्रगतिशील भजन गुन्जिएको छ।

 लायकुमै नगरा बजेको छ। नगरमा पौभा चित्र, तस्बिर प्रदर्शनी पनि गरिएको छ। चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनीले लायकु थथुबहि र कुथुबहि सजिएको छ भने परम्परागत पोसाक प्रदर्शनी पनि महोत्सवको आकर्षक बनेको छ। कमलविनायक, नाग पुखु, खला , जेला, खौमा भाज्या पुखुमा भोज चलेको छ भने परम्परागत बाजा मुलाछे र वाकुपतिमा घन्केको छ।

त्यस्तै कृषि उत्पादनको प्रदर्शनी, बालबालिकामैत्री गतिविधि, सहकारीका गतिविधि, पुस्तक प्रदर्शनी पनि महोत्सवमा देख्न पाइन्छ। ‘यो सिंगो भक्तपुर नियाल्ने सुवर्ण अवसर हो,’ मेयर प्रजापति भन्छन्, ‘यो अवसर नियाल्न हामी सबैलाई आमन्त्रण गर्छौं।’

प्रकाशित: २९ मंसिर २०८१ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App