६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

आख्यानपथमा निबन्धयात्रा

पुस्तक

मित्र अच्युत कोइरालासँगको सान्निध्य साढे दुई दशक वर्षअघिकै हो। त्यति बेला हामी सहकर्मी थियौं। संयोगले पछिल्ला वर्षमा पनि हामी सँगै छौं। यसबीचमा उहाँले धेरै पुस्तक प्रकाशित गरिसक्नुभो। मैले पुस्तक प्रकाशित नगरे पनि यसमै काम गरेको दशकौं भइसक्यो।

कुनै नयाँ पुस्तक देखे आँखा त्यतै गइहाल्छन्। अच्युतजीको डेस्कमा एउटा पुस्तक थियो। के हो त्यो ? मैले सोधें। पढ्नुहुन्छ? उहाँको उत्तर थियो। मैले पनि हेरौं न त भनें। उहाँले पुस्तक थमाउनुभयो। आवरणदेखि सरसरती पुस्तक पल्टाएँ। लेखिएको थियो-समयको नक्साबाहिर (सिर्जनात्मक निबन्धसङ्ग्रह)। लेखकको नाम थियो कृष्ण ढुंगेल। उहाँले लेखकलाई भाइ भन्नुभयो।

निबन्ध पुरानो र समृद्ध विधा। आधुनिक नेपाली साहित्यमा निबन्धका अनेकौं भेद छन्। कोरा निबन्धदेखि अहिले प्रचलित यात्रा साहित्य, नियात्रा, पत्र साहित्यलगायतका विधा पनि यसमै छन्। लक्ष्मीप्रसाद देवकोटा, शंकर कोइराला, कृष्णचन्द्रसिंह प्रधानका जस्ता कोरा निबन्धको स्वाद नचाखेको धेरै भइसकेको छ। केही महिनाअघि ऋषिराज बराल साझा प्रकाशनमा आएर भन्नुभयो, ‘अहिले गरिमा निस्कँदैन, अहिलेको पुस्ता के लेख्दै छ ? हामीलाई थाहा नै हुन छाड्यो।’

सायद प्रकाशनका विभिन्न प्लेटफर्मतिर पनि उहाँले इङ्गित गर्नुभएको होला।

यसै प्रसङ्गमा नयाँ भाइको निबन्ध भनेपछि मैले ल्याएर आद्योपान्त पढें। यसरी पढ्न पुस्तकले नै तान्नुपर्छ। एसएलसी दिएपछि उपन्यास पढ्नमा साह्रै लत बसेको थियो। नेपाली साहित्यमा चर्चित धेरै उपन्यास त्यति बेला पढियो। तर माधवीलाई बल गरेरै अघि लगे पनि सकिनँ। सायद त्यो बुझ्ने उमेर थिएन त्यति बेला। पछि कामका लागि त्यसलाई पढ्नुपर्‍यो। त्यसले पनि मलाई मजैले आकर्षित गर्‍यो। यो प्रसङ्ग पुस्तकले पाठक तान्नुपर्छ भन्नेमा ल्याएको हुँ।

पुस्तकको समर्पण पढें। त्यसमा लेखिएको थियो बालसखाप्रति समर्पित। यसबाट लख काटियो, पुस्तकको विषय बालवयतिरकै हुनुपर्छ। नभन्दै आफ्नै बालककालका पूर्वस्मृतिलाई पुस्तकमा समेटिएको रहेछ। प्रसङ्ग पनि पूर्वी तराईको रहेछ। पुस्तक निबन्ध भने पनि पूर्ण रूपमा त्योचाहिँ लागेन। किन सिर्जनात्मक निबन्धसङ्ग्रह लेखिएको थाहा भएन।

पुस्तकमा कोरा निबन्धभन्दा पनि संस्मरण बढी थियो। अझ भनौं आख्यानकै नजिक थियो। पात्र आफैं र रियल नभए कथाका ढाँचाको थियो, लेखन निबन्धात्मक नभएको होइन। सिर्जनात्मक किन भनेको होला ? साहित्यका हरेक विधा सिर्जनात्मक नै हुन्छन् नि हैन र !

१५ शीर्षकमा समेटिएको पुस्तक पूर्वी तराईको ग्राम्यजीवनलाई केन्द्रीकृत गरेर लेखिएको छ। बालककालको बिज्याइँ, अभिभावकको डाँट, खेतीमा सघाउनुपर्ने अवस्था आम चरित्र हुन्। एउटा बुढो साइकल तराईको ग्राम्यजीवनको प्रतीक हो। अहिले त साइकलको ठाउँ मोटरसाइकलले लिइसकेको छ। त्यतिबेला साइकलबिना तराईको जीवन चल्दैनथ्यो। बालकमा त्यही साइकल सिक्ने चाहना अस्वाभाविक होइन। साइकलले थिचेर बालिका दिदीले भाइलाई बचाएको अवस्थालाई शीर्षक बनाएर पाठकलाई आकर्षित गरिएको छ।

प्रत्येक निबन्धात्मक आख्यान पढौंपढौं लाग्ने छन्। किशोरवयको अवस्था, विपरीतलिङ्गीप्रतिको आकर्षण, प्रेमपत्रलाई नोकिया मोबाइलले विस्थापन गरेको अवस्था पुस्तकका विषयवस्तु छन्।

पुस्तकको संस्मरण सिलसिलेबार छैन। समयअनुसार संस्मरण लेखिएका छैनन्। तर जे लेखिएका छन्, ती आफ्नै विगत हुन् कि झैं लाग्ने छन्। त्यसमा आफूलाई घटित गराउने हो भने धेरै कुराहरू मिल्छन्। दिदीभाइको माया, आमाको अभावमा दिदीले भाइलाई संरक्षण गरेका कथा आफ्नै लाग्ने खालका छन्। मेरी मातामहीको निधनपछि आफूलाई दिदीले र आफूले भाइलाई संरक्षण गरेको विगत र यहाँ मेनकाले भाइलाई संरक्षण गरेको विगत एकै खालका छन्। यसले अहिले मातृमृत्युदर घटे पनि मातृवियोगमा ग्रामीण परिवारले भोग्ने अवस्था एकै लाग्छन्।

मलाई सबैभन्दा आकर्षित गरेको हो ‘जीवनको रंगमञ्चमा उभिएर’ले। यसमा आमाको बिरामी अवस्था र उपचारका बारेमा लेखिएको छ। पढ्दै जाँदा सुखद सयोग आउँछ कि जस्तो लाग्दै जान्छ। आमाको बिरामी अवस्था। घोपामा गरिएको उपचार र अप्रेसन। ‘आमा पूर्ण रूपमा ठिक भइसक्नुभएको थियो। दाल, ज्वानोको झोल, जाउलो हुँदै दुधमा चोपेर बिस्कुट पनि खाएको खबर छैटौं दिन दुर्गा दाइले नै लिएर आउनुभएको थियो’ भन्दै कथालाई सयोगान्त बनाउने लक्षण देखाएका लेखकले ‘मलाई छोडिदिनु एकचोटि भए पनि ममीलाई हेर्छु’ भन्ने दिदीको संवाद देखाएर वियोगमै पुर्‍याएका छन्। पाठकलाई संयोगको आकर्षण देखाएर वियोगमा पुर्‍याउनु उनको खुबी हो।

अन्त्यमा मातृवियोगको अवस्थामा पनि पिताश्रीको बिहेमा लगेर पुस्तकको अन्त्य गरेका छन्। आमाको निधनपछि पनि घरलाई दिदी मेनकाले चलाएर अघि लगिन्। पछि गाउँलेको कुरा कटाइ र दिदीको उमेरले नै बिहेको आवश्यकता महसुस भएपछि दिदीलाई पनि बिदा गरेपछि घर शून्य भएको अवस्था छ। ‘न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते’ भन्ने संस्कृतको प्रसिद्ध उक्तिलाई अनुसरण गर्दै उक्त घरमा भाइको मनोविज्ञान पनि बिचारी आफ्नो विवाह नगरी आफ्नै अग्रसरतामा पिताजीको अर्काे विवाह गरी पुस्तक अन्त्य गरेका छन्। यसले आधुनिक समाज न्युक्लियर फेमिली मात्रै बाँच्ने गरी अघि बढेको अवस्थामा पिताजीको भविष्य पनि सुरक्षित गर्ने गरी कार्य गरेको देखाएका छन्।

पुस्तकको भाषा सरल छ। पढौं पढौं लाग्ने खालको छ। साहित्यिक पोर्टलका सम्पादक भएका नाताले शुद्धाशद्धि पनि बियाँ नै लाग्ने खालको चाहिँ छैन। वाईफाईलाई बाईफाई लेख्ने सामान्य गल्तीचाहिँ देखिन्छ। यस्ता कुरा आगामी संस्करणमा सच्याउनु उपयुक्त हुनेछ।  

प्रकाशित: १० कार्तिक २०८१ १०:१७ शनिबार

#Poem # Laghukatha # Book