१२ असार २०८१ बुधबार
image/svg+xml
कला

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

म्याग्दीको धवलागिरि गाउँपालिका-५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुर्ख्याैली नाचसम्बन्धी तालिम दिइएको छ। वडा कार्यालयले धवलागिरि गाउँपालिकाको आर्थिक सहयोगमा मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरेको हो। असार १ गते शनिबार सुरु भएको तालिम सोमबार सकिएको वडासचिव वेदनाथ सुवेदीले बताए।

संस्कारगत कार्य, सभा, समारोहमा नौमती बाजा बजाउने र पुर्ख्याैली नाच्ने कलाकार अभाव हुन थालेपछि युवायुवतीलाई तालिम दिइएको उनले बताए। मल्कवाङ अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य भएकाे बस्ती हो। यहाँ मगर र दलित समुदायको पनि बसोबास छ।

पुर्ख्याैली नाच्ने र सोरठी गाउने छन्त्याल र मगर समुदायको मौलिक परम्परा हो। पछिल्लो समय वैदेशिक रोजगारीका कारण पलायन हुने र पुराना पुस्ताका कलाकार निधन भएपछि पुर्ख्याैली नाच सञ्चालन गर्न कलाकारको अभाव देखिएपछि नयाँ पुस्तालाई सिकाइएको धवलागिरि–५ का वडाध्यक्ष अमर छन्त्यालले बताए।

एघार जना सहभागी नौमती बाजा तालिमको दीपेन्द्र परियार र जीवन परियारले सहजीकरण गरेका थिए। उनीहरूले दमाह, कर्णाल, ढोलकी, सहनै, ट्याम्को, झ्याली, नरसिङ्गा लगायत बाजा बजाउने सीप सिकाएका थिए।

सोह्र जना सहभागी पुर्ख्याैली नाच तालिममा दिलीप छन्त्यालले सोरठी गाउने, सरस्वती जगाउने, सुख र दुःखको अवस्थामा नाच्ने तरीका सिकाइएकाे थियाे। कछाड, सर्ट, पेटी, भाङ्ग्रा, टोपीमा सजिएर कम्मरमा मादल भिरेर नाच्नेलाई मादले भनिन्छ। महिला र पुरुषको समूहले सोरठी गीत गाउँछन्।

मादलेसँगै नाच्ने मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुङ्ग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन्। मौलिक कला, संस्कृति संरक्षण गर्न गत वर्ष मल्कवाङका नौमती बाजा खरिद गरेर उपलब्ध गराइएको थियो। यसपालि पोशाक उपलब्ध गराइएको छ।

प्रकाशित: ४ असार २०८१ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App