१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

सिञ्जामा लोक संस्कृतिको प्राज्ञिक बहस

नेपाली भाषाको उद्गमस्थल सिञ्जामा खस सभ्यताको लोक संस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृति प्रर्दशनी गरिएको छ।

लोकवार्ता परिषद् नेपालको आयोजनामा सिञ्जा गाउँपालिका, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको संयुक्त रूपमा सिञ्जाको नराकोटमा बृहत् भेला गरेर यहाँको लोकसंस्कृति विषयमा कार्यपत्र प्रस्तुत तथा बहस गरिएको थियो।

सिञ्जामा प्रस्तुत भएका कार्यपत्रमा डा. शशि थापा पण्डितले खस जातिको उत्पति र साँस्कृतिक प्रभाव, साँस्कृतिकविद्व शीतल गिरीले मष्टो र खस जाति, दिलविक्रम आङको, स्थानीय जानकार सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालको खस मौलिक चाडपर्व र मूल्यबाेध, शिक्षक बुद्धिजीवी देवराज धितालको खस सम्पदाहरूको संरक्षणको प्रश्न नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीबाट सिञ्जा सभ्यताका परम्परागत संचार माध्यमको विषयमा कार्यपत्र प्रस्तुत भई छलफल भएको छ।

लोकवार्ता परिषद नेपालको तेह्राैं सङ्गोष्ठीको अवसरमा खस सभ्यताका जानकार व्यक्तिहरूको उपस्थितिमा बहस, छलफल तथा खस सभ्यताका साँस्कृतिक कलाहरू प्रस्तुत गरिएका छन्।

सिञ्जाको नराकोटमा आयोजित कार्यक्रममा स्थानीय मागल, बालो नाच, देउडा नाच, धामी नाच, रोपाइँ नाच, सिंगारु नाच, एकल गीत लगायतका विभिन्न विषयको कला प्रस्तुत गरिएको हो।

कनकासुन्दरी गाउँपालिकाको कर्णाली खस साँस्कृतिक मञ्च जुम्ला सहित स्थानीय कलाका धनी व्यक्तिले कला प्रस्तुत गरेका थिए। लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष प्राडा भवेश्वर पंगेनी, सल्लाहाकार प्राडा माधवप्रसाद पोख्रेल, प्राडा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राडा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा. शशि थापा पण्डितसहित २२ प्राज्ञ व्यक्तित्वहरू र जुम्ला निवासी खोज पत्रकार राजबहादुर कुँवर सहितको टिमले सुर्खेत हुँदै दुल्लु, कालिकोट, जुम्लाको सिञ्जा, तातोपानीमा प्राज्ञिक बहस गरेको हो।

तेह्राैं सङ्गोष्ठीमा स्थानीय बुद्धिजीवी, प्राज्ञ तथा लोकसंस्कृतिका जानकार तथा नागरिकहरूको उपस्थित भई छलफल भइरहेको छ। कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिञ्जा सुन, हिरा र मोतिमाथिको खजना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको बताए।

यस क्षेत्रको सभ्यता जोगाउने विषयमा सबैको जोड दिन आवश्यक छ।कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदारप्रसाद आचार्यले एकमतमा सिञ्जा सभ्यता र संरक्षण विषयमा संघीय सरकार, प्रदेश सरकारले जोड दिनुपर्ने सुझाव दिए।

लोकवार्ता परिषद नेपालका केन्द्रीय अध्यक्ष भवेश्वर पंगिनीले खस सभ्यता जोगाउन लोकवार्ता परिषद नेपालको जन्म भएको र यस पटक तेह्राैं सङ्गोष्ठी कर्णाली क्षेत्रमा गरिएको बताए।

लोकवार्ता परिषदले सुर्खेतमा कार्तिक ३ , दुल्लुमा ४ र ५, कालिकोटको खाडाचक्रमा ६ , तातोपानीमा ८ , सिञ्जामा ९ र मुगुमा १० गते गरिसकिएको छ।

प्रकाशित: १३ कार्तिक २०८१ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App