घरेलु मैदान र समर्थकको साथ। जितका लागि अन्तिम ओभरमा आवश्यक १३ रन र क्रिजमा जमेका दुई अनुभवी खेलाडी। तर, नतिजा भने सोचेजस्तो भएन।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको समूह ‘बी’ को खेलमा आयोजक नेपाल नेदरल्यान्ड्ससँग झिनो अन्तरले पराजित भयो।
रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भयो।
जारी प्रतियोगितामा १० राष्ट्रले विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। तर, आयोजक राष्ट्रको हैसियतमा मैदान उत्रिएको नेपालले आफ्ना सुरुवाती दुवै खेलमा नतिजा सुम्पिँदा सुपर सिक्सको यात्रा केही कठिन मोडमा पुगेको छ।

यसअघि थाइल्यान्डसँग पराजित भएको नेपालले बिहीबार नेदरल्यान्ड्सलाई कडा टक्कर दिए पनि ‘फिनिसिङ’ मा चुकेको हो। यद्यपि, समूहको शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने प्रावधान रहेकाले नेपालको सम्भावना भने अझै कायमै छ। नेदरल्यान्ड्सले भने यो जितसँगै सुपर सिक्समा स्थान पक्का गरेको छ।
बिहीबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४० रनको योगफल तयार पारेको थियो। १४१ रनको विजय लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो।
नेपालको इनिङ्सको सुरुवात मिश्रित रह्यो। स्कोरबोर्डमा २२ रन हुँदा ३.१ ओभरमा ओपनर विन्दु रावल १८ रन बनाएर रनआउट भइन्।
लगत्तै अर्की ओपनर सम्झना खड्का १४ रन बनाएर रोबिन रिज्केको बलमा आउट हुँदा नेपालले ३५ रनमा दोस्रो विकेट गुमायो।
त्यसपछि भने नेपालको ब्याटिङ लाइनअप धर्मरायो। कप्तान इन्दू बर्मा (६ रन), विकेटकिपर काजल श्रेष्ठ (४ रन) र पूजा महतो (८ रन) सस्तैमा समेटिँदा नेपालले १०.४ ओभरमा ६२ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो।
मध्यक्रमका ब्याटरहरू एकपछि अर्को गर्दै पेभिलियन फर्किएपछि नेपालको इनिङ्स धराशायी बन्ने खतरा देखिएको थियो। १५.५ ओभरमा ९२ रन हुँदा कविता जोशी १३ रन र १६.२ ओभरमा ९३ रन हुँदा कविता कुँवर १ रनमा आउट भएपछि नेपालको हार निश्चितजस्तै देखिएको थियो।

९३ रनमा ७ विकेट गुमाएको नाजुक अवस्थामा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले इनिङ्स सम्हाले। रुबिना र सीताले आठौं विकेटका लागि अविजित ४५ रनको साझेदारी गर्दै नेपाललाई जितको सँघारमा पुर्याएका थिए।
अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक थियो। क्रिजमा सेट भइसकेका रुबिना र सीता हुँदा आशा जीवितै थियो। तर, नेदरल्यान्ड्सको कसिलो बलिङसामु नेपाली ब्याटरले आवश्यक रन जोड्न सकेनन् र नेपाल लक्ष्यभन्दा २ रनले पछि रह्यो।
रुबिना ३२ बलमा ५ चौकासहित ३७ रनमा अविजित रहिन् भने सीताले १२ बलमा ४ चौका र १ छक्काको मद्दतले आक्रामक २७ रन बनाइन् तर टोलीलाई जिताउन त्यो पर्याप्त भएन।
खेलपछि प्रतिक्रिया दिँदै रुबिनाले टोलीले राम्रो प्रदर्शन गरेको तर अन्तिममा चुकेको बताइन्। ‘आजको खेल समग्रमा राम्रै रह्यो। हामीलाई अन्तिम ओभरमा १३ रन चाहिएको थियो, तर जुन प्रकारले सट खेल्न खोजेका थियौं, त्यो सोचेजस्तो भएन। अब आउने खेलमा अझ राम्रो प्रदर्शन गर्नेछौँ,’ रुबिनाले सुनाइन्।
उनले मध्यक्रममा साझेदारीको अभाव खड्किएको पनि स्विकारिन्। ‘नेदरल्यान्ड्सविरुद्ध आज हामीले राम्रो साझेदारी बनाउन सकेनौं, जसले गर्दा लगातार विकेट गइरह्यो। अन्तिमतिर मैले र सीताले एउटा साझेदारी त गर्यौं, तर त्यही साझेदारी इनिङ्सको बीचमा भएको भए खेलको नतिजा अर्के हुन्थ्यो होला,’ रुबिनाले थपिन्।
यसअघि नेदरल्यान्ड्सलाई १४० रनमा रोक्न नेपालले सन्तोषजनक बलिङ गरेको थियो। इनिङ्सको दोस्रो ओभरमै पूजा महतोले हेदर सिगर्स १३ रनमा आउट गरिन् भने चौथो ओभरमा सोमु विष्टले फेबे मोल्केनबोएरलाई शून्यमा फर्काइन्।

१६ रनमा २ विकेट गुमाएको नेदरल्यान्ड्सलाई कप्तान बाबेट डे लिडे र स्टेरे कालिसले सम्हालेका थिए। बाबेटले ४७ बलमा ४९ रन बनाइन् भने कालिसले ३० रन जोडिन्। रोबिन रिज्केले १९ र आइरिस जिलिङले १४ रनको योगदान दिए।
नेपालका तर्फबाट रुबिना क्षेत्रीले ३ ओभरमा २१ रन खर्चेर सर्वाधिक २ विकेट लिइन्। त्यस्तै, सोमु विष्ट, पूजा महतो, रिया शर्मा र क्यारोलिन डे लांगेले १–१ विकेट हात पारे।
नेदरल्यान्ड्सकी इसाबेल भान डर वुलिङ ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भइन्।
रुबिनाले समग्र टिमको सुधार भइरहेकोमा जोड दिइन्। ‘पछिल्लो खेलहरूभन्दा यो प्रतियोगितामा हामीले राम्रो रन बनाउन सकिरहेका छौं। फिल्डिङ र फिटनेसमा पनि राम्रो सुधार भइरहेको छ। हाम्रो ओपनर सेट भइरहेका छन्, यसरी नै मिडल अर्डरको पनि राम्रो साझेदारी भयो भने खेल बिस्तारै लयमा आउनेछ,’ उनले भनिन्।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी थाइल्यान्डको सामना गरेको थियो। सो खेलमा पनि मुख्य समस्या मिडल अर्डर नै देखिएको थियो।
थाइल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। ओपनर विन्दु रावल र सम्झना खड्काले पहिलो विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए।

तर, सम्झना २६ रन बनाएर आउट भएपछि र विन्दु ४३ रनमा आउट भएपछि नेपालको ब्याटिङ तासको घरझैँ ढल्न पुग्यो। कप्तान इन्दू बर्मा ६ रन, पूजा महतो १२ रन, कविता जोशी ४ रन, सीता राना मगर शून्य र रुबिना क्षेत्री १७ रनमा आउट हुँदा नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।
कप्तान इन्दू बर्माले उक्त हारको मुख्य कारण मध्यक्रम नचल्नु नै भएको बताएकी थिइन्। ‘हामी ३०/४० रन बनाउनबाट पछि रह्यौं। हाम्रो ओपनिङ एकदमै उत्कृष्ट भएको थियो, त्यही अनुसार मध्यक्रमका ब्याटरहरू चलेको भए स्कोर राम्रो हुन्थ्यो। आजको हार मिडल अर्डर नचल्दा भएको हो,’ इन्दूले सञ्चारकर्मीसँग भनेकी थिइन्।
१२४ रनको लक्ष्य थाइल्यान्डले मात्र २ विकेट गुमाएर सहजै पूरा गरेको थियो।
लगातार दुई हारपछि नेपालको सुपर सिक्स यात्रा केही पेचिलो बनेको छ। समूह ‘बी’ मा ५ टोली रहेका छन् र शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्।
नेपालले अब समूह चरणका बाँकी खेलहरूमा जित हासिल गर्नैपर्ने दबाब छ। घरेलु मैदानको फाइदा उठाउँदै ब्याटिङ, विशेषगरी मध्यक्रममा देखिएको समस्या सुधार्न सके नेपालले अर्को चरणमा स्थान बनाउने सम्भावना जीवितै छ।
तर, नेदरल्यान्ड्सविरुद्धको जस्तो सानो गल्तीले पनि विश्वकप खेल्ने सपनामा ठूलो धक्का लाग्न सक्छ।
प्रकाशित: ८ माघ २०८२ १५:१६ बिहीबार





