२०३५ सालदेखि अक्षरको कारखानामा निरन्तर घोत्लिएर अकल्पनीय दृष्टि पस्किरहको सुपरिचित नाम हो - इन्द्रकुमार श्रेष्ठ सरित्। नेपाली समाजको कलेवरलाई सधैं सूक्ष्म तरीकाले हेर्ने सरित समाजका हरेक आयामसँग साक्षत्कार गरिरहन्छन्। हरेक समयसँग अन्तरक्रिया गरिरहन्छन्। हरेक समयसँग संवाद गरिरहन्छन्। हरेक समयसँग एउटा तराजु बोकेर हिंडछन् र त्यस समयको आयतन बताइदिन्छन्। हरेक समयसँग सूक्ष्म दृष्टि राख्छन् र त्यसलाई चिरफार गर्छन्। अनि त्यही समयसँग कुस्ती खेल्छन्, अनि त्यो कुरुप समयलाई यसरी पछार्छन् कि त्यो समयले धूलो टक्टक्याएर उठने मौका पाउँदैन।
यसरी समयरेखामा हरपल कुदिरहने स्रष्टा इन्द्रकुमार श्रेष्ठ सरित् नेपाली साहित्यमा कछुवाको गतिमा दौडने सष्टा हुन्। ४६ वर्षदेखि कुदिरहेका छन्, अनि जितिरहेका छन् त्यो दौडको यात्रामा।
बहुआयाममा सर्जिना उमार्ने हुटहुटी राख्ने सरित्ले नेपाली साहित्यका प्रायः सबै विधामा कलम चलाएका छन्। गीत, गजल, कविता, बालसाहित्य, उपन्यास, कथा, लघुकथा, समीक्षामा कलम चलाएर साहित्यिक पत्रकारिता, सम्पादन तथा लेखनमा उज्यालोको प्रतीक्षा गरेर कलम चलाउने सरितकाे पछिल्लो कृति एक मुठी घाम (लघुकथासङ्ग्रह, २०८१) हो।
यसअघि उनले दुई कवितासङ्रग्रह (पूर्व क्षितिज २०४६), समर हाँक्ने समय (२०७४ ), छ कथासङ्ग्रह (दिदीको देवर २०५०), जस्केलाबाट चिहाउने सूर्य (२०५६), एकजोर फूल घोडा (२०५६), सरित्का प्रतिनिधिकथाहरू (२०७४), ऋतु फेरिंदै जान्छ (२०७४) र ड्राइभर दिदी (२०७४), एउटा उपन्यास (अर्धसत्य २०६२), चार बालसाहित्य समेत प्रकाशित छन्।
सरितको पछिल्लो कृतिएक मुठी घाम (लघुकथासङ्ग्रह २०८१) यस्तै हाम्रो यो समयको रङ्ग हो जो जति पोते पनि कहिल्यै सकिंदैन। समय र सत्यको अनन्ततासँगै अर्थको अनन्तता पनि जीवन्त त रहने नै भयो। यही अनन्ततामा पिङ्ग खेलेको यो समय र सन्दर्भलाई सुनौला अक्षरहरूले च्याप्प समातेर राखेका छन् सरितले यस कृतिमा। अनि पाता फर्काएको यो समयका कुरूप आयामहरूलाई। ठिंगुरामा हालेका छन् यो समयका असत्य वचनहरूलाई। पुत्ला दहन गरेका छन् भ्रष्ट जिजीविषाहरूलाई।
सरितका ४१ लघुकथा समावेश भएको एक मुठी घाम (२०८१) आफैंमा प्रतीकात्मक छ। घाम उज्यालोको प्रतीक पनि हो, घाम लोककल्याण र समृद्धिको अलंकार पनि हो। त्यो एक मुठी मात्रै छ, पूर्ण छैन। दुईमुठी हुन सकेको छैन। समाज अनेक प्रकारका राजनीतिक विकृत मनहरूले पोतिएको छ र त्यो डङडङती गन्हाएको छ। रछ्यान भएको छ। यो साफ गर्नु जरुरी छ। उनी साफ गर्न सरफ लिएर निस्किएका छन् यस कृतिमा। सरितले ४१ सरफले दलिरहेछन् यो समयको फोहोरलाई। अनि हामी हेरिरहेका छौं अक्षरहरूमा। गधा धोएर गाई हुन्छ कि हुन्न, सरितलाई पनि थाहा छैन, न त हामीलाई नै थाहा छ। तर धुने कर्म जारी छ अक्षरहरूमार्फत्। सरित्का ४१ लघुकथामा पाइने आम भाव यही हो।
उनको पहिलो कथा राजनीतिमा नेताको मतिभ्रष्टता छ, नारीमाथिको कुदृष्टि छ अनि खुराफाती व्यवहारलाई राजनीतिको नाम दिएर राजनीति शब्दलाई कलंकित बनाउनेप्रति मुङ्ग्रो उजाएका छन् सरितले। अर्को कथा पूर्वाभ्यासमा सच्चा देशभक्त कोही छैनन्। नेताजीमा नेताको नारीमाथिको कुदृष्टि छ। काकाकुलको तिर्खामा ‘मेलम्ची मिथक’माथि प्रहार छ।
मूलघरको मूलढोकामा पार्टी फुटाएर राजनीतिको ‘पाँगो खेती’ गर्नेहरूलाई ढाडमा हानेका छन् सरितले। फेरिन्छन् मुहारहरूमा मन्त्री भएपछि आफ्नो इतिहास, आफ्ना अतीतका साथीहरू, कार्यकर्ताहरू भुल्ने पाखन्डीहरूमाथि बञ्चरो प्रहार छ। आफ्नै सांसदले बिर्खेको बिर्खबहादुरको गरिवी र तिरस्कारको कथा छ बिर्खबहादुरमा।
त्यसैगरी एक मुठी घाम मा नारी चेतनाको महत्त्व देखाएर भाग्यवादलाई नकारिएको छ। घाम आफैंमा एउटा बिम्ब हो र त्यो कम्युनिष्ट पार्टीको चुनाव चिन्ह पनि हो। सक्कलीनक्कलीमा केन्द्रीय नेतालाई पाता फर्काइएको छ, जसले ‘पार्टीले कसलाई मात्र हेरेर साध्य हुन्छ?’ भनेर बाट पन्छिने प्रयास गरिरहेछ। सम्झौतामा कर्मचारी जगतका कुरूप आयामलाई पस्किइएको छ।
देश खोज्दै मा ‘देश रहे मात्र पार्टी रहन्छ’ भन्ने सच्चा देशभक्तको सुझावलाई नजरअन्दाज गर्ने स्वाँठ नेताको पुत्ला दहन गरिएको छ।
दशैं त मा ‘भोका, निमुखाहरूका लागि लडेको (सहिद?) बाउको सानो छोरो मतिराम’ को अनिश्चित भविष्य कोर्ने राज्य सञ्चालकहरूलाई झापट हानिएको छ। नागरिक सर्वोच्चता कायम गर्न उत्साहित आव्हान छ सर्वाेच्चतामा।
माओवादीले विगतमा एउटा यस्तै शीर्षकको असफल आन्दोलन पनि गरेको थियो। साहसमा ‘तिरस्कृत व्यक्तिहरूले देश हाँकेको’ गुनासो छ। धर्ममा पनि राजनीति छ। राजनीतिका उटपट्याङले सीमा नाघेको छ।
नानू, अब त मान्देउमा राजनीतिका पात्रहरूलाई बच्चाको बिम्बमा उतारेर ‘जसरी पनि मन्त्री बन्छु’ भन्ने बालहठले चलेको यो समयको राजनीतिक आयाम छ। भोलिको दिनमा उज्यालोको खोजीमा निस्किएका क्रान्तिकारीहरूको सपना छ। नाच्ने बूढामा दश वर्ष लडेको एउटा समर्पित कार्यकर्ताको सङ्कल्प छ। त्याग छ।
नयाँ मोडमा उभिएरमा जनयुद्धमा लडेकाहरूको पीडा छ, खासगरी महिलाहरूको अझै धेरै पीडा छ। विचारमा निष्ठावानमा पार्टीमा लागेर अकुत कमाउनेहरू पनि विचारमा निष्ठावान् भएको दाबी गरिरहेका छन्।
छ्या! त्यो सन्देशमा एउटा क्रान्तिकारीले सुरक्षा गरेर बचाएको एउटा दस्तावेज छ, त्यो भनेको आस्था हो। भरोसा हो। आदर्श हो। निष्ठा हो। बचाएका छन् त अहिलेका नेतृत्व गणले? नदीको विशाल छातीमामा एउटा जनयुद्ध लडेको लडाकुको संघर्ष छ, जसले नदीपार गरेर जीवन जोगाउनु छ। त्यो नदी एउटा बिम्ब हो संघर्षको। वैचारिक दृढता र कमरेड दमयन्ती दुवै कथामा कम्युनिष्ट पार्टीमा काम गर्ने ‘क्याडर’ हरूको सपना र भ्रम छ।
घामको स्वागतमा दलको एउटा भातृ संस्थाले गरेको कामको स्वागत छ। म के गरूँ? मा जागीर खान नपाएकी एउटी नारी पात्रको द्विविधाको कथा छ। घाइते श्रीमतीमा आफ्नै कार्यकर्ता बिर्सिन उद्दत मन्त्रीको कथा छ। चतुरमान चौधरीमा गणतन्त्रवादी पार्टीमा लागेको एउटा गरिव मान्छे साततले सपिङ मल बनाउने ल्याकत राख्छ। गणतन्त्रको योभन्दा कुरूप चित्र के होला?
हात्तीको खाने र देखाउने दाँत मा सदन, सडक र पार्टीमा फरक फरक अभिव्यञ्जना पस्किएर दुनियाँलाई मूर्ख बनाइरहेका छन्। कर्तुतमा समाज कल्याण मन्त्रीले ‘धानखेत मासेर भ्यूटावर बनाउने’ विकासवादी नीतिको पाता कसेका छन्। असहमतिमा ‘मार्क्सवादीय सौन्दर्यशास्त्र’ बाट अभिप्रेरित प्राज्ञले साहित्य प्रतिष्ठानको नियुक्तिलिँदैनन्। साहित्यमा राजनीति हावी छ।
कलमको आवाजमा देशलाई आवश्यक पर्दा कलमवीर लेखकहरूको भूमिक अहं हुन्छ भन्ने छ। राजनीतिमा लागेकाहरूको गैह्रजिम्मेवारीपन नोकरी कथामा छ। प्रतिकार ‘समितिको सदस्यलाई’ कला प्रतिष्ठानको सदस्य बनाइएको छ नियुक्ति कथामा।
हिजोआजमा विगत र वर्तमानको कम्युनिष्टहरूको राजनीतिक विरोधाभाषलाई झापट हानिएको छ। चड्कनमा आफू मार्क्सवादी महल ठड्याउनेहरूलाई व्यंग्य गरिएको छ। विनापारिश्रमिक डविङ र रेकर्डिङ गर्ने अग्रगामी सोच राख्नेको कथा छ इमान्दारितामा। व्यावहारिक, इमान्दार मन्त्रीज्यू,गणतन्त्र आएर नै कथाहरूमा राजनैतिक चेतना र व्यंग्य छ।
सरितका कथाहरूमा कथाका तत्त्वका हिसाबले अब्बल छन्। भाषाबोधगम्य छ। शैली कतै बिम्ब छ त कतै अलंकार। धेरै व्यंग्य छ, अनि ‘ड्रामेटिक आइरोनी’ छ। त्यो भनेको जसले ‘भ्रष्टाचार गर्नु हुँदैन, गर्नेलाई कार्वाही हुन्छ’ भन्छ, तर उही भ्रष्टचारको नाइके हुन्छ। सरित्का कथाले यही मियो पक्रिएका छन्।
आज धेरै जटिल कथाहरूको सिकार छ यो समय। यो समाज। यो सभ्यता। समाज परिवर्तनमा देखिएका रङहरूका कथा थुप्रै छन्। कति भनिएका छन्। कति भन्न बाँकी छन् अझै। हाम्रो समाजका नवीन अवयवहरू, कोलाजहरू, कलेवरहरू, प्रवृत्तिहरू र तिनका कथाहरू छन्।
आज वैदेशिक रोजगारीले ल्याएकाका थुप्रै काला धब्बा छन्। नारीको भावनामा ठेस पुगेका थुप्रै आर्थिक र सामाजिक पाटाहरू छन्।
रोजगारीका लागि विदेशिएका श्रीमानको पीडा, श्रीमानश्रीमती छुट्टिएर बस्नु पर्दाका मानसिक आतंकहरू लेखेर लेखी नसकिने छन्। भाँच्चिएका मनहरू थुप्रै छन्। कुँडिएका मनहरूको श्रङ्गखला ठूलै छ।
आजको साइवर युगले कोरेका रहस्यमय पाइलाका कथा थुप्रै छन्। सामाजिक सञ्जालले हँसाएका कथा छन्। रुवाएका कथा छन्। पारिवारिक जटिलताका थुप्रै कलेवर छन्। यी विषयहरू समेटिएर विषयको विविधता हुन पाएको भए झनै सुनमा सुगन्ध हुने थियो।
तर योचाहिं पक्का हो, सरितका यी लघुकथाहरू नेपाली लघुकथाका पङ्कतिहरूमा निकै मुस्कुराएर खडा हुने छन्। किनकि यी कथाले लिएको उचाइ हाम्रो समयले मागेको उचाइ बनेको छ। यो समयले के मागेको छ भनेर कसैले सोध्यो भने उत्तर र दिन सकिन्छ, ‘सरित्का कथाहरू पढ्नू’। बस्, अब यति भए समाज अघि बढ्छ। यसका अँध्यारा र कुरूप पाटाहरू स्वतःविस्थापित भएर जाने छन्। स्वतःनिस्तेज भएर जानेछन्।
समग्रमा सरित्का लघुकथाहरू यो समाजका बाछिटाहरू हुन्। यो समयका बाछिटाहरू हुन्। र हाम्रा प्रवृत्तिहरूका जीवन्त चित्र हुन्। र सबैभन्दा महत्वपूर्ण त उज्यालोको प्रतीक्षा छन् उनका कथा।
म यतिखेर उज्यालो होला भनेर पर्खिरहेछन् एउटा विसंगत पात्रझैं। त्यही भएर होला, सरितले आफ्ना कथाहरूमा ‘कम्रेड’ शब्दको पढी प्रयोग गरेका छन्, किनभने बढी मात्रामा घामको उज्यालो देख्ने चाह र हुटहुटी उनीहरूलाई नै हुन्छ भन्ने मिथक प्रयोग भएको छ।
धेरै कथा यही मिथकको वरिपरि फन्का मारिरहेका छन्। किनभने हाम्रो समय, समाज र सभ्यता कुरूप बनाउनेहरू तिनै हुटहुटीवालाहरू बनेका छन्। तिनलाई पाता कसेर सरितले आम पाठकप्रति न्याय गरेका छन्। यस्तो लाग्छ, राजनीतिका विसंगत नारा र लडाइँमा खेर गएको यो समयको क्षतिपूर्ति माग्ने हिम्मत सरितका कथाहरूले गरेका छन्। यो हिम्मत अब पाठकमा पनि जाने छ। र उज्यालोको आगमन हुने छ।
सरितलाई हार्दिक बधाई तथा शुभकामना छ।
प्रकाशित: ११ भाद्र २०८१ ०९:२२ मंगलबार