पछाडिबाट कसैले मेरो हात च्याप्प समातेर तान्यो। मैले केही देख्न र बोल्न नपाई अर्थात् हारगुहार नगर्दै। टेकेको पाइला अचानक माटो धस्सिएर लड्न लाग्दा पाएको सहारा ज्यान–प्राणको त्राण भइदियो। मेरो दायाँ हात जमिनमा र बायाँ हात कसैको हातको सहारामा लडेर झर्नबाट बाँचेको क्षण थियो।
मैले केही सोच्नै सकेको थिइनँ। अनौठा दृश्यहरूले मोहनी लगाउन थालेपछि आँखा भुइँमा थिएनन्। पाइला हतारमा लम्किँदै थिए। हेर्नुको भोक, पुग्नुको धोको र रमाउनुको खुसीले मन हावासरी उडिरहेको थियो किनभने बल्लतल्ल म सगरमाथा आधार शिविरनजिक पुग्दै थिएँ।‘अलि होस गरेर हिँड्नुपर्छ यस्तो बाटोमा’ मेरो कानमा मायाले भरिएको आवाज गुन्जियो। फर्किएर हेर्नसम्म सकिएको थिएन। कतै, कहिल्यै नसुनेको अपरिचित आवाज भए पनि त्यसमा मायाको मिठास मैले तुरुन्तै महसुस गरेँ। कहिल्यै पनि नभेटिएको र नदेखिएको अनि कुनै भलाकुसारीसमेत नगरिएको अपरिचित मान्छेको यति शुभेच्छा र सहारा कम महत्त्वको थिएन त्यसबेला।
एकनासको यात्रा विदेशीहरूकै हुलमुलमा ती नेपालीको बोली र व्यवहारले मेरो मन र मुटु छोयो। सम्झेँ– ‘सुन्दरताले आँखालाई छुन्छ। मनलाई यस्तै बोली र व्यवहारले छुने रहेछ।’
मेरो मुखबाट कुनै बोली नै निस्किएन। म एकछिन निःशब्द भएँ। वातावरणमा पनि एकनासको सन्नाटा व्याप्त थियो। चिसोबाट बच्न यात्रीहरू न्यानो लुगामा गुम्सिएर हिँडिरहेका थिए। त्यहाँ कसले कसको वास्ता गर्ने र ? सबै जना आआफ्नै धुनमा रमाउँदै यात्रारत थिए। धन्न तिनले मलाई उठाइदिए। उछुट्टिएर पर पुगेको लट्ठी ल्याएर दिए।
ढुङ्गैढुङ्गाको बाटो। बगरजस्तो पनि, ढुङ्गाको थुप्रोजस्तो पनि। अर्कोतिर बालुवा, गिटी बिस्तारै झरिरहेको। यिनै ढुङ्गा, बालुवा र गिटीले बनेको लामो लेकाली धरातल। जसको दुवै किनारामा हिउँ जमेका ‘खुम्बु आइसफल’का थुप्रा। त्यही चुलिएको धरातलमाथि टेकेर यात्रीहरू आधार शिविर पुग्छन्, फर्किन्छन्।
सगरमाथा आरोहण गर्नेहरू हिँड्ने बाटो पनि यही रहेछ। अहिले देखिएको आइसफलमाथि हिमालबाट हिमनदी बग्दै आएर ‘बेसक्याम्प’ मा जमेको त्यही थुप्रो हो। रुखविरुवा, झारपातको कतै कुनै चिनोबानो देखिँदैन। देखिन्थ्यो भने हिउँका जङ्गल। सेताम्मे हिउँका खातैखात। लहरै पङ्क्तिबद्ध परेड खेल्न तयार भइरहेझैं। केवल चट्टानका उरुङखात रास, हिउँका चाकैचाका तर यही थियो सगरमाथा आधार शिविर पुग्ने बाटो। बाटाको हविगत हेर्दा लाग्यो, यी बिछट्टका प्रकृतिले मात्रै हो पटक–पटक लोभिएर धन्न विदेशीहरू आउने। यहाँको बाटोघाटो हेर्दा हिँड्न बानी नभएका मानिसले पाइला लम्काउनै सक्दैनन्।
‘खै तपाईंका साथी अनि गेस्टहरू ?’ उनले मलाई हेर्दै प्रश्न गरे।
‘कोही छैनन्। म एक्लै हो,’ मैले भनेँ।
‘एक्लै? यहाँसम्म तपाईं एक्लो यात्री ?’ तिनले अचम्म मान्दै मलाई प्रश्न गरे।
‘हो, म काठमाडौंबाट यहाँसम्म एक्लै आएको,’ मैले लुगा टकटक्याउँदै भनेँ।
‘यहाँसम्म यसरी एक्लै आउनुको कारण के हो? तपाईको केही उद्देश्य होला त्यसो भए ?’ उनको प्रश्न स्वाभाविक थियो किनभने यस्तो खर्चिलो र कठिनको यात्रामा नेपालीहरूले सितिमिति यात्रा गर्दैनन्। गरिहाले पनि केही फाइदा हुने भयो भने मात्र गर्छन्।
‘उद्देश्य भनौं कि मनको चाहना वा इच्छा भनौं, सगरमाथा शिखर पुग्नु त कल्पनाबाहिरको कुरा भयो तर आधार शिविरसम्म पुगेर फर्किने मेरो धोको हो,’ मैले यत्ति भनेँ।
‘साथीसँग मिलेर आउनुभएको भए अझ राम्रो र रमाइलो हुने थियो।’
‘यात्रामा सबैको मन मिल्नुपर्छ तर त्यस्तो नहुँदोरहेछ। अहिलेसम्म मलाई ठिकै छ। राम्रै छ। एकदमै रमाइलो लागिरहेछ।’
मेरो कुरा सुनेर उनले तुरुन्तै फेरि भने, ‘कति दिन भयो हिँडेको?’
‘सायद एक हप्ता भइसक्यो होला।’
‘ओहो ! भनेपछि तपाईंको हिँडाइमा पर्यटकहरूलाई १२ दिनको पदयात्रा तपाईंले पूरा गरिसक्नुभयो,’ उनले एकछिनपछि फेरि मलाई नियाल्दै भने, ‘भनेपछि तपार्इं मजाले हिँड्न सक्नुहुनेरहेछ। तैपनि यस्तो ठाउँमा एक्लैदोक्लै हिँड्नु हुँदैन। धेरै होसियारी हुनुपर्छ। अनायासै आपत्विपत् आइपर्न सक्छ। केही भएन भने त केही हुँदैन। भइहाल्यो भने अप्ठ्यारो हुन्छ।’
उनी भनिरहेका थिए– ‘यता खुम्बु भेगमा बाघभालु, चोरीडकैतीको त कुनै डर हुँदैन तर हिँड्दा आफ्नो स्वास्थ्य खराब भइदियो भने ठुलो आपत् पर्छ। खैरेहरू आधा बाटो आइसकेर पनि मास्तिर जान नसकेपछि हेलिकोप्टर मगाएर फर्किन्छन्। धेरै खर्चिलो छ यो ठाउँ। तपार्इंले खानपानको मूल्य तिर्दा नै थाहा पाइसक्नुभयो होला।’
‘धेरै महँगो रहेछ तर सबै बोकाएर ल्याएको हो। खानु र बास बस्नु त परिगयो। जति महँगो भए पनि तिर्नै परिहाल्यो। हैन त ?’ मैले भनेँ।
‘यस्तो महँगो र कठिनको ठाउँमा आउने आँट गर्नु पनि ठुलो कुरा हो। हाम्रो त बाध्यता र पेसा पनि यही हो। यही बाध्यता र पेसाले गर्दा विश्वको सबैभन्दा अग्लो एभरेस्टमा पाइला राख्ने अवसर पनि मैले पाएको छु तर तपाईं एक्लै यति ठुलो चाहना राखेर एक्लै यसरी आफैं खर्च गरेर यहाँसम्म आउनुभयो। मलाई त गजब पनि लाग्यो र माया पनि जाग्यो,’ यति भनेर केही छिन उनी आफ्नै समूहसँग कुरा गर्न व्यस्त भए।
‘कृपया फोटो खिच्दा बाटोको अवस्थाको पनि राम्रो ख्याल गर्नु,’ आफ्नो समूहलाई भन्दै उनी फेरि मसँग कुरा गर्न थाले, ‘यसपालि मेरो ग्रुप साह्रै ज्ञानी छन्। धेरै कुरा बताउनै पर्दैन। त्यही भएर तपाईंसँग कुरा गर्न पाइयो।’
नेपाल आउने अधिकांश पर्यटकहरूले गुगलमा खोजेर पर्याप्त जानकारी हासिल गरेका हुन्छन्। कतिपयलाई ‘गाइड’लाई भन्दा पनि बढी जानकारी हुन्छ रे।
‘यो मेरो अहोभाग्य हो। यसरी तपाईंको सहयोग र यति धेरै जानकारी पाउनु, जुन मेरा लागि अत्यन्तै आवश्यक थियो। केही लेख्नका लागि मलाई खुराक पनि चाहिएको थियो’ भन्दै मैले उनीसँग अरू थप कुरा जान्ने उत्सुकता देखाएँ। ‘यहाँ अघि माथिको भन्दा झन अप्ठ्यारो बाटो छ है। बिस्तारै पाइला सार्नुहोला’ भन्दै उनी अगाडि दौडिएर आफ्नो समूहका पाहुनालाई होसियारी अपनाउन सम्झाउन गए। कसैको हात समातेर बाटो कटाए।
हामी हिँड्दै आधार शिविर नजिक पुग्न लागिसकेका थियौं। वरिपरि अग्ला हिमाल हाम्रो चालचरित्र नियालिरहेझैं लाग्थ्यो। हिमालको एकदमै नजिक खोँचमा हामी हिँडिरहेका थियौं। अगाडि हिउँ जमेर निलो रङको आहालतिर औंल्याउँदै उनले भने, ‘खुम्बु आइसफलको एक भाग हो त्यो। यस्ता ससाना तालहरू यहाँ धेरै छन्। यी सबै एभरेस्टदेखि बग्दै आएका हिउँका पानी हुन्। यसै ठाउँमा तीन महिनासम्म पर्यटक, एभरेस्ट आरोही र होटल व्यवसायीहरूले भरिभराउ हुन्छ।
’‘हामीकहाँ अनगिन्ती गन्तव्य छन् तर राम्रो र व्यवस्थित बाटो छैन। घुम्ने ठाउँहरू धेरै छन् तर सुविधा छैन,’ मैले मेरो अनुभव उनलाई सुनाएँ। वास्तवमा राम्रो बाटोघाटो मात्रै हुने हो भने धेरै नेपालीहरूले पनि आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सक्छन्।
उनले बिस्तारै भने, ‘तपाईंको कुरा सही हो तर यता बाटो बनाएर पनि सम्भवै छैन। यौटा साल मर्मत ग¥यो, अर्को साल नलाग्दै उस्तै भइहाल्छ। लोबुचेबाट आउँदा देख्नुभयो होला नि बाटाका अवस्था। कस्तो विजोग छ त्यहाँ। हरेक सिजनमा बाटो बनाएको हुन्छ। बाढीले ढुङ्गा थुपारेर हिँड्ने बाटो नै हराउँछ। एभरेस्ट चढ्ने बाटो पनि त्यस्तै हो। एक सिजनमा बाटो बनाउँदै डोरी टाँग्दै गयो, भ¥याङ राख्दै गर्दानगर्दा त्यहाँ हिमपहिरोले क्षतविक्षत गरिसकेको हुन्छ।’
यसरी सगरमाथा आरोहीसँग आधार शिविर जाँदाका संलाप निकै प्रिय भइरहेका थिए। सोलु, सल्लेरीका उनको नाम रहेछ दावाछिरिङ शेर्पा। तर अहिले उनी प्रायः लुक्ला र काठमाडौंतिरै बस्दा रहेछन्।
सगरमाथा आरोहणको समयमा आफ्ना समूहहरूलाई लिएर सगरमाथा चढ्ने। निकै वर्षपछि उनका जर्मन पाहुना नेपाल आएका रहेछन्। तिनैलाई घुमाउन उनी यता आएका। जर्मन पाहुनाहरूले डेढ महिना लामो पदयात्रा अभ्यास गरेर नेपाल आएका रहेछन्। त्यही भएर ‘हाई अल्टिच्युड’ र अन्य कठिनाइलाई उनीहरू सजिलै परास्त गर्न सकेका थिए। उनले बताएअनुसार ७० देखि ९० दिनसम्ममा आरामले ‘एभरेस्ट समिट’ सकिन्छ।
‘हामीलाई यहाँसम्म आउन त गाह्रो छ भने सगरमाथा शिखरसम्म महिनौं लगाएर पुग्न त झन् धेरै नै कठिन होला नि। तपाईंले कतिचोटि चढिसक्नुभयो एभरेस्ट? हामी जान सक्छौं त्यहाँसम्म?’ मैले उनीसमक्ष जिज्ञासा राखेँ।
‘सक्नु त सकिन्छ तर धेरै क्लाइम्बिङ अभ्यास गर्नुपर्छ। साहस र हिँड्न सक्छु भन्ने आत्मबल हुनुपर्छ। ज्यान माया मारेर जानुपर्छ नि। तर एभरेस्ट पुगेपछिको हर्षले सबै पीडा छिनभरमै बिर्सिन पुगिन्छ।
आहा ! त्यो क्षण सम्झिँदा मात्रै पनि कति आनन्द’ भन्दै उनी एकछिन सगरमाथाकै थाप्लोमा पुगेको पल सम्झेर भावविभोर भए।मैले उनको रसिलो, भरिलो, हँसिलो अनुहार नियालेँ। त्यहाँ सर्वोच्च शिरको सौन्दर्य मुसुक्क मुस्काइरहेको पाएँ। झलमल्ल सगरमाथा परिवेश दृश्यमान भइरहेजस्तो लाग्थ्यो। त्यहाँ कुनै फूलहरू फुलिरहेका थिएनन् तर रङ्गीचङ्गी फूलहरूको उपस्थिति र तिनको मगमग सुवास फैलिरहेको अनुभव गरेँ।
आखिर हो, मान्छेले खोजेको सुख र शान्ति यही प्राप्तिकै लागि हो। यतिसम्म सन्तुष्टिकै निम्ति हो। त्यसमाथि हप्ता दश दिनसम्म लगातार उकाली र ओराली गर्दै तीन हजारदेखि पाँच हजारसम्मको उचाइमा आफ्नो शरीरलाई अनुकूल राख्दै यात्रा गर्नु कम चुनौती र धैर्यको काम होइन।
उनले चौथोचोटिसम्म सगरमाथा टेकेका रहेछन्। पाँचौं आरोहण यात्रामा जाँदा केही आरोही बिरामी परेर बिचबाटोबाटै फर्किनुपरेछ। फेरि हिमपहिरोले बाटो बिगारिदिएछ। केही दिन पर्खिंदा पनि मौसमको खराबीले यात्रा रोक्नु परेको रहेछ।
उनले बताएअनुसार सानै उमेरदेखि एभरेस्ट चढ्ने सपना अधिकांश शेर्पाहरूको हुन्छ। संसारकै आकर्षणको केन्द्रविन्दुमा पाइला टेक्नु र त्यहाँबाट संसार हेर्नु भनेको कहाँ सजिलो हुन्छ र ! तर जब असजिला कुराहरूलाई टेकेर गन्तव्यमा पुगिन्छ नि, हो त्यही नै स्वर्ग हो। हामी र विदेशीहरू सबैले खोजेको सन्तुष्टि, आनन्द त्यही हो। त्यसैले हाम्रो देश स्वर्ग हो। कति विदेशीहरू एकपटकको यात्राले चित्त नबुझेर पटक–पटक नेपाल आइरहन्छन्। नेपाल आएपछि यहाँको प्राकृतिकपनले खुब रमाउँछन्।’
जति उचाइ उक्लिँदै गयो, उति सेता हिमालय पर्वतका ताँती र सेता बादलबाहेक अरू धेरै कुरा देखिँदैन। तीव्र वेगले चल्ने हावाको प्रवाहसँग सामना गरिरहनुपर्छ। हिमपात, हिमपहिरोसँग जोगिएर हिँड्नुपर्छ। अर्कै संसार, अर्को महादेशमा पुगेको अनुभव हुन्छ। नयाँ वातावरण, नयाँ अनुभवले मान्छे भावुक बन्छन्। कम बोल्ने, धेरै सोच्ने हुन्छ। रातिको समयमा पनि हिँड्नुपर्ने हुँदा सपना पनि कमै देखिन्छ। र, दिउँसोको समयमा प्रायः आराम गरिन्छ।
सगरमाथा आरोहण अनुभव सारांशमा उनले यसरी सुनाइरहेका थिए। ‘सगरमाथाको चुचुरोमा अहिलेसम्म जति पर्यटक पुगेका छन्, शेर्पाहरूले नै डोरीले तानेर सगरमाथा चढाइदिएका हुन्। वास्तवमा ती आफैंले सगरमाथा चढेका होइनन्। उनीहरू शेर्पाबिना सगरमाथा चढ्न सक्दैनन्। म पनि पहिले भारी बोकेर गएको थिएँ। म जाँदा मैले पनि त्यसै गरेको हो,’ दाबीका साथ उनले मलाई बताए।
यति जानकारी दिँदै उनले फेरि भने, ‘आरोहणका क्रममा शेर्पाहरू आरोहीसँगै आरोहण गर्ने गर्छन्, यस क्रममा उनीहरूले आरोहीको अक्सिजन तथा अन्य सामग्रीहरू बोक्ने र आरोहीलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने गर्छन्। त्यसैले शेर्पाबिना आरोहण असम्भव छ। यहाँ अवसरहरू अथाह छन् तर लाभ न्यून छ।’
उनले ‘एभरेस्ट समिट’बारे धेरै जानकारी दिए। आरोहणभन्दा अघि नै सगरमाथाको चुचुरोसम्म शेर्पाहरूले नै डोरी टाँगेर आरोहीको बाटो बनाउँछन्। खुम्बु आइसफलदेखि क्याम्प दुईसम्मको बाटो बनाउने शेर्पाहरूलाई ‘आइसफल डाक्टर’ उपनामले चिनिन्छ। त्यसभन्दा माथि छुट्टै कम्पनीले टेन्डरमार्फत डोरी टाँग्ने काम गर्छन्, जसलाई ‘रोप फिक्सिङ टिम’ भन्ने गरिन्छ।
शेर्पाहरूले हिमाल आरोहणलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको र विदेशीहरूले पनि शेर्पालाई धेरै विश्वास गर्ने गरेको उनले बताए। तर हिजोआज हिमालबाट शेर्पाहरू बिस्तारै विस्तापित हुँदै अमेरिकी तथा युरोपेली मुलुकहरूतिर पलायन हुँदै गएकोमा उनको पनि चित्त दुखेको रहेछ।
त्यस्तै शेर्पा भाषा पनि कम हुँदै गइरहेको थाहा भयो। संसारले चिनेको सगरमाथा र यहाँसम्म आउने पदयात्री तथा सगरमाथा आरोहीहरूको नेतृत्व गर्ने र अत्यावश्यक सामान बोक्ने भरिया शेर्पाहरूका लागि सरकार, होटल व्यवसायी र पर्यटकबाट खासै सुविधा नभएको गुनासो पनि उनले सुनाए।
प्रकाशित: १५ भाद्र २०८१ ०७:५२ शनिबार