१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

कथाकार पण्डितकाे ‘एलियनलाई प्रश्न’ हेर्दा

पुस्तक

तुलसी पण्डित लामो समयदेखि शिक्षण पेसा सँगसँगै आफ्नो जीवनलाई सिर्जनात्मक कार्यमा समर्पित व्यक्ति हुन्। उनका तीजको सौगात गीतिसङ्ग्रह (२०६८), तुलसी रस कवितासङ्ग्रह (२०६८), लोकगीत मञ्जरी गीति कवितासङ्ग्रह (०६८), तुलसीपत्र कवितासङ्ग्रह (२०७१), पसिनाको फूल उपन्यास (२०७३) र तरङ्ग गीतिकवितासङ्ग्रह (२०७९) कृति प्रकाशित भएका छन्।

विविध विधामा कलम चलाउने पण्डित बालकथामा पनि देखापरेका छन्। उनका बालसाहित्यका कृतिहरू मूलतः बालबालिकाको चाहना अनुसारका मिठा, रसिला, स्तरीय छन्।

यस्तै फुटकर बालकृति सिर्जना गर्दै आएका पण्डितका बालरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। बालबालिकाको मनमस्तिष्कमा भिज्न सक्ने र बालसुलभमा रमाउन सक्ने तुलसी पण्डितको बालकथासङ्ग्रह ‘एलियनलाई प्रश्न’ अक्षरधाम प्रकाशनबाट प्रकाशित भएको छ।

एलियनलाई प्रश्न बालसाहित्यमा आएको उनको पहिलो बालकथासङ्ग्रह हो। यस कथासङ्ग्रहले विविध विषयलाई अङ्गालेको छ। बालबालिकाका लागि आधार बनाएर आफ्नो शिक्षण कालमा देखेका, भोगेका र बालबच्चासँग खेलेका विषयवस्तुलाई टिपेको हुनाले यो बालोपयोगी रहेको छ।

कथा र बालकथा कथा नै भए पनि यी आआफ्नै ढङ्गका हुन्छन्। बालमस्तिष्कलाई छिटो, छरितो तथा प्रभावकारी ढङ्गले स्मरण गराउने साहित्यिक विधा बालकथा हो। जसले निश्छल स्वभावका ती बालमनलाई आनन्द पार्नुका साथै मनोरञ्जन प्रदान गर्दछन्।

बाल्यकालका विविध विषयलाई घटनात्मक ढङ्गले मनमुटुसम्म लैजानका लागि कथा सिर्जना गरिन्छ। बालकथा बालविकासका लागि अपरिहार्य छ। यसले बालबालिकाको ज्ञान, क्षमता, उमेर, इच्छा र रुचिअनुसार प्रभाव पार्न सक्नुपर्छ। यस ‘एलियनलाई प्रश्न’ बालकथासङ्ग्रहमा पनि बालबालिकाको इच्छा, आकाङ्क्षा, चाहना, नैतिक सन्देश, आनन्द, अनुभूति र मनोरञ्जनलाई प्रस्तुत गरिएको छ।

बालबालिकामा उत्साह, जोश, जाँगर, रुचि, उत्प्रेरणा, अनुशासन, शिक्षा, स्वास्थ्यप्रतिको ज्ञान, प्राप्तिका लागि यो बालकथासङ्ग्रह पठनीय रहेको छ। यस बालकथासङ्ग्रहले बालबालिकामा उत्साह थप्नुका साथै जिज्ञासा बढाउने छ। यसका अतिरिक्त बालमनोविज्ञानमा रुचि जगाउन, मन दिएर पढ्न, सस्वर तथा मौन पठनका लागि सङ्ग्रहमा रहेका कथा स्तरीय रहेका छन्।

कथासङ्ग्रहमा समाविष्ट कथाले असल बानी निर्माण गर्न, व्यवहारिक ज्ञान प्राप्त गर्न, संस्कार संस्कृतिको गजेर्ना गर्न, वैज्ञानिक सोचको विकास गर्न अनि सभ्य र नैतिकवान् बनाउनुका साथै साथीभाइबिचको साथीत्व कायम गर्न उत्प्रेरित गर्ने खालका हुनाले यो कथासङ्ग्रह पठनीय बनेको छ।

एलियनलाई प्रश्न बालकथासङ्ग्रहमा विविध विषयमा आधारित ‘जिल्ल’, ‘नक्कल’, ‘एलियनको प्रश्न’, ‘शिबे’, ‘सफल’, ‘पलायन’, ‘मेहेनतको फल’, ‘उड्ने जहाज’, ‘अन्तरिक्ष’, ‘आहा! क्या मिठास’, ‘गुरु’, ‘भाग्य’, ‘कानको मुन्द्री’, ‘सम्मान’, ‘खुत्रुके’, ‘प्रेरणा’, ‘प्रहरी इनेस्पेक्टर’ र ‘ज्वाला’ गरी १८ बालकथा सङ्गृहीत छन्।

कथासङ्ग्रहमा भएका कथाको विषय सरल छ। धेरैजसो बालबालिकाले सुनेका, देखेका र बोध गरेका विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको छ। कथामा आदर्श, इमानदारी, कर्तव्य, नैतिकता, सदाचार, सुन्दरता जस्ता असल पक्षको पक्षपोषण गरिएको छ जुन बालबालिकाका दृष्टिले उपयुक्त मानिन्छ।

बालकथा बालमस्तिष्कलाई सबैभन्दा बढी आकर्षित गर्ने बालसाहित्यको एउटा विधा हो। बालकथामा दार्शनिक जटिलताभन्दा सामान्य र साधारण कुरा सम्प्रेषण गरिन्छ। हिजोका बालबालिकाभन्दा आजका बालबालिका धेरै भिन्न छन्। यस बालकथासङ्ग्रहमा विविध विषय हुँदा हुँदै पनि प्रायः शैक्षिक क्षेत्रसँग सम्बन्धित कथाहरू बढी छन्।

बालकथाको वर्तमान सापेक्षमा हेर्दा तुलसी पण्डितको यो बालकथासङ्ग्रह औसत राम्रो देखिन्छ। आकर्षक र यथार्थ जस्तै लाग्ने चित्र संयोजनले यसको प्रभावकारिता वृद्धि गरेको छ। यो कृति धेरैभन्दा धेरै बालबालिकाले मन पराएर पढून्। लेखकबाट आगामी दिनमा नयाँ युगका बालबालिकाको बालमनोविज्ञानको समुचित संयोजन भएका बालकृतिहरू आउन् भन्ने अपेक्षाका साथ यस कृतिको प्रकाशनका लागि हार्दिक बधाई! 

प्रकाशित: २७ असार २०८१ ११:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App