१) गजल
अनुहार हेर्दैन आफ्नो खत अरूकै देख्छ,
भोग्न भोगिरहेकै छ कुलत अरूकै देख्छ।
कैयौं पटक मक्कियो स्वयं, नजर पर्दैन,
परिस्थितिले चुहिएको छत अरूकै देख्छ।
तप्प आँसु खसाउँदा, बिर्सन्छ गरेको गुन,
सत्मार्ग केवल आफैं हर्कत अरूकै देख्छ।
छदमभेषी हो फुक्छ कान, डुल्छ गाँउबेंसी,
मपाइँत्व मात्र हो बहुमत अरूकै देख्छ।
ईर्ष्यालु अनि शङ्कालु झनै, किरन्टोकी पनि,
बाँच्नकै लागि पाकेको गहत अरूकै देख्छ।
२) गजल
दुधै पिलाऊ सर्पलाई मौका पाए डस्छ फेरि,
नजानिंदो पाराले डेरा जमाउदै बस्छ फेरि।
रामराम हुन्छ मुखमा बगलीमा बोक्छ छुरा,
सावधान, नजिकिंदै आफैभित्र पस्छ फेरि।
ओभानो हुन्छ पानी माथिको नियत अर्कै छ,
हुन्छ प्यारो एकछिन चिप्लो कुरा घस्छ फेरि।
सहँदैनन् पीडितहरू सिमारेखा नाघेपछि,
डसेँ भनी मक्ख पर्दा कुनै दिन खस्छ फेरि।
प्रकाशित: २१ मंसिर २०८१ ११:२४ शुक्रबार