एउटा साँघुरो कोठा। भात भान्साका लागि त्यही कोठामै एउटा स्टोभ बल्थ्यो। सुत्नका लागि धौ धौ एउटा पलङ अटाएको त्यही साँघुरो कोठामै वाद्यवादनका साधनहरु अटाइएका थिए।
झण्डै दुई दशक अघि गुरुदेव कामतका लागि त्यही साँघुरो कोठा आफ्नो ओत थियो अनि सङ्गीतको ज्ञान बाँड्ने शिक्षालय पनि। त्यही साँघुरो कोठा ‘सा रे ग म’ ले दिनहुँ गुञ्जिन्थ्यो, ‘आलाप’ ले सङ्गीतमय बन्थ्यो।
धेरथोरलाई त्यही कोठामा ‘सा रे ग म’ का सुर सिकाउँथे उनी। बानेश्वरमा रहेको त्यही साँघुरो कोठा शास्त्रीय सङ्गीतको जग बन्यो। एउटा कोठाबाट सङ्गीतका सुर सिकाउन सुरु गरेका गुरुदेव हजारौँ चेलाहरूका अब्बल ‘गुरु’ बने। सयौँ चेलाहरूका उनै ‘गुरु देव’ शास्त्रीय सङ्गीतको भरपुर ज्ञान दिएर बिहीबार अस्ताएका छन्।
मिर्गौला सम्बन्धी रोगले केही समय अघि देखि थलिएका गुरुदेवका लागि काठमाडौं बसाई पट्यारिलो बनिरहेको थियो। उपचारका लागि रकम अभाव, अनि मनमा बेचैनी। फलतः केही समय अघि सिराहा, लहान स्थित घरमै फर्किने निर्णय लिएका थिए उनले।
उनले आफ्नो फेसबुकमा लेखेका थिए ‘नमस्ते प्रियजनहरु भोली गाउँ जाँदै छु, काठमाडौंमा बसेर इलाज गराउन सक्दिनँ, उतै लाहानमा डायलिसिस गराउँछु, यहाँ अब शारीरिक, मानसिक र आर्थिक रुपमा एकदमै कमजोर भएर गाउँ जाँदै छु।’
आर्थिक तथा मानसिक रुपमा गलिसकेका गुरुदेव अन्ततः शारीरिक रुपमा समेत गले। अनि फेरी सङ्गीत गुरु बन्न कहिल्यै नफर्किने गरि गए।
उनको निधनले सङ्गीतको एउटा दह्रो जग भासिएको पुराना कलाकारहरुको बुझाई छ। उनीसँगै दुई वर्षसम्म सङ्गीत ज्ञान लिएकी गायिका लोचन भट्टराई भन्छिन् ‘नेपाली सङ्गीत क्षेत्रको एउटा जग भासियो, नेपाली सङ्गीतका लागि उहाँको निधन ठूलो क्षति हो।’
दुई दशक अघि भारतमा शास्त्रीय अध्ययन पुरा गरेर काठमाडौं फर्किएका थिए गुरुदेव। भारतमा शास्त्रीय सङ्गीतमा स्नातकोत्तर अध्ययन पुरा गरेर २०४९ मा नेपाल फर्किएका उनी काठमाडौं बानेश्वर स्थित सानो कोठा लिएर बस्थे।
शास्त्रीय अध्ययनका अध्ययता गुरुदेव काठमाडौंमा आएको चर्चा नेपाली सङ्गीतमा व्याप्त बन्दै गयो। गायिका भट्टराई उनै गुरुदेवसँग सङ्गीत शिक्षा लिने निर्णयमा पुगेर गुरुदेव समक्ष पुगिन्।
‘म बिहान ६ बजेतिर उहाँसँग शास्त्रीय सङ्गीत सिक्थेँ,’ गायिका भट्टराई सम्झन्छिन् ‘उहाँको बस्ने साँघुरो एउटा कोठा थियो, त्यही कोठामा सङ्गीत सिकाउनु हुन्थ्यो।’
गुरुदेव नेपाली सङ्गीतकर्मीहरूमा शास्त्रीय सङ्गीतको ज्ञान बाँड्न चाहन्थे। सङ्गीतको जग भनेकै शास्त्रीय सङ्गीत रहेकाले नेपाली सङ्गीतमा यसको ज्ञान अपरिहार्य देख्थे उनी।
फलतः उनले आफ्नो साँघुरो कोठालाई सङ्गीत विद्यालय त बनाए तर उनको यो सङ्गीत विद्यालयलाई व्यावसायिक रुपमा लिएनन्। उनी केबल शास्त्रीय सङ्गीतको ज्ञान बाँड्न मात्रै चाहन्थे।
‘मैले उहाँसँग दुई वर्ष शास्त्रीय सङ्गीत सिकेँ, तर उहाँले आफूले कहिल्यै पनि शुल्क तोकेर लिनु भएन, मैले गुरु दक्षिणाका रुपमा आफू सक्दो रकम दिन्थेँ।’
गुरुदेव लोचनका गुरु मात्रै बनन्, उनी सङ्गीतका सहयात्री समेत बनेका थिए। गुरुदेव र लोचनलाई दुई वटा भोजपुरी गीतमासंगै आवाज भरेका थिए।
शास्त्रीय सङ्गीत सम्बन्धी अपार ज्ञान भएका गुरुदेवले आफ्ना चेलाहरुलाई ज्ञान आर्जनमा प्रेरित गरिरहन्थे। नम्र स्वभावका उनी चेलाहरु प्रति कहिल्यै खरो बनेनन्।
लोचन भन्छिन् ‘उहाँमा हरेक चेलाहरुले सङ्गीतको ज्ञान राम्रोसँग लिउन् भन्ने चिन्तन थियो, उहाँले सङ्गीतको ज्ञान लिनका लागि हरेक चेलाहरुलाई समान तवरले प्रेरित गर्नुहुन्थ्यो, नजानेको कुरा हाँसी—हाँसी सिकाउने कला उहाँमा थियो।’
साँघुरो कोठाको सङ्गीत विद्यालय गुरुदेवले केही समयपछि बागबजारमा सारेका थिए। बागबजारमा उनको गुरुकुल सङ्गीत पाठशाला खोलेका थिए। अहिले यो पाठशाला डिल्ली बजारमा छ।
गुरुकुल पाठशालामा सङ्गीतका नयाँ विद्यार्थीहरूको चाप बढ्यो। ‘बागबजारमा उहाँले सङ्गीत विद्यालय सुरु गरेपछि नयाँ सङ्गीतकर्मीहरूको अधिक चाप बढ्यो,’ गायिका लोचन भन्छिन् ‘गुरुदेवले बागबजारमा सङ्गीत विद्यालय खोलेपछि म भने व्यवस्तताका कारण त्यहाँ सङ्गीत सिक्न जान पाइनँ।’
उनीसँगै सङ्गीत सहयात्रा गरेकी गायिका संगिता प्रधानले पनि नेपाली सङ्गीतले अब्बल गुरु गुमाएको बताइन्। उनीसँगै गाएको ‘कुन पापीले, कुन निठुरीले’ बोलको गीत गाउँदाको त्यो क्षणको स्मरण गरिरहेकी छिन् प्रधानले।
‘उहाँको सङ्गीत, कालीप्रसाद रिजालको शब्द अनि गुरुदेव कामत ज्युसँगै एउटा गीत गाउने अवसर मेरा लागि जुरेको थियो,’ प्रधानले भनिन् ‘उहाँको निधन भएको खबरले धेरै दुखित बनाएको छ, उहाँको निधनले नेपाली शास्त्रीय सङ्गीतले ठूलो क्षति बेहोरेको छ।’
उनले पनि गुरुदेवलाई शास्त्रीय सङ्गीतका एक अब्बल स्थापित गुरुका रुपमा अथ्र्याईन्। ‘गुरुदेव कामत ज्यू काठमाडौं आएर सङ्गीत कर्ममा लाग्दा म गायनमा अलि व्यस्त नै बनिसकेको समय थियो,’ प्रधानले भनिन् ‘तर उहाँको सङ्गीत प्रतिको समर्पण र अद्भुत ज्ञानले उहाँलाई नेपाली शास्त्रीय सङ्गीतको एक अब्बल गुरुका रुपमा स्थापित गरिदियो, उहाँको निधनले नेपाली सङ्गीतको एउटा जग भत्किएको महसुस मलाई भएको छ।’
गुरुदेव सङ्गीतका गुरु थिए नै। सँगै गजल गायनका ‘धुरन्धर’ गायक समेत थिए। यससँगै शास्त्रीय सङ्गीतका अब्बल गायक पनि थिए।
तथापि उनी आफूलाई गायकका रुपमा प्रस्तुत गर्न रुचाएनन्। उनले गायकी भन्दा पनि सङ्गीतको ज्ञान बाँडेर शिष्य उत्पादन गर्न मात्रै बढी चासो राख्थे।
‘उहाँ (गुरु) ले आफूलाई गायकका रुपमा कहिल्यै प्रस्तुत गर्न चाहनुभएन,’ उनका शिष्य सङ्गीतकार गोविन्द मधुर आचार्य भन्छन् ‘उहाँ गायकी भन्दा पनि सङ्गीतको ज्ञान बाँडेर शिष्य उत्पादन गर्नमै बढी सक्रिय रहनुभयो।’
आचार्यले २०६२ देखि तीन वर्षसम्म गुरुदेवसँग सङ्गीत सिकेका थिए। ‘उहाँले सङ्गीत पढाउँदा कहिल्यै बोरिङ फिल भएन, उहाँमा सिकाउने अद्भुत कला थियो,’ आचार्य भन्छन् ‘शास्त्रीय सङ्गीतका लागि अब उहाँ जत्तिको दक्ष गुरु भेटिन मुस्किल छ।’
उनले आफ्नो सङ्गीत विद्यालय खोल्नु अघि डोरेनी सारेगम सङ्गीत पाठशालामा अध्यापन समेत गर्दै आएका थिए। उनका शिष्यहरुका अनुसार नेपाली सङ्गीतको जगका रुपमा रहेको शास्त्रीय सङ्गीतको बलियो जग बसालिदिएर गुरुदेव गुमेका छन्। उनी २०१२ साउन १६ मा सिराहाको पोखरभिण्डामा जन्मिएका थिए।
प्रकाशित: १७ श्रावण २०८१ १५:०१ बिहीबार