सिमान्तकृत मेचे समुदायको संस्कृति र राजनीतिक जागरणलाई विषयवस्तु बनाइएको उपन्यास माखाल पाठक माझ आएको छ।
तेजप्रकाश श्रेष्ठद्वारा लिखित र परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यासमा मेचे समुदायले स्वनियमका लागि कायम राखेको माखाल अर्थात् आफ्नो समुदायको मुखिया छान्ने व्यवस्था र मेचे समुदायमा ४० को दशकको सुरुमा आएको राजनीतिक जागरणलाई समेटिएको छ। उक्त पुस्तकको बिहीबार राजधानीमा लोकार्पण गरिएको हो।
मेचे समुदायको तर्फबाट बोल्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयकी सहसचिव रोशनी मेचेले आफ्नो समुदायका सांस्कृतिक पाटोको अनुसन्धान गरी तयार पारिएको उपन्यास आफैँमा अनुसन्धानात्मक कृति भएको टिप्पणी गरिन् । मेचे समुदायमा माखाल प्रणालीले कसरी काम गथ्र्यो भनी बुझ्न चाहनेहरुका लागि उपन्यास एउटा रोचक पुस्तक बनेको उनले बताइन् ।
त्यसैगरी कार्यक्रममा समिक्षक ठाकुर शर्मा मेचे जातिको सांस्कृतिक पाटोलाई उक्त समुदायकै भाषाका शब्दहरु समेत राखेर तर सरल र सहज तिरकाबाट तयार पारिएको उपन्यास नवीनतम सांस्कृतिक उपन्यास बन्ने बताए । पुस्तकका लेखक तेजप्रकाश श्रेष्ठले २०६४ सालमा मेचे समुदायसँग ३ महिना भन्दा बढी समय विताएर त्यस समुदायका अगुवाहरुसँग कुराकानी गरेका आधारमा सृजनात्मक लेखन गरी माखाल उपन्यास तयार गरेके बताए ।
प्रकाशक परिचय पब्लिकेसनका प्रमुख कार्यकारी भाष्कर ज्ञवालीले सिमान्तकृत मेचे समुदायको संस्कृतिलाई नेपाली साहित्यको मुलधारमा स्थापित गर्न उपन्यास प्रकाशित गरेको दाबी गरे ।
प्रकाशित: १० आश्विन २०८१ १९:०२ बिहीबार





