२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

युनिभर्सल स्टुडियोको भव्यता

अनुभूति

अमेरिका धेरैका लागि सपनाको देश मानिन्छ। हामी अहिले त्यही सपनाको देशमा घुमिरहेका छौं। यसै क्रममा हामी (तुलासा र म) क्यालिफोर्निया राज्यको लस एन्जेलस सहरमा छौं। लस एन्जेलस सहर हलिउड फिल्म उद्योगको उद्गम स्थलका रूपमा लिइन्छ।

क्यालिफोर्निया राज्य सिनेमा जगतका लागि विशेष मानिन्छ। यहाँको प्रसिद्ध फिल्म उद्योग हलिउड क्यालिफोर्नियाको लस एन्जेलस सहरमा अवस्थित छ, हामीलाई हलिउड हेर्ने इच्छा उधुम छ। समयको पावन्दीमा बाँधिएका छौं। तैपनि हामीलाई सहज छ, डिल्ली भाइ सपरिवार यतै छन्, उनीहरूको चाहना पनि हामीलाई जतिसक्दो चाँडो हलिउडमा लैजानु जो छ।

छोरा शुभु र म पछाडि सिटमा कुरा गरिरहेका छौं, हामीभन्दा पनि ऊ एक्साइटेड छ, युनिभर्सल स्टुडियो पुग्नका लागि। अघिल्लो दिन नै तय भएको समयभन्दा चाँडै ऊ तयार भइसकेको थियो। समय समयमा म हलिउडका इतिहासबारे ऊसँग सोध्छु, यहाँ निर्माण भएका फिल्म तथा पहिलो फिल्मबारे पनि छोरालाई जानकारी रहेछ, त्यसैले त युनिभर्सल स्टुडियोको दिवाना बनेको रहेछ छोरो शुभु।

हलिउड पार्क पनि निकै भव्य रहेछ। हलिउड पुगेको प्रमाण हामीले क्यामरामा कैद गर्‍यौं। त्यसपछि हामी हलिउडका फिल्म सुटिङ हुने स्थान युनिभर्सल स्टुडियोमा पुग्यौं। युनिभर्सल स्टुडियो घुमाउने सारथी थिए छोरा शुभु र बुहारी गीता। हामी निर्धारित समयभन्दा केही ढिला गरेर युनिभर्सल स्टुडियोतर्फ लाग्यौं।

पहिले नै गीताले टिकट बुक गरिसकेकी थिइन्। रेसु बहिनी र गीताले टिकटबारे कुरा गरिरहँदा महँगो रहेछ भन्ने लागेको थियो, घुम्दै गर्दा त्यहाँको भव्यताले महँगो टिकटको मूल्यलाई बिर्साउँदो रहेछ। अघिल्लो दिनदेखि नै छोरा शुभुले हामीलाई त्यहाँबारे सम्झाउँदै थियो। राइड गर्दा केही हुन्न र दिनभरि हिँडिरहनुपर्छ पनि भन्थे तर धेरै कुरा हामीलाई गोप्य नै राखेका रहेछन्।

हामी हलिउडको महŒवपूर्ण फिल्म उत्पादन गर्ने युनिभर्सल स्टुडियोमा रमाइरहेका छौं। हलिउड एउटा यस्तो क्षेत्र हो, जसले सिनेमा र मनोरञ्जन उद्योगमा महŒवपूर्ण योगदान पु¥याएको छ र यसको प्रभाव विश्वभर फैलिएको छ। यहाँ सबै उमेरका व्यक्तिहरूको चाहनाबमोजिमका फिल्महरू बनेका छन्।

विश्व जगतलाई नै प्रभावमा पार्न सक्ने यो फिल्म उद्योगमा हलिउडमा सबै प्रकारमा फिल्महरू उत्तिकै चर्चित छन्। हरेक मान्छेको चाहनाबमोजिम निर्माण भएका फिल्महरूले हाम्रो पनि मन तानेको थियो, अहिले हामी प्रत्यक्ष हेरिरहेका छौं।

हलिउडबाट प्रत्येक वर्ष प्रदान गरिने ओस्कार फिल्मी जगतको सबैभन्दा प्रतिष्ठित पुरस्कार हो, जुन चलचित्र उद्योगको उत्कृष्टता सम्मान गर्न प्रदान गरिन्छ। यसमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, सम्पादन, संगीत र प्राविधिक पक्षहरूमा पुरस्कारहरू प्रदान गरिन्छ। यो पुरस्कार अकाडेमी अफ मोसन पिक्चर आर्टस एन्ड साइन्सेसद्वारा सन् १९२९ देखि निरन्तर आयोजना भइरहेको छ।

गाडी पार्किङ गरेर हामी युनिभर्सल स्टुडियोको मूल गेटअगाडि लाममा उभिएका छौं। सुरक्षा जाँचपछि हामी भित्र पस्छौं। मान्छेहरूको भिड अत्यासलाग्दो छ, मौसम गर्मी छ। शीतलताका लागि चिसो बाफ ठाउँ ठाउँमा राखिएको छ, पिउने पानीको त्यस्तै व्यवस्था छ र शौचालयमा कहींकतै पैसा तिर्नुपर्दैन।

त्यति धेरै मान्छेहरूको व्यवस्थापन सजिलै गरिएको छ। भित्र पस्दा एकपटक टिकट काटेपछि भित्रका कुनै पनि राइडमा पैसा तिर्नुपर्दैन, बस्, लाइन भने लामै बस्नुपर्छ। कुन राइडमा कति समय लाइन बस्नुपर्छ भन्ने जानकारी ठाउँ ठाउँमा राखिएका छन्। वास्तवमा त्यो भव्यतामा हामी खुब रमायौं। पाँच मिनेटको राइडका लागि मान्छेहरू डेढ दुई घण्टा लाममा बसेर पनि रमाइरहेका थिए। शरीर थाकेर पनि थकाइ महसुस गरेका थिएनौं।

हलिउड घुुमिरहँदा यहाँको इतिहास जान्न उत्सुक हुन्छ मन। केही ब्रोसर र पुस्तकहरू सङ्ग्रह गर्छु र नबुझेको कुरा छोरा शुभुसँग सोध्छु। मलाई कुनै पनि स्थानबारे जानुछ भने त्यहाँको जानकारी गुगलबाट लिन्छु र घुम्दै गर्दा फोटो खिच्छु। यसले मलाई यात्रा सहज भएको महसुस हुन्छ। घुम्दै जाँदा गाइडले भनेका कुरा ध्यान दिएर सुन्छु, यात्राको सौन्दर्य भनेकै यही हो। यात्राको यही सौन्दर्य पानमा अहिले हामी रमाइरहेका छौं।

हलिउडको फिल्म उद्योग १९१० को दशकमा सुरु भएको रहेछ। १९२० को दशकमा यस क्षेत्रले ‘साइलेन्ट फिल्म’ युगदेखि चलचित्रहरूको धरोहर विस्तार गर्न सुरु गरेको रहेछ र १९३० को दशकमा बोल्ने फिल्महरूको आगमनसँगै यसले फिल्म उद्योगमा ठुलो फड्को मार्न सफल भएको रहेछ। यहाँ निर्माण भएका थुपै्र फिल्म हेरेको छु।

अहिले आफैं यहाँ पुग्दा मन हर्षित बनेको छ। मन हषर््िात भएको साक्षी छोरा शुभु र बुहारी गीता छन्। उनीहरूलाई चिन्ता छ, छोटै समयमा पनि धेरै राइडहरूमा भाग लिन सकौं भन्ने। जे होस्, यहाँको भव्यतालाई हामीले नजिकबाट नियालिरहेका छौं।

यहाँका सबैभन्दा पुराना फिल्मका सन्दर्भमा, एक महत्त्वपूर्ण फिल्म ‘द बर्थ अफ अ नेसन’ (१९१५) हो, जुन ड्वाइट डी. वुड्सनद्वारा निर्देशित थियो। यो फिल्मले हलिउडको प्रारम्भिक युगमा उल्लेखनीय प्रभाव पारेको रहेछ तर यसका विषयवस्तु र सामग्रीका कारण विवादास्पद मानिँदो रहेछ। तर, हलिउडमा फिल्म निर्माणको प्रारम्भिक अवस्थामा, एउटा प्रमुख फिल्म ‘इन वल्ड क्यालिफोर्निया’ (१९१०) मानिन्छ, जुन दुई निर्माताहरू, डेबिड वर्क ग्रिफिथ र हेनरी अल्पर्टद्वारा निर्देशित थियो।

यो फिल्मलाई हलिउडमा बनाइएको पहिलो फिल्म मानिन्छ र यसले हलिउडको फिल्म उद्योगको पहिलो चरणको प्रतिनिधित्व गरेको छ। हलिउडको फिल्म उद्योगको इतिहास लामो र जटिल छ र यसको प्रारम्भिक वर्षहरूमा बनाइएका विभिन्न फिल्महरूले यस क्षेत्रको विकास र प्रगतिमा महत्त्वपूर्ण भूमिका खेलेका छन्।

युनिभर्सल पिक्चर्सको स्थापनापछि यसले आफ्नो प्रसिद्ध ‘युनिभर्सल स्टुडियो’ नामक थिम पार्क पनि चलाएको छ, जसमा धेरै दर्शक र पर्यटक घुम्न जान्छन्। युनिभर्सल स्टुडियोहरू विश्वभर विभिन्न स्थानमा छन्। हामी अहिले यही युनिभर्सल स्टुडियोभित्र घुमिरहेका छौं। यहाँका प्रमुख आकर्षणबारे हामीलाई छोरा शुभुले बताउँदै घुमाइरहेको छ।

युनिभर्सल स्टुडियो अमेरिकाका विभिन्न राज्यलगायत सिंगापुर, जापान, बेइजिङमा पनि रहेका छन्। यी पार्कहरूको मुख्य उद्देश्य भनेकै पारिवारिक र मनोरञ्जनात्मक गतिविधि हुन्। जीवनसाथी तुलसा, हाम्रो सारथी छोरा शुभु र बुहारी गीताले हाम्रो यात्रालाई थप रोमाञ्चक बनाएका छन्।

युनिभर्सल स्टुडियो थिम पार्क युनिभर्सल पिक्चर्सको मूल स्टुडियो परिसरमा छ। यहाँ मुख्यतः थ्रिल राइड्स, पानीमा आधारित एडभेन्चर, इमर्सिभ एक्स्पेरियन्स, स्पिड र थ्रिलको मिश्रण भएको इनडोर रोलर कोस्टर, एनिमेटेड थ्रिडी अनुभव, ह्यारी पोटरको जादुई संसारको अनुभव जसले मिनियन्सको दुनियाँमा लैजान्छन्। यीलगायत स्टुडियो टुर, थ्रिडी नाटकको अनुभव र अन्य धेरै प्रकारका मनोरञ्जन एउटै पार्कबाट लिन सकिने रहेछ। यहाँको अर्को भव्यता भनेकै उमेरअनुसारको मनोरञ्जन रहेछ।

एकै दिनमा यहाँका सबै राइडहरूमा भाग लिन असम्भव जस्तै रहेछ, तर हामीले यहाँको मुख्य मुख्य राइडहरूमा भाग लियौं। युनिभर्सल स्टुडियो चार सय एकड (लगभग १.६ वर्ग किलोमिटर) क्षेत्रमा फैलिएको छ। यो स्थानमा फिल्म स्टुडियोका सेट, कार्यालय र विश्व प्रसिद्ध युनिभर्सल स्टुडियो थिम पार्क रहेका छन्। स्टुडियोको मुख्य क्याम्पस युनिभर्सल सिटी, क्यालिफोर्नियामा रहेको छ, जहाँ विश्वभरिका धेरै फिल्म र टिभी कार्यक्रमहरू निर्माण र उत्पादन गरिन्छ।

सुरुमा यहाँ कसरी फिल्म बन्छन् भन्ने कुराको प्रत्यक्ष प्रस्तुति हेरेर रमायौं, हामीलाई नौलो अनुभूति भयो। त्यसपछि स्टुडियो टुरको यात्रामा लरी बसमा बसेर अवलोकन गर्‍यौं। यो यात्रामा हामीले स्टुडियोका वास्तविक सेट र निर्माण प्रक्रियाको अनुभव लियौं। स्टुडियो टुरमार्फत विभिन्न चलचित्र र सिरिजहरूको छायाङ्कन भएका स्थानहरू हेर्‍यौं। समुन्द्रमा कसरी सुटिङ हुन्छ, बाढीपहिरोको कसरी सुटिङ हुन्छ, हवाईजहाज दुर्घटनाका दृश्य र युरोपलगायत अन्य सहरका नक्कली घरहरू साँच्चै दुरुस्तै देखिन्थे। लरी गाडीमार्फत करिब पैंतालीस मिनेटमा हामीले थ्रिडी फिल्मको पनि अनुभव लियौं।

युनिभर्सल स्टुडियोहरूमा पर्यटकहरूले लोकप्रिय फिल्महरू र टेलिभिजन सोहरूको अनुभव गर्न सक्छन्, थिम राइडहरूमा सवारी गर्न सक्छन् र विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुन सक्छन्। यी पार्क फिल्मप्रेमी र परिवारिक छुट्टीका लागि आकर्षक केन्द्रबिन्दु रहेछन्, त्यसैले त मान्छेको भिड लाग्दो रहेछ।

युनिभर्सल पिक्चर्स, एक प्रमुख अमेरिकी फिल्म स्टुडियो, १९१२ मा स्थापित भएको हो। यो विश्वको सबैभन्दा पुरानो र प्रतिष्ठित फिल्म स्टुडियोहरूको सूचीमा पर्छ। युनिभर्सल पिक्चर्सको फिल्म उत्पादन इतिहास निकै व्यापक छ र यो हजारौं फिल्महरूको निर्माणसँग जोडिएको छ। युनिभर्सल पिक्चर्सले अघिल्लो दशकहरूमा हजारौं फिल्महरू निर्माण गरेको छ।

 विशेषगरी १९३० र १९४० को दशकमा, यसले धेरै लोकप्रिय क्लासिक फिल्महरू निर्माण गरेको छ। २०२० को दशकको सुरुवातसम्म, युनिभर्सल पिक्चर्सले दुई हजारभन्दा बढी फिल्म निर्माण गरेको अनुमान छ, तर यो संख्या प्रत्येक वर्षको उत्पादनसँग बदलिन्छ। युनिभर्सल पिक्चर्सले थुप्रै महत्त्वपूर्ण फिल्म निर्माण गरेको छ, जस्तै ‘जुरासिक पार्क’ शृङ्खला, ‘फास्ट एन्ड फ्युरियस’ शृङ्खला, ‘इटी द एक्स्ट्रा–टेरिस्ट्रियल’, ‘किंग कांग’ (१९३३), र ‘ड्रैकुला’ (१९३१)। हाल युनिभर्सल पिक्चर्स नयाँ फिल्महरूको उत्पादन र वितरणमा सक्रिय छ, जसमा प्रमुख ब्लाकबस्टर फिल्महरू समावेश छन्।

यहाँ करिब १०–१५ प्रमुख राइडहरू छन्। यसबाहेक विभिन्न सो र अनुभवहरूका अतिरिक्त मनोरञ्जनका धेरै विकल्पहरू पनि उपलब्ध छन्। एकै दिनमा ती सबै सो र राइडहरू पूरा गर्न सम्भव पनि रहेनछ। हामीले जति सकिन्छ त्यति अनुभव लियौं।

ह्यारी पोर्टरको जादुई संसारमा पुग्दा भने बेग्लै अनुभूति भयो। पुरानो ढाँचामा बनेको द्वारले नै लोभ्याउने रहेछ। भित्र जाँदै गर्दा भित्तामा टाँसिएका फोटो बोलिरहेका, ह्यारी पोर्टरका पात्र एक आपसमा कुरा गरिरहेका देखिन्छन्।

मान्छे कस्तो मनोरञ्जन मन पराउँछन्, उनीहरूका लागि के कस्तो सुविधा दिनुपर्छ भन्ने कुरामा अमेरिकीहरू अभ्यस्त रहेछन्। युनिभर्सल स्टुडियोको भव्यतामा जो कोही पनि मुग्ध हुन्छन्। हामी पनि सात समुन्द्र तरेर संसारको आकर्षण एवं विश्वभर अत्यधिक प्रभावशाली र प्रसिद्धि कमाएको हलिउडको भूमिमा उभिएका थियौं। यो नै गौरवको कुरा थियो हाम्रा लागि। 

प्रकाशित: २४ कार्तिक २०८१ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App