४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

इलामको ‘घरजम’ नाटक देशकै सर्वाेत्कृष्ट

‘घरजम’ नाटकका निर्देशकद्वय सुरेश पोर्तेल र अन्वेश थुलुङलाई पुरस्कृत गरिँदै ।

इलामको चेतना नाट्य समूहले प्रस्तुत गरेको नाटक ‘घरजम’ राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको छ ।

हरिप्रसाद–कल्याणी रिमाल राष्ट्रिय नाट्य–संगीत प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको महोत्सवमा देशभरका ३२ नाटकलाई उछिन्दै ‘घरजम’ले एक लाख रुपैयाँ पुरस्कार जितेको हो ।

देशभरका ३२ नाटकको कथा आयोजकले लिएकामा छ नाटक मञ्चनयोग्य भइ प्रतिस्पर्धामा थिए । उत्कृष्ट छ नाटकमध्ये ‘घरजम’ सर्वाेत्कृष्ट भएको हो । ‘घरजम’का निर्देशक सुरेश पोर्तेल र अन्वेश थुलुङ सर्वाेत्कृष्ट निर्देशक भए । उनीहरूले ट्रफी पाए । यही नाटकमा अभिनय गरेकी भावना मगर उत्कृष्ट अभिनेत्री घोषित भइन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा गत भदौ ३० देखि असोज २ सम्म महोत्सव चलेको थियो ।

महोत्सवमा सुर्खेतले सतिप्रथामा आधारित ‘सतिकलशा’, लुम्बिनी प्रदेशले क्याम्पसमा हुने राजनीतिक विषयमा आधारित नाटक ‘निब’, जनकपुरले लोन्डा नृत्य संस्कारमा आधारित ‘नाच नवरङ्गी’, वाग्मतीले कुमारीदेवीमा आधारित ‘शाल्भिया’, गण्डकीले अभावका कारण वैदेशिक रोजगारीमा जानुुपर्ने बाध्यतामा आधारित ‘लासको खेती’ र इलामको चेतना नाट्य समूहले ग्रामीण भेगका विवाहित महिलाको संघर्षमा आधारित ‘घरजम’ मञ्चन गरेका थिए ।  

नाटक निर्णायकमा हरिप्रसाद थापा, अशेष मल्ल र पुष्कर गुरुङ थिए । साहित्यकार माधव भँडारीले लेखेको ‘घरजम’ ५० वर्षअघिको नेपाली गाउँको कथा हो । नाटकमा नेपाली समाजमा विवाहित महिलाले भोगिरहेका पारिवारिक समस्या उजागर गर्न खोजिएको छ । महिलाले अवसर पाएमा समाज रूपान्तरण योगदान दिन सक्छिन् । यतिबेला महिलालाई समाजले अवसर, सहयोग र समन्वयमा पछि पार्न नहुने सशक्त आवाज नाटकमा रहेको निर्देशक पोर्तेलले बताए ।

करिब ४५ मिनेटको नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाईं, समीर राई, रेविका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाको अभिनय छ । नाटकको वाद्यवादन तथा गीतमा निर्मल राई र प्रीतिका मुखिया छन् ।

 

प्रकाशित: २ आश्विन २०८१ २२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App