१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
विचार

‘कक्रोच’ तरङ्ग र युद्धका बाछिटाहरू

विश्व साघुरिँदै जाँदा एउटा कुनामा भएको घटनाले अर्को कुनामा पनि प्रभाव पार्न थालेको छ। सूचना र सञ्चार प्रविधिले समाचारलाई तुरुन्त प्रवाह मात्रै गरेन, जनमतमा हलचल पनि ल्याइदियो । अरबमा बम पड्किँदा नेपाली आमाको मुटु काम्न थाल्छ । गाजामा भइरहेको नरसंहारमा सरोकार नराख्ने हृदय पनि इरानमा बर्सिएका बम र हर्मुजको नाकाबन्दीका कारण सिर्जित ग्यास तथा पेट्रोलियम समस्याले आत्तिन्छ, जसको असर बजारमा मात्रै होइन, सिधै भान्सामा पर्छ । युद्धसँग सरोकार नराखौं भन्नेहरूले पनि युद्धको मार खेप्नुपरिरहेको छ । कहिलेकाहीं अरूले गर्ने अपराधको अंशियार निरपराधहरू पनि बन्नुपर्दो रहेछ।

विगत चार दशकमा विश्व राजनीतिका व्याकरण फेरिएका छन् । मैमत्त महाशक्तिले पनि गम्भीर चुनौती पाउँदै गयो । इन्टरनेटको विस्तारसँगै आन्दोलनका स्वरूप बदलिएका छन् । अचानक नयाँ नायकहरूको उदय भइरहेको छ, जसको सुइँको स्थापित सत्ताले पत्तै पाउँदैन।

विचारको राजनीतिमा ‘सुविधाको राजनीति’ हाबी हुँदा दर्शनसँग विचार र संगठनको साइनो टुट्दै गयो । विचारका आदर्श अनुरूप पार्टीहरू नदेखिँदा जनमतको मोहभंग हुँदै गयो, जसले नयाँ शक्तिका लागि आधार तयार गरिदियो । सामाजिक मनोविज्ञान, उत्पादनका साधन, स्रोत र स्वामित्वमा आएको रूपको हेरफेरलाई स्थापित सत्ताले चिन्नै सकेन । क्रान्तिकारी भनिनेहरूसँग जड विचारलाई समयको गतिसँगै जनअपिल गर्ने र परिवर्तनलाई गतिमय एवं कलामय बनाउने युक्ति र बुद्धि मात्र होइन, नैतिक पुँजीसमेत बाँकी रहेन । परिणामस्वरूप, लोकप्रिय आन्दोलनका आयोजक र प्रायोजकहरूले निराश जनमतलाई कलात्मक रूपमा प्रयोग गर्न थाले।

सत्ताको अहंकार र प्रतिरोधको नयाँ माध्यम

सत्तासँग अहंकार हुन्छ, त्यसैले यो मात्तिन्छ । आमजनतासँग जोडिन नसक्दा सतहभित्र के भइरहेको छ भन्ने कुरा सत्ताले पत्तै पाउँदैन । संसारमा लोकप्रिय आन्दोलनहरू उठ्नुको कारण यही हो। जनअसन्तोषलाई मलजल गर्ने आधार सत्ताको हुकुमी शैली र भ्रष्ट चरित्रले दिइरहेको हुन्छ । जब सत्ताप्रतिको भरोसा टुट्छ, तब विकल्पको जनसागर उर्लिन्छ । उर्लिएको प्रतिक्रियाको जनसागरलाई भिडमा फेर्ने कि आन्दोलन बनाउने भन्ने कुरा नेतृत्वमा भर पर्छ।

सुक्खा जंगलमा एउटै झिल्कोले नियन्त्रण बाहिरको डढेलो लगाउन सक्छ, त्यसका लागि एउटा निहुँ मात्र चाहिन्छ । आजको समयमा त्यो डढेलो फैलाउने साधन सामाजिक सञ्जाल बनेको छ । प्रतिरोधको सशक्त माध्यम बनेको सामाजिक सञ्जालले कुनै पनि मुद्दालाई एकैछिनमा विश्वव्यापी बनाइदिन्छ र असंगठित नै भए पनि प्रतिरोधी भिड खडा गरिदिन्छ । तर, यस्ता आन्दोलनहरू केवल जनअसन्तोष मात्र हुन् कि यसका प्रायोजकहरू पर्दा पछाडि छन् भन्ने कुरा नियाल्ने धैर्य भिडसँग हुँदैन । लिबिया, इराक, बंगलादेश र श्रीलंकाको नियति हेरे पुग्छ।

‘कक्रोच’ मिम आन्दोलन र भारतीय राजनीति

भारतीय सत्ताले आफ्नो कमजोरी, अभाव र तनाव लुकाउन ‘आस्थाको आवेग’सहितको एउटा न्यारेटिभ तयार गर्दै थियो र विरोध गर्नेहरूमाथि न्यायिक डन्डा चलाउँदै थियो । त्यही बेला भारतीय सर्वोच्च अदालतका मुख्य न्यायाधीशले एउटा मुद्दाको बहसमा आन्दोलनकारी युवाहरूलाई लक्षित गर्दै ‘कक्रोच’को प्रसंग उठाए । अचम्म त के भयो भने त्यही शब्द आन्दोलनको प्रतिरोधी प्रतीक बन्न पुग्यो।

धार्मिक उन्मादले शक्तिको खेल खेल्ने भारतीय राजनीतिलाई अहिले एउटै ‘कक्रोच’ ट्विटले हायलकायल पारिरहेको छ । भोको पेटलाई धर्मले अघाउन सक्दैनथ्यो । अभाव, तनाव, बेरोजगारी, सत्ताको निरंकुशता र अभिजात वर्गप्रतिको घृणाको प्रतिरोधी विष्फोट हुनु नै थियो । नयाँ चुनौतीको सामना पुरानै तरिकाले हुन सक्दैनथ्यो, जुन ‘कक्रोच’ आन्दोलनमा पोखियो।

अमेरिकामा अध्ययनरत अभिजीत दिप्केले सुरु गरेको ‘कक्रोच जनता पार्टी’को पक्षमा एक हप्तामै दुई करोडभन्दा बढी फलोअर्स भएपछि भारतीय सत्ता हल्लियो । त्यसपछि कक्रोच जनता पार्टीका सबै सामाजिक सञ्जालहरू बन्द गरिए । यसको पक्ष र विपक्षमा बहसहरू केन्द्रित भए र विश्वका चर्चित मिडियाहरूले समेत यसलाई कभरेज गर्न थाले । यस विमर्शमा नेपालको ‘जेन–जी’ आन्दोलन पनि एउटा उदाहरणका रूपमा जोडिन आइपुग्छ।

सरकारमाथिको भरोसा टुटेपछि सत्ताले सिर्जना गरेका कथ्य (न्यारेटिभ) हरू भत्किन थाल्छन् । परम्परागत मिडियाले बनाएका भाष्यहरूले चुनौती पाउन थाल्छन् । मान्छे पुराना सोचको घेरा छिचोलेर नयाँ चिन्तनमा पुग्छ । भारतमा अहिले कक्रोच एउटा मिम मात्र रहेन, आन्दोलन बनेको छ । जब समाजले यसलाई स्वीकार गर्न थाल्छ, तब सत्ता अतालिन्छ । तर त्यतिबेलासम्म ‘ड्यामेज कन्ट्रोल’ गर्न ढिला भइसकेको हुन्छ।

झोङनानहाईको कूटनीति र महाशक्तिको म्याराथन

एकातर्फ भारतीय ‘कक्रोच’ विश्वमा नयाँ बहस बनेको छ भने अर्कातर्फ अमेरिका र इजरायलको इरानमाथिको आक्रमणले विश्व शक्ति सन्तुलनलाई नयाँ मोडमा पु¥याइदिएको छ । सन् २०२६ मे १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले उनलाई झोङनानहाई कम्पाउन्डको दुर्लभ निजी भ्रमण गराए । ऐतिहासिक गार्डेनका रूपमा चिनिने यो ठाउँ सामान्यतया विदेशी नेताहरूलाई देखाइँदैन । त्यहाँ सीले ट्रम्पलाई सांकेतिक रूपमा भनिदिए– ‘अमेरिका अब खस्कँदो महाशक्ति हो।’

विचारको अन्त्य भयो भन्दै रमाउने युवाहरूको बिगबिगी चलिरहेका बेला, हरेक क्रियापछाडि विचारकै महŒव हुन्छ भन्ने प्रस्ट देखिन्छ । विचार नहुनु पनि आफैंमा एक प्रकारको विचार नै हो । महाशक्तिमा रहिरहने र शक्तिमा पुग्नेहरूको द्वन्द्व अहिले चीन र अमेरिकाबिच चलिरहेको छ । युद्ध इरानी भूमिमा भइरहेको छ तर चीन एक शब्द नबोली अमेरिकासँग युद्ध लडिरहेको छ।

सी चिनफिङले ट्रम्पलाई झोङनानहाईमा २०० देखि ४०० वर्ष पुराना दुईवटा साइप्रसका रूख र अन्य एक हजार वर्ष पुराना रूखहरू देखाए । उनले ट्रम्पलाई एउटा २८० वर्ष पुरानो रूख छुन पनि लगाए । अमेरिका अहिले आफ्नो स्वतन्त्रताको २५०औं वर्ष मनाउँदै छ, जबकि चीनका रूखहरूको उमेर नै त्योभन्दा बढी छ । यसअघि सन् २०२६ अप्रिल ७ मा ट्रम्पले ‘ट्रुथ सोसल’मा इरानी सभ्यता नष्ट गर्ने चेतावनी दिँदै लेखेका थिए– ‘एउटा सम्पूर्ण सभ्यता आज राति कहिल्यै फर्केर आउन नसक्ने गरी मर्नेछ । मलाई त्यस्तो हुनु छैन, तर सम्भवतः हुन्छ।’

कूटनीतिमा धेरै कुरा मौन भाषामा व्यक्त हुन्छन् । अहिले महाशक्तिको म्याराथन दौड चलिरहेको छ । अमेरिका आफ्नो हैसियत कसरी बचाउने भन्ने हतारोमा छ भने चीन एक थोपा रगत नबगाई, एउटा पनि गोली नपड्काई युद्ध जित्ने दाउमा छ।

‘आर्ट अफ वार’ विरुद्ध ‘आर्ट अफ द डिल’

अहिले विश्वयुद्धका रणनीतिहरू मुख्यतया दुईवटा पुस्तकको वरिपरि घुमिरहेका छन् । चीन ईसापूर्व पाँचौं शताब्दीमा सुन जुद्वारा लिखित ‘आर्ट अफ वार’ले निर्देश गरे अनुसारको चाल चल्दै छ भने राष्ट्रपति ट्रम्प आफ्नै सन् १९८७ को पुस्तक ‘आर्ट अफ द डिल’अनुसार अघि बढ्दै छन् । महाशक्तिको प्रतिस्पर्धा यिनै दुई पुस्तकले तय गरेको भाष्यअनुसार भइरहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरोका शक्तिशाली नेता प्रोफेसर वाङ हुनिङले सन् १९९१ मै आफ्नो पुस्तक ‘अमेरिका अगेन्स्ट अमेरिका’मार्फत अमेरिकाको ओरालो यात्राको व्याख्या गरिसकेका थिए।

गहिरो सैन्य रणनीतिक ग्रन्थ ‘आर्ट अफ वार’ मा सुन जुको मुख्य जोड शारीरिक शक्तिमा होइन, बुद्धिमत्ता, तयारी र रणनीतिमा छ।

उनी भन्छन्– ‘युद्ध महँगो र विनाशकारी हुन्छ, त्यसैले यसलाई अन्तिम विकल्प मात्र बनाउनुपर्छ।’

उनको प्रसिद्ध नीति छ– ‘सबै युद्ध छलकपटमा आधारित हुन्छन्– बलियो हुँदा कमजोर देखिनु, नजिक हुँदा टाढा देखिनु ।... आफूलाई र शत्रुलाई चिन्नू, यदि तिमी आफूलाई र शत्रुलाई राम्रोसँग जान्दछौ भने सयौं युद्धमा पनि हार्नुपर्दैन ।... युद्धबिना जित्नु नै सबैभन्दा उत्तम रणनीति हो– कूटनीति, जासुसी र मनोवैज्ञानिक युद्धबाट शत्रुलाई आत्मसमर्पण गराउनू।’

यसविपरीत ट्रम्पको पुस्तक ‘आर्ट अफ द डिल’ आत्मकथा र व्यावसायिक सल्लाहको मिश्रण हो । यसको सार ‘युद्धबिना जित्ने’ होइन, आक्रामक, आत्मविश्वासी र रचनात्मक बार्गेनिङमार्फत आफ्नो स्वार्थ सिद्ध गर्ने हो । यसका मुख्य सिद्धान्तहरूमा ठुलो सोच्नु, जोखिम न्यूनीकरण गर्नु, सधैं धेरै विकल्पहरू राख्नु, बार्गेनिङमा शक्तिको प्रयोग गर्नु र प्रचारबाजीलाई महत्त्व दिनुपर्छ । यसले ट्रम्पको ‘विनर माइन्डसेट’लाई प्रतिविम्बित गर्छ।

धेरै विश्लेषकहरूले ट्रम्पको हालैको चीन भ्रमणलाई यी दुई पुस्तक र दर्शनबिचको ‘टग–अफ–वार’का रूपमा हेरेका छन् । ट्रम्पको शैली छोटो समयमा ठुलो डिल गर्ने, प्रचार गर्ने र व्यक्तिगत सम्बन्धका आधारमा ‘विन–विन’ अवस्था देखाउने खालको छ । अर्कोतर्फ सी जिनपिङको शैली दीर्घकालीन रणनीति, धैर्य, मनोवैज्ञानिक युद्ध र भित्री शक्ति प्रदर्शन गर्ने खालको छ । सीले ट्रम्पलाई पुराना रूखहरू देखाएर चीनको गहिरो इतिहास र धैर्यको सन्देश दिए । साथै, ताइवानलाई ‘सबैभन्दा महत्त्वपूर्ण मुद्दा’ भन्दै कडा चेतावनी दिए र कुनै ठुलो छुट दिएनन् । चिनियाँ विश्लेषक भिक्टर गाओले ठिकै भनेका छन्– ‘ट्रम्पले ‘आर्ट अफ द डिल’भन्दा ‘आर्ट अफ वार’ पढ्नुपर्छ।’

यो भ्रमणले दुई फरक दर्शनको टकराव देखायो– एकातिर छिटो र आक्रामक ‘डिल’, अर्कातिर शताब्दीऔं पुरानो रणनीतिक धैर्य । चीनले प्रतीकात्मक र दीर्घकालीन स्थायित्वमा जोड दियो, जबकि ट्रम्पले व्यक्तिगत र व्यापारिक सफलता खोजे । यो अमेरिका–चीन प्रतिस्पर्धाको निरन्तरता हो, जसमा पूर्ण जित कसैको पनि भएन।

सूचना र सञ्चारको तीव्र विकाससँगै सामरिक हतियार र युद्धका नियमहरू फेरिँदै गएका छन् । विश्वका शक्ति केन्द्रहरू बदलिँदै छन् र राजनीतिको व्याकरण परिवर्तन हुँदै छ।

शक्ति सधैं चञ्चल हुन्छ, त्यसैले भारतमा चलेको ‘कक्रोच अभियान’ र इरानको भूमिमा महाशक्तिहरूको उल्झनलाई सामान्य रूपमा लिन सकिँदैन । यी परिघटनाहरू भोलिको नयाँ विश्व व्यवस्थाका प्रस्थानविन्दु हुन् । हामी पनि यी विश्व घटनाका बाछिटाबाट टाढा हुँदैनौं।

प्रकाशित: ११ जेष्ठ २०८३ १०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %