व्यक्तिद्वारा आफ्नो जीवनक्रममा सम्पन्न सामाजिक कर्महरूलाई समाजले कालान्तरसम्म पनि स्मरण गरिरहन्छ। समाजलाई दिनेहरू नै समाजको मन अर्थात् जनमानसमा सम्मानित हुन सक्छन्। समाजबाट लिन मात्र चाहनेहरू जनमानसमा स्वार्थी पात्रका रूपमा चिनिन्छन्। ती समाजमा मर्यादित हुन सक्दैनन्। त्यसैले समाजको हृदयमा बस्न चाहने व्यक्ति मन, वचन र कर्मले समाजोपयोगी कार्यहरूमा अग्रसर रहन्छ। ऊ जीवित छँदा पनि मर्यादित रहन्छ, जीवनोपरान्त पनि समाजका लागि सुस्मरणीय रहिरहन सक्छ। मानिसको अमरत्वका साक्षी उसका सत्कर्महरू नै हुन्।
समाजको चौतर्फी उन्नति वा अवनतिका लागि मूलतः त्यस मुलुकको राजनीतिक नेतृत्व नै बढी जिम्मेवार रहन्छ। राजनीतिक नेतृत्व जनमुखी भयो भने समाजले परिवर्तन र उन्नतिको आधार प्राप्त गर्छ। सुदूर विगतको जहानियाँतन्त्रीय सामन्ती मनोवृत्तिको दबदबाका कारण मुलुकको सामाजिक स्वरूपले उज्यालो बन्ने अवसर पाएन।
त्यस अँध्यारो युगमा पनि कतिपय चेतनशील, साहसी र परोपकारी मानिसहरूले समाज परिवर्तनका लागि न्यूनाधिक योगदान दिइरहे। खासमा त्यस्ता सत्पात्रहरू नै समाजको सकारात्मक परिवर्तनका लागि अदृश्य तवरले समाजकै जगमा बसेका अचल शिलाहरू हुन्। जुन समाज त्यस्ता आधारशिलाद्वारा निर्मित हुन्छ, त्यो समाजको सामाजिक सांस्कृतिक स्वरूप उज्यालो र चहकिलो हुन्छ।
नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर पनि समाजसेवी, कर्मयोगी सत्पात्रहरू जन्माउने उर्वर माटो भएको ठाउँ हो। विगतमा बालगुरु षडानन्द अधिकारी, योगमायालगायतका साधकहरूले भोजपुरलाई कर्मभूमि बनाएको इतिहास छ। यस्तै, नारदमुनि थुलुङ, रामप्रसाद राईलगायतका स्वतन्त्रता सेनानीहरूले २००७ सालको जनक्रान्ति सफल पार्न ठुलो योगदान दिएको इतिहास पनि भोजपुरसँग छ। पूर्वी नेपालकै शैक्षिक उन्नयनका निम्ति बालगुरु षडानन्द अधिकारीको समर्पण मुलुककै लागि एउटा उदाहरण नै बनेको छ।
यहाँ भोजपुरकै एकजना समाजसेवी, शिक्षासेवी व्यक्तित्व बलराम पराजुलीको स्मृतिग्रन्थका सम्बन्धमा संक्षिप्त चर्चा गरिन्छ। बलराम पराजुलीको जन्म १९७२ सालमा भोजपुरको चरम्बी गाउँमा भएको थियो। उहाँका पिताजी विष्णुलाल पराजुलीले राणाशासनको उत्तराद्र्धतिर गुरुकुलीन परम्परालाई जीवन्त राख्दै आफ्नै सत्प्रयासमा, आफ्नै घरआँगनमा गाउँले दाजुभाइका छोराहरूलाई पढाउने व्यवस्था मिलाउनुभएको थियो।
जुद्ध शमशेरको पालामा तत्कालीन सामाजिक आवश्यकताअनुसार संस्कृति शिक्षाको पठनपाठनको सुरुवात चरम्बीमा भएको थियो। यस सुकर्मका अग्रणी विष्णुलाल पराजुली हुनुहुन्थ्यो। उहाँले १९९० सालदेखि नै आफ्नै घरमा गाउँका केटाहरूलाई पढाउने प्रबन्ध मिलाउनुभएको थियो। २००४ सालदेखि भने गाउँमा विद्यालय नै खोलेर स्थायी तवरमा नै पढाउने व्यवस्था गर्नुभएको विवरण उहाँका सुपुत्र बलराम पराजुलीद्वारा लिखित संस्मरणबाट अवगत हुन्छ।
त्यसबेला नै आधारभूत तवरमा संस्कृतका साथै अंग्रेजीको पठनपाठन पनि सुरु गरिएको जानकारी प्राप्त हुन्छ। त्यसताका गाउँमा अंग्रेजी पठनपाठनका विरोधीहरू थिए तर ती बिस्तारै सेलाउँदै गए। अंग्रेजी, संस्कृत र नेपाली विषयमा पठनपाठन हुँदै आयो। २००७ सालभन्दा पहिलेसम्म विष्णुलाल आफैंले गाउँमा स्थापित विद्यालयलाई सञ्चालन खर्च बेहोरेर जीवित राख्नुभएको थियो। पिताजीका कर्मचिह्नलाई पछ्याउँदै बलराम पराजुलीले २०१० सालदेखि चरम्बीमा स्थापित अरूणोदय प्राविको संस्थापक सचिव भएर काम गर्नुभयो।
पछि आएर २०२४ सालमा स्कुललाई हाई स्कुलमा स्तरोन्नति गर्ने क्रममा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न बलराम पराजुलीको अथक प्रयास रहेको देखिन्छ। पारिवारिक सरसल्लाह गरी, आफ्नै पुख्र्यौली जग्गाजमिन बेचेर चरम्बीमा हाईस्कुलका लागि पूर्वाधारको व्यवस्था मिलाउँदै, नपुग रकम चन्दाका माध्यमबाट उठाउँदै २०२४ सालमा स्कुल स्वीकृत गराउनेलगायतका कार्यमा उहाँको अथक श्रमपसिना बगेको ज्ञात हुन्छ।
त्यसपछि पनि उहाँ स्कुलको नेतृत्व र अभिभावकीय भूमिकामा रहिरहनुभयो। यसका लागि पारिवारिक हिसाबले उहाँका जेष्ठ सुपुत्र उमानाथ पराजुलीको निरन्तर सहयोग उहाँलाई प्राप्त भइरह्यो। हाल उच्च माविका रूपमा सञ्चालित स्कुल प्रगतिपथमा रहेको बुझिन्छ।
बलराम पराजुलीको विद्यालयप्रतिको समर्पणभाव कति निःस्वार्थ र उच्च थियो भन्ने कुराको स्मरण गर्दै भोजपुर निवासी ज्योतिषी ९५ वर्षीय भानुभक्त ढकालले लेख्नुभएको छ, ‘विद्यालय सञ्चालन गर्नु विद्यालय खोल्नुभन्दा गाह्रो काम थियो। जनतालाई सचेतना फैलाएर, घरदैलो चहारेर नियमित चन्दा संकलन गर्ने काम झनै कठिन थियो। हरेक कठिनाइ र चुनौतीहरूलाई हाँसीहाँसी स्वीकार गरेर प्रत्येक समस्याको सरल समाधान खोज्न सक्ने क्षमता बलराम पराजुलीमा थियो। चन्दा माग्न जाँदा कोही रिसाउँथे, कोही दैलो लगाएर बस्थे, कोही खुला हृदयले आफूसँग जेजे छ त्यसैको केही अंश दिन्थे।’ (पृ. ७०)
समाज परिवर्तन क्रमिकरूपमा हुँदै जाने कुरा हो। एक्कासी भएको परिवर्तन दिगो हुँदैन। समाजसेवी बलराम पराजुली ग्रामीण समाजका लागि एक आदर्श व्यक्ति हुनुहुन्थ्यो। उहाँले आफूलाई परोपकारी एवं धार्मिक आध्यात्मिक मनोभावनाद्वारा निर्देशित भएर समाज कल्याण हेतु सकृय राख्नुभयो। समाजलाई अन्धपरम्परा एवं कुरीतिबाट मुक्त गर्न छोरा सरह छोरीलाई पनि शिक्षा दिनु आवश्यक रहेको कुरालाई हृदयङ्गम गरी उहाँले गाउँका छोरीहरूलाई स्कुल पठाउन प्रेरित समेत गर्नुभयो।
नारी शिक्षित भए सिंगो परिवार शिक्षित हुन्छ भन्ने मान्यता राख्नुहुने बलराम पराजुलीले छोरीबुहारीहरूलाई पनि पढ्ने वातावरण बनाउनुभयो। लेखक रेवतीप्रसाद पराजुलीले स्मरण गर्नुभएको छ, ‘आजभन्दा धेरै पहिला उहाँको समयमा नै छोरीबुहारीलाई पनि शिक्षा दिनुपर्छ भन्ने मत जाहेर गरेर शिक्षाको अवसर प्रदान गर्ने सामाजिक अभियन्ता हुनुहुन्थ्यो बलराम पराजुली। समाजमा मिलेर बस्नुपर्छ, सबै जातजाति, वर्ग र समुदायबीच एकता, सद्भाव एवं भाइचाराको दृष्टि राखी व्यवहार गर्नुपर्छ भन्ने मूल्य र मान्यतालाई स्थापित गराउन पु¥याउनुभएको योगदान नै आजसम्म उहाँलाई स्मरण गर्ने दरिलो आधार बन्न पुगेको छ।’ (पृ. २१४)
उहाँले जातपात तथा छुवाछुतको धारणा सामाजिक उत्थानको बाधक रहेको कुरालाई व्यवहारमा नै अवलम्बन गर्न स्कुलको स्थापना कालतिरैदेखि प्रयत्न रहनुभएको स्मरण गर्नुहुन्छ पहिलेका विद्यार्थी एवं चरम्बीका बुद्धिजीवी हीरालाल विश्वकर्मा, ‘एकखाले गाउँका भद्रभलादमीहरू पुरातनवादी, कट्टर थिए। उनीहरू दलितले सँगै बसेर पढ्नुहुँदैन भन्थे तर देश खाएका, वरपर देखेका, समय बुझेका स्व. बलराम पराजुलीले आफ्ना काका वा दाजुहरूलाई सम्झाएपछि, अग्निप्रसाद पराजुली, बालकृष्ण पराजुलीले समेत बलराम पराजुलीलाई साथ दिनुभएपछि एउटै कक्षामा छुट्टै बेन्चमा बसेर हामीले पढ्ने अवसर पाएका थियौं।’ (पृ. २२१)
समाजसेवी बलराम पराजुली बडो धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्ना रचनाहरूको सँगालो ‘वैराग्य ज्ञानमाला’ प्रकाशित गर्नुभएको पाइन्छ। भोजपुर चरम्बीमा १९७२ सालमा जन्मेर झन्डै एक शताब्दीको पूर्णायु व्यतित गरी २०७० साल मंसिरमा विराटनगरमा देहावसान हुनुभएका इमानदार कर्मपुरुष बलराम पराजुलीको इहलौकिक सत्कर्महरूलाई अभिलेखन गरी २०८० फागुनमा एक स्तरीय स्मृति ग्रन्थको प्रकाशन गरिएको छ।
यस ग्रन्थमा सन्ततिहरू एवं उहाँलाई नजिकबाट प्रत्यक्ष चिन्ने अनेकौं सदाशयीहरूद्वारा लिखित लेखरचनाहरूले उहाँको वैयक्तिक एवं सार्वजनिक समाजसेवी व्यक्तित्वका अनेक आयामहरूलाई राम्ररी चिनाएका छन्। यसका साथै स्मृतिग्रन्थमा समाविष्ट लेखरचनाहरूबाट समग्र भोजपुरको तत्कालीन राजनीतिक एवं सामाजिक परिस्थितिबारे पनि पर्याप्त जानकारी प्राप्त हुन्छ।
ग्रन्थको सम्पादन प्राध्यापन कर्ममा आबद्ध विद्वान्द्वय देवीप्रसाद घिमिरे र रामचन्द्र खनालले गर्नुभएको छ। सम्पादकीयमा उहाँहरूले लेख्नुभएको छ, ‘उज्यालो चेतनाले सत्कर्मको गन्तव्य भेटिन्छ भन्दै सच्चिदानन्दको सत्मार्गलाई सत्कर्ममा उतार्ने प्रेरणा दिने बलराम पराजुली श्रीकृष्ण सच्चिदानन्द परब्रह्म पूर्ण परमात्माप्रति श्रद्धाभाव प्रकट गर्नुहुन्थ्यो। आफ्नो समाज परिवर्तन गर्ने चेतनाका संवाहक आफ्नो कर्मयोगले समयसँगै बाँचेका आदर्श कर्मयोगी व्यक्ति हुनुहुन्थ्यो बलराम पराजुली।’
प्रकाशित: २६ श्रावण २०८१ ११:०२ शनिबार