२४ असार २०८१ सोमबार
image/svg+xml
कला

उपल्लो मुस्ताङ: जहाँबाट हिमाल दक्षिण देखिन्छ

नियात्रा

फिल्म चल्यो भने निर्माता, निर्देशकलाई त्यसको सिक्वेल बनाउन मन लाग्छ/बनाउँछ भने साहसिक साइकल यात्रा गर्नेलाई पनि एकपछि अर्को साहसिक साइकल यात्रा गर्न मन लाग्ने नै भयो। साइकल यात्राको रुचिले पूर्वी टिमोरदेखि साथी बनेको राइनर (जर्मन) र मैले गत वर्ष हेलम्बुको साइकल यात्रा गरेका थियौं। त्यो यात्रा सोचेजस्तै रमाइलो र सफल भएको हाम्रो साझा अनुभूतिले अर्को वर्ष नेपालकै अर्को उस्तै हिमाली क्षेत्रतिर साइकल यात्रा गर्ने सहमति भएको थियो।

सोही सहमतिकै फल भनौं-२०८० सालको अर्थात् २०२३ अक्टोबर २९ मा लोमान्थाङको यात्रा गर्ने भनी राइनर र म विमान र गाडीबाट कागबेनी पुगेका थियौं। राइनर यही यात्राका लागि जर्मनीदेखि आएको थियो। कागबेनीमा विदेशी छनक दिने नाम भएको होटल याक डोनाल्डमा बास बसेर भोलिपल्ट झोङ हुँदै मुक्तिनाथतिर साइकल यात्राको क्रम अघि बढ्यो।

कागबेनी एक प्रसिद्ध धार्मिक स्थल मानिन्छ। हामीले यहाँ गुम्बा पूजा गरेको देख्यौं-तिब्बेतियन भेषमा एक हुल मानिस पाठ गर्ने किताब लिएर गुम्बा घुम्दै गरेका, काठमाडौंमा त्यही प्रकृतिको पूजालाई बुद्ध पूजा भन्ने गर्छन्। साथै यहाँ रहेको कालीगण्डकी र झोंगखोलाको संगममा श्राद्ध गर्न आउनेको घुइँचो नै हुने रहेछ। मानिसको विश्वास रहेछ-यहाँ मृतात्माले स्वर्गको यात्रा सुरु गर्नुअघि आफ्ना परिवारजनले केही खाना खुवाउन ल्याउँछन् कि भनेर कुरेका हुन्छन् रे ।

यो ठाउँ उपल्लो मुस्ताङस्थित तिब्बतियन मूलको पुछारको बस्ती रहेछ, यहाँभन्दा दक्षिण जोमसोमतिरबाट थकाली बस्ती सुरु हुन्छ। त्यसकारण तल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटकहरू यहाँसम्म आए तिब्बतियन बस्तीको छनक पनि देख्न पाउँछन्।

साइकल चलाउनेलाई मोटर बाटोभन्दा अर्को बाटो मन पर्छ, यदि साइकल चलाउन सकिने खालको छ भने। यसो गर्दा छिटो हुन्छ प्रायः भने गाडीको डर हुन्न, घ्यार्रघुर्र, प्वाँप्वाँ पनि सुन्नुपर्दैन। त्यसैले हामीले कच्ची बाटो पकड्यौं झोङ हुँदै मुक्तिनाथ जाने। तीन दिन मुक्तिनाथनेरको बजारमा रहेको बब मार्ले होटलमा बस्ने तय थियो।

होटलको कौसीबाट धौलागिरि हिमाल र मुक्तिनाथको मन्दिर, झारकोट गाउँ अनि भारतीय पर्यटकहरू घोडा चढेर मन्दिरसम्म जाँदै गरेका दृश्य अनि थरीथरीका परिकारजस्तै याक स्टेक, साक्सुकिया (इजरायली खाना), एप्पल पाइ, स्याउको जुस, फापरको प्यान केक यहाँका प्रख्यात सामग्री हुन्, जुन भरपुर ग्रहण गरियो।

विदेशीसँग हिँड्ने नेपालीलाई गाइड ठान्दा रहेछन्, म पनि त्यस्तै मानिएको रहेछु। त्यसैले गाइडलाई खुवाउने दालभात मलाई पनि फोसामा खान बोलाए। मैले त्यसबेला भोक छैन भनी टारें। गाइडलाई खुवाउने खाना खर्च अप्रत्यक्ष रूपमा विदेशीको बिलमा घुसाउँदा हुन्। यसलाई बिलिङ रणनीति भन्ने कि बेइमानी!

 भोलिपल्ट हाम्रा गाइड आएपछि मात्र उनीहरूले थाहा पाए-म नेपाली भए पनि विदेशीजस्तै पर्यटक रहेछु। धेरै नेपाली गाइड नै हुने हुँदा उनीहरूले यस्तो ठान्नुलाई गलत त के भन्नु र! हाम्रो गाइड आएपछि भने फोसामा खान मलाई बोलाएनन्। मैले फोसामा खाएको भए बेइमानी हुन्थ्यो होला त! मैले इमान नछोड्दा खानाको बिल भने डलर कमाउने विदेशीकै जस्तो पो भयो।

यहाँबाट माथि लागेपछि थोराङला फेदी पुगिन्छ, जसको उचाइ लगभग चार हजार मिटर छ। उचाइमा गरिने यात्रामा सास फेर्ने बानी पार्न, जसलाई अंग्रेजी शब्दमा एक्लेमेटाइज हुने भन्छन्, त्यसका लागि हामी त्यतातिर लाग्यौं।

तीन दिन त्यहाँ बसिसकेपछि चौथो दिन हामी ग्युला ( ४,०६५ मिटर ) को भन्ज्याङ काटेर छुसाङ हुँदै चेले पुग्नु थियो। बिहानी नास्तामा फापरको प्यान केक र क्यापुचिनो कफी खाएर झोङको छेउ हुँदै उत्तरतिर लाग्यौं। हिमालपारि पुगिसकेको हुँदा उत्तरतिर पहाड मात्र थियो, हिमाल थिएन।

अलि वर्षअगाडिसम्म यो भन्ज्याङ वरिपरिका मानिस मरेमा लास काटेर चरालाई खुवाउने गर्थे रे बोन धर्मको रीतिथितिअनुसार। बोन धर्म तिब्बतियन समुदायको एउटा समूहले मान्दो रहेछ।

झन्डै दुई घण्टाको ओरालो झरेपछि तेताङ पुगियो। अनि अलि पर आयो छुसाङ। कालीगण्डकीको हावाले साइकल चलाउन निकै गारो भयो, बतास थियो निकै चर्को। त्यो क्षेत्रमा यात्रा सुस्त नै भयो, बास भयो चेलेमा।

विगत चारपाँच दिनदेखि मेरो साइकलको टायरको हावा फुस्किएकाले तनाव भइरहेको थियो। आठ लाख परेको नयाँ साइकलमा यस्तो अवस्था आएपछि रिस पनि उठ्यो। रिस भनेकै आफ्नो कमजोरीको दोष अरूमाथि थुपार्ने उपाय हो कि झैं लाग्यो। रिसाएर माखो मर्ने थिएन त्यहाँ। मैले रूपेश (इपिक साइकल पसले) लाई समस्या बताएँ।

भएको के रहेछ भने हावा हाल्ने प्वालको पिन/बोल्ट कस्ने नट अलि खुकुलो भएको रहेछ, त्यसकारण त्यहींबाट हावा बिस्तारै फुस्केको रहेछ। हामीले भिडियो च्याट गरेर यो समस्याको निराकरण गर्न सफल भयौं। त्यहाँ समेत इन्टरनेट कनेक्सन थियो र यसो गर्न सम्भव भयो। लामो दुरीको यात्रामा साइकलमा समस्या आए मुस्किल हुन्छ, साइकल साधन नभएर ठाँडो बन्न सक्छ, चाहिँदाको भाँडो, नचाहिँदा वा काम नलाग्ने भए ठाँडो त हो नि!

चेलेबाट स्याङबोचेको वैकल्पिक बाटो ठाडो उकालो हुनाले मूल सडक हुँदै यात्रा गर्नुपर्ने रहेछ। यो खण्डको बिचमा समर भन्ने ठाउँ पर्छ। समरबाट साइकल र पैदल हिँड्ने छुट्टाछुट्टै बाटो पनि रहेछ तर यो खण्डमा पनि ठाउँठाउँमा साइकल बोक्नुपर्ने अवस्था आउला भनी हामीले मूल सडक नै रोज्यौं।

बाटोमा पैदलयात्रीका दुई टोली भेटिए भने मोटरसाइकल यात्री त अनगिन्ती थिए। बाटो एक, यात्राका साधन अनेक! साइकलमा आफूलाई गाह्रो महसुस भएकाले मोटरसाइकल बढी  उपयुक्तझैं लाग्यो।

स्याङबोचे भन्ज्याङ ३८ सय मिटरको उचाइमा छ। यो उचाइमा अक्सिजनको कमी हुने भएकाले साइकल चलाउन अलि गाह्रो भयो। रमाउँदै रमाउँदै हामी झन्डै २ बजेतिर स्याङबोचे बस्ती पुगेका थियौं।

स्याङबोचे भन्ने ठाउँ सगरमाथातिरको यात्रा गर्दा भेटिन्छ, यता पनि रहेछ। हिमाली क्षेत्रतिर रुचाइने नाम होला, मध्यपहाडतिर त्रिवेणी, कालीमाटी नाम प्रचलित भएझैं।

एउटा कुराचाहिँ के अनुभूति गरियो भने यात्रुहरू यात्राको गन्तव्यमा नपुगे पनि दैनिक बास बस्ने ठाउँमा पुगेपछि सुस्ताउँदै खुसी हुन्छन्। गन्तव्यमा पुगेर मात्र रमाएर कहाँ हुन्छ? प्रत्येक पाइला र बासमा पो रमाउन सक्नुपर्छ। चालीस कटे’सि रमाउँला भन्ने गीतले भनेझैं त्यसबेला मात्र रमाएर कहाँ हुन्छ? बीसमा पनि, पच्चीसमा पनि, तीसमा पनि रमाउनुपर्छ। चालीस कटे’सि रमाउने भाका राख्दा चालीस नै कट्न नपाउने पनि हुने हो कि, के भर हुन्छ र!

स्याङबोचेबाट सराङ खण्ड चाहिँ अलि रमाइलो रहेछ। मोटरको बाटो लिनुपर्ने अवस्था थिएन कतैकतैबाहेक। बाटोमा घिरिङ गाउँ आयो, जहाँ यो भेगकै ठुलो स्कुल रहेछ। घिरिङबाट उकालो लागेपछि चार हजार १० मिटरमा रहेको न्याइला भन्ज्याङ आयो। त्यो कटेपछि घमी भन्ने ठाउँसम्म ओरालो रहेछ।

बाटोभरि मध्यम आकारका ढुंगा यत्रतत्र छरिएका थिए। यो बाटोमा राइनर नराम्रोसँग लडे ढुंगामा चिप्लेर निल डाम हुनेगरी। सराङ पुगेपछि डोमा होटल हाम्रो बास बन्यो।

भोलिपल्ट बिहानै पुरातात्विक महत्वको प्रख्यात गुम्बा हेर्न गयौं। यो ससाना भिक्षुलाई बौद्ध धर्मसम्बन्धी शिक्षा दिने पाठशाला रहेछ तर जाडो मौसम भइसकेकाले विद्यार्थीहरू तीन महिनाका लागि पोखरा झरिसकेका रहेछन्।

 नजिकै तत्कालीन राजाको दरबार रहेछ। त्यस दरबार परिसरको पनि अवलोकन गरियो। दरबारको केही भागका भित्ता राम्रै देखिए पनि बस्न मिल्ने खालका थिएनन्। अघिल्लोपट्टि पोखरी तथा बगैंचा रहेछन्। मजाको कुरा त के भयो भने होटलको आँगनमा चिया खाँदै गर्दा एउटा स्कोर्पियो गाडी होटलकै अगाडि आयो र रोकियो। यात्रीहरू ओर्लन थाले।

मेरा आँखा टक्क एउटा व्यक्तिमा अडियो। चिनेको जस्तो लाग्यो। अनि फेरि अर्को व्यक्ति पनि ओर्लिए, उनी पनि चिनेकै अनुहार लाग्यो। अबचाहिँ पक्कापक्की यो नै हो भनी ठम्याएपछि नामै लिएर बोलाएँ। त्यो अनकन्टार ठाउँमा चिनेका दम्पती भेट्दा अर्कै मजा आउने रहेछ। एक प्रकारले ऊर्जा थपिएजस्तो अनुभूति। फोटो खिचियो, छोटो कुराकानी भयो।

सराङबाट हिँडेपछि त्यही दिन लोमानथाङ पुगिन्छ भनी निकै उत्साहित थियौं। बिहान ९ बजे सराङ छाडियो। बाटो ठिकैको उकालो थियो, साइकल चढेरै जान सकिने। बाटोमा नेपाली सेनाको गुल्म स्तरको ब्यारेक पनि रहेछ। सीमा सुरक्षाका लागि होला।

लोमानथाङ पुग्न पाँच किलोमिटर जति अगाडि एउटा भन्ज्याङ आयो, जहाँबाट लोमानथाङ बस्ती र पर क्षितिजमा तिब्बतसम्म पठार भूमि देखियो। त्यहाँबाट ओरालो लाग्नुपर्ने रहेछ। बजारमा रहेको निलगिरि होटेल हाम्रो विश्रामगृह बन्यो।

त्यति दुर्गम थलोमा पुगेपछि तीन दिन बस्ने भनी योजना बनाएका थियौं। पहिलो दिन लोमानथाङ गल्ली गल्ली घुमियो, स्थानीय व्यक्तिसँग गफगाफ गरियो। एकजनाले सुनाए, ‘यो कागबेनीको बाटो बन्नुअघि हामी याक लिएर दुईतीन महिनाका लागि तिब्बतमा व्यापार गर्न जान्थ्यौं। महिलाहरू घर, बालबच्चा र वस्तुभाउ सम्हालेर बस्थे।

उनले थप्दै भने, ‘हाम्रो जीवनशैली बेग्लै थियो। सहरबाट टाढा, बाटो पनि नभएको। पहिले लोमानथाङको जनजीवन शान्त थियो तर कठिन थियो। अहिले बाटो बनेपछि बाहिरी प्रभावका कारण सबै परिवर्तन भएको छ। पहिले हिउँदमा पनि मानिस यहीं बस्थे, अहिले पोखरा झर्छन्।’

दोस्रो दिन लोमानथाङको वरिपरि घुमियो। त्यहाँको सुरक्षा किल्ला, पाँचतारे होटल तथा नेपाल र चीनको सिमाना (कोरला पास)। नेपालको नक्सामा गोरखा जिल्लाको उत्तरतिर चुस्स परेको भाग नै लोमानथाङ क्षेत्र हो। यति टाढा आएपछि नेपाल र चीनको नाका त पुग्नैपर्‍यो, कोराला।

तेस्रो दिन गुम्बा तथा दरबारको अवलोकन गरियो। त्यहाँका मानिस, भेषभूषा, जनजीवन, संस्कृति, कला, खाना, धर्म, भूबनोट, गुम्बा सबै हामीलाई अपिरिचित अर्थात् हामीले देखेजानेकाभन्दा भिन्न खालका।

मध्यजाडोमा अति चिसो हुनाले यहाँको बजार निर्जन नै हुन्छ। मानिसहरू पोखरा झर्छन् जाडो छल्न। गुम्बाका स्कुलसमेत तीन महिनाका लागि पोखरामा सर्दा रहेछन्। होटल/लज पनि एक दुइटा मात्र खुल्दो रहेछ। त्यसमध्ये अहिले हामी बसेको निलगिरि होटल पनि पर्छ। यहाँ तीनवटा अति नै पौराणिक र महत्त्वपूर्ण गुम्बा रहेछन्। राजाको दरबार पनि आकर्षक र भव्य छ। चौथो दिन लोमानथाङको सुन्दर सम्झना मनमा राखी यारा भन्ने ठाउँ हुँदै फर्कने निधो गरियो।

बाटोमा कालीगण्डकीको एक सहायक खोला हुँदै जाँदा शालिग्राम भेटिने रहेछ, सम्झनाको लागि एक दुई वटा टिपियो। झन्डै छसात घण्टाको यात्रा गरेर यारा पुगियो। यारा एउटा राम्रो मिलेको बस्ती, झन्डै २५–३० घर भएको। पाँचसात वटा त लज नै रहेछन्।

लजकी मालिकनी थिइन् ३५–४० वर्षकी। उनको माइत लोमानथाङ रहेछ। सारै जाँगरिली र पाहुना सत्कारमा अब्बल खालकी। कुरा गर्दै जाँदा थाहा भयो-उनका एकैपटक दुईजना श्रीमान् रहेछन्। पोइला गएर अर्का श्रीमान् आएका होइनन्। एकजना माथि लेकमा याकको गोठ सम्हाल्न अक्सर लेकमै बस्छन् रे, अर्काले लज चलाउन उनलाई सहयोग गर्छन् रे। द्रौपदी परम्परा!

फरक अनुभूतिले निथ्रुक्क भएर हामी ताङवेतिर लाग्यौं। याराबाट ताङवे जाने बाटो अति नै रमाइलो थियो। झन्डै ३५ सय मिटरको उचाइ हुँदै जाने हल्का उकालो ओरालो बाटो। उपल्लो मुस्ताङको भूगोल पृथक् हुनुमा पानी कम पर्नु र जोडले हिमाली हावा चल्नु हो भन्ने बुझ्न गाह्रो पर्दैन।

साथी भन्छ-यस्तै भूगोल र बनोट मरुभूमिको देश जोर्डनमा पनि छ तर नेपालमा जस्तो हिमाल भने छैन। राइनर निकै प्रभावित भएको उसको हाउभाउले देखाउँथ्यो। झन्डै छसात घण्टाको यात्रापछि ताङवे पुगियो।

ताङवेबाट छुसाङको बाटो झन्डै ११ घण्टाको। त्यसकारण बिहान पाँच बजे नै हिँड्नुपर्ने थियो। १२ बजेपछि अति नै जोडले हावा चलिरह्यो त्यस दिनको यात्राभरि। यो ठाउँमा हावा मिल चलाएर बिजुली निकाल्न सक्ने हो भने! कुनै दिन जिम्मेवारीमा पुगेकाको दिमागमा घुस्ला नि, आशा गरौं।

लगभग साढे तीन बजे हामी छुसाङ पुग्यौं। आनन्द र सन्तुष्टिको सास फेरियो। अँगालो हाल्यौं हामी दुवै जनाले। उपल्लो मुस्ताङको यात्रा गर्नु नै त्यति सजिलो होइन, त्यसमाथि साइकलमा। हाम्रा लागि एक सपना थियो र अब गाथा बनेको छ। त्यसैले आउने दिन, महिना, वर्ष यो संस्मरण मनमस्तिष्कमा अमिट रहने पक्का छ।

राइनरले परमिट फी मात्र आठ सय अमेरिकी डलर तिरेका थिए र उनले यो फीको पूरा प्रतिफल पाएको अनुभूति गरेको बताए। हामी दुई साइकल यात्री र हाम्रा दुई साइकल छुसाङमा एउटा जिपमा चढाई आफू पनि चढी तातोपानी आएर बास बस्यौं र भोलिपल्ट बिहानै काठमाडौं फर्कियौं।

प्रकाशित: ८ असार २०८१ १०:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App