२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

तमसोमा ज्योतिर्गमय

निबन्ध

उज्यालोले दिने चेतना भौतिक र अभौतिक हुन्छ, दृश्यवान् र अदृश्यवान् हुन्छ। भौतिक उज्यालोले दिने चेतना भौतिक रूपमै अनुभव हुन्छ। घाम, जून, तारा, आकाशमा चम्किने बिजुली, मानव निर्मित जलविद्युत्, ग्यास वा तेल घ्युबाट बालिने बत्ती, आगो आदि अनेकौं स्रोतसाधनबाट हामी उज्यालो प्राप्त गर्छौं। तिनको उत्पत्ति, अवस्था र भौतिक स्वरूपअनुसार उज्यालोको अनुभव र प्रयोग गर्छौं।

यस्ता भौतिक उज्यालोका स्रोतहरू प्राकृतिक तवरमै देखिने र इच्छित प्रयोजनमा ल्याउन सकिने हुन्छन्। यस्ता उज्यालोका स्रोतहरूले हाम्रो भौतिक जीवनलाई सहज बनाएका छन्। यिनको सहाराबाट मानव जातिले आदिकालदेखि नै आफ्नो भौतिक जीवनलाई सहज, सुलभ र परिमार्जित बनाएको छ, बनाउँदै आएको छ। यिनको सहाराबाट मानवमात्रले आफ्नो सामान्य ज्ञान जगतलाई पनि विस्तार गरेकै छ, गर्दै आएको छ।

सामान्य अवस्थामा तिनको प्रभावलाई हामीले सहज रूपमा ग्रहण गर्नु बाँच्नका लागि अपरिहार्य रहँदै आएको छ। सृष्टिको निरन्तरता जीवजगत र प्रकाश वा उज्यालोबीच सहज प्राकृतिक निकटताबाट नै सम्भव भएको हो।

सृष्टिका हरेक वस्तु र उज्यालोबीच अन्तर्सम्बन्ध रहनुकै परिणाम जीवजगत, वनस्पति जगत र तिनको आधार भूगोलको पारिवेशिक अस्तित्व अनन्तकालदेखि नै अनवरत रहँदै आएको छ।

सूर्य र अग्नि तेज, ताप र प्रकाशका स्रोत हुन्। सूर्य समस्त संसारकै ताप, तेज र प्रकाशको अन्त्यहीन स्रोत हो। सम्पूर्ण संसार सौर्यशक्तिकै कारण सञ्चालित छ। अग्नि उसैगरी ताप र प्रकाशको अन्त्यहीन स्रोत हो। सूर्यले समस्त संसारको प्राण सञ्चार गराउँछ, जीवित राख्छ। अग्नि सामान्यतः मानव इच्छित प्रयोजनद्वारा संसारलाई बचाउँछ।

सभ्यताको प्रथम सिँढीमा मानव चढ्न सक्नुमा अग्निको सर्वाधिक भूमिका रहेको महसुस गर्न सकिन्छ। सूर्य र अग्नि दुवैलाई शक्तिका स्रोत पनि मानिन्छ। आदिग्रन्थ वेदमा सूर्य र अग्निको अर्चना गरिएको पाइन्छ। दुवै ज्योतिर्मय शक्ति हुन्। मानवको प्रथम आविष्कार प्रकृतिस्थ अग्निको आविष्कार नै थियो भन्ने कुरा अध्ययनबाट थाहा हुन्छ।

अभौतिक उज्यालो भनेको अन्तज्र्योति हो। अन्तरज्योतिको भौतिक मापन हुन सक्दैन। मानिस जन्मेपछि चेतना ग्रहण गर्न सिक्छ। जन्मजात प्राप्त हुने चेतनाद्वारा शारीरिक अस्तित्वको विकासक्रम आरम्भ हुन्छ। नवजात शिशु जन्मजात प्राप्त हुने चेतनाकै कारण सांकेतिक तवरमा तातो, चिसोको प्रतिक्रिया व्यक्त गर्छ। उसको त्यो भाषा आमाले बुझ्छिन् र स्याहार गर्छिन्।

आमा र आफन्तजनको लालनपालनसँगै ऊ सामाजिकीकरणको प्रक्रियामा प्रवेश गर्छ। सामाजिकीकरण भनेको नवजात बालकले आफूलाई बिस्तारै शारीरिक र मानसिक रूपले परिष्कृत गराउँदै लैजाने प्रक्रियाको थालनी पनि हो। व्यक्तिको जीवनमा शिशुकालको सामाजिकीकरण उसको जीवनकै लागि स्थायी रूपमा रहने अभिमुखीकरण पनि हो।

शारीरिक र मानसिक रूपले सबल, स्वस्थ रहुन्जेल मानिस आफ्नो समाज र क्रियात्मक परिवेशबाट आजीवन केही न केही सिकिरहन्छ। सय वर्ष नाघेका वा शताब्दी नजिक पुगिसकेका मानिस पनि सामाजिक जीवनमा सक्रिय रहेका धेरैलाई हामीले भेट्दै देख्दै पनि आएका छौं। त्यस्ता उदाहरणहरू निकै पाउन सकिन्छ। आन्तरिक उज्यालोको तृष्णाले मानिसलाई सदा जाग्रत राख्छ। त्यसका निम्ति उमेर बाधक बन्दैन।

कैयौं पौरस्त्य आध्यात्मिक ग्रन्थहरूले मानव जीवनमा अन्तज्र्योति वा उज्यालो प्राप्तिका लागि प्रेरणा जगाएका छन्। ती ग्रन्थहरूमा उज्यालोप्रतिको चाहना जगाउन, त्यसलाई हृदयतः स्पर्श गर्न र त्यसतर्फ प्रवृत्त भइरहनका लागि अनेकौं प्रेरणा सूक्तहरू सन्निहित छन्। तिनमा मानव शरीर र जीवनलाई अन्नमय, प्राणमय, चेतनामय, ज्ञानमय एवं आनन्दमय कोष आदिमा वर्गीकरणसमेत गरिएको पाइन्छ।

मानव मात्रले उच्चतम चैतन्य प्राप्त गरेपछि अन्तज्र्योतिर्मय जीवनको प्राप्ति गर्छ भन्ने कुरा पौरस्त्य दार्शनिकहरूले बताएका छन्। मानव जीवनलाई पूर्णतातिर लैजान सत्चिन्तन, सत्संकल्प र सत्कर्मतिर जाग्रत गराउन स्वयं मानवकै प्रयत्नबाट सम्भव छ भन्ने कुरा अतीतदेखि वर्तमानसम्मकै सद्ज्ञानी दार्शनिकहरूले बताउँदै आएका पनि छन्।

वेद र उपनिषद्हरूमा मानवमात्रको व्यावहारिक, आध्यात्मिक र आत्मिक जीवनको ऊध्र्वगामिता एवं पूर्णताका लागि अमर सन्देश, सूक्तहरू अभिलिखित छन्। श्रीमद्भागवत गीतालाई सनातन ज्ञान र दर्शनको अर्को कालातीत वाङ्मय मानिएको छ।

महामानव गौतम बुद्धले जीवनका लागि दुःख निवारण हेतु अष्टाङ्गिक मार्गको अवलम्बन गर्न मानवजातिलाई आह्वान गरे। संसारका प्रायः सबै धर्मको सार जीवनका निम्ति उज्यालोतर्फ अग्रसर रहनु, त्यसकै निम्ति कर्म गर्नु भन्ने रहेको ज्ञानीहरू बताउँछन्।

मानव जीवन त्यस्तो होस्, जसमा अँध्याराका थोप्लाथोप्ली वा दाग कतै नदेखियून्। सर्वत्र सत्यम् शिवम् सुन्दरम्को अनुभूतिद्वारा जगमगाइरहोस्। सत्कर्म, सत्संकल्प र उच्चतम आध्यात्मिक ज्ञान एवं विवेकशीलताद्वारा विभूषित हुँदै पूर्णतातर्फ लम्कन सकोस्। आफूभित्रका सन्नाटा, कलुषिता र क्लेशका छायाबाट मुक्त भएर ज्योतिर्मय जीवनको सर्वोपरि अर्थ प्राप्त गर्दै अमर बन्न सकोस्। यही सन्देश यस ऋग्वैदिक सूक्तबाट प्राप्त हुन्छ।

‘असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय मृत्योर्मा अमृतंगमय’

यस सूक्तलाई मूलतः ऋग्वेद र केही उपनिषद्हरूमा अंशतः लिपिबद्ध गरिएको भन्ने कुरा विद्वान्हरू बताउँछन्। असत्यबाट सत्यतिर लैजाऊ, अँध्यारोबाट उज्यालोतिर लैजाऊ एवं मृत्युबाट अमरत्वतर्फ लैजाऊ भन्ने उक्त सूक्तले कति ठुलो दर्शन बोकेको रहेछ। लाग्छ, सम्पूर्ण धर्म, अध्यात्म र कर्महरूको सारतत्व यसै सूक्तभित्र अटाएको छ।

सम्पूर्ण मानव जातिका चिन्तनहरू र कर्मशीलताका प्रयत्नहरू सबै यस महान् दार्शनिक सत्यतिर लक्षित हुने हो भने यो संसार कति सुन्दर हुने थियो होला ! यद्यपि आधुनिक विश्वकै महान् दार्शनिक, राजनेता र चिन्तकहरूले सम्पूर्ण मानव जातिको सर्वोपरि सुख र सुन्दरतम् संसारको परिकल्पना गर्न भने छोडेका छैनन्।

वर्तमान युगका मुलुकका राष्ट्रिय जिम्मेवारीमा रहेका व्यक्तिहरूले उक्त सूक्तलाई स्मरणमा राखिरहेर आआफ्ना मुलुकका लागि काम र निर्णय मात्र गर्दा पनि स्थिति बेग्लै हुन सक्ने थियो। सर्वसाधारण मानिसका लागि यस्ता शाश्वत सत्य सूक्तहरू पठनीय र जीवनबोधी वाणीका रूपमा रहन्छन् नै। वैयक्तिक तवरमा प्रत्येक दिन यस मन्त्रलाई स्मरण मात्र गर्ने हो भने पनि एउटा जीवनदायी सत्यले सधैं पछ्याइरहेको अनुभूति सबैमा प्राप्त हुने थियो।

मैले आफ्नो दुधे बालककालमा सर्वप्रथम धिप्रीको मधुरो उज्यालो देखेको हुँ। धिप्रीकै उज्यालो फिँजिएको मझेरीमा लड्दैपड्दै, वामे सर्दै, पाइलाले टेक्न थालेको हुँ। आँगनमा ओर्लने घामले त मलाई न्वारान संस्कार हुनु पहिल्यै छोइसकेको थियो होला-आमाले काखमा राखेर घाममा निस्केका बेला।

दिउँसो घाम र साँझमा धिप्रीको उज्यालोको अनुभव गर्दै हुर्किएँ म। मैले अक्षर यात्राको थालनी पनि धिप्रीको उज्यालोसँगै गरेको हुँ। पछि आएर बिजुली बत्तीको पनि अनुभव हुन थाल्यो। धिप्री छुट्यो। घामको उज्यालोको अनुभव उस्तै छ। दशकौंदेखि मेरा साँझहरू भौतिक रूपले बिजुलीमय भएका छन्।

आँखाले देख्ने र अनुभव गर्ने उज्यालोबाट जीवनगति मन्दमन्द चलिरहेकै छ। समयको व्यतीति भने तीव्रगतिमा भइरहेको छ। अन्तज्र्योतिको चहकिलो उज्यालोको अनुभव गर्न भने आजसम्म पाएको छैन, सकेको छैन। शब्दका सतही अर्थ लाग्ने वाक्यहरू जति कथुर्‍याए पनि ती गुदीबिनाका फोस्रा फलसिवाय केही होइनन्।

घरका कोठालाई बिजुलीमय बनाउन मैले आफ्नो धन, बुद्धि, बल सबै खर्चिएँ तर मनभित्रका कोठालाई उज्यालो पार्न भने मैले कुनै ठोस काम र संकल्प गरेको छैन। तममय मन बोकेर ज्योतिर्मय जीवनको आनन्दप्राप्ति कहाँ सम्भव छ र!

प्रकाशित: २२ भाद्र २०८१ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App