२ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

म्याग्दीमा पहिलो पटक विद्यालय स्तरीय थाली नाच

बेनी आवासीय मावि प्रथम

लोपोन्मुख अवस्थामा पुगेको थाली नाच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलो पटक आयोजित अन्तर विद्यालय स्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँच दशक अगाडी सुरु भएको थाली नाचमा नयाँ पुस्ताको आकर्षण बढाउन सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा सदरमुकाम बेनीस्थित बेनी आवासीय मावि प्रथम भएको छ।

प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्वितीय, डनिङ आवासीय मावि बावियाचौर तृतीय भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो।

गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञजय कुमार श्रेष्ठ, अध्यक्ष दिनेश बानियाँ, लोकप्रिय गायिका मन छन्त्याल श्रेष्ठ लगायतले सम्मान गरेका थिए।

प्रतियोगितामा जिल्लाभरका १० विद्यालयको सहभागिता रहेको थियो। हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृश्य निकै रोचक हुन्छ। सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने हुँदा अहिले विश्वभर यो नाच लोकप्रिय बन्दै गएको छ।

वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत र वि.सं. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

हिरामायाँ पुन र धनकुमारी थापासहितको ४ जनाको टोलीले वि.सं. २०४२ मा वीरगन्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेको थियो।

वि.सं. २०३५ मा शान्ति पुन र थापाले थाली नाचसम्बन्धी गीत पनि स्वरांकन गराएका थिए। म्याग्दीमा नयाँ पुस्तालाई थाली नाचमा अभ्यास गराउन तालिम सहित प्रतियोगिता हुन थालेपछि अगुवाहरू समेत उत्साहित छन्।

प्रकाशित: २९ भाद्र २०८१ २१:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App