वास्तवमै लेखक, साहित्यकार भनेका समाजलाई चिनाउने व्यक्तित्व हुन्। समाजमा भएका विकृति, विसङ्गति, कुप्रथाबारे लेखेर त्यसलाई सुधारोन्मुख बनाउनु उनीहरूको ध्येय हो। तर साहित्यको सेवामा लागेर सहज तरिकाले बाँच्न नसकेकाहरू पनि नाम चलेकै कोटीमा पर्छन्।
नेपाली भाषा साहित्यलाई विश्व साहित्यमा उपस्थित गराउन प्रयत्नरत केही साहित्यकारका केही मात्र कृति धेरैले पढ्ने अङ्ग्रेजी भाषामा अनुवाद भएका छन् अङ्ग्रेजीभन्दा अलि बढी कृति हिन्दीमा अनुवाद भएका छन् तर विडम्बना कुनै समयमा निकै लोकप्रियता हासिल गरेका साहित्यकारको नाममा न कुनै संस्था छ न राज्यले तिनलाई सम्झन्छ।
विश्व साहित्यमाझ आफ्नो परिचय पुगेका केही साहित्यकारको त कसैले खोजखबरसमेत गरेका देखिँदैनन्। लेखक, साहित्यकारको सहज जीवनयापनको अवस्था नै छैन। अझ भन्ने हो भने नेपाली साहित्यमा लेखेर बाँच्न सक्ने अवस्था बनिसकेको छैन। कुनै जटिल रोग लाग्दा उपचार नपाएर मरेका अथवा उपचार गर्न नसकेर बाध्यतामा जीवन गुमाएकाहरूको छुट्टै कथा छ।
सहज जीवन बाँच्नका लागि कुनै आम्दानीका स्रोतसम्म नभएकाहरूको मृत्युपछिको गुनगान भने निकै लोभलाग्दो देखिन्छ। यस्तो संवेदनशील विषयमा न त लेखक, साहित्यकारहरूको साझा संस्था बोल्छ न भाषा वाङ्मयका विकासमा खुलेका सरकारी निकाय। भाषा साहित्यका लागि खुलेका प्रतिष्ठानको झन् आफ्नै कहानी छ। त्यहीँ काम गरेकाले समेत उपचार पाउन सकेका देखिँदैनन्।
नेपाली साहित्यमा देशभित्र वा देशबाहिर कति साहित्यकार छन् भनेर कसैले यकिनसाथ भन्न सकेका छैनन्। लाग्छ सबैबारे राज्यसँग अाँकडा नै छैन। त्यसमाथि मोफसल वा प्रवासमा बसेर उनीहरूले नेपाली साहित्यमा गरेको योगदानको चर्चा र पुरस्कार पाएको अवस्था नगन्य मात्रामै छ।
कति साहित्यकारका उत्कृष्ट कृतिसमेत प्राप्य छैनन् र उनीहरूको योगदान के कस्तो छ भन्ने विषयमा न साहित्यका श्रीवृद्धिमा खुलेका संस्थाले खोज्छन् न लेखक, संघ वा संगठनका आँखा पुगेका छन्। अहिलेको अवस्थामा विशिष्ट साहित्यकारहरूका कति कृति कहिँकतै पाइँदैनन्।
विडम्बनाका कुरा त ती बाँचिरहँदा कसैले वास्ता गर्दैनन् तर मृत्युपछि तिनका गुनगान गाउन कोही पछि पर्दैनन्। अझ मरेपछि त सम्मान र पुरस्कार पनि दिन पछि पर्दैनन्। गजबको कुरो के छ भने बिरामी भएर अस्पतालमा उपचार गरिरहेको अवस्थामा उनीहरूप्रति सरकारी निकाय उदासिन छ।
सञ्चारकर्मी कहिलेकाहीँ परिवारसँग भलाकुसारी नै नगरी मृत घोषित गरिदिन्छन् र लाखौं श्रद्धाञ्जली क्षणभरमै जम्मा भइदिन्छ। कथङ्कदाचित दूरदराजका लेखक वा साहित्यकार भेटे पनि केही आशा गरिहाल्लान् भनेर पदमा पुगेकाहरूमा पन्छाउने वृत्ति देखिन्छ।
नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याएका साहित्यकारबारे चिर–परिचतभन्दा पनि लोकप्रियताका आधारमा कसैले टापनटिपन गरेर केही लेखेका भए पनि बृहत् रूपमा उनीहरूबारे खोजमूलक लेख पाइँदैन।
नेपाली साहित्यको इतिहास नेपाल र नेपालबाहिर भारतमा नलेखिएको होइन तर ती पुस्तकहरूमा सीमित साहित्यकारहरू चर्चा परिचर्चा मात्र भएको पाइन्छ र अरू केही साहित्यकारहरू पाद–टिप्पणी (फुटनोटमा मात्र सीमित छन्)।
पाद–टिप्पणीमा पनि नअटाएका साहित्यकारहरूको फेहरिस्त निकै लामो छ। सबै साहित्यकारहरूको चर्चा नहुनुको मुख्य कारण हो सम्बन्धित निकायहरूको उदासिनता र त्यी निकायहरू हाँक्ने व्यक्तिहरूले यस विषयमा कुनै चासो नदिनु। विभिन्न तरिकाबाट नियुक्ति पाएर मात्र जागिरका लागि पुगेका त्यस्ता व्यक्ति समय कटाउने मात्र काम गर्छन्।
भाषा साहित्यमा अतुलनीय योगदान दिने साहित्यकारबारे केही नेपाल तथा प्रवासबाट छापिएका पुराना साहित्यिक पत्रिकाहरू जस्तै: गरिमा, मधुपर्क, उदय, प्रभात, शारदा, भारती आदिका पाना पल्टाएर हेरे मात्रै थाहा हुन्छ। नेपाली साहित्यलाई विश्व साहित्यको स्तरमा उभ्याउन तथा सबैमाझ लोकप्रिय बनाउन कति साहित्यकारहरूले योगदान दिएका थिए। तर उनीहरू अहिले गुमनाम छन् साहित्यका पानाहरूमा।
नेपालमा मात्र होइन, भारतीय नेपाली साहित्यमा पनि गुमनाम हुनेहरूको संख्या बढ्दै गएको छ। भारतीय नेपाली साहित्यको इतिहास निकै पुरानो भए पनि केही नाम चलेका साहित्यकारबाहेक अरूलाई बृहत् नेपाली साहित्यका पाठकले चिन्दैनन्।
ती भारतीय नेपाली साहित्यकारहरूको लेख, रचना र कविता पछिल्लो समयमा साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने कविता, निबन्ध, समालोचना र कथा सङ्ग्रहहरूमा कहीं पाइँदैन।
अझ कतिका कृतिका नाम समेत थाहा नपाइएका ज्वलन्त उदाहरण नै छन्। ईश्वर बराल, भैरव अर्याल, चूडामणि बन्धु, कृष्णचन्द्रसिंह प्रधानले सम्पादन गरेका झ्यालबाट, हिमालचुली, साझा निबन्ध, साझा कथा, साझा कविता, साझा समालोचनामा भारतीय नेपाली साहित्यकारहरूका लेखरचना र कविताहरूले यथेष्ट स्थान पाउन सके पनि त्यसपछिका सङ्ग्रहहरूमा उनीहरूको उपस्थिति शून्य प्रायः नै देखिन्छ।
यसरी नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत हुँदा सिङ्गो नेपाली साहित्य नै अपाङ्ग भएको अनुभूति हुनु स्वाभाविक हो। कतिपय भारतीय साहित्यकारहरू भारतबाट प्रकाशित हुने सङ्ग्रहहरूमा अटाउन सकिरहेका छैनन्।
नेपाली भाषा साहित्यमा योगदान दिने नेपाल तथा नेपालबाहिरका धेरै साहित्यकारको परिचय विस्मृत भइरहेको विषय निकै चिन्ताजनक छ। कति साहित्यकारको नामनिसान तथा उनीहरूको कृति खोज्दासमेत कतै पाइँदैन भने कति साहित्यकारहरू बितिसकेका र दोस्रो पुस्तामा त्यसको कुनै विवरण सञ्चय नरहेकाले उनीहरूको योगदानबारे केही थाहा पाइएको छैन।
अथक प्रयास गर्दा केही साहित्यकारहरूको सामान्य जानकारीसमेत पाइएको छैन। कुनै समय नाम चलेका साहित्यकारहरू पनि अहिले ओझेलमा परिरहेका छन्। कुनै बेला राम्ररी चलेका पुस्तकको अभाव छ। उनीहरूको जीवनी कृतिहरू उपलब्ध भए आगामी दिनमा उनीहरूबारे लेख्नेछन्, खोज्नेछन् भन्ने आश राख्न सकिन्छ।
यसका लागि सम्बन्धित निकाय, संस्था, प्रबुद्ध पाठक, समालोचक तथा साहित्य अनुरागीहरूले प्रयत्न गर्नेछन् भन्ने विश्वास रहेको छ। मृत्युपछि आफ्ना सन्तान–दरसन्तानले खोलेका प्रतिष्ठान, स्मृति केन्द्रले केहीलाई भने जीवितै राख्ने प्रयास गरेका भए तापनि ठुलो मात्रामा साहित्यकारका स्मृति दिवस, जयन्ती वा उनीहरूको सम्झनामा कुनै कार्यक्रम गरिएको पाइँदैन।
बाँचुन्जेल कसरी बाँचेका छन्, के समस्या छ भनेर कसैले नसोधे पनि मृत्युपछि योगदानको चर्चा गर्ने परम्परा पुरानै हो। उनीहरूलाई बाँचुन्जेल नै सरसहयोगका लागि काम गर्नुपर्छ। मर्दापर्दा काम नलाग्ने समाज, इष्टमित्र, संघसंस्था तथा मृत्युपछिको गुनगान र सम्मान आखिर केका लागि ?
प्रकाशित: ५ आश्विन २०८१ १०:५९ शनिबार