लघुकथा सर्जक डा. हरिप्रसाद भण्डारीको चौथो लघुकथासङ्ग्रह समयको स्पन्दन प्रकाशन भई बजारमा आएको छ। यसअघि उनका चिराग (२०४७), अविरल यात्रा (२०६३) र काला सर्पको खोजी (२०६७) लघुकथासङ्ग्रह प्रकाशित छन्। त्यस्तै अन्य विधाका दर्जन हाराहारीमा उनका पुस्तकहरू प्रकाशित भइसकेका छन्।
नेपाली लघुकथामा व्यङ्ग्य शीर्षकमा विद्यावारिधि गरेका भण्डारी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। लामो समय नेपाल सरकारको प्रशासन सेवामा रही अनुभव बटुलेका भण्डारी हाल सेवानिवृत्त अवस्थामासमेत साझा प्रकाशन सञ्चालक समिति सदस्य, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका महासचिव, नेपाल बालसाहित्य समाजका सल्लाहाकार लगायतका स्थानमा रही काम गर्दै आइरहेका छन्।
प्रश्रित प्रतिष्ठान नेपालले प्रकाशन गरेको समयको स्पन्दन लघुकथासङ्ग्रहमा विभिन्न विषयका ७० लघुकथा सङ्गृहीत छन्। नेपाली समाज र नेपालको प्रशासनिक व्यवस्था नजिकबाट बुझेका भण्डारीका लघुकथामा नेपाली समाजका विभिन्न क्षेत्रको चित्र प्रस्तुत भएको पाइन्छ। उनका लघुकथामा सामाजका विभिन्न क्षेत्रमा देखिएका विकृति, विसङ्गतिप्रति आलोचना गर्दै तिखो व्यङ्ग्य गरेको पाइन्छ।
नेपालको राजनीतिक अस्थिरता तथा विसङ्गतिपूर्ण अवस्था, प्रशासनको क्षेत्रमा राजनीतिले गरेको हस्तक्षेप तथा अस्तव्यस्तता, स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, धर्मका नाममा हुने गरेका ठगी, मानिसका व्यक्तिगत चरित्र, युवाहरूको विदेश पलायनले नेपाली समाजमा पारेको प्रभाव, दाइजो प्रथाले समाजमा निम्त्याएको समस्या, प्रेमलाई हेर्ने हल्का दृष्टिकोण लगायतका क्षेत्रमा देखिएका विसङ्गतिहरूलाई उनले लघुकथामा प्रमुख विषय बनाएका छन्।
उनका लघुकथाहरू सरल छन् तर गहन छन्। आकारमा लघु छन् तर भावमा पूर्ण छन्, पात्र थोरै छन् तर पात्रले संवादका माध्यमबाट लघुकथालाई अघि बढाउन सफल छन्। आकस्मिक रूपमा सुरु हुनु, जिज्ञासा, द्वन्द्व, संघर्षको अवस्था सिर्जना गर्दै अघि बढ्नु र केही क्षणमा चरम उत्कर्षमा पुगी कुनै सन्देश वा ध्वनि ध्वनन गरेर अन्त्य हुनु लघुकथाको विशेषता हो।
भण्डारीका लघुकथामा यी सबैखाले विशेषता रहेको पाइन्छ। उनका हरेक लघुकथा पठनीय छन् र ती लघुकथाले कुनै न कुनै सन्देश दिएका छन्। लघुकथा पढिसकेपछि पाठकले केही समय सोच्न बाध्य हुनुपर्ने अवस्था सिर्जना गरेका छन्।
वरिष्ठ समालोचकद्वय प्राडा दयाराम श्रेष्ठ तथा प्राडा कपिल लामिछानेका भूमिका समावेश गरिएको प्रस्तुत पुस्तकमा दयाराम श्रेष्ठले भण्डारीका लघुकथाहरूमा विषयगत विविधता छँदै छ, साथै व्यङ्ग्य र अन्योक्तिको प्रयोग पनि उचित किसिमले भएकाले मात्र होइन कथाको यस लघु रूपमा हुनुपर्ने विशुद्धता पनि अधिकाधिक कामय भएकाले सङ्गृहीत लघुकथाहरू पठनीय र स्तरीय बनेको उल्लेख गरका छन् भने कपिल लामिछानेले भण्डारीका लघुकथा पढ्दै जाँदा व्यङ्ग्य र त्यसैसित घुलित भएर अभिव्यक्त मन्द हास्यले सहृदयी पाठकको मनलाई मुसुक्क हँसाउँछ र चसक्क घोच्छ भनेका छन्।
समग्रमा समयको स्पन्दनमा समावेश भएका लघुकथाहरूले नेपाली समाजको चित्र उतार्न सफल भएका छन्, विविध विषय र सन्दर्भले गर्दा रुचिकर बन्दै गएका छन्। दयाराम श्रेष्ठले भने जस्तो उचित किसिमले व्यङ्ग्य र अन्योक्तिको प्रयोग गरिएका यी लघुकथा लेखनको मुख्य प्रयोजन सुसंस्कृत नेपाली समाज निर्माण गर्नका लागि कलात्मक तरिकाले सकारात्मक सन्देश प्रवाह गर्नु रहेको देखिन्छ।
प्रकाशित: ३१ श्रावण २०८१ ०७:१३ बिहीबार