१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

पुस्तक अंश: नेपाल भनेकै काठमाडौं

‘काठमाडाैंलाई मात्र नेपाल भन्ने बानी वा चलन मलाई राम्रो लागेन। अब उप्रान्त काठमाडौंलाई मात्र नेपाल भन्ने बानीलाई प्रत्येक नेपाली मात्रले हटाई महाकालीदेखि मेचीसम्मलाई नेपाल भन्ने र राजधानीलाई काठमाडौं भन्ने बानी गरून्, यो मेरो अपिल छ।’ 

गोरखापत्रमा राजा महेन्द्रको यस्तो सन्देश चुनाव (विसं २०१५ को आमनिर्वाचन) अघि छापिएको थियो। २०१५ साल अघिसम्म काठमाडौं खाल्डोलाई मात्र नेपाल भन्ने चलन थियो। देशका बाँकी भूभागबाट काठमाडौं आउँदा ‘नेपाल जाने’ भन्ने चलन थियो।

राजाको सो अपिलको पुछारमा प्रचार विभागको नाममा यस्तो अर्को अपिल छापिएको छ– श्री ५ महाराजाधिराजको सदिच्छाअनुसार प्रत्येक देशवासीले आजैदेखि, अहिलेदेखि नै उचित तरिकाले आफ्नो आफ्नो पुरानो बानी सपार्न प्रयत्नशील हुनुपरेको छ।

त्यस बेला ‘नेपाल’ शब्द काठमाडौंको पर्याय थियो। भक्तपुर र ललितपुरबाट काठमाडौं आउँदा समेत ‘नेपाल जाने’, ‘सहर जाने’ आदि भन्थे। समय त्यस्तो थियो, ४५ वर्षमुनिका महिलाले काठमाडौं उपत्यका बाहिर जाँदा पनि विदेश गएसरह राहदानी लिनुपर्थ्यो। २०१६ सालमा मात्र १३ हजार २ सय २ महिला यसरी राहदानी लिएर काठमाडौं बाहिर गएका थिए।

२००७ सालअघि त झन् बिहान तोप पड्किएपछि मात्र घरबाट बाहिर निस्कन पाइन्थ्यो र राति तोप पड्किनुअघि घरभित्र छिरी सक्नुपथ्र्यो। राणा र केही धनी बाहेक अहिले जस्तो आम मानिससँग घडी थिएन। समय थाहा पाउने आधार भनेकै बिहान बेलुका पड्किने तोप र घडी चरा अर्थात् समय समयमा बासिरहने कुखुराको भाले हुन्थ्यो।

२००७ सालभन्दा अघि देशका अन्य भागबाट काठमाडौं आउन र यहाँबाट बाहिर जान शासक बाहेक आम नेपालीले राहदानी बनाउनुपर्थ्यो। आफ्नै देशभित्र समेत स्वतन्त्रतापूर्वक हिँडडुल गर्न प्रतिबन्ध थियो।

चार भन्ज्याङ काटेर काठमाडौं आउँदा एउटा डोको, एउटा बोको र एउटा कुखुराका लागि पनि भन्सार तिर्नुपर्थ्यो। कांग्रेस संसदीय दलका तत्कालीन सचिव अच्युतराज रेग्मी भन्छन्- म आफै कैयौं पटक राहदानी लिएर काठमाडौं बाहिर गएको छु। मेरो सम्झनामा भए अनुसार कमान्डर इन चिफको आदेशमा सुनको तोडा लगाउने जागिरदारले ‘फलानो मान्छे चिसापानीगढी हुँदै...... ठाउँमा जाँदैछन्। निजको सामान चेकजाँच गरी बिनारोकतोक जान दिनु’ भन्ने बेहोरा लेखेर सहीछाप गरिएको हुन्थ्यो। आफ्नै देशका सबै भूभागमा नेपाली नोटको प्रचलन थिएन। काठमाडौं र पहाडी भागमा नेपाली नोट चले पनि तराईमा भारतीय मुद्रा प्रचलनमा थियो।

प्रजातन्त्र स्थापनापछि सामन्ती प्रथाका अवशेष क्रमशः हराउँदै थिए। जनतामा चेतानाको लहर फैलिँदै थियो। पाल्पा क्षेत्र नं- ९३ बाट निर्वाचित सांसद अच्युतराज रेग्मी सम्झिन्छन्– पाल्पाबाट काठमाडौं आउन चार दिनको बाटो तय गर्नुपर्थ्यो। तानसेनबाट सात कोस हिँडेर बुटवल झर्‍यो। त्यहाँबाट बस चढेर सुनौली। अनि भारतको नौतनवा हुँदै गोरखपुर। गोरखपुरबाट रेल चढेर रक्सौल हुँदै रेलबाट अमलेखगन्ज आउनुपर्थ्यो। अनि अमलेखगन्जबाट भीमफेदी आएपछि प्रवेश अनुमति लिएर मात्र पैदलै काठमाडौंसम्मको यात्रा तय गर्नुपर्थ्यो।

सुदूरपश्चिमबाट काठमाडौं आउन पनि भारतकै बाटो हिँड्नुपर्थ्यो। २००१ सालमा अछामबाट पहिलो पटक काठमाडौं आउँदाको क्षण पूर्व मन्त्री नैनबहादुर स्वाँर यसरी सम्झन्छन्– ‘काठमाडौं हिँड्ने तयारी गर्दा मेरो साथमा बुबा हुनुहुन्थ्यो। यात्रामा चाहिने खाद्यान्न र भाँडाकुँडा एउटा भरियालाई बोकाएका थियौं। बाटोमा जहाँ रात पर्‍यो, त्यहीँ बास बस्यो। खाना बनायो, खायो र सुत्यो। हिजोआज जस्तो होटल थिएनन्। सात दिन हिँडेर बर्दियाको राजापुरसम्म पुग्यौं। भारतको कतर्नियाबाट रेलमा तीनदिनको यात्रा गरेर रक्सौल छिरियो। त्यहाँबाट अमलेखगञ्जसम्म रेलमा र लरीमा चढेर हेटौंडा आयौं र भीमफेदीको बाटो चन्द्रागिरि हुँदै पैदलै काठमाडौं पुग्यौ। थानकोटबाट सुन्धारासम्म लरी चल्थ्यो। त्यहाँबाट गुन्टा काँधमा राखेर नक्साल पुगियो।’

पूर्वी नेपालबाट काठमाडौं आउन पनि या त भारतको तय गर्नुपर्थ्यो या पहाडैपहाड पूरै पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो। राणाकालमै पढ्नका लागि काठमाडौं आएका पूर्वसांसद मणिराम शास्त्री भन्छन् – ‘हामी सात–आठ दिन पैदल हिँडेर आउँथ्यौं। त्यो बेला नेपाल (काठमाडाैं) मा मात्र मोहर चलनचल्तीमा थियो, देशका बाँकी कम्पनी चल्थ्यो। भारतमा बेलायती उपनिवेश (इस्ट इन्डिया कम्पनी) भएकाले उसले चलाएको मुद्दालाई कम्पनी भनिन्थ्यो।

काठमाडाैं पढ्ने विद्यार्थीहरूलाई घरबाट खर्च पठाउनुपर्दा भने कम्तीमा दुई लाग्थ्यो। पहिला कम्पनी रुपैयाँको बीचको भाग काटेर रजिस्ट्री चिठीमा पठाइन्थ्यो। त्यो चिठी पाएको खबर सहित घरमा पत्र पुगेपछि बाँकी दुई टुक्रा फेरि रजिस्ट्री गरेर पठाउनुपर्थ्यो। नोटका तीन वटै टुक्रा जोडेर भीमसेनथानमा व्यवसायीसँग साट्नुपथ्र्यो। यसरी काटेर जोको एक सय कम्पनीको ६० मोहर पाइन्थ्यो।’

जगत नेपालद्वारा लिखित ‘पहिलो संसद्: बीपी महेन्द्र टकराव’ पुस्तकबाट साभार गरिएको।

प्रकाशित: २९ भाद्र २०८१ १९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App