२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
खेल

यमालसँगको सम्बन्ध बारे मेसीले भने: काखमा बोकेको बालकसँग विश्वकप फाइनल खेल्दैछु

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बाल्यकालमा काखमा बोकेका स्पेनका युवा स्टार लामिन यमालसँग विश्वकप फाइनल खेल्न लाग्नु आफ्नो लागि अविश्वसनीय संयोग भएको बताएका छन्।

अर्जेन्टिना र स्पेनबीच सोमबार बिहान हुने विश्वकप उपाधि भिडन्तअघि आयोजित कार्यक्रममा मेसीले सन् २००७ मा पाँच महिनाका यमाललाई बाथटबमा नुहाइदिएको र काखमा बोकेको तस्बिर अहिले फेरि चर्चामा आउनु तथा त्यही बालकसँग विश्वकपको फाइनल खेल्न लाग्नु अत्यन्त विशेष संयोग भएको बताए।

न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी फुटबलका महान् खेलाडी टम ब्राडीले सोही तस्बिरबारे सोधेको प्रश्नको जवाफ दिँदै मेसीले भने, ‘त्यो तस्बिर अविश्वसनीय छ। अहिले हामी दुवै विश्वकप उपाधिका लागि भिडिरहेका छौँ भन्ने कुरा झन् अचम्मलाग्दो छ।’

मेसीले यमाललाई अहिले विश्वका उत्कृष्ट खेलाडीमध्ये एकको रूपमा वर्णन गर्दै उनको सफलताले बार्सिलोनालाई पनि गर्व दिलाउने बताए।

‘उनी अहिले विश्वकै उत्कृष्ट खेलाडीहरूमध्ये एक हुन्। उनको सफलता बार्सिलोनाको सफलता पनि हुनेछ,’ ३९ वर्षीय मेसीले भने।

यद्यपि, फाइनलमा भने अर्जेन्टिनाले यमाललाई सहज रूपमा खेल्न नदिने रणनीति अपनाउने उनले स्पष्ट पारे।

‘हामी उनलाई आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्नबाट रोक्ने प्रयास गर्नेछौँ। स्पेन केवल यमालमा निर्भर टोली होइन, उनीहरूको समग्र टोली नै निकै बलियो छ,’ मेसीको भनाइ उद्धृत गर्दै बीबीसी स्पोर्ट्सले जनाएको छ।

मेसीले यमालको असाधारण प्रतिभाको खुलेर प्रशंसा गर्दै उनी अझै १९ वर्षका मात्र भएकाले उनको सम्पूर्ण करिअर अगाडि रहेको बताए।

‘उनी केवल १९ वर्षका छन्। उनको पूरा करिअर अगाडि छ। भविष्यका लागि म उनलाई शुभकामना दिन्छु, तर यसपटक भने उनी च्याम्पियन नबनून् भनेर हामी आफ्नो सम्पूर्ण शक्ति लगाउनेछौँ,’ उनले भने।

१५ वर्षकै उमेरमा बार्सिलोनाबाट सिनियर टोलीमा डेब्यु गरेका यमालले मेसीले लामो समयसम्म लगाएको प्रतिष्ठित नम्बर–१० जर्सी पनि सम्हालिसकेका छन्। उनले स्पेनलाई युरो–२०२४ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यदि यमालले १९ वर्षकै उमेरमा विश्वकप उपाधि पनि जित्न सफल भए, उनी युरोकप र विश्वकप दुवै जित्ने इतिहासकै सबैभन्दा कान्छा खेलाडी बन्नेछन्।

प्रकाशित: २ श्रावण २०८३ २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App