अन्ततः दुर्गा प्रसाईं पक्राउ परेका छन्। भारतीय प्रहरीको सहयोगमा असामबाट पक्राउ उनलाई शुक्रबार काठमाडौं ल्याइएको हो। गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित राजतन्त्र पक्षीय प्रदर्शनमा आफूलाई कमान्डर घोषणा गरेका प्रसाईं त्यसलगत्तै फरार भएका थिए। हिंसात्मक त्यो प्रदर्शनमा दुई जनाको ज्यान गयो, २० भन्दा बढी अहिले पनि उपचाररत् छन्।
शुक्रबार नै काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि प्रसाईंलाई थप १२ दिन हिरासतमा राख्ने अनुमति प्रहरीलाई दिइसकेको छ। राज्यविरुद्धको कसुर अन्तर्गतको राजद्रोहको कसुरमा उनीमाथि म्याद थप भएको छ। यस्तो कसुर प्रमाणित भए २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। योसँगै प्रसाईंविरुद्ध संगठित अपराधको कसुर पनि लगाइएको छ। प्रदर्शनस्थलमा ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको आरोपमा प्रसाईंविरुद्ध प्रहरीले पनि निवेदन दिने तयारी गरेका छन्। यसो भएमा उनलाई ज्यानसम्बन्धी कसुरदेखि ज्यान मार्ने उद्योगसम्मको मुद्दा चल्नेछ।
आज कट्टर राजा र हिन्दुवादी आवरणमा हिरासतमा परे पनि दुर्गा प्रसाईंको छवि हिजोदेखि नै विवादको पर्याय बनेको देखिन्छ। झापाको घरगाउँमा व्यवासायिक भैसीपालक प्रसाईं बीएन्डसी अस्पताल सञ्चालकका रूपमा पहिलोपटक जिल्लामा चिनिएका हुन्। ससुरालीसँग जग्गा विवाद सल्टाउन भूमिगत माओवादीको सहयोग लिने तहसम्म पुगेका भनिएका उनी संकटकालमा केही समय सेनाको हिरासतमा पनि परे। बीएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन डा.गोविन्द केसीलाई नेपाली विद्यार्थीलाई विदेश पठाउने माफियासम्म भने। जिल्ला माओवादीले सदस्यता खारेज गरिदिएपछि रुष्ट बने। तर, काठमाडौं आएर पुनः सदस्यता लिए। त्यहीक्रममा उनले भक्तपुरस्थित आफ्नो घरमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई मार्सी चामलको खाना खुवाइरहेको तस्बिर आफैंले सार्वजनिक गरेर भाइरल गराए। शीर्ष नेतृत्वलाई आफ्नो भान्सामा बोलाउन सक्ने हैसियत बनाएका प्रसाईं एमाले प्रवेश गरे। झापाका पुराना नेताहरूलाई त्यागेर ओलीले नै उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरे। यतिमात्र होइन, उद्योग विभागका उपाध्यक्ष नै बनाइए। त्यहीबेला मेडिकल कलेज चलाउन बैंकबाट ऋण लिएको तर सरकारले सम्बन्धन नदिएका कारण ऋण तिर्न नसकेको भन्दै प्रसाईंले बैंकलाई शोषक भन्दै आफूजस्तै ऋणी बटुलेर प्रदर्शन पनि गरे ।
प्रतिनिधिसभाको निर्वाचनमा ओलीले झापा ३ बाट आफूलाई टिकट नदिई राप्रपाका राजेन्द्र लिङ्देनसँग सहकार्य गरेपछि प्रसाई चिढिँए। र, लगत्तै ओलीविरोधी राजा र हिन्दुवादी बने। पछि त प्रधानमन्त्री ओलीमाथि नै कम्बोडियाको टेलिकम कम्पनीमै पैसा राखेकोजस्ता गम्भीर आरोप लगाउन थाले। यो आरोपमा पक्राउ परे र गल्ती मान्दै रिहा पनि भए। त्यसयता सरकार र गणतन्त्रवादी दलहरूविरुद्ध अझ उग्र उनी राजा फकाईल्याउने भन्दै ‘महाअभियान’मा जुटन थाले। राजधानीमा लाखौं जनता उतारेर देशलाई श्रीलंका बनाउने, नेताहरूलाई जेल हाल्ने र बैंकमा आगो लगाइदिनेजस्ता धम्कि दिइरहे। दुई वर्षदेखि जारी उनको यो अभियानको पहिलो आंशिक सफलता तब मिल्यो, जब गएको फागुन २५ मा पोखराबाट विमानमा काठमाडौं आउन लागेका पूर्वराजाले उपस्थित सहभागीलाई विमानस्थलमा ‘दर्शन’ दिए। यसको पछिल्लो श्रृंखला थियो चैत १५ को प्रदर्शन, जहाँ यसपटक प्रसाईं मात्र होइन, राजावादीहरू पञ्चायतका पूर्वगृहमन्त्रीसमेत रहेका नवराज सुवदीको नेतृत्वमा संगठित भएर साथ दिन आइपुगेका थिए।
तपाईं भन्न सक्नुहुन्छ, दुर्गा प्रसाईं व्यक्ति सम्पादकीयका विषय हुनसक्तैनन्। तर, यहाँ हामी प्रसाईं पात्र होइन, प्रवृत्तिको चर्चा गर्न खोजिरहेका छौं। र, दुर्गा प्रसाईहरू उत्पादन गर्ने उद्योगहरू सदाका लागि बन्द गर्नुपर्छ भनिरहेका छौं। विडम्बना के हो भने आजका दुर्गा प्रसाईं यिनै लोकतन्त्र र गणतन्त्रवादी दलहरूका नेतृत्वका उत्पादन हुन् जसले समयक्रममा पुल्पुल्याएर हुर्काइरहे। उपयोग र दुरूपयोग गरिरहे। यो प्रकरणमा दलहरूले बुझेनन् कि प्रसाईंले कतिबेला दलहरूबाटै शक्ति हासिल गरेर दलमाथि नै प्रहार गर्नेछन्। लोकतन्त्र र गणतन्त्रमाथि धावा बोल्नेछन् ।
सिद्धान्ततः दुर्गा प्रसाईं न कुनै वाद हुन् न विचार। हुन्थे त उनी आफू बाँचेमात्र राजा र हिन्दुराष्ट्र आउने चरम व्यक्तिकेन्द्रित, अवसरवादी अभिव्यक्ति दिँदैनथे। तर आज यिनै प्रसाईं राजा चाहनेका लागि मात्र नभई जसरी भए पनि देशको विद्यमान अवस्था बदल्ने अभिष्ट राख्ने असन्तुष्ट पंक्तिका लागि एक आवाज बनेका छन्। देश र लोकतान्त्रिक राजनीतिका लागि यो ठूलो दुर्भाग्य हो।
प्रसाईंले कानुन अनुसार सजाय पाउनुपर्छ यसमा दुईमत हुनै सक्तैन। तर, यो परिघटना पुनरावृत्ति हुन नदिने हो भने बेलैमा हाम्रा गणतन्त्रवादी पार्टी नेतृत्व रहेको प्रसाईप्रवृत्तिलाई परास्त गर्नुपर्छ। पार्टीमा विद्यमान प्रसाईंहरूलाई अन्त्य गरिनुपर्छ। फेरि अर्को प्रसाईं जन्मिने नसक्ने अवस्था सिर्जना गरिनुपर्छ। र, यसको प्रस्थान बिन्दु हो– शासनमा सुशासन र दलहरूभित्र उच्चतम् आन्तरिक लोकतन्त्रिक अभ्यास ।
प्रकाशित: ३१ चैत्र २०८१ ०६:०२ आइतबार