४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

शताब्दी पुरुष रेग्मीलाई त्रियुगाको सम्मान

सम्मानित शताब्दी पुरुष रेग्मीका साथमा मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राई । तस्बिर: महेश्वर/नागरिक

त्रियुगा नगरपालिकाले नगरवासी शताब्दी पुरुष तुलसीप्रसाद रेग्मीलाई सम्मान गर्दै ‘वरिष्ठ सल्लाहकार’ मा मनोनयन गरेको छ। त्रियुगा–१२ पुरानो गाईघाट प्रतिभाटोल बस्दै आएका सय वर्षीय रेग्मीलाई नगरपालिकाको वरिष्ठ सल्लाहकारमा नियुक्ति गर्दै सम्मान गरेको हो।

नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको एक सय ११औं स्मृति दिवस मनाउने क्रममा नगरले शताब्दी पुरुष रेग्मीलाई सम्मान गरेको हो। बुधबार नगर प्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले नगरपालिकामै बोलाएर रेग्मीलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे।

पञ्चायतीकालको प्रतिबन्धित राजनीतिक अवस्थामा पनि रेग्मीले कांग्रेसमा आबद्ध रही साहित्य, पत्रकारितामार्फत विभिन्न सामाजिक जागरण अभियान चलाएका थिए। साहित्य सिर्जना र पत्रकारिताबाट समाज सेवामा पुर्‍याएको योगदानको कदर गर्दै रेग्मीलाई सम्मान गरिएको मेयर बस्नेतले बताए।

रेग्मी कांग्रेसको क्षेत्रीय सभापति रहिसकेका, राजनीति, पत्रकारिता र साहित्य साधनामा निरन्तर लाग्दै विद्यमान अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध सामाजिक अभियान चलाएका तथा त्रियुगा नगरसँगै समग्र उदयपुरको पहिचान बोक्ने शताब्दी पुरुष भएकाले उहाँलाई सम्मान गर्नु आफ्नो दायित्व रहेको मेयर बस्नेतको भनाइ छ।

गत साउन १५ देखि ९९ सय वर्ष पूरा गरी सय वर्ष प्रवेश गरेका रेग्मीले विभिन्न साहित्यिक कृतिसमेत प्रकाशन गरेका छन्। २०४३ सालमा ‘उदयपुर जिल्ला परिचय’, ०४० सालमा ‘माझी जाति एक परिचय’ प्रकाशन गरेका उनले ०६३ मा ‘बादलभित्रका ताराहरू’ मा सहलेखन गरेका छन्। रेग्मीले सरकारको आधिकारिक सञ्चार संस्था नेपाल राष्ट्रिय समाचार समितिको प्रतिनिधि भएर पनि नेपाली पत्रकारिता र वाङमयमा महत्वपूर्ण योगदान गरेका छन्।

रेग्मीको ज्येष्ठता, अनुभव र समग्र योगदानको मूल्यांकन गर्दै सम्मानसँगै नगरपालिकामा ‘वरिष्ठ अनुभवी सल्लाहकार’ नियुक्त गरिएको नगर उपप्रमुख महेश्वरी राईले बताइन्। उनका अनुसार रेग्मीका शताब्दी जीवनकालको अनुभव र राम्रा काम भावी पुस्तालाई हस्तान्तरण गर्न तथा अनुशरण गर्न सके समाजलाई धेरै फाइदा हुने ठहर नगरपालिकाको छ। त्यसले नगर विकास र सेवा प्रवाह प्रभावकारी हुनुका साथै नयाँ पुस्ताले अनुशासित, गतिशील र सांस्कारिक बनाउन सकिन्छ भन्ने उद्देश्यले रेग्मीलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरिएको उपमेयर राई बताउँछिन्।

छोरा महेशका अनुसार तत्कालीन गाउँ पञ्चायत र बहुदलकालमा गाउँ विकास समिति तथा जिल्ला विकास समितिमा आबद्ध रही दुई दशक बढी जनताको सेवा गरेको उनको अनुभव छ। वर्तमान र भावी पुस्ताले उनीबाट धेरै अनुभव, सल्लाह, सुझाव लिन सक्ने हुनाले उहाँ त्रियुगाको सल्लाहकार नियुक्त हुुनुमा नगरपालिकाले गर्वानुभूति गर्नुपर्ने नगरवासी बताउँछन्।

प्रकाशित: २८ भाद्र २०८१ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App