१९ पुस २०८२ शनिबार
image/svg+xml
कला

सङ्घर्षको सङ्कथन

पठन

जनार्दन खनाल जीवनलाई समाज–राजनीतिमा होमेका सङ्घर्षशील व्यक्ति हुन्। पण्डित परिवारमा जन्मेका, आफ्ना हजुरबुबाबाट रुद्री, चण्डीको पाठ कण्ठस्थ पारेका र धुलौटोमा कखरा सिक्दै हुर्केका खनालको जीवन पछाडि कम्युनिस्ट आन्दोलनमा सक्रिय भयो। आध्यात्मिक धारबाट उठेर अध्यात्मविरोधी कम्युनिस्ट आन्दोलनमा सक्रिय उनको जीवन पञ्चायती व्यवस्थाको विरोधमा होमियो।

झन्डै आधा शतकभन्दा बढी अवधि आफूले अविचलित रूपमा कम्युनिस्ट आन्दोलनमा बिताएको कुरा उनको आत्मसंस्मरणात्मक पुस्तक ‘संघर्षशील जीवन यात्रा’मा उल्लेख छ। खनालको भर्खरै प्रकाशित प्रस्तुत कृति पाँच खण्डमा विभाजित छ। ‘खण्ड एक’मा बाल्यकालका केही स्मरणयोग्य विषयहरू, गुरुकुल शिक्षा, विद्यालयको पढाइका समयमा राजनैतिक चेतनाको समेत जाँगर पैदा भएको कुरा उल्लेख गरिएको छ।

 अध्ययनकै क्रममा भारत प्रवास र नेपाल फर्क अभियानमा नेपाल फर्किएको घटनाका साथै केही घतलाग्दा घटनाहरू उल्लेख गरिएको छ। ‘खण्ड दुई’मा भूमिगत रूपमा पार्टीका विभिन्न कमिटीमा र जनसंगठनमा समेत आबद्ध भई संघर्ष, सामाजिक कार्य, प्रहरी हिरासत र कठोर यातनासहितका अनुभवहरू समावेश भएका छन्।

‘खण्ड तीन’मा २०४६ को जनआन्दोलन हुँदै जिल्ला कमिटीका विभिन्न जिम्मेवारीमा रहँदा राजनीतिक घटनाहरूमा आधारित संघर्ष, आन्दोलन र गोली काण्डसमेतका घटनाहरूको चर्चा रहेको छ भने विभिन्न तहका निर्वाचनका घटनाहरूसमेत समावेश गरिएका छन्।

 ‘खण्ड चार’मा नेकपा माओवादीले सञ्चालन गरेको द्वन्द्वकालका घटनाहरू, हत्याका शृङ्खला, सदरमुकाम आक्रमण, संविधानसभा निर्वाचनसम्बद्ध विशेष घटनाहरूसमेत समावेश गरिएका छन् भने ‘खण्ड पाँच’मा राजनीतिक पुर्जी, राजनीतिक भेट तथा सहमतिका दस्तावेश, माओवादी द्वन्द्वकालमा माओवादीबाट अर्घाखाँचीमा कारबाहीमा परेका एमाले कार्यक्रर्ताको नामावली तथा एमालेसम्बद्ध विभिन्न कमिटीहरू अनुसूचिका रूपमा राखिएका छन्।

भारतमा स्थायी भइसकेको नोकरी छाडेर र देशभित्र पनि धेरै वर्ष गरेको गाउँ पञ्चायतको सचिव एवं स्थानीय बहुमुखी विकास कार्यकर्ताको जागिर छाडेर राजनीतिक अभियानमा समर्पित खनालको प्रस्तुत पुस्तक पढ्दा एक कम्युनिस्ट योद्धाको जीवनका संघर्षको आरोह अवरोध बोध हुन्छ। पुस्तकको भूमिकामा प्रदीप ज्ञवालीले लेखेका छन्, ‘जनार्दन खनालको जीवन हेर्दा मलाई लाग्छ– यो जीवन एकजना राजनीतिक तपस्वीको जीवन हो। यस्तो तपस्वी, जसले आफ्ना व्यक्तिगत प्राप्ति या अप्राप्तिबाट निरपेक्ष रहेर मानव कल्याणका लागि आफूलाई समर्पित गरेको छ। त्यसै उद्देश्यका लागि अथक, अविश्रान्त र अनवरत हिँडिरहेको छ आफ्नै लयमा।’

यो पुस्तक सरल छ, बोधगम्य छ र निष्ठाका साथ लेखिएको छ। पुस्तक पढ्दा तपाईं हामीलाई यसले एकजना राजनीतिक अभियन्ताको जीवन यात्रासँगै अर्घाखाँचीको बदलिँदो समाज र त्यहाँको राजनीतिक इतिहासका महत्त्वपूर्ण पाटोसँग साक्षात्कार गराउँछ। समग्रमा यो पुस्तक अर्घाखाँचीको राजनीतिक चित्र उतार्नमै केन्द्रित छ।

पुस्तकमा समेटिएका उपशीर्षकहरूले खनालको जीवन राजनीतिक सङ्घर्षमा घोलिएको प्रस्ट्याउँछन्। यस पुस्तकले पञ्चायती व्यवस्थाका केही चरित्रहरू, कम्युनिस्ट पार्टीको भूमिगत जीवनका केही गतिविधिहरू, पञ्चायती व्यवस्था र राजतन्त्र विरोधी आन्दोलनहरूमा पुरानो पुस्ताले गरेको सङ्घर्ष र योगदान, माओवादी द्वन्द्वकालका मुख्य घटनाहरू र संविधानसभामा निर्वाचनका केही झलकहरूबारे आजको नयाँ पुस्तालाई जानकारी दिन्छ।

‘सङ्घर्षशील जीवन यात्रा’सँगै अर्थात् २०८१ सालमै प्रकाशित खनालकृत अर्को संस्मरणात्मक पुस्तक हो– परदेशबाट नेपाल हेर्दा। यो कृतिले अस्ट्रेलियाको भ्रमण अवलोकनको क्रमका सुखानुभूति, त्यहाँको विकास र नेपालले सिक्नुपर्ने विकास–सन्देश पस्केको छ।

अस्ट्रेलियाको नौ महिने पारिवारिक भ्रमणका क्रममा कोरोनाको महामारीका बेला पनि अस्ट्रेलियाको विशिष्ट पहिचानलाई सजग, सतर्क रही अवलोकन भ्रमण गर्दाका अनुभूतिलाई कृतिमा कैद गरिएको छ। अस्ट्रेलिया चारैतिरबाट समुद्रै समुद्रले घेरिएको देश हो। राज्य सञ्चालनको चुस्त प्रणालीका कारण अस्ट्रेलिया विकसित देश बनेको छ। त्यसैले त विश्वका धेरै देशका नागरिकको गन्तव्य बनेको छ अस्ट्रेलिया। अस्ट्रेलियामा काम गर्ने श्रमिकका जस्तै नेपाल सरकारले पनि रोजगार सिर्जना गरी नेपालको खानी, खनिज, जडीबुटी र विभिन्न धातुहरूले भरिएको सुन्दर नेपालमा लगाउने हो भने हाम्रो देश निकै विकसित र सुन्दर बन्न सक्ने विचार कृतिमा राखिएको छ।

‘अस्ट्रेलियाभन्दा नेपाल नै राम्रो’ शीर्षकको पाठमा खनालले भनेका छन्, ‘हाम्रो नेपाल यहाँको समुद्रबाहेक धेरै कुरा प्रकृतिले दिएको सुनको टुक्राजस्तै हो र छ। नेपालमा पूर्वाधार निर्माण र विकास त्यहाँ पहिल्यैदेखि सरकार सञ्चालन, राजनीतिक शक्ति र त्यो शक्तिको केन्द्रमा रहने प्रशासनका व्यक्ति र व्यवस्थापकहरूले नगरेकाले नभएको हो।

 ...मेरी दुलही माया खनालले मलाई त जति राम्रो काम दिए पनि जति धेरै पैसा दिए पनि यहाँ म बस्दै बस्दिनँ भनिन्। यहाँ मानिसहरू के देखेर पैसा खर्च गरी गरी आउँछन् र जिन्दगी भरी यहीं परिश्रम गरेर सबै परिश्रमको फल यहीं बुझाएर छोड्छन्। न त खाने कुरा राम्रोसँग ठेगानमा खाने, जतिबेला पनि दगुरेको दगुरै।’

यहाँ भएको वार्तालापमा नेपालको सौन्दर्यपक्षलाई देखाइएको छ। सच्चा मनले समर्पित भएर विकास गर्ने हो भने नेपाल अस्ट्रेलियाभन्दा छिटो विकसित हुने देश भएको सङ्केत यहाँ गरिएको छ। खनालको २०७९ सालमा प्रकाशित कृति ‘अर्घाखाँचीका केही फागु गीतहरू’ लोकसाहित्यिक कृति हो।

खनालका तीन कृतिको समग्र वैशिष्य निक्र्योल गर्दा उनी सांस्कृतिक विचारमा रङ्गिएका, राजनीतिक सङ्घर्षले खारिएका, देशको वैभवलाई चिनेका र विदेशको विकासमा देशको चित्र देख्ने भावुक सर्जक हुन् भन्न सकिन्छ।

प्रकाशित: १ भाद्र २०८१ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App