१२ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

भत्केको घरले छोरीको भविष्य नै भत्काउँछ

भनिन्छ, जग बलियो भएन भने घर बलियो हुन्न। त्यस्तै छानो छैन भने पनि घर बलियो हुँदैन। बाबुआमाबिनाको घर त झन् न जग भएजस्तो हुन्छ न छानो भएजस्तो। आमाबाबु छुट्टिएका सन्तानको बिजोक हुन्छ।

चारजनाको एउटा सानो परिवार थियो। दुई छोरी र आमाबुबा भएको सुन्दर र रमणीय परिवारमा वैदेशिक रोजगारीले ल्याएको त्रासदी अकल्पनीय छ।

आमा परिवारको आर्थिक भार थेग्न भनेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगिन्। आमाबिनाको घर घर जस्तो हुने कुरै भएन। पुरुषले मात्र धानेको घर कमै मात्र सुखद भएका छन्। नारी यथार्थमा गृह निर्माता हुन्। पिता परदेशमा कमाउन गए पनि आमाले घरधन्दा सबै धान्छिन्। आमा परदेश जाँदा नानीहरूका निम्ति सजिलो हुँदैन।

छोरीहरू आमाको माया खोज्दै थिए। केही समयपछि ती छोरीहरूका बाबु घर छाडेर बेपत्ता भए। उनीहरूको घर भूतबंगलाजस्तै भएको थियो। बुबाआमा दुवैले वास्ता नगर्ने भएपछि उनीहरूको बिचल्ली हुँदै गयो। उनीहरू आफूलाई पढ्न त परै जाओस्, खानलाई पनि अभाव भएकै अवस्थामा पढाइको अवसर खोज्दै काठमाडौं पुगे।

आफ्नो पढाइ बिर्गान हुन्न भन्ने ज्ञान उनीहरूमा थियो। काम गर्दै र पढ्दै गर्ने भनेर उनीहरू काठमाडौंमा काका पर्नेको घरमा डेरामा बस्न थाले। दुईचार दिन अर्काको घरमा राख्लान् तर सधैं अरूको घरमा सहज तरिकाले राख्न सक्ने कुरा भएन।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी दिदी (युवती ‘क’) ले भनिन्, ‘सधैं अरूको घरमा बस्न पनि सहज थिएन। हामी दुवैजना अर्काको घरमा कति दिन बस्ने ? त्यहीमाथि धेरै किचकिच सुन्नुपथ्र्यो। त्यसैले बाहिर डेरा लिएर बस्न थाल्यौं।’

कहिले घरायसी व्यवहारमा नपरेका ती दुईलाई कोठा भाडा, खान र पढाइ खर्चसमेत जोहो गर्न गाह्रो भएको भयो। ‘गाउँमा भए न घरभाडा न त पानी किन्नुपर्ने। भर्खर बारीमा फलेको ताजा तरकारी टिपेर पकाउन पाइने। आफ्नोमा केही तरकारी नलगाए पनि छिमेकीले ‘ल लिएर जाऔं तरकारी’ भन्छन्। तर, काठमाडौंमा जे गरे पनि पैसा चाहिने। ‘बिनापैसा पाइला हिँड्न पनि नसकिने,’ ती युवतीले आर्थिक अप्ठ्यारोबारे बेलिविस्तार लगाइन्।

उनी काठमाडौं आएपछि कामका लागि धेरै ठाउँ धाइन्, कहीं काम नपाएको उनको दुखेसो छ। दिन प्रतिदिन कोठा भाडा बढेकाले उनको बेचैनी बढिरहेको थियो। तर, काम भने पाएकी थिइनन्।

काम खोज्ने क्रममा काठमाडौंमा भएको एक स्पाको ढोका ढकढक्याउन पुग्छिन्। उनका लागि त्यो ढोका खुल्छ। ‘त्यहाँ मैले दुई महिना जति मसाज नै गरेँ। नयाँनयाँ पुरुषहरू धेरै आउँथे, कोही पुरानै ग्राहक पनि हुन्थे,’ उनले भनिन्, ‘त्यहाँ पहिले सपना खवासले पनि काम गरेको भन्ने सुनेकी थिएँ। उहाँले पछि आफ्नै छुट्टै हिमालयन आयुर्वेदिक नाम गरेको स्पा खोलेको कुरा हामीसँगै काम गर्ने साथीमार्फत थाहा पाएँ।’

साथीमार्फत सपना दिदीसँग आफ्नो चिनजान भएपछि आकर्षक तलबको आश्वासन देखाएर काम गर्न लगाएको उनी बताउँछिन्। ‘काम गरिरहेकी मलाई त्यही सपना दिदीले आफ्नो स्पामा राम्रो तलब दिन्छु भनेर बोलाउनुभयो,’ उनले भनिन्, ‘आफू र बहिनी पढ्नुप¥यो, साथै घरखर्च गर्नै गाह्रो भएको अवस्थामा तलब राम्रो दिने भनेपछि सपना दिदीको स्पामा गएँ। तर, त्यहाँ देह व्यापार हुने कुरा मलाई कसरी थाहा होस् र ?’

आफू यौनजन्य क्रियाकलाप नगर्ने र यदि गराएको खण्डमा काम छोड्छु भनेर स्पाकी सञ्चालक सपनालाई भनेको उनले बताइन्। त्यसपछि उनलाई मसाज गर्न मात्रै लगाए र यौनकार्यमा सहभागी गराएका थिएनन्। तर, स्पा सञ्चालकले उनलाई पनि चोखो बस्न दिएनन्। उनका अनुसार हामीले काम गर्ने ठाउँबाट सय मिटरको दुरीमा अर्को स्पा सेन्टर थियो। त्यहाँको सञ्चालकको फोन दिनदिनै सपना दिदीलाई आउँथ्यो। त्यहाँ यौन सम्पर्क राख्ने कोही युवती नभएपछि आफूलाई पठाइएको उनी सम्झन्छिन्।

‘मैले आफ्नो शरीर नचिनेको मान्छेलाई हस्तान्तरण गरेको म्याजिक स्पामा हो,’ उनले भनिन्, ‘त्यस्तो काम गर्दिनँ दिदी भनेर कति फकाएँ सपना दिदीलाई तर उहाँले काम छोडेर गएहुन्छ भनेपछि जाने ठाउँ कहीं थिएन। आफ्नो पढाइ बिग्रिए पनि बहिनीलाई पढाउँछु भन्ने सोचले म त्यस नरकरूपी स्पामा जान बाध्य भएँ।’

उनले फेरि भनिन्, ‘भर्खर एउटा ग्राहकसँग बसेर आएको हुन्थेँ, अर्को ग्राहक आयो भनेर खबर आउँथ्यो। एक जनासँग यौन सम्पर्क गरेमा मलाई भने पाँच सय आउँथ्यो। दुःख धेरै लाग्थ्यो, बल्लबल्ल पाएको यो जुनी आफ्नो शरीर पाँच सयमा बेच्नुपर्दा। त्यो कुनै रहर थिएन। सबै दुःखको घेराले एकैचोटि बाधेपछि त्यस्तो पनि गर्नुपर्ने अवस्था आयो।’ 

को को पुरुषसँग शारीरिक सम्पर्क राखेको भन्ने केही नामहरू रजिस्टर्ड हुन्थे भने केही सिधै हाताहाती पैसा दिएर उनको शरीरमाथि राज गर्न आउँथे।

उनको यो व्यवसाय त्यहाँमात्रै सीमित थिएन। कतिपय होटलहरूमा समेत स्पा सञ्चालकहरूले पठाउने गरेको नमिठो पीडा उनीसँग छ। दिनमा कति जनासँग शारीरिक सम्पर्क भयो भन्दा पनि कति आर्थिक कारोबार भयो भनेर हिसाबकिताब उनको जिन्दगीमा हुन्थ्यो।

शारीरिक सम्पर्कमा अस्वीकार गर्दा स्पा सञ्चालकहरूको धेरै भनाइ पनि सहनुपरेको उनको डरलाग्दो व्यथा छ। शारीरिक सम्पर्क धेरै जनासँग राख्न सक्दिनँ भन्दा पनि उनले कहिल्यै सुख पाइनन्। ‘काम नगरी कसरी पैसा कमाइन्छ र ?’ सञ्चालकहरूमार्फत यौन कार्य गर्न बाध्य बनाइएकी युवती ‘क’ भन्छिन्, ‘यो काम नगर्ने भए यहाँबाट निस्किएर गइहाल्, खुब काम नगरी पैसा कमाइन्छ काठमाडौंमा ? यहाँ काम नगरी यतिकै पैसा फल्छ भनेर आएकी थिइस् कि क्या हो ?’

आफ्नो नाजुक परिस्थितिका कारण शरीर बेच्नुपरेको उनी बताउँछिन्, ‘मैले कल्पना नगरेको पेसा हो यो। गाउँबाट काठमाडौं आउँदा काम त जे पनि पाइहालिन्छ भन्ठानेकी थिएँ। नेपालमा सहजै केही काम नपाएपछि कोही विदेशको कोठीमा त कोही नेपालकै कोठाकोठामा आफ्नो शरीर बेच्नुपर्ने अवस्था आउने रहेछ। म पनि त्यही मध्येकी एक पात्र हुँ। जुन यस्तो काम गर्न बाध्य भएँ।’

यसरी ग्राहकहरूसँग शारीरिक सम्पर्क राखेबापत मासिक तलबसँगै २५ प्रतिशत पैसा बढाएर दिने उनीमाथि ठुलो आश्वासन देखाइन्छ। आफूलगायत अरू कर्मचारीलाई पनि बिहान नौ बजेदेखि राति नौ बजेसम्म काम लगाउने गरेको पीडित युवती ‘क’ को अनुभव छ।

यसरी नै उनीहरू आफ्नो कलिलो जीवनका सुनौला दिनहरूमा अन्धकार कोठाभित्र देह व्यापार गरिरहेका थिए। दिन सधैं उस्तै रहेन। गत भदौ १७ गते सुराकीमार्फत मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीलगायत तीन जनालाई उद्धार गरेको थियो। हाल उनीहरूलाई सुरक्षित आवासमा राखिएको ब्युरोले जनाएको छ।  

उनी त एक पात्र मात्रै हुन्। उनीजस्ता हजारौं बालबालिका तथा महिलाहरूले बाध्यता तथा जबरजस्ती यौन शोषणमा संलग्न हुनुपरेको छ। उनीसँगै पीडित भएकी अर्की एक युवती ‘ख’ को व्यथा पनि उस्तै छ।

पिता वैदेशिक रोजगारीका लागि कतार गएपछि उनको घर मसानघाटजस्तो हुन थाल्यो। दुई वर्ष विदेशमा पसिना चुहाएर स्वदेश फर्किएका उनका पिताको सम्बन्ध आमासँग त्यति राम्रो नभएको ती युवती ‘ख’ बताउँछिन्। जसोतसो उनीहरूको घरव्यवहार चल्दै थियो।

घरकी जेठी छोरी कक्षा नौमा अध्ययरत थिइन्। पढाइमा आफ्नो एकदमै लगनशीलता भएको उनले बताइन्।  पढ्दै गर्दा काठमाडौंको कोठीमा देह व्यापार गर्नुपरेको उनको पनि नराम्रो अनुभव छ। उनका अनुसार पीडित युवती ‘क’ ले गरेकै स्पा सञ्चालक सपनासँग आफ्नी आमाको राम्रो चिनजान रहेको बताउँछिन्।

करिब दुई वर्षअघि फेसबुकमार्फत आमाको कुरा सपनासँग भएको ती युवती ‘ख’ बताउँछिन्। ‘काठमाडौंमा थेरापीका लागि काम गर्ने मान्छे चाहिएको छ। यहाँ काम गर्दै पढ्न पनि पाइन्छ। कमाइ धेरै राम्रो भएकाले छोरीले पूरै घर धान्न पनि सक्छिन्,’ आमाको छेउमा बसेर ती युवतीले सबै कुरा सुनेकी थिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएपछि आफूले पढ्दै पैसा पनि कमाउँदै गर्न मिल्ने रहेछ भन्ने भ्रममा उनी पर्न थालिन्।

थेरापीको काम कस्तो हुन्छ भन्ने अनुमान आफूले लगाएको उनी सम्झन्छिन्, ‘थेरापी भनेको मेसिनद्वारा नर्सका जस्तै कपडा लगाएर गर्ने काम भन्ने सोचेकी थिएँ। पढ्दै र काम गर्दै तपार्इंहरूलाई सहज बनाउँछु भनेर आमाबुबालाई सम्झाएर काठमाडौं आएँ। नयाँ ठाउँ सुकिला सहरमा सपना दिदीले मलाई लिएर आफ्नो स्पामा जानुभयो।’

ती युवतीका अनुसार थेरापी भन्दै आयुर्वेदिक ए वान स्पामा तीन महिनाको फुल बडी मसाज, फुट मसाज, हिप मसाज, लेग मसाज, हेड मसाज, ओएल मसाज, ड्राई मसाजसम्बन्धि तालिम लिन लगाउनुभयो।

‘आमाबुबालाई काठमाडौंमा गएर पैसा टन्न कमाएर पठाउँछु भन्दै आएँ तर यहाँ आफ्नो पढाइलाई निरन्तरता दिन सकिनँ,’ युवती ‘ख’ भन्छिन्, ‘मासिक १५ हजार रूपैयाँ मात्रै दिन्थे। केही समयपछि सपना दिदीले अब एक्स्ट्रा सर्भिस दिनुपर्छ भन्नुभयो। मलाई त्यो भनेको के हो भन्ने पनि थाहा थिएन।’

एक्स्ट्रा सर्भिस के हो भनेर उनले प्रश्न गर्दा स्पा सञ्चालक सपनाले भनिन्, ‘तिमीले अब यहाँ आउने ग्राहकसँग शारीरिक सम्पर्क राख्नुपर्छ। यसो गर्दा तिमीले तलबको २५ प्रतिशत पैसा पाउछ्यौ। ग्राहकलाई बढी खुःसी पा¥यौ भने धेरै पैसा आउँछ। यस्तै प्रलोभन धेरै देखाएपछि काम गर्न बाध्य भएँ।’

उनी भन्छिन्, ‘मैले काम गर्ने ठाउँमा मसाज गर्नका लागि ससाना कोठाहरू थिए। त्यहाँ एउटा मात्रै बेड हुन्थ्यो। मसान गर्ने भनेर आएका ग्राहकले स्पामा भएका कर्मचारीलाई रोज्थे। ग्राहकले रोजेको कर्मचारीलाई सपना दिदीले कन्डम दिएर कोठामा पठाउनुहुन्थ्यो। दैनिक ४÷५ जना पुरुषसँग कोठामा कन्डम लिएर जानुपथ्र्यो।’

महिनावारी हुँदा पनि आफूले सास फेर्न नपाइने ती युवतीले बताइन्। ‘बरु मलाई पैसा चाहिँदैन, म यस्तो बेलामा सुत्न जान्नँ। मलाई धेरै पेट दुखिरहेको छ। म आराम गर्छु भन्दा जबरजस्ती कन्डम लिएर कोठाभित्र पठाउने गर्थे।’  

प्रतिग्राहकबाट उनलाई शारीरिक सम्पर्क राखेवापत पाँच सय आउँथ्यो। नागरिकता नभएका कारण स्पा सञ्चालकले पटकपटक गाउँ गएर नागरिकता बनाएर आउनु भन्ने गरेको अनुभव उनीसँग छ।

बिहानै उज्यालो हुन नपाउँदै यौन चाहना बोकेर ग्राहकहरू आउने गरेको तितो यथार्थ उनीसँग छ। ‘बिहानै आउने ग्राहक कस्ता हुन्। घरबाट मर्निङ वाक जान्छु भनेर सिधै स्पा आउने पनि हुन्थे। दिनभरिको थकाइले कस्तो मज्जाले सुतिरहेकी हुन्थेँ, सपना दिदीले मलाई कराउँदै उठाउनुहुन्थ्यो। ग्राहक आइसक्यो छिटो उठ भनेर,’ ती युवतीले सम्झँदै भनिन्। यसरी नै उनको दिन बितिरहेको थियो। दिन बित्दै गर्दा उनलाई पनि ब्युरोले गत भदौ १७ गते स्पाबाट उद्धार गरेको हो।

आफूमाथि यावत प्रलोभन देखाएर शारीरिक सम्पर्क राख्न लगाएको भन्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ बमोजिम हदैसम्मको कारबाही र क्षतिपूर्तिसमेत दिलाइपाऊँ भन्दै ब्युरोमा उजुरी परेको छ।

ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार जात र लिंगमा आधारित भेदभावलाई गरिबीले बढी प्रभावित पारेको छ। आर्थिक अवसरको खोजीमा रहेका बालिका तथा महिला यौन चाहना भएका पुरुषको हातमा पर्छन्।

‘अझ भनौं, हुर्कंदै गरेका बालबालिकाको राम्रोनराम्रो छुट्याउन नसक्ने क्षमताका हुन्छन्,’ मिश्रले नागरिकसँग भने, ‘उनीहरू एउटा काँचो माटो हुन्। त्यस्ता अबोध बालिकाको फाइदा उठाउने नराम्रो नियत भएका पुरुष यो समाजमा धेरै छन्।’ त्यस्ता पुरुषहरूबाट कलिलो उमेरका बालबालिका तथा महिलासँग अमर्यादित तथा अश्लील बोली व्यवहार गर्ने गरेको पाइएको उनले बताए।

साथै आफ्नो यौन क्रियाकलाप गरिएका चित्र देखाउने, हेर्ने, उकास्ने र यौन व्यवसायमा लाग्न प्रोत्सानसमेत गर्ने गरेको एसपी  मिश्र बताउँछन्।

यस्ता किसिमका यौन क्रियाकलाप र शोषणबाट बालबालिकालाई टाढै राख्न विभिन्न विद्यालयमा गई विद्यार्थीहरूमा यस्ता यौन शोषणबारे सजग गराउन जनचेतना फैलाउने कार्य गरेको ब्युरोले जनाएको छ।

यी केही उदाहरण हुन्। घरपरिवार बिग्रँदै गएपछि बाध्य भएर बालिका यस्ता ठाउँमा पुग्छन्। स्पा वा मसाज सञ्चालन गर्नेहरूले पनि आचारयुक्त व्यवहार नगरी त्यसलाई थप बदनाम बनाउन पुगेका छन्। स्पा र मसाजमा जाने, पारिवारिक वातावरण बिगार्ने यस्तै व्यवहारले हो। स्पा र मसाजलाई अघोषित ‘रेडलाइट’ क्षेत्र बनाएर एकथरीले वातावरण बिगारिरहेका यसले प्रस्ट पारेको छ। पारिवारिक, सामाजिक र आर्थिक कारणले जोखिममा रहेका बालिकालाई कसरी जोगाउने ? अहिलेको अहम् सवाल हो यो।

प्रकाशित: १२ आश्विन २०८१ १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App